अहिले कांग्रेस महाधिवेशनस्थल भृकुटीमण्डपमा सबै जना आ-आफ्नै सुरतालमा छन्।
आफ्नो उम्मेदवार जिताउन नारा लगाउने, प्रचारप्रसार गर्नेहरूको भीडले वातावरण गुञ्जायमान छ।
त्यो वातावरणलाई ७७ वर्षीय मंगलबहादुर नेपालीले दिनहुँ नियालिरहेका छन्।
तर, उनलाई कांग्रेस पार्टीको महाधिवेशनको रौनकसँग कुनै सरोकार छैन। जसरी केही समयअघि राप्रपा महाधिवेशन हुँदा पनि नेपालीलाई चासो रहेन।
उनलाई मात्र चासो छ- मेरो ठेलाअगाडि मानिस आऊन्, बदाम सुन्तला, जुस किनून्।
ठिङ्ङ उभिएर उनी ग्राहकलाई सुन्तला, बदाम जोखेर बेचिरहेका छन्। यसरी पार्टीका ठूला अधिवेशन हुँदा उनको व्यापार भने मौलाउँछ। उनी त्यसैमा खुसी मान्छन्।
भिडभाड बढेपछि उनलाई सामान बेच्न भ्याइनभ्याइ हुन्छ। त्यसकारण पनि पार्टीका कार्यक्रम किन भइरहेका छन्, केका लागि भइरहेका छन् त्यसमा चासो राख्ने समय निस्किँदैन।
‘चुनावमा भोट हालिन्छ, तर कसलाई हालिन्छ मतदान गर्न गएपछि नै टुंगो हुन्छ,’ नेपालीले भन्छन्, ‘कुनै पार्टीमा आवद्ध भइनँ, सदस्य पनि भइनँ, त्यसैले यस्ता कार्यक्रम हुँदा आफ्नो व्यापारबाहेक अन्त ध्यान पनि गएन।’
भृकुटीमण्डपमा नेपालीजस्ता धेरै व्यक्तिहरू बिहान-बेलुकाको छाक टार्न ठेला लिएर बसिरहेका हुन्छन्। पार्टीका ठूला कार्यक्रम र मेला-महोत्सव हुँदा उनीहरूलाई चाडवाड आएजस्तो हुन्छ।
‘यहाँ कति मेला लाग्छन्, कति कार्यक्रम हुन्छन् ख्याल राखेर साध्य छैन,’ नेपाली भन्छन्।
तर, उनी भृकुटीमण्डपमा हुने कार्यक्रमहरूको चासो नराखे पनि आफू बसेको ठाउँनजिकै अर्को त्यस्तै पसलको निगरानी भने बेजोड गर्छन्।
सेताम्य कपाल ढाक्न टोपी, शरीरमा कमिज सरवाल र स्टकोट भिरेका नेपालीलाई बुढ्यौलीमा अर्को पसल थापेर सघाउँछिन् श्रीमती डालश्व नेपालीले।
५६ वर्षीया डालश्वको भने खुब रेखदेख गर्छन्। घरिघरि पुगिहाल्छन्। पसलमा सामान किन्नेलाई फिर्ता गर्न खुजुरा पैसा भएन भने लु साटिदेऊ भन्दै पुग्छन्।
मंगलबहादुर र डालश्वको जोडी भृकुटीमण्डपमा जमेको ६ वर्ष पुगिसकेको छ।
दुबै बागबजारमा मासिक ६ हजार तिरेर डेरा बस्छन्, उज्यालो हुनेबित्तिकै भृकुटीमण्डप पुगिहाल्छन्।
श्रीमती मोरङकी हुन्, मंगल काभ्रे फूलबारी दाप्चाका हुन्। यी दुबैको भेट ‘दैव सन्जोग’ जस्तै छ। बदाम सुन्तला बेच्दै गर्दा मंगलबहादुरले आफ्नो कथा सुनाउन भ्याए।
मंगलबहादुरको गाउँमा १२ रोपनी जग्गा थियो। चार भाइ छोरा दुई छोरी थिए। सबैको बिहे भइसकेको थियो।
