सूर्योदय र सूर्यास्तको मनमोहक दृश्यावलोकन गर्न सकिने झण्डीडाँडाले वारिपारि पारेको छ, रम्भ्याङ र सलकपुरलाई।
इलाम रोङ गाउँपालिका-६ मा पर्ने यी दुई गाउँको प्राकृतिक-भौगोलिक विशेषता र अवस्थिति उस्तै छ।
तर, यी दुई गाउँको कथा भने बेग्लै छ।
सलकपुर दशकभन्दा लामो समय अघिदेखि गुल्जार छ, रम्भ्याङ सुनसान।
यही गुल्जार र सुनसान अवस्थाबीचको खाडल पुर्ने यात्रामा रम्भ्याङ बल्ल वामे सर्दैछ।
‘यी दुईमध्ये एउटा गाउँ उत्साहपूर्ण अवस्थामा अघि बढिरहेको छ, अर्को त्यही गाउँको उत्साह आफूमा सञ्चारित गराउने उपाय खोज्दैछ,' यहाँका तन्नेरी वडा अध्यक्ष मणिकुमार स्याङ्बोले आफ्ना दुई गाउँको तुलना गर्दै भने‘सलकपुरलाई देखेर पनि रम्भ्याङलाई उत्साह जगाउनै पर्ने बाध्यता छ।’
सुन्तला गाउँका रूपमा आन्तरिक र बाह्य पर्यटक तान्न सफल सलकपुरमा बोटबोटै सुन्तला बिक्छ। होमस्टेमा रात बिताएर फर्कने बेलामा इस्कुस र अकबरे खुर्सानी किन्नेहरूको ताँती उत्तिकै हुन्छ।
वर्षभरिजसो घुमन्तेहरूको भीड लाग्ने सलकपुरमा त्यस्तो कुनै कृषि उत्पादन छैन, जसले बजार नपाएको होस्। सुन्तलासँगै अलैंची र एभोकाडो खेतीमा यहाँका किसान अग्रसर छन्।
वडाध्यक्ष स्याङ्बोका शब्दमा 'सलकपुरको दाँजोमा रम्भ्याङ बिडम्बनामा बाँचेको छ।'
उनले सुनाए ‘यहाँ प्रशस्त इस्कुस र अरू तरकारी फल्छ तर बजार पुग्दैन। फर्सीदेखि अन्य तरकारीहरू गाईवस्तु र सुँगुरको खोलेमै सकिन्छ।’
जबकि, झण्डीडाँडा पारीको सलकपुरमा हरेक कुरा बोटैमा बिक्ने अवस्था छ। उनका अनुसार भौगोलिक असहजताले यहाँबाट सामान ढुवानी गरेर झापाको बजार पुर्याउन ज्यादै खर्चिलो छ।
‘यहाँबाट पिकअप भ्यानमा हालेर करिब २५ किलोमिटर टाढा काँकडभिट्टा पुर्याउने हो भने बजार उपलब्ध छ,’ उनले भने ‘तर, ढुवानी भाडा यति चर्को पर्न जान्छ, त्यसले लगानी नै उठाउन सक्दैन।’
अन्यत्र दुई हजार पच्चीस सय पर्ने यतिको दूरीको ढुवानी भाडा यहाँ पाँचदेखि सात हजार पर्छ। बाटो ज्यादै अप्ठ्यारो भएकै कारण महँगो पर्ने भाडाले कृषि उत्पादनलाई दोब्बर महँगो बनाइदिन्छ।
यसरी बजार पुग्दानपुग्दै रम्भ्याङको उत्पादनले प्रतिस्पर्धी क्षमता गुमाइसकेको हुन्छ।
‘बरू गाईवस्तु र सुँगुरलाई खोले बनाएर खुवाउँदै जितिन्छ भन्ने अवस्था छ,’ उनले भने।
२०७४ सालमा स्थानीय तहको चुनावपछि जनप्रतिनिधिहरूले सबभन्दा धेरै माथापच्ची गरेको विषय हो, एउटै वडाको उत्तिकै सम्भावनायुक्त ठाउँको यो बिडम्बना कसरी अन्त्य हुन सक्ला?
वडाध्यक्ष स्याङ्बोका अनुसार कठिन भौगोलिक अवस्था जसरी यहाँको बिडम्बना बनेको छ, यसलाई अवसरमा बदल्न सकिने सम्भावना पर्यटक तान्ने योजनाले जीवित राख्न सक्छ भन्ने ठहरमा जनप्रतिनिधिहरू पुगे।
पर्यटक तान्ने कसरी त ?
