सन् १८३५ मा सर रोल्यान्ड हिलले पहिलो हुलाक टिकट आविष्कार गरे। रानी भिक्टोरियाको अनुहार अंकित उक्त टिकट सन् १८४० मा मात्र प्रकाशन भयो। नेपालमा भने त्यसको चार दशकपछि अर्थात् सन् १८८१ मा बल्ल हुलाक टिकट छापिन थाल्यो।
नेपालको पहिलो हुलाक तीन वटा सेटमा प्रकाशन भएको थियो। बेलायती कागजमा प्रिन्ट भएको त्यो टिकटमा हरियो, बैजनी र गुलाबी रङको एकै प्रकारको तीन वटा सेट थियो। तत्कालीन समयमा ती टिकटको मूल्य एक आना, दुई आना र चार आना तोकिएको थियो। चार वर्षपछि नेपाली कागजमा तिनै हुलाक टिकट पुनः छापियो।
सन् १८८१ देखि सन् २०२१ सम्म (विक्रम सम्वत् १९३८ देखि २०७८ सम्म) का, अर्थात् १५० वर्षका हुलाक टिकटको संकलन एवं विवरण भएको किताब 'द हिस्ट्री अफ नेप्लिज पोस्टेज स्ट्याम्पस्' सार्वजनिक भएको छ। यो किताब लेखक तथा संकलकद्वय भुवनेशकुमार प्रधान र केदारप्रसाद प्रधानले लेखेका हुन्।
पुस्तकमा राजपरिवारका सदस्य, सहिद, साहित्यकार, राजनीतिज्ञ लगायतका व्यक्तित्व, जीवजन्तु र वनस्पति, हिमालहरू, सांस्कृतिक सम्पदा लगायत विविध सामाजिक, राजनैतिक, जैविक, आर्थिक, सांस्कृतिक लगायत सबै विधा समेटिएका १ हजार तीन सय १७ टिकटको विवरणसहित समेटिएको छ। यसमा नेपाली मिति र इश्वी सम्वत् दुवै उल्लेख छ।
८६ वर्षीय भुवनेशकुमारका बुवालाई टिकट संकलनको रूचि थियो। त्यही रूचि अगाडि बढाउँदै उनले १६ वर्षको उमेरदेखि टिकट संकलन गरे। सौखका रूपमा उनले ७० वर्षसम्म यो काम गरे। त्यसक्रममा नेपालको मात्र नभई अमेरिका, बेलायत, संयुक्त राष्ट्र संघ र विश्व हुलाक संघका टिकट समेत संकलन गरेका छन्।
उनका अनुसार विश्व हुलाक संघको सदस्य नभएसम्म पोस्ट स्ट्याम्पहरू निकाल्न पाइन्न। र त्यसको सदस्य हुनुअघि संयुक्त राष्ट्र संघको सदस्य हुनुपर्छ।
'नभए हाम्रो चिठीमा भारतको टिकट टाँसिन्थ्यो। त्यसका लागि लैनचौर गएर भारतीय टिकट टाँस्नुपर्थ्यो,' उनले भने।
संस्कृतिविद सत्यमोहन जोशी आफ्नो देशमा अरू देशको टिकट टाँस्नुपर्दाका दिनलाई एउटा नराम्रो कालखण्डका रूपमा सम्झन्छन्। त्यस समयमा चार पैसे, आठ पैसे लगायत टिकट त थिए तर त्यो नेपालमा मात्र चल्थ्यो। बाहिर चल्दैनथ्यो। आफ्नो देशमा अर्काको टिकट टाँस्नुपर्दा 'हाम्रो सार्वभौमिकता कहाँ छ?' भन्ने सधैं लाग्थ्यो उनलाई।
त्यसैले जोशी भन्छन्, 'टिकट इतिहास मात्र होइन। सार्वभौमिकता र इज्जतको कुरा पनि हो। यसले हामीलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पनि चिनाउँछ।'
धेरैजसो व्यक्तित्वले मृत्युपछि सम्मान पाउँछन्। उनीहरूको अनुहार अंकित टिकट पनि पछि नै बन्छ। तर ललितपुर महानगरपालिकाले जोशीको सयौं वर्षको अवसरमा उनलाई रथारोहण गराउनुका साथै उनको अनुहार अंकित मुद्रा र टिकट सार्वजनिक गरेको थियो।
सानैदेखि मुद्रा र स्ट्याम्पको धेरैथोरै संकलनमा रूचि राख्ने जोशीलाई त्यो सम्मानले झनै हौस्याएको बताउँदै भने, 'मेरो सानोतिनो संकलन थियो। त्यो सम्मान पाएपछि मैले लोक साहित्य भवनमा पाँचौं शताब्दीदेखिका मुद्रा संकलन गरेर राखिदिएको छु। टिकटको पनि केही नमूना छ।'
