ललितपुर, मानभवनस्थित 'ब्रिटिस गुर्खाज' सँगै चारतले हरियो घरको तल्लो तलामा एउटा पुस्तकालय खुलेको छ- सानुको पुस्तकालय।
एक महिनाअघि सञ्चालनमा आएको यो पुस्तकालय एउटा परिवारले आफ्नी कान्छी सदस्यको नाममा खोलेको हो। ती कान्छी सदस्यलाई सबैले घरमा 'सानु' भनेर बोलाउँथे। उमेरले २६ वर्ष भए पनि उनी घरकी सबभन्दा सानी थिइन्।
उनै सानुको एक वर्षअघि निधन भयो जसको सम्झनामा यो पुस्तकालय सञ्चालनमा आएको हो।
‘सानु बितेपछि म र मेरो परिवारलाई सुरूमा एकदमै गाह्रो भयो। त्यो दुखद घडीमा किताबले हामीलाई केही सहज वातावरण दियो,’ सानुकी दिदी प्रियंशा सिलवालले भनिन्।
३३ वर्षीया प्रियंशा डाक्टर हुन्। उनी पुस्तकालयमा बस्ने समय काम सकेर फर्किएपछि हो। धेरैजसो समय उनकी आमा, बुवा र एक जना कर्मचारी यहाँका किताब र पाठकको निगरानीमा खटिन्छन्।
बुवा अवकाशप्राप्त सैनिक हुन् भने आमा अवकाश लिइसकेकी नेपाली शिक्षिका। घरमा पहिलेदेखि किताबहरू किनिरहने र पढ्ने वातावरण थियो। त्यही भएर अरूमा पनि पठन संस्कृति विकास होस् भन्ने उद्देश्यले पुस्तकालय खोलेको प्रियंशा बताउँछिन्।
‘हाम्रो घरमा आफ्नै किताबको संकलन थियो। पछि साथी र परिवारले पनि किताब दिएर सहयोग गरिदिनुभयो। यसरी पुस्तकालयले आकार पाएको हो,’ उनले भनिन्, ‘सानुको नाममा केही गरौं भन्ने सोच थियो। अनि पुस्तकालय नै किन नखोल्ने त भनेर छलफल भएपछि सुरू गरेका हौं।’
प्रियंशा अंग्रेजी आख्यानका किताब पढ्न रूचाउँछिन् भने उनकी आमा नेपाली किताब बढी पढ्छिन्। सानु भने अध्यात्म, धर्म–संस्कृतिका किताब बढी पढ्ने रहिछन्।
यो पुस्तकालय हरेक दिन बिहान ११ देखि बेलुकी ६ बजेसम्म खुल्छ। शनिबार पनि खुल्ने पुस्तकालय आइतबार भने बन्द हुन्छ। दिउँसोको समय पारिलो घाम छिर्ने पुस्तकालयका तीनवटा कोठालाई आख्यान, गैरआख्यान र बालबालिकाको शाखा भनेर विभाजन गरिएको छ। आख्यानको तुलनामा गैरआख्यान किताब अलि कम भएको प्रियंशालाई लाग्छ।
‘यहाँ भएका प्रायःजसो अंग्रेजी आख्यानका किताब मेरै हो। नेपालीचाहिँ आमाको। आमा नेपाली शिक्षक पनि हुनुभएकाले वहाँलाई नेपाली साहित्यमा रूचि थियो। म चाहिँ नेपाली किताब खासै पढ्दिनँ,’ उनले भनिन्, ‘गैरआख्यानमा पनि त्यति रूचि छैन। त्यही भएर आख्यानको तुलनामा अलि कम भएजस्तो लाग्छ।’
करिब दुई हजार किताब भएको यो पुस्तकालयमा २०–२५ देखि कोहीले पाँच सयवटासम्म किताब सहयोग गरेका छन्। ‘ओहा’ भन्ने पुस्तकालय सफ्टवेयरमार्फत् यहाँ भएका किताब र सदस्य आए–गएको सबै रेकर्ड गरिन्छ।
