सप्ताहव्यापी रूपमा मनाइने विवाह पञ्चमी महोत्सवको मुख्य दिन बुधबार जनकपुरमा श्रद्धालुको जनसागर उर्लिएको छ।
नेपाल तथा भारतका विभिन्न स्थानबाट आएका श्रद्धालुले जनकपुर खचाखच भरिएको छ। महोत्सव अन्तर्गत जानकी मन्दिर परिसरमा आज वैवाहिक कार्यक्रम हुनेछ।
पौराणिक मान्यता अनुसार राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी आज दिउँसो रङ्गभूमि मैदान पुर्याइएको थियो।
जानकी मन्दिरबाट विशेष सुसज्जित डोलामा राखी सिताको डोलासमेत रङ्गभूमि मैदानमा लगिएको थियो । त्यसैक्रममा नेपाली सेनाको हेलिकप्टरले जानकी मन्दिर र रंगभूमि मैदानमा पुष्पवृष्टि गरेको थियो।
ढोल पिपही, सहनाई, ब्याण्ड बाजा र पञ्चेबाजासहित निस्किने दुबै डोला वाह्रविगाहा मैदानमा मिलन भएपछि वैदिक परम्परा अनुसार मालाफेर गरी राम र जानकीको स्वयम्वर भएको थियो। डोलाको दर्शन र रामसीताको स्वयमम्बर हेर्न बाह्रविगाहा मैदानमा दर्शनार्थीको ठूलो घुइँचो लागेको थियो।
स्वयम्वरपश्चात राम र जानकीको डोलालाई नगर परिक्रमा गर्दै जानकी मन्दिरमा पुर्याइएको छ। राम र सीताको विवाहका लागि जानकी मन्दिरको प्राङ्गढमा विवाह मण्डप (मडवा) बनाइएको छ।
राम र जानकीको विवाहको लागि जानकी मन्दिरलाई नवदुलहीझैं सिंगारिएको छ। जानकी मन्दिरमा साँझदेखि मिथिलाको वैदिक परम्परा अनुसार विवाहको काज आरम्भ हुनेछ।
वैवाहिक कार्यक्रममा राम मन्दिरका महन्थ राम गिरी भगवान् रामका बुबा अर्थात् राजा दशरथको भूमिकामा हुन्छन् भने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव छोरी पक्षको नेतृत्व गर्दै सीताको बुबा राजा जनकको भूमिकामा हुन्छन्।
त्यहाँ सुमधुर गीत संगीत, झाँकी किर्तन र मिथिलाको गाली गीतसहित सांस्कृतिक कार्यक्रम गर्ने गरिन्छ। विवाहको काजमा मैथिलानीहरूले जन्तीलाई थरी– थरीका गाली गीतले स्वागत गर्ने गर्छन्।
विवाह कार्यक्रम हेर्न जानकी मन्दिरमा हजारौं श्रद्धालुहरुको घुइँचो लागेको छ। बिहीबार रामकलेवा विधिपछि विवाहपञ्चमी महोत्सव सम्पन्न हुनेछ। विवाहपञ्चमीमा भिडलाई मध्यनजर गरि जनकपुरमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
भीडभाडमा हुनसक्ने आपराधिक घटनालाई रोक्न करिब २ हजारको संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई समेत खटाइएको छ।
हेर्नुहोस् तस्बिरमा