पोखरा-१५ स्थित न्यु लाइफ होस्टलकी वार्डेन जानुका नेपाली सोमबार बिहानै होस्टलमा बस्ने बालबालिकाको ओछ्यानमा पुगिन्।
उनले बालबालिका सुतेका कपडा उठाउन थालिन्। ओछ्यानमा बालक रेमन बुढाले पिसाब फेरेका रहेछन्।
डोल्पाबाट पढ्नका लागि पोखरा आएका रेमनलाई ओछ्यानमा पिसाब फेरेको निहुँमा वार्डेन जानुकाले कारबाही चलाइन्। कारबाही स्वरूप उनले रेमनको लिङ्गमा रबरले बाँधिदिइन्। बिहानभर रेमनले आफ्नो लिङ्गमा बाँधिएको रबर निकालेनन्, उल्टै रोएर बसे।
बिहान १० बजेपछि कक्षाको समय सुरू भयो। नर्सरीमा पढ्ने ५ वर्षीय बालक रेमनको कक्षाकोठामा होस्टलकी शिक्षिका सिर्जना कँडेल पढाउन पुगिन्।
कक्षामा एक जना बालकले शिक्षिका सिर्जनालाई लिङ्गमा पनि रबर बाँध्न मिल्ने बताए। सिर्जना आश्चर्यमा परिन्। उनले यसबारे सोधखोज गर्दा वार्डेन जानुकाले रेमनको लिङ्गमा रबर बाँधेको भेटिन्।
त्यतिबेला पनि रेमन रोइरहेका थिए। उनको पेट फुलिसकेको थियो। होस्टल बसेका बालबालिकाको स्याहारसुसार गर्न खटिएकी जानुकाले बालक रेमनलाई यसरी यातना दिएको घटना बाहिरिएपछि होस्टल प्रशासनले घटना लुकाउन खोज्यो। विद्यालयमै गुपचुप राख्न लिखित समझदारी गरे।
लिखतमा होस्टल संचालक राहुल नेपालीले अब आइन्दा यस्ता घटना दोहोरिन नदिन र यस्ता घटनामा संलग्नलाई कारबाही गर्ने प्रतिवद्धता जनाए। होस्टल सञ्चालकले चाहे अनुसार घटना लुकेन, सार्वजनिक भयो। होस्टलका कर्मचारीका अनुसार वार्डेन जानुकाले यसअघि ओछ्यानमा पिसाब फेरेको निहुँमा बालिकाको यौनाङ्गमा मैनबत्ती पगालेर चुहाइदिने गरेकी थिइन्।
घटना सार्वजनिक भएपछि होस्टल वार्डेन जानुकासहित सञ्चालकलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ। कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले घटनाका आरोपीलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको बताए।
‘बालबालिकालाई यस्तो सजाय दिन मिल्दैन, यसबारे हामीले अनुसन्धान गर्दैछौं,’ उनले भने, ‘दोषी पाइए कानुनी कारबाही अघि बढाउँछौं।