अहिले सामाजिक सञ्जालमा एउटा भिडिओ र त्यही भिडिओबाट निकालिएका केही फोटा चर्चाको विषय बनेका छन्। त्यसमा एक महिलालाई तीन पुरूषले समूहको बीचमा आक्रमण गरेका छन्। पुरुषहरूले चिच्याउँदै महिलाको सातो लिने, बिनाकारण माफी मगाउँदै खुट्टा ढोगाउने र पैताला चटाउनेसम्मका क्रियाकलाप भएको देखिन्छ।
यो भिडिओ र फोटा केही दिनअघि सुर्खेतको लेकवेशी नगरपालिका–४ दशरथपुरमा भएको एक कुलपूजाका हुन्। आफूलाई धामी भन्ने व्यक्तिहरूले आफ्नो शरीरमा देउता चढेको भन्दै महिलामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गर्यो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीका अनुसार जिल्ला अदालतबाट मंगलबारदेखि चार दिनको समय माग गरी उनीहरूमाथि थप अनुसन्धान थालिएको छ। पक्राउ परेका तीन पुरुषहरू इलाका प्रहरी कार्यालय छिन्चुमा रहेको उनले बताए।
महिलामाथि तीन पुरूषले अमानवीय क्रियाकलाप गरेको भिडिओ सार्वजनिक भएपछि मानव अधिकारकर्मी, महिला अधिकारकर्मीले विरोध गरिरहेका छन्।
सुर्खेतस्थित मानव अधिकार रक्षक सञ्जाल (इन्सेक), आवाजलगायतका अधिकारकर्मी संस्थाहरूले यस्ता कार्य रोक्न भन्दै संयुक्त रूपमा सरकारको ध्यानाकर्षण गरेका छन्।
उक्त घटनाको विषयमा फिल्डमा गएर वा उनीहरूसँग सम्पर्क गरेर रिपोर्ट बनाउन आफूहरूले पहल थालेको मानव अधिकार रक्षक सञ्जाल, इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले बताए।
पीडित महिला तथा उनको परिवारले भने आफ्नो तर्फबाट जाहेरी दिन मानेका छैनन्।
'म आफू बिरामी भएपछि धामीलाई बोलाएर झारफुक गर्न लगाएको हुँ भनेर पीडितले परिवारसँग भन्छन्,' एक जना प्रहरी अधिकृतले सेतोपाटीसँग भने, 'हामीले आफ्नो तर्फबाट मुद्दा दर्ता गरी यसको अनुसन्धान प्रक्रिया चलाएका छौं।'
तीन पुरूषले भने आफूहरूले ती महिलामाथि भिडिओमा देखिएजस्तो व्यवहार गरेको स्वीकारेका छन्।
'बयान लिने काम पनि भइरहेको छ। उनीहरू हामीले नगरेर यो व्यवहार देउताले गरेको भनेर भनिरहेका छन्,' ती प्रहरी अधिकृतले भने।
पीडित भनिएकी महिलाको घर बाँकेको खजुरा हो। पुस ४ गते माइतीमा हुने कुल पुजाका लागि सुर्खेतको दशरथ गाउँमा उनी आएकी थिइन्।
पीडितले आफू पीडित भएको नस्वीकारे पनि प्रहरीले मुचुल्का उठाएर अनुसन्धान अघि बढाएको हो।
प्रहरी प्रधान कार्यालयका प्रवक्ता बसन्तबहादुर कुँवरले पीडितले जाहेरी नदिए पनि सार्वजनिक ठाउँमा भएको घटनाबारे प्रहरीले अनुसन्धान गरी दोषीलाई कारबाही हुने बताए।
'सैद्धान्तिक कुरा गर्ने हो भने सरकार वादी हुने अपराधका घटनामा पीडितले नै जाहेरी दिनुपर्छ भन्ने हुँदैन। अपराध भएको छ भने त्यसको अनुसन्धान गर्ने र त्यसका आधारमा दोषीलाई कारबाहीको दायरामा ल्याउँछ,' उनले भने।
सुर्खेतकी अधिवक्ता गीता कोइराला यस्तो अमानवीय घटनाका पीडकलाई यत्तिकै छोड्न नहुने बताउँछिन्।
'यो अमानवीय व्यवहार हो। धामीझाँक्री वा देउताको निहुँमा यस्तो कार्य कसैमाथि हुनु हुँदैन,' उनले भनिन्, 'भिडिओमा पर्याप्त प्रमाण छन्। पीडकले उन्मुक्ति नपाऊन्।'
लेकवेशी नगरपालिकाका उपमेयर शान्ति कुमारी छन्तेलले पीडितले यो विषयमा कुरा गर्न नमानेकाले न्यायिक समितिले केही गर्न नसकेको बताइन्।
'हामीले पीडितसँग कुरा गर्ने प्रयास गरेका छौं। तर उहाँहरू न परिवारले मान्नुहुन्छ, न त पीडित महिला नै कुरा गर्न मान्नुहुन्छ,' उनले भनिन्, 'अब हामीले हाम्रो तर्फबाट कसरी प्रक्रिया अगाडि बढाउने भन्ने अन्यौल भयो।'
फौजदारी घटनामा अनुसन्धान गर्न पीडितकै उजुरी पनि चाँहिदैन।
महान्यायाधीवक्ता कार्यालयका प्रवक्ता सञ्जीव रेग्मीका अनुसार यो घटनामा पीडितले उजुरी नदिए पनि अनुसन्धान गरी प्रहरी प्रतिवेदन र त्यसका आधारमा मुद्दा चलाउन कुनै बाधा हुँदैन।
'सबै अवस्थामा पीडित बोल्न सक्छन् भन्ने हुँदैन। घटना भएको नभएको र त्यसमा प्रमाण जुटाउने प्रहरीले हो। अनुसन्धान गर्दा पर्याप्त प्रमाण भयो भने पनि मुद्दा बलियो हुन्छ। पीडितले नै घटना भएको भनेर उजुरी बयान दिएको हुन जरूरी छैन,' उनले भने, 'यो मुद्दामा त झन् त भिडिओ छ। त्यत्रो समूहमा देख्ने मान्छे छन्। त्यसैले बलिया प्रमाण जुटाउन खास समस्या छैन।'