यसमा पनि ठूलै माथापच्ची चलेपछि उनीहरूको निष्कर्ष थियो, मेची राजमार्गमा पर्ने मुख्य पर्यटन गन्तव्य हर्कटे, कन्याम र सुन्तला गाउँका नामले चर्चित सलकपुरसहितको करिडोरमा रम्भ्याङलाई जोड्ने।
‘त्यसका लागि पदमार्ग सबभन्दा उपयुक्त हुने ठहरमा पुग्यौं,’ एक वर्ष अघिको कुरा उनले उप्काए ‘जब यसबारे हामी विश्वस्त भयौं, हामीले गाउँबासीलाई पनि योजना सुनायौं। सबै जना आश्वस्त भएपछि वर्ष दिनमै पदमार्ग तयार भयो।’
गत वर्षको कात्तिकतिरबाट सुरू भएको पदमार्ग बनाउने अभियान यति छिट्टै सफल बनेको छ कि, पदमार्गले यो गाउँलाई मेची राजमार्गसँग जोडिसकेको छ।
पदमार्गले सकारात्मक प्रभाव पनि देखाउन थालिसकेको छ।
यसका एक प्रमाण हुन् रम्भ्याङका ज्ञानकुमार राई।
गाउँमै पहिलो होमस्टे तयार पार्ने जाँगर यही पदमार्गले दिलाएको हो।
‘यो हिँड्ने बाटो बनेपछि त मान्छेहरू हाम्रो गाउँमा पनि आउन थालेको छ,’ राईले भने ‘अहिले त मान्छे घुम्नु आउनु थालेको छ। हाम्रोमा रात बस्नु पनि थालेको छ।’
यसरी मान्छेको आउजाउ सुरू भएपछि गाउँघरका मान्छेको आम्दानी बढ्न थालेको उनको अनुभव छ।
जसरी सलकपुरमा पर्यटकहरू आएर रमाउँछन्, तिनै पर्यटकलाई रम्भ्याङसम्म ल्याउने र घुमाउने हो भने यो गाउँको अवस्था बदलिन सक्छ भन्ने निष्कर्षमा पुगेर थालिएको कामले परिणाम दिन थालेको जनप्रतिनिधिहरूको अनुभव छ।
उनीहरूका अनुसार पदमार्गमा अब केही काम गर्न बाँकी छ, त्यसपछि रम्भ्याङले काँचुली फेर्नेछ भन्नेमा आशा लागेको छ।
गाउँमा पर्यटक आउनलाई भरपर्दो मोटरबाटो थिएन। अझै छैन। तर, गाउँसम्म आइपुग्ने बाटोभरि सुनाखरी फुल्ने ठाउँ छ भन्ने बुझेका जनप्रतिनिधिले ‘करसोङ पदमार्ग’ बनाउने निर्णय गाउँपालिका बैठकबाटै गरे।
करसोङ लेप्चा भाषाको शब्द हो, जसको अर्थ हुन्छ सुनाखरी।
अल्पसंख्यक अवस्थामा रहेका लेप्चाहरूको कूल जनसंख्या नेपालमा १० हजार हाराहारी छ। त्यसमध्ये करिब ३५ सय जनसंख्या इलामको रोङमै रहेको गाउँपालिकाले जनाएको छ।
‘लेप्चा जातिको अपनत्व होस् भन्ने हेतुले गाउँपालिकाले यो पदमार्गलाई करसोङ नामकरण गरेको हो,’ वडाध्यक्ष स्याङ्बोले भने ‘हामी सबैलाई आग्रह गर्छौं, सुनाखरी वा अर्किड भनेर नलेखिदिनुहोला। करसोङकै रूपमा यो स्थापित हुनुपर्छ ।’
झापाको चारआलीबाट उकालो लागेपछि केहीबेरमा पुगिन्छ, सानी पाथिभरा। त्यही सानी पाथिभराभन्दा तीन सय मिटर उत्तरमा रहेको हाँसपोखरीबाट सुरू हुन्छ यो पदमार्ग।
रोङ–३ बाट रोङ–५, रोङ–६ हुँदै मेची नदी र झापा मेचीनगरको निन्दा सिरान जोड्ने यो पदमार्गको लम्बाई २९ किलोमिटर छ।
यसको प्रथम चरण अन्तर्गत १६ किलोमिटर निर्माण सम्पन्न भइसकेको छ।
यो पदमार्गको १६ किलोमिटर क्षेत्र निर्माण वर्ष दिनभित्रै सकिनुमा स्थानीयबासीको हौसलाले सबभन्दा धेरै काम गरेको गाउँपालिकाको अनुभव छ।
प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट परिचालन गरेर पदमार्ग खोलिएको गाउँपालिकाले जनाएको छ।
हाँसपोखरीबाट सुरू हुने यो पदमार्ग चिन्डेपानी, गुगल डाँडा, देउराली डाँडा, दैले, लामा डाँडा, झण्डीडाँडा, सत्तालसेन टाकुरा, गुरुधुम डाँडा, भीमसेन ढुंगा, मेची सिद्धि दोभान, इन्द्रेणी झरना, सलकपुर, चिसापानी हुँदै झापाको मेचीनगरसँग जोडिएको छ।
