झिझियाँ नाच्ने समय दसैंको दशमीतिर हो। विशेषगरी तराईका मधेसी समुदायले नाच्दै–गाउँदै यो पर्व मनाउँछन्, देवीको आराधना गर्छन्।
दसैं सकिएपछि पनि काठमाडौं बौद्धस्थित तारागाउँ म्युजियममा झिझियाँको रौनक छाएको छ। त्यो रौनक ल्याइदिएका हुन् जनकपुरदेखि काठमाडौं आएका चार महिला कलाकारले– सुधिरा कर्ण, मञ्जुला ठाकुर, मधुमाला मण्डल र रेवती मण्डल।
करिब आधा महिना उनीहरूले यो संग्रहालयको एक हिस्सा मिथिला भित्तेचित्र बनाउने काममा समर्पित गरे। त्यही चित्रमा छ, झिझियाँ पर्वको झलक।
म्युजियम प्रवेश गर्नेबित्तिकै देखिने यो चित्रमा केही दिनअघिसम्म उनीहरूले रङ भर्ने अन्तिम चरणको काम गरिरहेका थिए। उस्तै रङ त उनीहरूको अनुहारमा पनि प्रतिबिम्वित थियो।
त्यही भएकाले काम गर्दागर्दै कहिले हाँस्थे, गाउँथे अनि झिझियाँ सम्झिँदै नाच्थे पनि।
तोहरे भरोसे ब्रहम बाबा झिझिया बनेलियै हो
ब्रहम बाबा झिझियाँ बनेलियै हो
ब्रहम बाबा झिझियाँ पर होईयो सवार हो
बालक तोहर किछियो ने जनैछ हो
तोहरे भरोसे ब्रहम बाबा जुडुवा बनेलियै हो
तोहरे भरोसे ब्रहम बाबा होईयो सवार हो
बालक तोहर किछियो ने जनैछ हो...
'यो गीतमा श्रृष्टिकर्ता ब्रह्मालाई उनकै भरोसामा हामी झिझियाँ बनेका छौं भनिएको छ,' गाउँदै नाचेपछि गीतको भाव बताउँदै ४८ वर्षीया मधुमालाले भनिन्, 'देउसी–भैली घरघरमा गएर खेलिन्छ, झिझियाँमा पनि त्यस्तै हुन्छ। नाचेपछि रूपैयाँ, चामल, मट्टितेल लगायत सामग्री हामीलाई मान्छेहरूले दिन्छन्।'
झिझियाँ मधुमालालाई मिथिला पर्वहरूमा सबभन्दा मनपर्छ। सानो छँदा उनकी आमा, हजुरआमा (डाइ) नजिकैको देवता थानमा झिझियाँ खेल्न जान्थे। उनलाई भने कसरी खेल्छ भनेर हेर्ने रहर हुन्थ्यो। साथीसंगीसँग पनि टाउकोमा लोटा लिएर नक्कल गर्दै खेल्थिन्।
आफूलाई एकदम मनपर्ने नाच भएकाले नै उनले त्यो बेलाको सम्झनालाई चित्रमा उतारेकी हुन्। तारागाउँमा बनाइएको चित्र मधुमालाकै स्मरणमा भएको झिझियाँको चित्रण हो। उनले यो चित्र सुरूमा कागजमा उतारेकी थिइन्। पछि त्यसैलाई भित्तामा उतारियो।
तारागाउँमा मिथिला चित्र बनाउन जनकपुरबाटै माटो, भुस, गोबर लगायत सामग्री ल्याइएको थियो। सुरूमा त्यसलाई मिसाएर लिपियो। त्यसपछि सुक्न दिइयो र डिजाइन अनुसार कहाँ–कहाँ बनाउने भनेर नक्सांकन गरियो। अनि कागजको चित्र भित्तामा उतारियो। पछि रङ लगाइयो।
मिथिला कलाकार एवं सँस्कृति अध्येता एससी सुमनका अनुसार माटोका चित्र विशेषगरी वर्षा ऋतु सकिएपछि बनाइन्छ। वर्षामा खर, बाँस, भित्ताको माटो गलेर जान्छ। हरेक वर्ष यसलाई मर्मत गर्नुपर्छ। साथै वर्षा सकिएपछि मानिसहरूलाई खेतीपातीबाट फुर्सद पनि हुन्छ। त्यसैले प्रायः असोज महिनामा भित्तेचित्र बनाउने पुरानो चलन हो।