२०६१ सालमा मंगलकी श्रीमती बितिन्। त्यसपछि मंगलको पारिवारिक बिछोड सुरू भयो।
‘छोराछोरी आ-आफ्नै घरधन्दामा व्यस्त भए, मलाई रेखदेख गर्ने कोही भएन, एक्लो भएँ,’ उनले भने, ‘आफूले भनेको कसैले नमान्ने र अरूको कमाइमा बाँच्नु परेपछि गाउँ छोडें।’
काभ्रे छोडेर उनी २०६५ सालमा काठमाडौं आए। केही समय त बेपर्वाह जिन्दगी बिताए।
‘कतै गयो, काम माग्यो, मेरो उमेर अनुसारको काम कसैले नदिने, म त त्यतिकै मर्छु कि जस्तो भयो,’ उनी भन्छन्, ‘घुम्दै-फिर्दै जाँदा डालोमा बदाम बेच्नेहरूलाई देखें।’
मंगलबहादुरले त्यही डालोमा आफ्नो बाँकी जिन्दगी देखे। त्यसपछि उनी एउटा डालोमा बदाम बोकेर भृकुटीमण्डप छिर्न थाले।
डालोमा बदाम बोकेर हिँड्दा दिनमा एक दुई सय जम्मा पार्थे। त्यसैले कोठाभाडा तिर्ने र बिहान बेलुकाको छाक टार्ने गरिरहेका थिए।
जिन्दगी बितिरहेकै थियो। ६ वर्षअघि भृकुटीमण्डपमा एउटा रक्तदान कार्यक्रम आयोजना भइरहेको थियो। उनी त्यहाँ बदाम बेच्न पुगेका थिए।
कसैले उनलाई बुढ्यौलीमा एक्लै जिन्दगीभन्दा साथी खोज्न सल्लाह दिएछन्। त्यस्तो सल्लाह दिनेले डालश्वको फोन नम्बर पनि टिपाइदिएछन्।
‘उहाँ को हुनुहुन्थ्यो त मैले बिर्सें, तर नम्बर पाएपछि मैले फोन गर्न थालें,’ मंगलले भने।
एक डेढ महिना निरन्तर फोन गरिरहे। डालश्व र मंगलबीच घनिष्ठता बढ्दै गयो।
डालश्व पनि एक्लै रहिछन्। दुई छोराछोरीको बिहेवारी भएर थान्को लागेका रहेछन्। श्रीमान् विदेश गएको दुई दसकसम्म घर फर्केका रहेनछन्।
फोनमा कुरा गर्ने क्रममा डालश्वलाई आफ्नो सबै कथा भने। छोराछोरी रहेको, श्रीमती बितेको र त्यसपछि परिवारले बेवास्ता गरेकाले काठमाडौं आएर काम गर्न थालेको बताए।
कैलश्वले पनि आफ्नो व्यथा पोखिन्। दुबै बिहे गर्न मञ्जुर भएछन्।
‘तिमी काठमाडौं आऊ न भनेर मैले भनें, तर म त एक्लै आउन सक्दिनँ, लिन आउने भए आउँला,’ उनले भनिछन्।
मंगललाई ‘के खोज्छस्’ भनेजस्तो भएछ।
‘म उनलाई लिन मोरङको केराबारी पुगें, उनी तयार भएर बसेकी रहिछन्, लिएर आएँ,’ मंगलले हाँस्दै थोते हुँदै गएका गीजा देखाए।
डालश्वलाई ल्याएपछि त मंगललाई दु:खै परेन। दुई जनाले डालो बोकेर बदाम बेच्न थाले।
२०७४ सालको कुरा हो। भृकुटीमण्डपमा डालो लिएर दिनहुँ जाँदा सेक्युरिटी गार्डहरूले रोक्न थाले।
‘यसरी यहाँभित्र कहाँ व्यापार गर्न पाइन्छ र? समाज कल्याण परिषदमा दर्ता हुनुपर्छ,’ गार्डले रोक्दै भन्न थाले।