‘यो पदमार्ग प्रदेश १ कै सबभन्दा आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुनेक्रममा छ,’ पर्यटन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी निरज कट्टेल भन्छन्, ‘यसले इलामको रोङ क्षेत्रलाई थप पर्यटक बोलाउन सहयोग गर्नेछ।’
करसोङ पदमार्गलाई साइक्लिङ मार्गका रूपमा विकसित गर्ने लक्ष्य गाउँपालिकाको छ।
पदमार्गमा यात्रारत अवस्थामा भेटिएका झापा धुलाबारीका सागर शिवाकोटी अर्कोपटक साइकल यात्रामा आउने योजना सुनाउँदै थिए।
‘यो पदमार्ग प्राकृतिक सुन्दरताका लागि आकर्षक रहेछ नै, साइकल यात्राका लागि पनि उत्तिकै साहसिक गन्तव्य बन्नेरहेछ,’ उनले भने ‘अर्को पटक साइकलमा फन्को लगाउने गरी सुनाखरी फूल्ने यो ठाउँ आउने योजना बनेको छ।’
यो पदमार्गमा पर्ने झण्डीडाँडाबाट सूर्योदय र सूर्यास्तको दृश्यावलोकन गर्न सकिन्छ भने कृषि पर्यापर्यटन पनि यहाँको मुख्य आकर्षण रहेको पर्यटन कार्यालयको भनाइ छ।
‘वनस्पति विज्ञानका विद्यार्थीका लागि यो पदमार्ग गज्जबको गन्तव्य हुनसक्छ,’ सूचना अधिकारी कट्टेलले भने,‘यो पदमार्गभरी सिजनमा सुनाखरी फुल्छ। अन्य वनस्पतिका लागि पनि यो मार्ग उपयुक्त अवलोकनस्थल हो।’
यो पदमार्गलाई लक्षित गरेर रोङ गाउँपालिकाले होमस्टे प्वाइन्टरू पनि तयार पारेको छ। जसअनुसार यो मार्गमा पर्ने मझुवा, चिसापानी, जौवारी, रम्भ्याङ, सलकपुर र पाटापुर क्षेत्रमा जस्केलो सामुदायिक होमस्टेमार्फत १८ घर दर्ता भइसकेका छन्।
पदमार्ग हुँदै गाउँसम्म आइपुग्ने पाहुनालाई लक्षित गरेर तयार हुँदै गरेका होमस्टे सञ्चालकहरु तालिम लिने तरखरमा लागेका छन्।
‘तालिम एकदमै जरूरी रहेछ, त्यसैले गाउँपालिकाले त्यसको प्रबन्ध मिलाउँदैछ,’ गाउँपालिकाका प्रवक्ता समेत रहेका वडाध्यक्ष स्याङ्बोले भने ‘७० जना पाहुनालाई रम्भ्याङमा खाना खुवाउन सिंगो गाउँ दिनभरी खटिएको पाइयो। तर, सलकपुरमा दुई जना दम्पतीले एकैछिनमा सबैलाई खाना खुवाउन सकेको देखियो। यो तालिम र अनुभवको फरक हो।’
पदमार्ग हुँदै घुमन्तेको टोली गाउँ आउन थालेपछि स्थानीयबासीले आर्थिक कारोबार बढेको अनुभव गरेका छन्।
‘अब पुस १० गते झापाको एउटा ठूलो टोली आउँदैछ,’ स्थानीयबासीले सुनाए ‘उनीहरू पदमार्ग हुँदै रम्भ्याङ आउनेछन्। र, वनभोज खाएर फर्कनेछन्।’
ग्रामीण पर्यटनमा लामो समयदेखि काम गरिरहेका झापाका अर्जुन कार्की नेतृत्वको टोली त्यहाँ पुग्न लागेको हो।
‘हामी यहाँबाट वनभोजका लागि करिब डेढ सयको संख्यामा पदमार्ग हुँदै रित्तै जाँदैछौं,’ उनले भने ‘हामी खसी, कुखुरा गाउँमै किन्नेछौं, चामल, दालदेखि आवश्यक सबै खाद्य सामग्री त्यही गाउँमै किन्नेछौं। दाउरादेखि खाना बनाउने काममा स्थानीयलाई खटाउनेछौं र त्यसवापत पारिश्रमिक पनि दिनेछौं।’
स्थानीयबासीका अनुसार पदमार्ग सुरू भएपछि यसरी गाउँमै वनभोजका लागि आउनेको संख्या बढेको छ।
‘हामीलाई उकालो ओरालो हिँड्न झन्झट लाग्छ तर मान्छेलाई रमाइलो लाग्ने रै छ,’ रम्भ्याङका ज्ञानकुमार राईले भने ‘हुलको हुल मान्छे आउँदा गाउँमा त रमाइलो हुने रहेछ।’
सबै तस्बिर: राजु अधिकारी