काठमाडौं सहरको मुख्य व्यापारिक क्षेत्र हुन् न्यूरोड, प्युखा, दरबारमार्ग। यी क्षेत्रमा काठमाडौं महानगरपालिकाले २०७६ असारदेखि स्मार्ट पार्किङ व्यवस्था गरेको छ।
तर स्मार्ट पार्किङका नाममा महानगरले सर्वसाधारणमाथि अन्याय गरेको पनि लाग्दै आएको छ। न्यूरोड क्षेत्रमा सार्वजनिक बाटोको आधा भाग ओगटेर पार्किङ गराइन्छ। त्यहाँ दुईपांग्रे सवारी एक घन्टा राख्दा २५ रूपैयाँ र चारपांग्रे राख्दा ६० रूपैयाँ लिइन्छ।
सुरूआती चरणमा सडकको एक भागमा एक लाइन मात्र स्मार्ट पार्किङका लागि छुट्याइएको थियो। सवारी साधनको सुरक्षाका लागि पहेँलो धर्सा तानेर निश्चित ठाउँ बनाइएको थियो। निश्चित ठाउँ छुट्याएर पूर्ण सुरक्षित र भरपर्दो पार्किङ भनेर प्रचार पनि गरियो।
तर यहाँ पार्किङ केही स्मार्ट नभएको र पैसा असुली मात्र गरिरहेको सर्वसाधारणको गुनासो छ।
ह्विल्स ट्र्युली युअर्स प्रालि नामक कम्पनीले सञ्चालन गरेको यो पार्किङमा एलइडी स्क्रिन राखिएको छ। त्यसमा सुरूआती चरणमा पार्किङ खाली भएको/नभएको जानकारी देखाइन्थ्यो। यस्तै पार्क केटिएम नामक एन्ड्रोइड एपबाट पार्किङस्थल खाली भए/नभएको हेरेर पार्क बुक गरेर जान पाइने व्यवस्था समेत थियो।
तर अहिले यहाँको स्क्रिनमा कोरोना सचेतना अर्थात् मास्क लगाऔं, दुरी कायम गरौं जस्ता सन्देश देख्न सकिन्छ। पार्किङ स्थलबारे सूचना कहीँ भेटिदैन। पार्क केटिएम एपले काम गरेको पनि देखिँदैन र यसको प्रयोग शून्य देखिन्छ। एपमा देखिने टोल फ्री नम्बरमा पनि सम्पर्क हुन सक्दैन।
सुरूमा एक लाइन र सुरक्षित पार्किङ भनिए पनि हाल सडकमा दुई लाइन पार्क गरेको देखिन्छ। सुरक्षाको कुनै मापदण्ड छैन। झन्डै एक माथि अर्को मोटरसाइकल स्कुटर खप्ट्याएरै राखिएजस्तो देखिन्छ।
अर्थात् यहाँ पार्किङ गरिएका मोटरसाइकल एकअर्कामा नठोक्क्याइ निकाल्न सकिँदैन।
'अब भन्नुस् कसरी सुरक्षित भयो?,' एक सवारीधनीले भने।
यति मात्र होइन, मानिस हिँडडुल गर्ने फुटपाथमा समेत यहाँ सवारी पार्किङ गरेको देखिन्छ। यसबारे सम्बन्धित निकायमा अर्थात् दिइएको नम्बरमा सम्पर्क हुन नसकेपछि यहाँका प्राविधिक टिमलाई हामीले सम्पर्क गर्यौं।
टिमका सदस्यले प्रविधिमा कुनै कमजोरी नरहेको दावी गर्यो।
'खासमा मानिसहरू स्मार्ट नभइदिएर यो स्मार्ट पार्किङ स्मार्ट नदेखिएको हो,' उल्टो टिमका ती सदस्यले भने, 'मान्छेले नियम नमानिदिने, जबरजस्ती आफैं पार्किङ गरिदिने तथा व्यापारिक क्षेत्र भएकाले एकैछिन त हो नि भनेर पार्क गरिदिनेले अप्ठ्यारोमा पारेको छ।'
एपको सन्दर्भमा आइओएसमा उपलब्ध नभए पनि एन्ड्रोइडमा काम गरिरहेको बताए। अझै सुधार गर्ने पक्षमा रहेको भन्दै सेवाग्राही नै स्मार्ट भइदिनुपर्ने उनले बताए। हाल सुरक्षाका निम्ति सिसी क्यामराबाट निगरानी गरिरहेको पनि उनले दावी गरे।