'वर्षापछि कमिला, बिच्छी, कीराफट्यांग्रा, गँगटो आदि सरीसृप जन्तुसँग सुरक्षित हुन घरका भित्तामा गाईको गोबर लिपिन्छ। गोबरले भित्तालाई कडापन प्रदान गर्छ र मजबुत पनि बनाउँछ,' उनले भने।
तारागाउँमा बनाइएको भित्तेचित्रमा दुई जना महिला झिझियाँ खेलिरहेका छन्। बीचमा रूख छ, वरिपरि मयुर, हात्ती, चरा, चुकन्दर लगायत शुभ मानिने जनावर र बिरूवाका चिह्न छन्।
मधुमालाका अनुसार झिझियाँ विशेषगरी दुर्गा, भगवती लगायत सबै देवीलाई खुसी बनाउन नाचिन्छ। नाच्ने बेला टाउकोमा घैला राखिन्छ जसको पानीमा फूल र बत्ती राखिएको हुन्छ।
झिझियाँको त्यही झलक देखाउने चित्र बनाएका चार कलाकारमध्ये मधुमालासँगै रेवतीले झिझियाँ नाच्छिन्। सुधिरा र मञ्जुला भने नाच्दैनन्। ५२ वर्षीया सुधिराका अनुसार यो नाच मुसहर, सदा, मण्डल लगायत दलित समुदायले मात्र नाच्छन्।
'घरमा चित्रहरू कस्तो बनाउने भन्नेमा पनि जातअुनसार फरक हुन्छ,' चित्रमा समेत जातको वर्गीकरण हुने बताउँदै सुधिराले भनिन्, 'जस्तो ठूलो भनिने जातका मान्छेले देवीदेवताका चित्र बनाउँछन्। साना भनिनेले चरा, हात्ती, घोडा, माछा लगायत बनाउँछन्।'
तारागाउँमा भने कथित ठूला र साना दुवै जातको एकीकरण भएको ठान्छन् कलाकार एवं संस्कृति अध्येता एससी सुमन।
'मिथिलामा चित्र बनाउने शैलीमा वर्गीकरण छ। तर त्यसलाई यो सामूहिक कलाले चिर्ने काम गरेको छ,' उनले भने, 'जातीय विभेदको त्यो रेखालाई धमिलो बनाउँदै यो भित्तेचित्रले अप्रत्यक्ष रूपमा एकीकरण गरेको छ।'
झिझियाँ नाच साँझ सात बजेतिरबाट सुरू भई १०–११ बजेसम्म पनि चल्छ। यो नाचमा देवतालाई रिझाउनुबाहेक सबैको खुसी र समृद्धिको कामना गरिन्छ।
यो नाचको अर्को मुख्य विशेषता भनेको प्रेत (बोक्सी) पन्छाउनु पनि भएको मधुमाला बताउँछिन्। टाउकोमा बोकिने मट्कामा प्वाल पारिन्छ। यसो गर्दा प्रेत मर्ने विश्वास भएको उनी बताउँछिन्।
त्यही भएकाले एससी सुमन यसलाई तन्त्रविद्यासँग जोडिएको नाच पनि भन्छन्। त्यसरी प्वाल पार्नु र नाच्दा दायाँबायाँ हल्लिनुको कारण जोडिएको बताउँदै भन्छन्, 'नाचिरहेका बेला घैलामा भएको प्वाल कसैले गन्न सक्यो भने त्यो मान्छे त्यहीँ मर्ने जनविश्वास छ। त्यही भएर त्यसरी फनफन नाचेको पनि भनिन्छ।'
मिथिला क्षेत्रको यो प्रख्यात नाच केही समय ओझेलमा परेको थियो। सुधिराका अनुसार माओवादी द्वन्द्वकालको त्रासदीपूर्ण वातावरणले यसलाई असर पुर्याएको थियो। गाउँका केटाहरूलाई लखेट्दै लग्ने, घरघरमा जाने र धम्काउने, जहीँत्यहीँ बम राख्ने लगायत गतिविधि हुन्थ्यो। त्यही भएर मान्छेहरू घरबाहिर जान डराउँथे।
