केही समय अघिसम्म बझाङको बुंगल नगरपालिकास्थित भगवती माध्यामिक विद्यालयमा पढ्ने धेरैजसो बालबालिका खाजा समयपछिका कक्षा हापेर हिँडिदिन्थे। कक्षामा बसेका साना विद्यार्थीको पनि ध्यानसमेत पढाइमा हुन्नथ्यो।
यस्तो समस्याले शिक्षकहरू हैरान थिए।
तीन महिनाअघि पाँच कक्षासम्मका विद्यार्थीलाई स्कुलमै खाना खुवाउने कार्यक्रम लागू गर्ने जिल्ला शिक्षा विकास तथा समन्वय इकाइबाट पत्र आयो।
दिउँसो खाना खान पाए भने त विद्यार्थीहरू पुरै समय स्कुल बस्लान् भनेर शिक्षकहरू खुसी भए।
विद्यार्थीलाई खानेकुरा खुवाउन हप्ता दिन अघिबाट सुरू भएको हो। त्यसपछिका दिनमा विद्यार्थीले कक्षा छोड्ने समस्या त बिस्तारै कम भयो। तर जिल्लाले पठाइदिएको चामलका कारण स्कुल प्रशासन हैरान भएको छ।
जिल्ला शिक्षा विकास तथा समन्वय इकाइबाट आएको पत्रमा विद्यालयले अभिभावक र प्रधानाध्यापकसहितको एउटा समिति बनाएर सम्झौता गर्न आउनु भनेको थियो।
त्यसपछि अभिभावक हर्क बोहोराको अध्यक्षतामा ९ सदस्यीय पौष्टिक आहार समिति बन्यो।
समितिमा अध्यक्षबाहेक अन्य अभिभावक ७ जना र प्रधानाध्यापक सदस्य सचिव छन्।
यो विद्यालयमा जम्मा विद्यार्थी ३५० जना छन्। कक्षा १ देखि ५ सम्मका खाजा खाने विद्यार्थी भने १८० जना छन्।
समितिले विद्यालयका तर्फबाट जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ मातहत रहने 'शिक्षाका लागि खाद्य कार्यक्रम परियोजना कार्यान्वयन इकाइ' सँग सम्झौता गर्यो।
सम्झौतामा शिक्षाका लागि खाद्य कार्यक्रम परियोजनाले विद्यालयमै खाना बनाउन चाहिने सामग्री पुर्याइदिने भनिएको छ।
सोहीअनुसार सो विद्यालयले डेढ सय प्लेट, एक बाल्टी, एक जग, एक जोडा डाडु-पन्यू, दुई ओटा पकाउने ठूला भाडा निःशुल्क पायो।
खाना पकाउन स्कुलले एकजना परिचरलाई जिम्मा दिएको छ।
खाद्य कार्यक्रम परियोजनाले खाद्यान्न र सामग्री स्थानीय झापा बजारसम्म पुर्याइदिएपछि त्यहाँको डिपोबाट ढुवानी गर्ने र खर्च विद्यालयले व्यहोनुपर्ने सम्झौतामा छ।
उक्त विद्यालयका लेखापाल हरिश बोहोराले इन्धन, खाना पकाउने मान्छे र डिपोबाट ल्याउने खर्च स्कुलले व्यहोरेको बताए।
उनको स्कुलले अढाई क्विन्टल चामल, ६०/७० केजी दाल, २५/३० लिटर तेल र नुन २० केजी पाएको छ।
‘खुर्सानी भने विद्यार्थी, अभिभावक र स्टाफहरूलाई ल्याउन भनेका छौं, बेसार स्कुलले किनेको छ। यता खुर्सानी फल्ने भएकाले सबैसँग मागेका हौं,’ उनले भने।
उनको स्कुलमा एक साताअघि चामल पुगेको थियो। पहिलो दिन खाना पकाउन खोलेको बोराबाट एक लट खाना पकाएर खुवाए। दोस्रो लटको खाना पकाउन चामल पखाल्ने बेलामा काला किरा देखेपछि उनीहरूले यसअघि पनि किरा खाएको चाल पाए।
‘बोरा खोल्दा चामलमा किरा देखिएन, पानीमा हेर्दा त किरैकिरा देखिए,’ उनले भने।
किरा देखिएपछि चामल फाल्ने कि नफाल्ने अलमलमा उनीहरू पुगे।
‘पटक-पटक पखालेर आँखाले नदेखिने गरि सफा त गर्यौं तर चामल कुहिएको हो कि थाहा पाएका छैनौं,’ उनले भने।
तातोपानीले पनि धोएर भात पकाएपछि उनीहरूले विद्यार्थीलाई खुवाए।
‘विद्यार्थीका लागि आएको चामल शिक्षकले खान नमिल्ने हो तर किरा खुवाए भन्ने हुन् कि भनेर एकदिन त हामीले पनि खायौं,’ उनले भने।
चामलमा किरा आएपछि परियोजना कार्यालयलाई विद्यालयले खबर गर्यो।
परियोजनाले भने अर्को खोल्न भन्यो।
