दिनभरि खेतमा काम गर्दा तिर्खाएका खेतालाले घरबाट लगेको पानी मध्यान्ह नहुँदै सकिन्थ्यो। नजिकै पानीको मूल थिएन।
फेवाफाँट भरिका खेताला गुणनिधि बरालकै घरमा पानी मागेर खान्थे।
असारताका बिहानदेखि बेलुका घाम अस्ताउँदासम्मै खेतभरि खेताला भरिन्थे। विन्ध्यावासिनीदेखि एक घन्टा बढी हिँडेर खेत रोप्न फेवाफाँट जान्थे। पोखरेलीले अन्न फलाउने एउटा मुख्य फाँट थियो, फेवाफाँट।
धान रोप्ने बेला मात्र होइन, मंसिर लागेपछि धान काट्ने र दाइँ हाल्नेको पनि उस्तै घुइँचो लाग्थ्यो।
बिहान घाम उदाउनुअघि नै गोरू लिएर दाइँ हाल्न जानेहरूको हल्ला गुणनिधि ओछ्यानमै बसेर सुन्थे।
बर्खामा फाँटभरि धान रोप्नेको घुइँचोजस्तै मंसिरमा बिहानैदेखि धान काट्ने र झाँट्नेहरूको घुइँचो हुन्थ्यो।
धेरै खेत भएकाहरूले लगातार २ दिन लगाएर दाइँ हाल्थे।
खेताला खेतमै बास बस्थे। बिहानदेखि काम गरेका खेतालालाई खेतमै खाना बनाएर खुवाउने र परालमा सुत्ने व्यवस्था हुन्थ्यो।
फेवाफाँटका गुणनिधिले विगत सम्झँदै भने, ‘पञ्चेबाजा बजाएर खेत रोप्ने र दाइँ हाल्ने चलन थियो, खेतालालाई खुवाउन घ्यू हालेको भात पकाएको वासना फाँटभरि फैलिन्थ्यो। त्यतिबेलाको माहौल नै छुट्टै थियो।’
फेवाफाँट त्यतिबेला विशुद्ध पोखरेलीको खेतीपाती लगाउने फाँट थियो। जहाँ २०१९ सालतिर नै फेवातालको पानी लगेर सिँचाइ पुर्याइएको थियो। फेवा नहरबाट लगिएको पानीले फेवाफाँटका १५ हजार रोपनी जमिनमा सिँचाइ पुगेको थियो। सोही नहरको पानीबाट १ मेगावाटको जलविद्युत आयोजनासमेत सञ्चालन गरिएको थियो।
जलविद्युत आयोजना त अहिले पनि चलिरहेकै छ। उतिबेला धानलगायत बालीनाली लहलह हुने फाँट र ती फाँटमा हुने किसानको रौनक अहिले उति सारो चल्दैन।
खेती लगाउने फेवाफाँटमा जतिबेला कोही पनि बस्थेनन्, त्यही बेला गुणनिधिको परिवार बस्नुपर्ने भयो। उनको मासबारस्थित घरबारी घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय राख्न सरकारले अधिग्रहण गरिदियो। त्यतिबेला घरबारी दिएबापत् सरकारले ८७ हजार ६ सय रुपैयाँ दिएको गुणनिधिलाई सम्झना छ।
उनका बुबा भानुभक्तले त्यही मुआब्जाको रकमबाट ५० हजार रुपैयाँमा फेवाफाँटमा १२ रोपनी जमिन किनेका थिए। बाँकी पैसाले एउटा सानो खरले छाएको घर बनाए। त्यतिबेला फेवा जलविद्युत आयोजनाका कर्मचारीबाहेक फेवाफाँटमा मानिस बस्दैनथे।
फाँटभरिका किसान तिर्खा लाग्दा गुणनिधिको घरमा पानी माग्न पुग्थे।
त्यही बेला गुणनिधिले ७ सय रुपैयाँमा थप १ रोपनी ४ आना जग्गा किने। त्यतिबेला उनलाई २ सय रुपैयाँ ऋण लागेको थियो।
एक वर्ष काम गरेर ऋण तिरेको गुणनिधि सम्झिन्छन्।
‘त्यतिबेला पैसाको भाउ महँगो थियो, जग्गाको भाउ सस्तो,’ उनले भने, ‘अहिले पैसा सस्तो भयो, जग्गा महँगो।’
त्यतिबेला गुणनिधि २२ वर्षका थिए। अहिले ६४ वर्षका भए।
यो ४२ वर्षमा फेरिएको फेवाफाँटको दृश्यले उनलाई चिन्तित बनाउँछ।
उनले भने, ‘भारतले नेपालमा लगाएको जस्तो नाकाबन्दी लामो समय लाग्यो भने पोखराका मान्छेले के खाएर ज्यान जोगाउलान्?’