पुस्तकालय खोल्नुअघिको सुरूआती समयमा प्रियंशाकी आमाले पुस्तकालयमा काम गर्ने एक जना व्यक्तिसँग सम्पर्क गरेकी थिइन्। वीरेन्द्र सैनिक आवासीय विद्यालयका ती व्यक्तिले ‘लाइब्रेरी साइन्स’ पढिरहेका मान्छेलाई बेलाइदिए। उनले यो पुस्तकालयकी कर्मचारीलाई तालिम दिए।
‘किताबलाई कसरी ‘नम्बरिङ’ गर्ने, कसरी सफ्टवेयरमा राख्ने, को मान्छे आएको–गएको छ, पुस्तकालयमा के–कस्ता संकलन छन् लगायत सबै काम उहाँले तीन महिना यहीँ आएर सिकाइदिनुभयो,’ प्रियंशाले भनिन्, ‘त्यहीअनुसार यहाँको सबै काम रेकर्ड हुन्छ।’
यो पुस्तकालयमा १२ वर्षभन्दा मुनि र ६५ वर्ष माथिका सदस्यलाई शुल्क लाग्दैन। उनीहरूले पछि फिर्ता आउने ‘डिपोजिट’ पैसा भने जम्मा गर्नुपर्छ। १२ वर्षमुनिका सदस्यले २ सय ५० रूपैयाँ र ६५ वर्ष माथिका सदस्यले पाँच सय रूपैयाँ डिपोजिट गर्नुपर्छ। त्यो पैसा किताब कसैले बिगार्ला वा लगेर फिर्ता नगर्ला भनेर राखिएको हो।
यो उमेर समूहमा नपर्ने सदस्यले भने सुरूमा हजार रूपैयाँ तिनुपर्छ। त्यसमा पाँच सय ‘डिपोजिट’ पर्छ। अर्को वर्ष पनि समय थप्न मन भए फेरि पाँच सय तिरेर समयावधि लम्बाउन सकिन्छ। यहाँको सदस्य भएबापत यहीँ बसेर किताब पढ्न त पाइन्छ नै, दुई साताका लागि दुईवटा किताब घरमा पनि लग्न सकिन्छ। त्यो समयावधिमा किताब पढेर नसकेको खण्डमा समय थप्न पाइन्छ। ढिला किताब बुझाएमा शुल्क पनि निकै कम लाग्छ। दिनको जम्मा एक रूपैयाँ।
‘पुस्तकालयमा धेरै शुल्क राख्न पनि मिलेन। मान्छेले फिर्ता ल्याऊन् भन्ने हिसाबले मात्र त्यो एक रूपैयाँ राखेका हौं,’ प्रियंशाले भनिन्।
भर्खरै खुलेको यो पुस्तकालयलाई केही साथी र परिवारले मात्र प्रचार गरेका छन्। केहीले भने सामाजिक सञ्जालबाट थाहा पाइरहेका छन्। त्यही भएर अहिले दिनमा दुई–तीन जना मात्र पुस्तकालयमा आउने र पढ्ने गरेका छन्। जति पनि आएका छन्, उनीहरूले खोज्ने किताबबाट पनि पुस्तकालयमा अब कस्तो किताब किन्ने भन्ने ‘आइडिया’ बन्दै गइरहेको उनी बताउँछिन्।
किताबहरू आफ्नै साथी–परिवारबाट संकलन गरेकाले अहिलेसम्म त्यति किन्नुपरेको छैन। यहाँ भएका फर्निचरका सामग्री पनि केही आफ्नै घरका हुन्, केही छिमेकीले दिएका छन्। केही मात्र किनिएको हो।
यहाँ प्रयोग भएको कम्प्युटर पनि ‘डोको रिसाइकर्लर्स’ बाट ल्याइएको हो। प्रियंशा श्रीमान सोही कम्पनीका सञ्चालक हुन्।
