दुई लाख रुपैयाँ बोकेर ओजलाल चौधरी (नाम परिवर्तन) चार दिनअघि इलाका प्रहरी कार्यालय सुख्खड आइपुगेका थिए।
उनले पहिले पैसा टेबुलमा राखे। भने- मलाई यो चाहिँदैन दोषीलाई समात्नुपर्यो।
सुख्खडका डिएसपी लक्ष्मण शाही उनको व्यवहार देखेर चकित परे।
'भएको के हो भन्नुस् पहिले,' उनले भने।
मंसिर १५ गते ‘पक्का बेरी जुन’ (थारू समूदायले बेलुकाको ८ देखि १० बजेतिरको खाना खाने खास समय)का बेला मनकुमारी (नाम परिवर्तन) माइती घरबाट फर्किँदै थिइन्।
७७ वर्षीया मनकुमारी आफ्ना कान्छा छोरा र कान्छी बुहारीसँगै बस्छिन्। उनका अरू तीन छोरा अलग बस्न थालेको केही वर्ष भइसक्यो।
१५ मिनेटजति पर भाइको घरबाट आइरहेका बेला मनकुमारीले ओढेको चुन्नी कसैले तानेको थियो। चुन्नी उनको हातले थाम्न नसक्ने गरी बल लगाएर तानेकाले छुट्यो। त्यो बलियो मान्छेले उनलाई पनि जुरूक्क बोकेर सडक किनारको खाल्डा पारी गहुँखेतमा लग्यो।
उनीमाथि त्यो पुरुषले जबरजस्ती गर्यो।
आफूलाई बचाउन खोज्दा वृद्धा मनकुमारीको खुट्टामा चोट पनि लाग्यो। उनका कमजोर भइसकेका हातखुट्टाले त्यो जवान मान्छेलाई जित्न सकेन।
आमामाथि भएको बलात्कारको घटना ओजलालले पहिलो एक सासमै डिएसपीलाई सुनाए।
डिएसपी शाहीले उनलाई कडा स्वरमा भने- उहिलेको घटना रहेछ किन यति ढिलो आएको? ओजलालले त्यसपछिको सबै घटनाक्रम डिएसपीलाई सुनाए।
मनकुमारीले हल्लाखल्ला भएपछि वरपरका केही मानिसहरू जम्मा भएछन्। उनी त्यहीँ खेतमा रूँदै थिइन्। उनीमाथि जबरजस्ती गर्ने मान्छे भाग्न खोज्यो। आएका मान्छेले टर्च लाएर वरपरबाट हेरेपछि उसलाई चिनिहाले, प्रकाश सुवेदी रहेछ।
मंसिर १६ गते बिहानै त्यो मान्छे (सुवेदी)हाम्रो घरमा आएर मनकुमारी र उनका कान्छा छोरालाई धम्क्याएछ: हिजोको कुरा कसैलाई पनि नभन्नू। भने राम्रो हुन्न।
त्यसको अर्को दिनको कुरा हो, ओजलाल छोरीको विवाहको सामान खोज्न अन्तै गएका थिए। उनको मोबाइलमा फोन आयो।
‘ल तिम्रो आमालाई बलात्कार भयो, हामीले चोर समातेका छौं, झट्टै आऊ,’ एकजना गाउँलेले भनेका थिए।
गाउँलले बोलाएपछि उनी हाम फाल्दै पुगे। उनी घरमा पुग्दा आमा खाटमा बसेकी थिइन्। वरपरका आफन्त गाउँले जम्मा भएका थिए।
‘आमाको गालामा घाउ, खुट्टामा घाउ, हिँड्न, बस्न, सुत्न नसक्ने अवस्था देखेपछि म सम्हालिन सकिनँ,’ उनले भने।
त्यसपछि उनलाई भाइले घटना सुनाए।
वरिपरि जम्मा भएका मान्छेले त घटना मिलाउन पो उनलाई सुझाए।
'म मिल्दैमिल्दैन भनेर अटो लिन हिँडे। केही मान्छे मेरो पछिपछि लागे। ती मान्छेले पनि मिलौं भन्ने दबाब दिए,' उनले भने।
यतिन्जेल पनि उनलाई डिएसपीका अघि ती मानिसहरूको नाम भन्ने आँट आएको थिएन।
ओजलाल आमालाई अटोमा हालेर उपचार गर्न हिँडे। त्यहीँबाट प्रहरीकहाँ जाने उनको सोच थियो तर बाटोमा तिनै मान्छेले उनलाई रोकेछन्।
‘मैले प्रहरी केस गर्दैन, आमालाई उपचार त गर्न दिनुस् भनें, एकजनाले त नमिले पिटौंलाजस्तै गर्यो,’ उनले भने।
त्यसदिन उनीहरूले अटोलाई अगाडि बढ्नै दिएनन्। मान्छेको घुइँचो लाग्यो।
‘मलाई कहिले यस्तो परेको थिएन, बोल्न पनि नजानेको चौधरी म, जबरजस्ती एउटा घरभित्र लिएर गए, ८/१० जना थिए, गेट डोरीले बाँधे, उनीहरू धेरै थिए,’ उनले भने।
जबरजस्ती उनलाई २ लाख समाउन लगाए।
