सुर्खेतको वीरेन्द्रनगर-४ की एलिसा बम पुस ९ गते बेलुकी ७ बजेतिर आवास क्षेत्रमा रहेको शुभलक्ष्मी अस्पतालबाट घर फर्किँदै थिइन्।
उनी हिँड्दै बसपार्कको उत्तरतर्फ गेटनजिक पुगिन्। त्यहाँबाट उनलाई घरसम्म हिँडेर पुग्न कम्तिमा २० मिनेट लाग्थ्यो।
बसपार्कको उत्तर गेटमै एलिसा आएकै बाटोतर्फबाट दुई जना युवक मोटरसाइकलमा आए। एलिसालाई देखेर रोके। मोटरसाइकल पछाडि बसेका युवकले उनीसँग कालागाउँ अस्पताल (कर्णाली प्रदेश अस्पताल) कता पर्छ भने सोधे।
एलिसाले उनीहरूलाई अस्पतालको ठेगाना भनिन्। तर उनले आफूहरू सुर्खेतमा नयाँ भएको भन्दै फोन गर्न एलिसाको मोबाइल मागे।
‘हामी दुवैको मोबाइल अफ भयो, हामी सुर्खेतमा नयाँ हो। साथी लिन पनि आएन भनेर फोन गर्न मेरो मोबाइल मागे,’ एलिसाले भनिन्, ‘मैले पनि होला त भनेर मोबाइल दिएँ। फोन डायल गरेपछि बाइक साइड लगाउँछु भनेर हुइँक्याइहाले।’
एलिसाले त्यति बेलै मोटरसाइकलको नम्बर कन्ठ गर्न भ्याइन्। तत्कालै प्रहरी कार्यालयमा गएर नम्बर टिपाइन्।
मोबाइल माग्नेले नम्रतासाथ मागेका थिए।
‘दयालाग्दो गरी अस्पतालमा आफन्त उपचार गराइरहेका छन् भनेर मोबाइल मागे, मैले त दया लागेर हत्तपत्त मोबाइल दिइहालेँ,’ एलिसाले भनिन्, ‘त्यस्तो गर्दा मोबाइल नै चोर्ने योजना होला भन्ने कसलाई लाग्ला र!’
एलिसाको ‘भिभो वाई-२’ मोबाइल हो।
पुस ९ गते नै जुम्लाको पातारासी गाउँपालिका-२ का हिक्मत नेपाली बेलुकीपख कालिञ्चोकमा उभिरहेका थिए। उनीसँग पनि एलिसालाई जस्तै व्यवहार भयो।
मोटरसाइकलमा आएका दुई जनामध्ये एक जनाले हिक्मतसँग ‘बांगेसिमल’ कता पर्छ भनेर सोधे। बांगेसिमल वीरेन्द्रनगर उपत्यकाको पश्चिमतर्फको भाग हो।
आफूहरू सुर्खेतमा नयाँ आएकाले गन्तव्य पत्ता लगाउन फोन गर्नुपर्ने भन्दै उनीसँग पनि त्यसैगरी मोबाइल मागे। हिक्मतले दिए। उनीहरू त्यसैगरी मोटरसाइल हुइँक्याएर भागे।
‘बांगेसिमल जानुपर्ने ठाउँ थाहा भएन भनेर मोबाइल मागेका रहेछन्। फोन डायल गरेजस्तो गरी उहाँको मोबाइल पनि लिएर गएछन्,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले भने।
एलिसा र हिक्मतसँग त्यसरी मोबाइल लिनेहरू एकै समूहका थिए।
एलिसाले प्रहरीमा मोटरसाइलको नम्बरसहित निवेदन दिएपछि उनीहरू पक्राउ परेका छन्।
पुस ९ गते बेलुकी हिक्मत र एलिसाले दिएको निवेदनका आधारमा सादा पोसाकमा प्रहरी परिचालन गरिएको थियो। त्यसको दुई दिनपछि आइतबार वीरेन्द्रनगरस्थित सहकारी चोकबाट प्रहरीले उक्त मोटरसाइकल नियन्त्रणमा लिन सफल भयो।
भे७प ३२५२ नम्बरको उक्त मोटरसाइकल त्यसरी मोबाइल चोर्ने युवकका बुवाले प्रयोग गर्दै आएका छन्। मोटरसाइकल चालकसँगको सोधपुछका आधारमा वीरेन्द्रनगर–१ का १९ र १६ वर्षका दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ।
उनीहरू दुवैले यस्तो तरिकाले मोबाइल चोरी गर्ने गरेको स्वीकारेका छन्।
‘उहाँहरूको निवेदन परेपछि सादा पोसाकमा निरन्तर प्रहरी परिचालन गर्यौं, बल्ल एउटा मोटरसाइकल पक्राउ गरी त्यसका आधारमा चोरीमा संलग्नहरूलाई पक्राउ गरेका छौं,’ प्रहरी निरीक्षक शाहीले भने।
शाहीका अनुसार सुर्खेतमा ‘फोन गर्छु भनेर कसैको मोबाइल माग्ने, त्यसपछि भाग्ने’ ट्रेन्ड नै चलेको छ। उनीहरूले त्यसरी चोरी गरेका दुवै मोबाइल प्रहरीमा निवेदन दिने निवेदककै भएको प्रहरी निरीक्षक शाहीले बताए। निवेदकलाई सोमबार बोलाएर जाहेरी पनि दर्ता गर्न पठाइएको छ।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान गर्न मंगलबारदेखि जिल्ला अदालतबाट अनुमति लिइने उनले बताए।
अहिले दुई जना मात्र पक्राउ परे पनि यस्तो कार्य गर्ने गिरोह नै हुन सक्ने आशंका प्रहरीले गरेको छ। यस्तै तरिकाबाट मोबाइल चोरीमा प्रयोग गरिएको एउटा स्कुटरको विवरण प्रहरीमा आएको र त्यसको खोजी जारी रहेको उनले बताए।
‘एउटा मोटरसाइकल नियन्त्रणमा लिइसकेपछि अर्को एउटा स्कुटर पनि त्यस्तै कार्यमा संलग्न छ भन्ने सूचना आएको छ तर पत्ता लागेको छैन,’ प्रहरी निरीक्षक शाहीले भने, ‘अहिले पक्राउ परेकाहरूबाहेक पनि गिरोह बनेर यस्तो काम गरिरहेको हुन सक्ने आशंका भएकाले हामी अनुसन्धानमा लागिरहेका छौं।’