'बाहिर जानै डर भएपछि झिझियाँ मर्कामा पर्यो,' उनले भनिन्, 'अहिले ७–८ वर्षयता भने हाम्रो संस्कृति जोगाउनुपर्छ भनेर फेरि चलिरहेको हो।'
झिझियाँलाई चित्रमा समेत जोगाउन लागिपरेका यी चार कलाकारले मिथिला कला सानैदेखि आफ्ना आमा वा हजुरआमासँग सिक्दै आएका हुन्। अहिले उनीहरू सबै जनकपुरमा रहेको नारी विकास केन्द्रमा आबद्ध भएर चित्र बनाउँछन् जसलाई अमेरिकाकी कलाप्रेमी क्लेयर बुकर्टले स्थापना गरेकी हुन्। बुकर्ट मिथिला भित्तेचित्रको अभिलेख राख्न चाहन्थिन्।
४५ वर्षीया रेवती मण्डललाई सानैदेखि मिथिला चित्रमा रूचि थियो। सानो हुँदा भुइँमा बालुवाले चित्र बनाउने उनले ठूलो भएपछि माटोका घरमा चित्र बनाउन थालिन्। यो चित्रकलामा उनलाई यति रूचि थियो कि उनले नजिकैका छिमेकीका घरमा समेत चित्र बनाउँथिन्।
करिब ३० वर्षअघि त्यसरी नै चित्र बनाएर दाउरा लिन उनी जंगल हिँडेकी थिइन्। त्यही बेला उनको चित्रमा बुर्कटको नजर पुग्यो। त्यो चित्रको फोटो खिचेर कलाकार खोज्दै जाँदा रेवती फेला परिन्। अनि त्यही समयबाट रेवती नारी विकास केन्द्रमा जोडिएकी हुन्। अहिले उनका छोराहरू छुट्टिएर बसे पनि कलाले नै उनलाई जीविका धान्न सघाएको छ।
रेवतीजस्तै सानैदेखि चित्रकलाको सीप भएका अन्य महिला पनि त्यसरी नै नारी विकासमा जोडिएका हुन्। अहिले यहाँ ६५ वर्ष उमेर समूहसम्मका करिब ३५ महिला आबद्ध छन्।
यो केन्द्रकी अध्यक्ष हुन् सुधिरा र सचिव मधुमाला। हरेक दुई वर्षमा चुनाव गराएर नयाँ कार्यवाहक सदस्य छानिन्छ।
मिथिला कलाले यी स्थानीय कलाकारलाई पहिचान मात्र दिएको छैन, उनीहरूलाई सक्षम पनि बनाएको छ। अनि त्यही सक्षमताले मिथिलाका महिलाले 'घुम्टो ओढ्नै पर्ने' बाध्यता भत्काइरहेको उनीहरू बताउँछन्।
'बुहारीहरू बिहे गरेको डेढ महिनासम्म घुम्टोमै बस्छन्,' मञ्जुलाले भनिन्, 'तर अहिले मानिसहरू विभिन्न देश घुमेका छन्, पढे–लेखेका छन्। त्यही भएर मिथिलाका महिला पनि घुँघटबाट बाहिर निस्किरहेका छन्।'
सुधिराले यही सक्षमताको आडमा आफ्ना बालख छोरालाई एक्लै हुर्काइन्। छोरा ८ महिनाका हुँदा उनका श्रीमान बितेका थिए। उनी छोरा लिएर माइती घर गइन्, आफैं काम गरिन्। अहिले छोरा नै काम गर्ने भइसकेका छन्।
हाल छोराले स्नातकोत्तर गरिरहेको र ग्लोबल बैंकमा पाँचौं तहमा काम गरिरहेको सुनाउँदा उनी पहिलेका सबै दुःख बिर्सिएर मुसुक्क हाँसेकी थिइन्।
मधुमालाका छोरालाई भने स्पाइनल कर्डको समस्या छ। उनको उपचार, खाना लगायत सबै खर्च धान्न कलाले नै सहायता दिएको छ। उनी यो कलाबाट यति सन्तुष्ट छिन्, भन्छिन्, 'म त एकदिन मर्छु तर यो कला लिएर जान्छु।'