अर्को बोरा खोलेर हेर्दा किरा देखिएन। तर, पखाल्दा भने देखिए।
त्यसपछि उनीहरूले सुरूमै पकाएको बोराकै चामल अहिले पनि प्रयोग गरिरहेका छन्।
‘अर्कोमा पनि पखाल्दा किरा नै देखिन्छ होला त्यही भएर सुरूको बोराकै चामल एक घन्टा पखाल्ने, एक घन्टा केलाएर पकाउने गरेका छौं,’ लेखापाल बोहोराले भने।
अहिलेसम्म १५ किलोजति चामल प्रयोग भइसकेको छ। बाँकी ४० किलोजति चामल बोरामै छ।
चामलमा किरा देखिएकोबारे विद्यार्थीलाई खबर गरिएको छैन।
‘अरू बोरामा किरा छ कि छैन, चेक गरेका छैनौं, सुरूमा खोलेको बोराको चामल प्रयोग गर्न छोड्यो भने नराम्रो सन्देश जानसक्छ, किराको बहाना गरेर शिक्षकले चामल लुकाए कि भन्ने आशंका हुन्छ? भनेर त्यही चामल पखालेर प्रयोग गरिरहेका छौं,’ बोहराले सेतोपाटीसँग भने।
उनका अनुसार खाजा कार्यक्रमले विद्यार्थीलाई पढाइमा सहज हुने अपेक्षा विद्यालय रहे पनि अहिले किरा परेका चामलले तनाव सिर्जना गरेको छ।
‘खुवाउन छोडौं, सुरूको दिन खुवाइहाल्यो, अब बोराको चामल सक्किँदै जान्छ नखोलेको बोरामा किरा नभए हुन्थ्यो,’ उनले भने।
यो समस्या भगवती माविको मात्र होइन हरिचन्द्र आधारभूत विद्यालयमा खाजा कार्यक्रमले पठाएका चामलमा समस्या देखिएको छ।
परियोजनाले पठाएको चामलबारे गुनासो गरे खाजा कार्यक्रम नै कटौती गरिदिन्छन् कि भनेर कति स्कुलले त बोल्नसमेत मान्दैनन्।
हामीसँग एउटा स्कुलले यही कारण बोल्न मानेन।
यी विद्यालयले चामलको त्यो बोरामा उत्पादन मिति, प्रयोग गरिसक्नुपर्ने मिति, कहाँ उत्पादन भएको लेखेको छ, त्यो हेरेका छैनन्।
यस्तै कार्यक्रम लागु भएको बझाङकै एक अर्को विद्यालयमा सोध्दा बोरामा उत्पादन र प्रयोग गरिसक्नुपर्ने मिति नलेखिएको पाइएको छ।
‘अमेरिकाबाट आएको चामल हो, सय दाना चामलमा एक दाना भिटामिन मिसाएको हुन्छ भन्ने कुरा छ, बोरामा मिति भने लेखिएको छैन, हाम्रोमा किरा परेको भन्नेचाहिँ सुनिएको छैन तर भातमा ननिको गन्ध भने आउने गुनासो छ,’ उक्त विद्यालयकी एक शिक्षिकाले भनिन्।
विश्व खाद्य कार्यक्रमअन्तर्गत अघिल्लो बर्ष कक्षा १ देखि ८ सम्म सञ्चालन भएका विद्यालयमा मात्रै सबै विद्यार्थीलाई यस्तो खाना खुवाउने गरिएको थियो। विद्यालय माध्यमिक तहको भए कसैले पनि खाना नपाउने नियम फेरेर यस वर्ष जुनसकै तहको भए पनि कक्षा १ देखि ५ सम्मका बालबालिकालाई स्कुलमै खाना खुवाउने गरिएको छ।
जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय बझाङका प्रमुख सुरेन्द्र कठायतले भण्डारण गर्दा चामल बिग्रेको हुनसक्ने बताए।
‘खाद्यान्न डुब्लुएचपीले दिने हो, केन्द्र सरकारसँग उसको सम्झैता भएअनुसार जिल्लामा आएपछि हामीले समन्वय मात्रै गरिदिन्छौं,’ उनले भने।
बझाङका हरेक स्थानीय तहमा शिक्षाका लागि खाद्य कार्यक्रमका आफ्नै कर्मचारी नै छन्। उनीहरूले भण्डारण र वितरणको काम गर्छन्।
हरेक पालिकामा हुने कार्यक्रम परियोजनाका डिपोबाट स्कुललाई विद्यार्थी संख्याका आधारमा खाद्यान्न दिने गरिएको कठायतले भने।
‘खाद्यान्न कमसल वा त्यसको गुणस्तर केन्द्रले नै चेक गर्छ, जिल्लामा सिडिओबाट पनि कहिलेकाहीँ चेक हुन्छ, पालिकाका मान्छे पनि जाने गर्छन्, म पनि गएको छु,’ उनले भने।
बझाङका ४४८ विद्यालयमा यस वर्ष खाजा खुवाउने कार्यक्रम लागु रहेको कठायतले बताए।
उनका अनुसार अझै छुटेका केही विद्यालयलाई कार्यक्रममा जोड्न प्रयास भइरहेको छ।