किताब 'द हिस्ट्री अफ नेप्लिज पोस्टेज स्ट्याम्पस्' का अर्का संकलक एवं सम्पादक केदारप्रसाद प्रधान नेपाली हुलाक टिकटमा जंगबहादुर राणाको ठूलो योगदान भएको सम्झन्छन्। जंगबहादुर बेलायत जाँदा टिकट चलन देखेका रहेछन्। अनि नेपालमा पनि टिकट छाप्ने मनसायले यो काम सुरू गरे।
जंगबहादुरले त्यतिबेलै बेलायतबाट गिद्दको चित्र अंकित 'गिद्दे प्रेस' उपहारमा ल्याएका थिए। त्यो गोरखापत्र छाप्न प्रयोग गरिएको थियो। त्यही प्रेसबाट हुलाक टिकट छापिएको थियो।
त्यसरी छापिएका टिकटमा सुरूमा 'गोरखा' लेखिएको थियो। सन् १९३० देखि भने 'नेपाल सरकार' लेख्न थालियो। पछि फेरि 'श्री ५ को सरकार' लेखियो।
केदारप्रसादले टिकट संकलन गर्न थालेको २०२३ सालदेखि हो। हाल ७४ वर्षीय उनले दार्जिलिङमा पढ्दाताका पहिलो टिकट किनेका थिए। त्यति बेला जवाहरलाल नेहरूको निधनपछि टिकट निस्किएको रहेछ। स्कुल अगाडिको हुलाक कार्यालयमा लामो लाइन थियो। उनी पनि 'के होला!' भन्दै लाइनमा मिसिए।
'त्यहाँ १५ पैसा पर्ने टिकट बेचिरहेको रहेछ। मैले अनजानमै किनेँ। पछि संकलन गर्न रमाइलो लाग्न थाल्यो,' उनले भने, 'बनारसमा मेरो एउटा साथी थियो। उसलाई पनि म नेपालको टिकट पठाउँथे। बदलामा उसले त्यहाँको टिकट मलाई पठाउँथ्यो।'
२०६६ सालमा काठमाडौं आएका उनले भोटाहिटी जाने बाटोमा रहेको हुलाकबाट रामसीता अंकित टिकट किने। पछि उनी नेपाल फिलाटेलिक सोसाइटीमा पनि आबद्ध भए। दुई सयभन्दा बढी सदस्य भएको उक्त सोसाइटीका पूर्व अध्यक्ष पनि रहेका उनको संकलक भुवनेशसँग त्यहीँ भेट भएको हो। पछि उनीहरूले संयुक्त किताब निकाल्ने योजना बनाए।
किताब निकाल्ने योजनामा १४ वर्ष खटेपछि बल्ल सम्भव भएको उनी बताउँछन्।
'लेख्दै सच्याउँदै गयौं। कतिपय व्यक्तित्वको साँचो नाम, जन्ममिति खोज्नै समय लाग्यो। हुलाक विभागले पनि ठ्याक्कै मिति नराखेकाले एकप्रकारको अनुसन्धान नै गर्नुपर्यो,' उनले भने, 'अझै पनि नमिलेका कति कुरा होलान्। कसैले पढेर भन्नुभयो भने अर्को संस्करणमा सच्याउने छौं।'
केदारका अनुसार नेपालको पहिलो टिकटको मूल्य अहिले १७/१८ हजारसम्म पुगिसक्यो। महत्वपूर्ण टिकटहरू महँगो हुने भन्दै उनले रानी एलिजावेथद्वारा संकलित एउटा टिकटको ६–७ करोड पनि भएको जानकारी दिए।
'साना केटाकेटीहरू धेरैले आफ्नो रूचिका रूपमा टिकट संकलन गर्छन्। तर संकलन गर्ने उचित ज्ञान र शिक्षा नहुँदा निरन्तरता दिँदैनन्। यसको महत्व विश्व बजारमा धेरै छ भनेर स्कुलहरूमै जानकारी दिइनुपर्छ,' उनले भने।
संकलकद्वय केदारप्रसार र भुवनेशले हुलाकमा कलात्मक काम गर्ने स्वर्गीय कलाकारहरू उत्तम नेपाली, एस.डि. अशान्त, मोहन नरसिंह र हाल हुलाक सेवा विभागमा काम गरिरहेकी कलाकार पूर्णकला लिम्बूलाई स्मरण पनि गरे।
विभागकी महानिर्देशक इन्दु घिमिरेका अनुसार हेर्दा कागजको टुक्राजस्तो लागे पनि टिकटको महत्व धेरै छ। देशको भूगोल, साहित्य, धरोहर, इतिहास लगायत कुरा टिकटले बताउनु त छँदैछ, यसले विभिन्न विवादमा प्रमाणका रूपमा काम गर्ने पनि उनले बताइन्।
'यो किताबभित्रका पाना भविष्यका प्रमाण हुन्। यो किताब ऐतिहासिक दस्ताबेज हो,' उनले भनिन्, 'यो काम खासमा नेपाल सरकारले गर्नुपर्ने काम हो। उहाँहरूले यस्तो महत्वपूर्ण किताब निकालेर आउने पुस्तालाई सजिलो बनाइदिनुभएको छ।'