‘धेरैजसो कम्पनीले आफ्ना कम्प्युटर पुरानो भएर काम नलाग्ने भएपछि फाल्छन्। त्यस्ता कम्प्युटरलाई त्यहाँ बनाएर सेकेन्ड ह्यान्डका रूपमा बेचिन्छ। हामीले त्यस्तै कम्प्युटर डोकोबाट ल्याएका हौं,’ डोकोको पनि पुस्तकालयमा सहयोग रहेको बताउँदै प्रियंशाले भनिन्, ‘त्यहाँ मान्छेले पुराना किताब पनि बेच्नुहुन्छ। त्यहाँबाट पनि काम लाग्ने केही किताब ल्याएका छौं।’
प्रियंशालाई यो पुस्तकालयमार्फत मान्छेमा पठन संस्कृति बढाउन मन छ। उनी सानो हुँदा फोन, कम्प्युटर लगायत मनोरन्जन सामग्री थिएनन्। उनलाई आख्यानका किताब पढेर अर्को संसार पुग्नै रमाइलो लाग्थ्यो।
विद्यालयमा राम्रै पुस्तकालयको वातावरणमा हुर्किएकी उनी पछि कुपन्डोलमा भएको ‘ए–वान’ पुस्तकालयको सदस्य भएर पढ्न थालिछन्। बीचमा भने पुस्तकालयहरू नै कता हो खोज्दै जानुपर्ने अवस्था आयो। त्यही कारणले पनि अहिलेको पुस्तामा पठन संस्कृति हराएजस्तो उनलाई लाग्छ।
‘मेरा आफन्तमै पनि साना केटाकेटीहरू किताबमा भन्दा बढी मोबाइलमा झुन्डिरहेको देखिरहेको हुन्छु। ठूला मान्छेसँग कुराकानी गर्दा पनि त्यति धेरै किताब पढ्ने समय कहाँ छ र जस्तो गर्नुहुन्छ,’ उनले भनिन्, ‘तर दिनमा १० पेज पढे पनि आधा घन्टा पढे पनि महिनामा तीन–चार किताब पढ्न सकिन्छ। अलिअलि गरेर पढ्यो भने पढ्न सकिन्छ जस्तो मलाई लाग्छ।’
हालै ‘साइकोलोजी अफ मनी’ किताब पढेकी उनी आफैं पनि काम सकेर पढ्ने समय निकाल्छिन्। त्यही भएर इच्छा भयो भने समय बाधा नहुने उनलाई लाग्छ। लकडाउनको समयबाट भने उनले फेरि पठन संस्कृति बढेको महशुस गरेकी छन्।
‘मान्छेले किताब त किनिरहनुभएको छ नै, मोबाइल, आइप्याड, किन्डल लगायतमा पनि इ–बुक्सहरू पढ्नु हुँदो रहेछ,’ उनले भनिन्, ‘सामाजिक सञ्जालमा पनि एउटा ठूलै समुदाय छ जो किताब पढ्छन् र त्यसबारे छलफल गर्छन्।’
पुस्तकालय हुनुले झनै पढ्ने बानी विकास गर्छ। पुस्तकालय भयो भने जसलाई पढ्न मन लागेको छ तर किताब किनिरहन सक्दैनन् उनीहरूले पनि पढ्ने अवसर पाउँछन्। यसमार्फत पढ्ने मान्छेलाई राम्रो अवसर त भयो नै, नयाँ पाठकहरू पनि बढ्ने प्रियंशाको आशा छ।
यो पुस्तकालयमा विभिन्न गतिविधि गराउने विषयमा पनि उनको परिवारमा छलफल भइरहेको छ। खानेकुरा पकाउन सोखिन उनकी आमालाई सुरूमा ‘बुक क्याफे’ खोल्ने मन थियो। विभिन्न कारणले त्यो योजना परिवर्तन भयो। पछि यहाँ पढ्ने ठाउँसँगै चिया, कफी र बेकरी आइटम राख्ने सोचाइ भने बनिरहेको छ।
त्यसका साथै साना केटाकेटीलाई कथा वाचनको कार्यक्रम गर्ने ‘आइडिया’ पनि आफन्तले दिइरहेका छन्।
‘के गर्ने भनेर ठ्याक्कै चित्र नै त बनिसकेको छैन। प्रतिक्रियाहरू भने लिइरहेका छौं,’ उनले भनिन्।
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी