कुनै बेला विद्यार्थी नभएर ओझेलमा पर्दै गएको देशकै जेठो विद्यालय अहिले भरिभराउ छ। विसं १९१० सालमा स्थापित दरबार हाइस्कुलमा पोहोरसम्म जम्मा एक सय ७० विद्यार्थी भर्ना थिए। यसपालि बढेर छ सयभन्दा बढी भएका छन्।
नयाँ भवन बनेपछि स्कुलमा विद्यार्थीको आकर्षण बढेको दरबार हाइस्कुलकी प्रधानाध्यापक शारदा पौडेल बताउँछिन्।
'विद्यार्थी संख्या ह्वात्तै बढ्नुको कारण आकर्षक भवन नै हो,' प्रधानाध्यापक पौडेलले भनिन्, 'भवनप्रति अभिभावक र विद्यार्थी दुवैको आर्कषण बढेको पाएका छौं।’
स्कुल २०७२ सालको भुइँचालोमा भत्किएर खण्डहरझैं बनेको थियो। विद्यार्थीलाई केही समय पाल टाँगेर त केही समय अन्तै लगेर पढाइयो। धेरै विद्यार्थी अरू नै स्कुल गए।
स्कुलको भवन परम्परागत शैलीको भएकाले भत्काउन नहुने सम्पदा अभियन्ता र विज्ञहरूको राय थियो। लामो विवाद र छलफलपछि भवन जीर्णोद्धार हुन नसक्ने निष्कर्ष निकालियो। अनि बल्लतल्ल पोहोर चीनको सहयोगमा परम्परागत शैलीमै नयाँ भवन बन्यो। पोहोरै हस्तान्तरण भएर माघदेखि पढाइ सुरू हुने भनिए पनि कोरोनाका कारण रोकिएको थियो।
यही साल असोजदेखि बल्ल यहाँ औपचारिक पढाइ सुरू भएको प्रधानाध्यापक पौडेलले जानकारी दिइन्। नयाँ भवन र विद्यार्थी भरिभराउ भएसँगै स्कुलको रौनक फेरिएको छ।
बढेका विद्यार्थी व्यवस्थापन गर्न विभिन्न समूह विभाजन गरेर पठनपाठन भइरहेको छ।
'स्कुलको मापदण्डअनुसार एउटा कोठामा क्षमताअनुसार ३२ जना विद्यार्थी राख्न सकिन्छ। तर अहिले ४० जनासम्म छन्,' उनले भनिन्, 'एउटा कक्षामा सबभन्दा बढी ८० जनासम्म विद्यार्थी छन्। त्यसलाई हामीले दुई समूहमा विभाजन गरेका छौं।’
भूकम्पअघि दुई तले र बीस कोठा भएको दरबार हाइस्कुल अहिले चार तले बनेको छ। ४६ कोठा छन्। १६ वटामा दरबार स्कुलका आवासीय विद्यार्थी बस्छन्। चौथो तलामा भानु संस्कृत माविका विद्यार्थी पढ्छन्। बाँकी केही कोठामा भौतिक तथा शैक्षिक सामग्री राखिएको छ।
प्रधानाध्यापक पौडेलका अनुसार मन्टेश्वरी, अंग्रेजी माध्यमबाट पठनपाठन, सफा र पारिवारिक वातावरण र विभिन्न अतिरिक्त क्रियाकलाप स्कुलका विशेषता हुन्। खेलकुदका लागि पर्याप्त स्थान छ भने विज्ञान प्रयोगशाला, बास्केट बल कोर्ट, पुस्तकालय र चमेना गृह पनि छ। छात्राका लागि स्यानिटरी प्याड र प्रयोगपछि फँयाक्न छुट्टै डस्टबिन व्यवस्था छ। कक्षा ५ सम्मका विद्यार्थीलाई खाजा दिइन्छ।
स्कुलमा ८ देखि १० कक्षासम्म डिजिटल माध्यमबाट पढाइ हुन्छ। छ वटा अन्तर्क्रियात्मक स्मार्ट बोर्ड छन्। काठमाडौं महानगरपालिकाले दिएको ३८ लाख बजेटबाट स्कुलले डिजिटल माध्यममा पढाइ सुरू गरेको हो। दुइटा स्मार्ट बोर्ड राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत आएका हुन्। बाँकी कक्षालाई पनि विस्तारै डिजिटल माध्यममा लैजाने योजना छ।
हाइस्कुल भए पनि यहाँ दस कक्षासम्म मात्र पढाइ हुन्छ। अहिले व्यवस्थापनमा कठिनाइ भए पनि ११ र १२ कक्षा पढाइका लागि योजना भने बनाइरहेको उनले जानकारी दिइन्।
स्कुलले रोबोट सम्बन्धी सिकाइ पनि सुरू गरेको छ। केही समयअघि रोबोटिक्स एसोसिएसन नेपालका सदस्यले विद्यार्थीलाई रोबोट बनाउन सिकाएका थिए।
'विद्यार्थीको रूचि देखियो अनि स्कुलले रोबोटिक्स कक्षा पनि सञ्चालन गरेको हो,’ प्रधानाध्यापक पौडेलले भनिन्, 'विद्यार्थीले दुई सातामा सात वटा रोबोट बनाइसकेका छन्।'
सातामा तीन दिन स्कुलमा नेपाल भाषा, अंग्रेजी र नेपालीमा निबन्ध प्रतियोगिता, लेखन, चित्रकला, हाजिरीजवाफ, क्यालिग्राफी, आर्ट, नृत्य लगायत क्रियाकलाप हुन्छन्। यसमा उत्कृष्ट हुनेलाई पुरस्कार दिइन्छ। योसँगै फोटोग्राफी, संगीत कक्षा थप्ने योजना छ।
यस्तै अतिरिक्त सिकाइका कारण पनि स्कुलमा विद्यार्थीको रूचि बढेको शिक्षकहरूको अनुभव छ। गत वर्षसम्म दस जना विद्यार्थीलाई पढाउने प्रावि शिक्षक बिर्सजना मल्ल अहिले आफ्नो कक्षामा ५० जना भएको बताउँछिन्।
'भवनमा क्षति पुगेपछि विद्यार्थी पूरै घटेका थिए। अब मेरो कक्षामा विद्यार्थी आऊलान् र भन्ने लाग्न थालिसकेको थियो,’ उनले आश्चर्य मान्दै भनिन्, 'अहिले त पुराना दिन फर्केजस्तो भएको छ।'
मल्लले २०४३ सालदेखि यहाँ कक्षा एकदेखि तीनसम्म नेपाली विषय पढाइरहेकी छन्। उनले पढाउन सुरू गर्दा दरबार हाइस्कुलमा लगभग दुई हजार ५ सयसम्म विद्यार्थी हुन्थे।
'त्यति बेला यहाँ पढ्न कि त ठूलाबडाका छोराछोरी हुनुपर्थ्यो कि धनीमानी,' उनले अनुभव सुनाइन्, 'यहाँ पढ्न भनसुन गराउनुपर्ने अवस्था थियो।'
सुरूमा यो स्कुल राणाहरूकै पठनपाठनका लागि मात्र खोलिएको थियो। पछि संस्कृत पढ्न र २०४८ सालदेखि भने सबैका लागि खुला भएको हो।
स्कुलको भवन आकर्षक देखेर पढाइ पनि राम्रो होला भन्ने अपेक्षा बोकेर अरू जिल्लाबाट आउने विद्यार्थीहरू पनि छन्।
यस्तै विद्यार्थी हुन् खोटाङबाट आएका अम्रिस पौडेल। उनी उतै निजी विद्यालयमा पढ्थे। सामुदायिक विद्यालयबाट एसइइ दिने सोचले दुई वर्षअघि आफू यहाँ आएको उनले बताए।
'सामुदायिक स्कुलको यस्तो राम्रो भवन देखियो। पढाइ पनि राम्रो होला भन्ने भयो,' कक्षा दसमा अध्ययनरत उनले भने, 'हेर्दा जति आकर्षक छ, पढाइ पनि राम्रो छ। सामुदायिक स्कुलजस्तो लाग्दै लाग्दैन।'
प्रधानाध्यापक पौडेलका अनुसार यहाँ विपन्न परिवारबाट आएका विद्यार्थी धेरै छन्। अहिले भने मध्यम आर्थिक अवस्था भएकाहरू पनि भर्ना भइरहेका छन्। त्यसैले सकेसम्म गुणस्तरीय शिक्षा दिने र विद्यार्थी संख्या बढाउने लक्ष्य स्कुलले राखेको छ।
लामो समय अव्यवस्थित रहेको स्कुल व्यवस्थापन गर्न भने कठिन भइरहेको उनी बताउँछिन्। एकै वर्षमा थपिएका यतिका धेरै विद्यार्थीका निम्ति स्कुलको तयारी थिएन। मुख्य समस्या, स्कुलमा शिक्षक अभाव छ। जम्मा १९ जना शिक्षक छन्, १७ जना दरबन्दीमा र २ जना निजी स्रोतका।
'दरबन्दी त २८ जना शिक्षकको हो। निजी स्रोतमै ७ जना थिए। तर कोरोनाकालमा स्कुलले तलब दिन सकेन जसले गर्दा गत साउनबाट निजी स्रोतका केही शिक्षकले छाडे,' उनले भनिन्, 'विद्यार्थी कम हुँदा दरबन्दी पनि घटाइएको थियो। अहिले विद्यार्थी बढ्दा शिक्षक पुगेनन्।’
अहिले एक जना शिक्षक एक दिन बिदा बस्दा ६ वटा कक्षा खाली हुने उनी बताउँछिन्। त्यस्तै विद्यार्थीलाई समूहमा विभाजन गर्दा शिक्षकको कक्षा पनि थपिएको छ।
'विद्यार्थी बढेपछि सेक्सन छुट्याइएको छ। तर शिक्षक अभाव हुँदा दुबै सेक्सनमा आफैं पढाउनुपर्ने बाध्यता छ,’ स्कुलका विज्ञान विषयका शिक्षक विजय यादवले भने।
यादव पहिले सातदेखि दस कक्षामा चार वटा कक्षा लिन्थे। सेक्सन छुट्टिएसँगै छ वटा कक्षा लिइरहेको उनले बताए।
स्कुलमा थपिएका सुविधाका कारण पढाउन भने सहज भएको उनको भनाइ छ। उनका अनुसार ठूला कक्षामा स्मार्ट अन्तर्क्रियात्मक बोर्ड छन्। स्कुलले ल्यापटप र पेनड्राइभ दिएको छ। त्यसबाट शिक्षकले प्रोजेक्टरको माध्यमबाट पढाइरहेका छन्।
उनले भने, 'श्रव्यदृश्य हुँदा विद्यार्थीले पनि सहजै बुझेका छन्। विद्यार्थी बढ्नु खुसीको कुरा हो। तर शिक्षक पनि थप्न सके अझै राम्रो हुने थियो।'
जति सुविधा भए पनि स्कुल राम्रो कि नराम्रो भनेर मापन गर्ने एक मात्र कडी पढाइको गुणस्तर हो। त्यसैका लागि शिक्षक जुटाउन लागि परेको प्रधानाध्या पक पौडेल बताउँछिन्।
'हाम्रो उद्देश्य सबैखाले आर्थिक अवस्था भएका विद्यार्थीले राम्रो शिक्षा पाऊन् भन्ने हो,' उनले भनिन्, 'हामी यसमै काम गरिरहेका छौं। त्यसैले आगामी शैक्षिक सत्रमा विद्यार्थी अझै थपिने निश्चित देखिन्छ। स्कुलसँग पर्याप्त संरचना छन्। हामीलाई आवश्यक भनेको शिक्षक मात्र हो। यसको व्यवस्थापन गर्ने प्रयास गरिरहेका छौं।'
सबै तस्बिरः नवीनबाबु गुरुङ/सेतोपाटी