त्यसपछि मंगल समाज कल्याणको प्रक्रियातिर लागे। समाज कल्याण परिषदमा पुगेर उनले व्यापारका लागि के गर्नुपर्छ भनेर सोधे। त्यहाँका मानिसले भनेछन् - नागरिकता चाहिन्छ।
मंगलले तुरुन्तै नागरिकतासहित पेश गरेर भृकुटीमण्डपमा आधिकारिक रूपमा व्यापार गर्ने अनुमति लिए।
त्यसपछि उनले एउटा ठेला आफ्नो लागि, अर्को ठेला श्रीमतीको लागि किने।
आधिकारिक रूपमै व्यापारको अनुमति लिएपछि उनले आफ्नो र श्रीमतीको लागि अलग-अलग स्थानमा ठेला राख्न थाले।
‘जाडोमा बदाम, सुन्तला, पानी, जुस बेच्छौं, गर्मीमा सिजन अनुसारका फलफूल काटेर कागजको प्लेटमा बेच्छौं,’ मंगलकी श्रीमतीले भनिन्, ‘कालिमाटी बजारबाट सामान ल्याउँछौं।’
कालिमाटीबाट सामान ल्याएर बेच्दा दिनमा मंगल सामान्य अवस्थामा पनि ११ देखि १५ सय रुपैयाँको बेच्छन्। उनकी श्रीमतीले सरदर त्यति नै बेच्छिन्।
भृकुटीमण्डपमा यस्ता ठूला भीड जमेपछि भने उनीहरूले दोब्बर कमाउँछन्। ‘अहिले दिनमा २१ देखि २५ सयसम्म कमाइ एक जनाको हुन्छ,’ मंगलले भने।
भृकुटीमण्डपमा उनीहरू जस्तै आधिकारिक रूपमै पसल खोलेका थुप्रै छन्। कोही चटपटे, कोही पानीपुरी, कोही पानी, पान पराग र चुरोट बेच्नेहरू छन्।
समाज कल्याण परिषदमा दर्ता गरेपछि उसलाई भाडा तिर्नुपर्दो रहेछ। मंगल आफू र आफ्नी श्रीमतीको गरेर तीन हजार रुपैयाँ मासिक भाडा परिषदलाई तिर्छन्।
‘लकडाउनको बेला त ४५ सय तिर्नुपर्यो, त्यो बेला मान्छे पनि नआउने, भाडाचाहिँ महंगो तिर्नुपर्ने,’ मंगलले गुनासो गरे, ‘म जस्तो बुढो मान्छेलाई त भाडा नलिए पनि हुने नि, म त ज्येष्ठ नागरिकमा पर्दो रहेछु।’
मंगल र डालश्वले जति नै कमाइ गरे पनि हिसाब-किताब भने गर्दा रहेनछन्।
‘बिहान-बेलुका मजाले खान पुगेको छ, अब त बानी पर्यो यहाँ नआई चित्त पनि बुझ्दैन,’ मंगलले भने, ‘हामीले परिवारका कसैलाई दिनु परेको छैन। जति हुन्छ जे हुन्छ हामीलाई ठिकै छ।’
मंगलका अनुसार परिस्थितिले जिन्दगीलाई जता धकेल्छ, जसो भन्छ उसैगरी बाँच्नुपर्दो रहेछ। सकुञ्जेल यही पेशा गरेर जीविकोपार्जन गर्ने मंगलले सुनाए।
‘छोराछोरी कहाँ के छन्, नातिनातिना भइसकेका थिए, छोराहरूले खोजेका छैनन्,’ उनले भने, ‘काभ्रेको त्यो जग्गा नामसारी गरिदिएको पनि छैन। उनीहरूले नखोजेपछि म पनि गएको छैन।’
बुढ्यौली उमेरमा दिनभर उभिँदा मंगलबहादुर गल्छन्। श्रीमतीलाई भने बस्ने कुर्सी राखिदिएका छन्।
‘थाके पनि गले पनि बानी परिसक्यो, वास्ता लाग्दैन, उनको खुट्टा गल्छ भनेर कुर्सी राखिदिएको छु, बेला-बेला थाक्दा म उता जान्छु, उनी यता आउँछिन्,’ मंगलले भने।