पहिले अरूको भित्तामा सित्तैमा चित्र बनाइदिने रेवतीलाई पनि अहिले मान्छेमा कलाको महत्व भएजस्तो महसुस हुन्छ। उनी भन्छिन्, 'पहिला त त्यति महत्व थिएन। यसलाई सामान्य कामका रूपमा मात्र हेरिन्थ्यो। अहिले सबैले राम्रो भन्नुहुन्छ र कलाको सम्मान गर्नुहुन्छ।'
घरको भित्तामा मात्र सीमित यो कला जब बाहिर आउन थाल्यो, उनीहरूले विभिन्न ठाउँ पुग्ने अवसर पाए। दुई दर्जनभन्दा बढी जिल्ला घुमिसकेका उनीहरूमध्ये कोही त विदेशमा समेत यो कला लिएर पुगेका छन्।
२०५३ सालदेखि यो केन्द्रमा आबद्ध सुधिराले २०५८ सालमा चित्र बनाउने क्रममै एकपटक बेल्जियम जाने अवसर पाएकी थिइन्। त्यसैगरी ६५ वर्षीया मञ्जुला एकपटक स्पेन र चारपटक अमेरिका पुगिसकिन्।
मिथिला कला सुरूआतको ठ्याक्कै तिथिमिति भन्न सकिँदैन। तर मिथिलाका जनतासँग राजा जनकले सीताको विवाहका बेला घर र बार्दलीका भित्तामा चित्र कोर्न आग्रह गरेका भनाइ छ। कलाकार एससी सुमनका अनुसार मिथिला चित्रकला जीवनसँग जोडिँदै आएकाले लामो समयदेखि बाँचिरहेको हो।
मिथिला संस्कृतिमा प्रत्येक घरमा अरिपन (भूमिचित्र) बिना कुनै पूजा अगाडि बढ्दैन। भूमि होस्, भित्ते वा कागजमा बनाइने चित्रका रूपमा परिमार्जन हुँदै यो कला जोगिएको उनी बताउँछन्।
'सन् १९३४ मा विहारमा ठूलो भूकम्प जाँदा विलियम आर्चरले मिथिला चित्रकलालाई पिकासोसम्म पुर्याएका थिए। त्यस क्रममा भारतीय कला बाहिरी संसारमा पनि पुग्यो,' उनले भने, 'तर नेपालको कला प्रचार हुन निकै समय लाग्यो। धेरै त लोप हुने क्रममा छन्।'
मिथिला कला महिलाहरूले धानेका छन्। हजुरआमादेखि सिक्दै आएका कलाकारको पहिचानसमेत ओझेलमा छ। साथै कागजमा बनाइने चित्रको लोकप्रियता बढ्दै जाँदा भित्ते र अरिपन हराउँदै गएको एससी सुमन बताउँछन्।
उचित पहिचान-सम्मान नपाइने भएकाले पछिल्ला पुस्ताले यो कलामा चासो नदेखाएकामा चिन्तित छन् मिथिलादेखि आएका चार कलाकार पनि। त्यसमा पनि आधुनिक घर बढ्दै जाँदा यस्ता भित्तेकला हराउँदै गएका छन्।
'हाम्रो कलामा पढाइ, शिक्षादेखि खाना पकाउने कुरासम्म देखाइएको हुन्छ। अहिलेका पुस्ताले चुलोमा होइन, ग्यासमा खाना पकाउँछन्। घाँस काट्ने होइन अफिस जान्छन्। त्यसले पनि चित्रका शैली परिमार्जन भइरहेका छन्,' मधुमालाले भनिन्।
उनले बनाएका कागजका चित्रमा कतै महिलाले बाइक चलाएका त कतै डोजर चलाएका छन्। पहिलादेखि पुरुषले गाह्रो काम गरेको र विकासको गतिविधि गरिरहेको देख्दा उनलाई महिलाले पनि त्यसो गर्न सक्छन् भन्ने लाग्थ्यो। त्यो कुरा मनमा गढेर बसेपछि मनको कुरा चित्रमा उतार्छु भनेर बनाइन्।
मधुमाला ठान्छिन्, 'मिथिला कला मनमा छ, त्यसलाई निकाल्न गाह्रो छ। तर सोच्नुभयो त्यो निक्लिन्छ। किनभने मनमै भएको कुरा न हो!'