फेवाफाँटभरि अहिले घर बनेका छन्। घर बनाउन बाँकी रहेका जमिन पनि प्लटिङ गरिएका छन्। खेती लगाउनभन्दा अन्य व्यापारिक प्रयोजनमा जग्गाको प्रयोग गर्दा फाइदा बढी रहेको गुणनिधिले बताए।
गुणनिधिको परिवारले त्यतिबेला किनेको खेतमा अहिले पनि खेती गर्छन्। धान रोप्दा वर्षमा २०/२२ मुरी मात्र धान फल्छ। जेठोबुढो धान प्रतिमुरी ५ हजारमा बिक्री हुने गरेको छ। खेती लगाउन काम गर्ने मान्छेको अभाव त छँदैछ, खेती गरेर फइदा हुन छाडेको गुणनिधिको अनुभव छ।
गत वर्ष मात्र एउटा मोटरसाइकल कम्पनीले ‘सर्भिस सेन्टर’ बनाउन उनको खेत १० वर्षका लागि भाडामा मागेको थियो। त्यतिबेला कम्पनीले वार्षिक ३ लाख दिने प्रस्ताव गरेको थियो।
गुणनिधिले मानेनन्। जबकी धान रोप्दा वार्षिक १ लाख बराबरको उब्जनी हुन्छ, त्यही पनि आधा रकम त खेत रोप्दादेखि बाली भित्र्याउँदासम्म खर्च लाग्छ।
‘किसानी गर्ने मान्छे उभो लाग्ने जमाना छैन,’ उनले भने, ‘प्लटिङ गर्ने हो भने रातारात धनी हुन्छ, अन्न फलाउने सधैँको गरिब।’
फेवाफाँटमा अहिले सबैभन्दा ठूलो क्षेत्रफलमा व्यवसायी गणेशबहादुर भट्टराईले धान रोप्छन्। उनको २६ रोपनी जमिनमा धान रोप्दा यस वर्ष ७० मुरी धान फलेको बताए। उनको बाहेक अरू धेरैजसोले खेत टुक्राएर घडेरी बनाएका छन्। अधिकांशले बेचिसकेका छन्।
खेत रोप्दादेखि पराल भित्राउँदासम्म करिब ३ लाख रुपैयाँ खर्च भएको भट्टराईले बताए।
आउँदा वर्षदेखि धानको सट्टा कृषि फार्म सञ्चालन गर्ने तयारी गरेको उनले बताए।
‘धान रोपेर फाइदा छैन। अब फेवाफाँटमा फार्म चलाउँछु,’ उनले भने।
पोखराका अधिकांश खेतीयोग्य जमिन बस्तीले भरिँदै गएको छन्। पोखरा महानगरले गरेको अध्ययनअनुसार सन् २००० मा पोखरामा २३ हजार ६२० हेक्टर जमिनमा खेती लगाइन्थ्यो। सन् २०१८ मा २ हजार हेक्टर खेतियोग्य जमिनमा घर बनिसकेको छ।
सन् २०१८ मा पोखराका १ हजार ७५४ हेक्टर जमिनमा मानिसको बसोबास थियो। अहिले ३ हजार ७३० हेक्टरमा बस्ती फैलिएको महानगरका कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताए। उनका अनुसार अझै पोखरामा ११ हजार ५७ हेक्टर खेतीयोग्य जमिन बाँकी नै छ। यो जमिनमा पनि तीव्र गतिमा प्लटिङ र घर बनाउने क्रम बढेको उनले बताए।
महानगरको अध्ययन अनुसार पाखो जमिनका बस्तीहरू सहरका खेतीयोग्य जमिनमा बसाइँ सरिरहेका छन्। महानगरका कृषि महाशाखा प्रमुख कडरियाले भने, ‘बसाइसराइँले पाखो जग्गा जंगलमा परिणत भएको छ, खेतीयोग्य जमिन कंक्रिटका जंगलले भरिएका छन्।’
पोखरामा धान खेती गर्ने अधिकांश फाँटमा सिँचाइको सुविधा पुगेको छ। अहिले पनि पोखराका कुँडहर, हेमजालगायत खेतीयोग्य फाँट जोगाउन सकिने कडरियाले बताए।
सरकारले २०७७ सालमा ल्याएको भू-उपयोग ऐनले जग्गालाई १२ प्रकारले विभाजन गरेको छ। उक्त विभाजनअनुसार कृषियोग्य जमिनमा बस्ती बसाउन नपाइने भनिएको छ।
ऐन जारी भएको १ वर्षभित्र स्थानीय तहले जग्गाको वर्गिकरण गरेर संरक्षण गर्नुपर्ने भनिए पनि पोखरा महानगरले खेतीयोग्य जमिन संरक्षणको नीति लिन सकेको छैन।
फेवाफाँटमा धान रोप्दै आएका व्यवसायी भट्टराईले खेती गर्दा किसानले फाइदा पाउने व्यवस्था हुनुपर्ने बताए। खेतीयोग्य जमिन संरक्षण गर्न बारम्बार आवाज उठाउँदै आए पनि सुनुवाइ नभएको उनको गुनासो छ।
‘सरकारले ठूलो कुरा गर्छ, काम केही गर्दैन,’ भट्टराईले भने, ‘कुन जमिनमा बस्ती बसाउने, खेतीपाती कहाँ गर्ने सरकारसँग कुनै योजना छैन।’
सबै तस्बिरहरू: युवराज श्रेष्ठ/सेतोपाटी।