मिथिलाक्षेत्र तिर महोत्तरीको मटिहानीको आफ्नै रामकहानी छ।
प्रदेश २ को जनकपुरधामबाट १५ किलोमिटर पश्चिम–दक्षिण पर्ने महोत्तरीको सदरमुकाम जलेश्वर हुँदै पूर्व–दक्षिणतर्फ हिँडेपछि पुगिन्छ मटिहानी बजार।
त्रेतायुगमा राम र सीताको विवाह हुँदा मडवा (मण्डप) का लागि वेदी बनाउन यहीँबाट माटो खनेर लगिएको किम्बदन्ती छ। मटिहानी यो किम्बदन्तिसहित हिन्दु धर्मका मठ, पाठशाला, अनि मुस्लिम धर्मगुरू पिर बाबाको मजार र मनमोहक पोखरीले धनी छ।
मुख्य सडकको उत्तरतिर मठहरूको पनि महामठ लक्ष्मीनारायण छ। जसलाई चुन, मासको दाल, काठ र इँटाको समिश्रणबाट बनाइएको छ। महामठ दुई तल्लामा ठडिएको छ। छेवैमा ३ सय ३ वर्ष पुरानो देशकै जेठो राजकीय संस्कृत विद्यालय छ।
दक्षिणमा लक्ष्मीसागर पोखरी झन्डै अढाई बिघामा फैलिएको छ। पूर्वी डिलमा रहेको दुर्गा मन्दिर र पश्चिम डिलमा मुस्लिम धर्मगुरू पिर बाबाको मजारले लक्ष्मी सागरलाई झन् महत्वपूर्ण बनाएको छ।
लक्ष्मी सागरको डिलमा रहेको पिर बाबाको मजारको यस्तो मजार हो जसले नेपाल र भारतका हिन्दु-मुस्लिमलाई धार्मिक सहिष्णुताको बाटोमा हिँडाउँछ।
ईद, बकरिद, मोहर्रम लगायतका पर्वसँगै सोम र शुक्रबार भक्तजनको यहाँ ठूलो भिड लाग्छ।
मनोकामना पूर्तिका लागि पीर बाबालाई पुकार्न मुस्लिम मात्रै होइन हिन्दू धर्मावलम्बीहरू पनि यो मजार पुग्छन्।
मजारका मोलवी ६० वर्षीय मोहम्मद हसनका अनुसार नेपालसँगै भारतका विभिन्न राज्यबाट हिन्दु—मुस्लिम भक्तजन मजारमा आउने गर्छन्।
‘जसले नोकरी पाइरहेका हुँदैनन्, सन्तान भइरहेको हुँदैन। घर परिवारमा समस्या आउँछ, कतैबाट स्वास्थ्य लाभ हुँदैन अनि यहाँ दुवा माग्न आउँछन्। मनोकामना पुरा भएपछि मजारमा चादर, खसी, लड्डु, कुखुरा चढाउँछन्,' उनले भने।
उसो त मटिहानीकै लक्ष्मीनारायण मठ यस्तो मठ हो जहाँ मुस्लिमहरूपनि आफ्नो आशिर्वाद थाप्न आउँछन्।
मुस्लिमको ईस्लामिक क्यालेन्डर अनुसार हिजरी सम्वत्को पहिलो महिना मुहर्रममा मुस्लिम समुदायले ताजिया (दाहा) लिएर लक्ष्मीनारायण मठमा पुग्छन्।
हजारौँको संख्यामा पुग्ने उनीहरू मठभित्रै लाठी, भाला, तलवार भाज्दै खेल खेल खेल्छन्।
खेलमा हिन्दु समुदायका व्यक्तिहरू पनि सरिक हुन्छन्।
मठाधीश जगरनाथ दासका अनुसार आजसम्म यो ठाउँमा हिन्दु मुस्लिमबीच कहिल्यै कुनै विवाद भएको छैन।
मुस्लिम समुदायले मठ सरसफाईदेखि कुनै किसिमको सहयोग परेका बेला निर्धक्क भएर सहयोग गर्ने गरेको उनले सुनाए।
‘यहाँ सबै बराबर छन्। मठमा केही काम पर्यो भने जतिखेर बोलाउँदा पनि गरिदिन्छन्। पैसा लिँदैनन्। उनीहरूलाई पनि कुनै काम पर्यो भने हिन्दुहरूले पनि दिल खोलेर सहयोग गर्छन्,’ मठाधीस दासले भने, ‘मुस्लिम समुदायमा जसका छोरा– बुहारीले खान दिँदैनन्। उनीहरु यहाँ आउँछन् खान्छन्। लगाउने नहुँदा बस्त्र पनि दिन्छौँ । यो परम्परा सुरूदेखि नै चलिआएको छ।’
यहाँ दसैंका बेला आयोजना हुने दुर्गा पूजामा मुस्लिम समुदायहरू सहभागी त हुन्छन् नै व्यस्थापन समितिमा समेत खटिन्छन्।
याज्ञवल्क्य लक्ष्मिनरायण विद्यापीठका सह–प्रध्यापक तथा मटिहानीको इतिहासबारे सोधखोज गरेका ध्रुव रायका अनुसार हिन्दु-मुस्लिमबीचको यो अनौठो सदभावका पछाडि पुरानो कथा छ।