...
तारागाउँ म्युजियममा बनाइएको मिथिला भित्तेचित्र 'काठमाडौं ट्रिएनाले' का लागि बनाइएको हो। सन् २०२२ फेब्रेवरी ११ देखि मार्च ११ सम्म ट्रिएनाले आयोजना हुँदैछ। हरेक तीन वर्षमा हुने यो कार्यक्रममा करिब एक महिनासम्म काठमाडौंमा रहेका विभिन्न ठाउँमा कला प्रदर्शनी गरिन्छ। सँस्कृति मन्त्रालयसँगको सहकार्यमा सिद्धार्थ आर्ट फाउन्डेसनले गर्न लागेको यो कार्यक्रम गत वर्ष गर्ने योजना थियो। कोरोनाका कारण पछाडि धकेलिएको कार्यक्रमका कला क्युरेटर हितमान गुरुङले बताए।
'नयाँ कोरोना देखा परेको छ। अन्यौल पनि बढेको छ। तर सावधानी अपनाएर कार्यक्रम गर्ने छलफल भएको छ,' उनले भने।
यो पटकको ट्रिएनाले यी स्थानमा हुने छन्– तारागाउँ म्युजियम, पाटन संग्रहालय, पाटन संग्रहालयकै बहादुर शाह बैठक, नेपाल कला परिषद र सिद्धार्थ आर्ट ग्यालरी।
तारागाउँमा भित्तेचित्र जस्ता मौलिक कलासँगै बगैंचाको कामलाई कलामार्फत 'डिकन्सट्रक्ट' गर्ने काम पनि भइरहेको छ। त्यसका लागि कलाकारले आफैं बिरूवा पनि रोपेका छन्।
पाटन संग्रहालयमा धार्मिक तथा मौलिक कला हुने छन् भने बहादुर शाह बैठकमा नक्सांकन लगायत हुने छन्। नेपाल कला परिषदमा माइतीघर मण्डलनजिकै छ जहाँ देशभरका मुद्दामा आन्दोलन र भाषण हुन्छन्। त्यसैले परिषदमा राजनैतिक, सामाजिक, युद्धका कुरा, आदिवासी आन्दोलन लगायतमा केन्द्रित कला राखिने छ। सिद्धार्थ आर्ट ग्यालरीमा पनि यसैमा केन्द्रित कला हुने छन्।
क्युरेटर हितमान गुरुङ ट्रिएनालेका लागि तारागाउँमा हाल बनिसकेको भित्तेचित्र कलाको एक उत्सवका रूपमा मान्छन्। भन्छन्, 'ललितकला पछिल्लो समय मूलधारका चित्रमा केन्द्रित छन्। मिथिला कला भने हजारौं वर्षको अभ्यासबाट जोगिँदै आएको कला भएकाले त्यसलाई सम्मान दिने हिसाबमा पनि हामीले यहाँ ल्याएका हौं।'
उनका अनुसार सन् २०१९ मा नै उनी र अर्की क्युरेटर सिलेसा राजभण्डारी कलाको अध्ययन गर्न विभिन्न ठाउँ पुगेका थिए। त्यही क्रममा उनीहरूको भेट यी मिथिला कलाकारसँग भएको थियो। त्यही बेला काठमाडौंमा यस्तो भित्तेचित्र बनाउने योजना भएको रहेछ।
अहिले त्यो योजनालाई जीवित बनाउन पाएको खुसी साट्दै उनी भन्छन्, 'वर्षौंदेखि बनाइँदै आएको परम्परागत अनि महिलाले धान्दै आएको यो कलालाई हामीले यो ट्रिएनालेमा समेट्न पाउनु निकै खुसीको कुरा हो।'
सबै तस्बिर र भिडिओः सुसन चौधरी/सेतोपाटी