कैलालीको जानकी गाउँपालिका-९ का अरूण दास शुक्रबार साँझ साथीहरूसँग जाने भन्दै घरबाट हिँडे। रातभरिमा उनी घर फर्किएनन्। शनिबार बिहानसम्म नफर्केपछि उनकी श्रीमतीले वरपर सोधीखोजी गरिन्। अरूण कहाँ छन् भन्ने कसैलाई थाहा भएन।
दिउँसोतिर श्रीमतीको मोबाइलमा एउटा अडियो रेकर्ड आयो। त्यसमा केही केटाहरू बोलेको सुनिन्छ।
‘भाइलाई छुने भन्दै छन् नि होइन, एक दुई दिनमा खबर पाइहाल्नुहुन्छ, घाँटी अलग छ, शरीर अलग छ, हामीले गरेर आको, हामी बोर्डरपारि छौं, बैंग्लोर जान रूपडिया छौं,’ अडियोमा बोल्नेले भनेका छन्।
उक्त अडियोमा केही केटाहरूले कसैलाई फोनबाट घटनाबारे सुनाएको देखिन्छ। दासकी श्रीमती उक्त अडियो सुनेपछि लाग्यो उनीहरूले आफ्नै बेपत्ता श्रीमानको कुरा गरे। त्यसपछि उनी अडिओ नै लिएर इलाका प्रहरी कार्यालय लम्की गइन्।
एक जना प्रहरी अधिकृतका अनुसार उनी डराएर आएकी थिइन्।
‘लोग्ने घरमा हिजोदेखि छैन, यस्तो अडियो मलाई किन पठाए भनेर होला उहाँ रूँदै आउनुभएको थियो,’ उनले भने। त्यो अडियो कसले पठाएको भन्ने प्रहरीले खुलाएको छैन।
उनी प्रहरीकहाँ पुगेको केही समयमै जानकी गाउपालिका-९ कै अमरावती सामुदायिक वनमा लास छ भनेर प्रहरीकहाँ खबर आयो। सोही वनका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए।
लगत्तै प्रहरीको टोली घटनास्थल पुग्यो। श्रीमतीले त्यो शव अरूणकै हो भनेर चिनिन्।
अरूणले लगाएको सर्ट खोलेर घाँटी बाँधेको, हात रूख पछाडि रूमालले बाँधेको अवस्थामा शव फेला परेको थियो। त्यस्तै टाउको छिनालेर घुँडानेर राखिएको थियो।
घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारी आफैं कुकुरसहितको टोली लिएर पुगे।
मृतक दासका २ छोराछोरी छन्। उनका आमाबुबा कामका लागि भारत गएका थिए। उनी, श्रीमती र भाउजु घरमा बस्दै आएका थिए।
उनी पनि भारत जाने-आउने गर्थे। स्थानीयका अनुसार दास १८ दिन अघिमात्रै भारतबाट नेपाल फर्केका हुन्। गाउँमा हुँदा ज्यालामा वरपरका मान्छेका बारी खन्ने, ब्लक बनाउनेजस्ता काम गर्थे।
स्थानीयले आमाबुबा आउन्जेलसम्म शव उठाउन नदिएपछि प्रहरीले घटनास्थलको काम रोकेको थियो।
शनिबार रातभर घटनास्थलको सुरक्षा गरी बसेको प्रहरीले आइतबार परिवारको उपस्थितिमा घटनास्थलको काम गरिरहेको छ।
‘मृतक कहाँ गएका थिए, साथीहरू को-को थिए भनेर अनुसन्धान भइरहेको छ,’ कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले भने।
उनले केही मानिसहरूको नाम आएको र उनीहरूको खोजी भइरहेको बताए।
‘घटना कसरी भएको भनेर एउटा फिगर आएको छ, मान्छे पक्राउ गरेर पुष्टि भएपछि सार्वजनिक हुनेछ,’ उनले भने।
अहिले सम्मको अनुसन्धानमा मृतक दासको आपराधिक पृष्ठभूमि देखिएको छैन।
‘उनको कसैसँगै आपराधिक सम्बन्ध वा लागुऔषधमा संलग्नता छ/छैन अनुसन्धानपछि थाहा हुनेछ,’ डिएसपी जोशीले भने।
प्रहरीले दासकी श्रीमतीबाट प्राप्त गरेको अडियोसँग सम्बन्धित खोजी पनि सुरू गरेको छ।
अडियोमा बाकसको कुरा छ, बाकस के रहेछ भन्ने खुलेको छैन। साथै समूहमा लडाइँ, झगडा भएजस्तो अडियो सुन्दा देखिन्छ।
घटनास्थलमा चुरोटका ठुटा पनि फेला परेका प्रहरीको भनाइ छ।
कैलालीको लम्कीका भूपेन्द्र बडुवालको धारिलो हतियार प्रयोग गरी हत्या भएको एक महिना नबित्दै दासको विभत्स हत्या भएपछि लम्की र आसपासका क्षेत्रमा त्रास फैलिएको छ।
दासको हत्या किन भयो, यसमा को-को संलग्न छन् अनि किन लम्की क्षेत्रमा आपराधिक घटना लगातार भइरहेका छन् भन्दै स्थानीयले प्रहरी प्रशासनतिर औंला उठाउन थालेका छन्।
कैलालीको पूर्वी क्षेत्रमा अपराधिक गतिविधि, लागुऔषध कारोबारीको अखडा बन्न थालेको स्थानीयहरू बताउँछन्।