करिब साढे ५ सय वर्षअघि मटिहानी क्षेत्रमा घना जंगल थियो।
जंगलमा सिद्धि प्राप्त गरेका मुस्लिम धर्मगुरू सुफी सन्त पिर बाबा र राम लाला दास बस्थे।
पीर बाबाले रामलाल दासलाई जंगलमा कुनै चमात्कार देख्दा खन्ती र चिम्टा गाड्न भनेका थिए।
जंगलमा घुम्दै जाँदा एकदिन रामलाल दासले बिरोलोलाई मुसाले पंजामा समातेको देखेका थिए। यो भन्दा ठूलो चमत्कार के हुनसक्छ भनेर उनले खन्ती गाडे।
रायका अनुसार सन्त पिर बाबा र रामलाला दास दुवै सिद्ध सन्त थिए। बोलेको कुरा भइहाल्ने।
'पत्यार नलाग्ला तर दासजी ढुंगाको डुंगा नदी चढेर विरिजा नदीमा स्नान गर्थे। त्यो पाखरको रूख मुनी त्यो ढुंगाको डुंगा अझै पनि छँदैछ,’ उनले भने। त्यो ढुंगा दिनानुदिन खिइदै गरेको उनले बताए।
पछि जंगल फडानी गरेर उनैले वस्ती बसाएको इतिहास छ।
रामलाला दासलाई मुस्लिमहरूले पनि मान्न थाले। उनी ‘तसमैया बाबा’ भनेर पनि परिचित छन्।
‘गाईको दुधको खिर बनाएर उहाँले भगवानलाई समर्पन गर्नुभएको थियो। त्यसैले उहाँलाई तसमैया बाबा भनियो,’ सह प्रध्यापक रायले थपे।
विक्रम संम्वत १७५१ मा मकवानपुरका राजा मानिक सेनका छोरा हेमकर्णलाई सन्तान नहुँदा तसमैया बाबालाई दर्शन गर्न आए।
बाबाले भगवानलाई चढाउन बनाएका खिरले सबैको भोजन गराए। राजाका छोरा खुसी भएर तत्काल ५ सय विघा जग्गा उनलाई दान गरेको बताइन्छ।
हेमकर्णले नै रामलाला दासले मुसाले विरालो समातेको देखेपछि खन्ती गाडेको ठाउँमा मठ बनाउन लगाए। छेवैमा रहेको पोखरीबाट मठ निर्माणका लागि माटो खनियो।
पीरबाबा मजारका मोलवी हसन तत्कालिन मकवानपुरका राजाले मजारको लागि १२ विघा जग्गा दान दिएको बताउँछन्। तर त्यसको कुनै कागजात तथा प्रमाण भने भेटिएको छैन।
‘मठलाई २२ सय विघा र मजारलाई १२ विघा राजाले दिएको हाम्रा पुर्खाले बताउनु भएको थियो। तर हामीसँग प्रमाण केही छैन। सरकारले यसको सोधीखोजी गरिदिनुपर्यो,’ उनले भने।
सो पोखरीमा नुहाउँदै गर्दा एकदिन तसमैया बाबाले लक्ष्मीनरायण भगवानको मुर्ती भेटे। त्यहीँ दिन पोखरीलाई लक्ष्मीसागर नामाकरण गरियो। मूर्ति मन्दिरमा स्थापना गरिसकेपछि मठलाई लक्ष्मीनरायण मठ नामाकरण गरिएको इतिहास रहेको सहप्रध्यापक रायको भनाई छ।
तसमैया बाबाकै शिष्य जयकृष्ण दासले विस १७७५ मा संस्कृत पाठशाला स्थापना गरे।
३०३ वर्षअघि स्थापना गरिएको श्री राजकीय संस्कृत माध्यमिक विद्यालय दक्षिण एसियाकै सबैभन्दा पहिलो विद्यालय रहेको मानिन्छ। यद्दपी शिक्षा विभागको तथ्याङ्कमा यो विद्यालयको स्थापना वि.सं. १८६८ मा भएको उल्लेख छ। सह प्रध्यापक रायका अनुसार यहाँ अहिले संस्कृत धारको अचार्यसम्म पढाइ हुन्छ। स्कुल र हाइस्कुल गरेर करिब ५ सय विद्यार्थी अहिले यस विद्यालयमा अध्ययनरत छन्।
मोलवी हसनका मजारमा ७ पुस्तादेखि पुजा गर्दै आएका छन्। यसअघि उनका भाई रूदल फकिर यहाँका मोलवी थिए। भक्तजनका लागि ठाउँ अभाव रहेकाले ठाउँको व्यवस्थापन समेत राज्यले गरिदिनुपर्ने उनको माग छ।
‘यहाँ टाढा टाढाबाट भक्तजन आउँछन् तर बस्ने सुविधा छैन्। शौचालय छैन्। सरकारले धर्मशाला बनाइदिनुपर्थ्यो,’ उनले भने।