'यो समात्, कतै नभनेस्,' उनीहरूले भने,'उनीहरूमध्ये मेरी आमालाई बलात्कार गर्ने अपराधी पनि थियो।'
पूर्ववडा सचिव र बहालवाला वडाका सदस्य लगायतले आफूलाई त्यस्तो गरेपछि डर लागेको उनले डिएसपीलाई सुनाए।
‘सुखड प्रहरी पनि मेरै हो, वडा अध्यक्ष पनि मेरै हो, जहाँ गए पनि मेरै मान्छे छन् भनेका थिए,’ उनले डराइडराई डिएपसपीलाई सुनाए।
उनको मान्छे भने कोही थिएन। केही दिनमै छोरीको बिहेको मिति तोकिएको थियो। मुद्दा गरौं कि बिहेको तयारी गरौं भनेर उनी दोधारमा परे। दबाब दिने मान्छे पनि पछि लागेका थिए। उनले केही दिन मुद्दा नगर्नेमा पुगे।
'उनीहरू पावर भएका मान्छे थिए, मलाई डर लाग्यो। बिहेका लागि दाइजो बनाउन जाँदा पनि उनीहरूका पक्षका मान्छे कहाँ हिँडिस्, कहाँ जाने भनेर सोध्थे,’ उनले भने।
छोरीको बिहे सकियो। केही दिन उनका घरमा पाहुना आउने जाने भएकाले थप ढिलो भयो।
सब कुरा सुनाएपछि उनले डिएसपी शाहीसमक्ष भने- हाल्ने भए मलाई भित्र हाल्नुस्, म ढिला आएँ गल्ती मेरो हो, यो २ लाख रुपैयाँ यही हो।
यतिन्जेलसम्म पनि ओजलालले बलात्कार गर्ने र धम्की दिने मानिसहरूको नाम डिएसपीलाई भन्न नै सकेका थिएनन्। प्रहरीले सोध्दा पनि उनी डराए।
‘डिएसपीले भन्ने भए भन् नत्र तँलाई जेल हाल्छु भनेपछि मैले केही मान्छेका नाम भनेको छु। एकजना वडा सदस्य र सचिव पनि हुन्,’ उनले सेतोपाटीसँग भने
पुस १२ गते आफू लुक्दै-लुक्दै इलाका प्रहरी कार्यालय सुख्खडमा उजुरी गर्न पुगेको सेतोपाटीसँग ओजलालले बताए।
‘साँचो कुरा यही हो भनेर २ लाख रुपैयाँ प्रहरीकहाँ बुझाएँ, आमा घरमै छन् भनें, त्यो दिन नै मैले नाम किटान गरेरै लिखित उजुरी दिएको हुँ,’ उनले भने।
मुद्धा हालेको अर्को दिन उनले आफ्नी आमालाई पनि धनगढीको सेती प्रादेशिक अस्पतालमा पुगेपछि मेडिकल चेकअप भयो। मनकुमारीले पनि पनि आफूमाथि भएको सबै कुरा प्रहरीलाई सुनाएकी उनले बताए।
डाक्टरले पनि किन यति ढिलो गरेको भनेर उनलाई सोधेका थिए। उनले डाक्टरलाई पनि त्यही कथा भने।
उनको उजुरीपछि प्रहरीले घटनास्थलबाट आमाको हातको फुटेको चुरा फेला पारेर लगेको उनको भनाइ छ। आमाको त्यसदिन लगाएको कपडा पनि उनले चौकीमा दिएर आएका छन्।
‘म एकदमै विचलित भएको छु, आमाको पीडा देखेर सुत्न पनि सकेको थिएन। श्रीमतीले पनि किन डराउने भनेपछि प्रहरीकहाँ पुगेको हुँ, न्याय पाउने आशमा छु, अब के हुन्छ मलाई थाहा छैन,’ उनले भने।
गाउँका थोरै मान्छेले मात्रै उनको साथ दिएका छन्। प्रहरीकहाँ जान, उपचार गर्न जान पनि एक्लैले धाउनु परिरहेको उनले सुनाए।
‘छिटो उजुरी गर्न जान नसक्नु, डराउनु त मेरै दोष थियो। कसैको सहयोग पाएन, मुद्दामा साक्षी पनि नपाएर समस्या भएको थियो,’ उनले भने।
हिँड्डुल गर्दै, आमाको उपचार गर्न उनको खर्च बढेको बढ्यै छ। प्रहरी चौकीमै पुगेर आरोपीका पक्षधरले दबाब दिइरहेको उनले बताए। घरमा आएर पनि चौधरीलाई छोड्दैनौं भन्ने गरेको उनले बताए।
‘मेरो ठाउँमा तपाईं भए के गर्नुहुन्थ्यो भन्छु। आमाका लागि म एक्लै लडिरहेको छु। अरु भाइबहिनी पनि पुलिसका अगाडि बोल्नै जान्दैनन्,’ उनले भने।
उजुरीका आधारमा आरोपी सुवेदीसहित घटना मिलाउन खोज्ने घोडाघोडी नगरपालिका वडा नम्बर ४ सदस्य लक्ष्मीरूद्र न्यौपाने, त्यही वडाको पूर्व वडा सचिव यज्ञराज आचार्य र राजु भट्टराई पक्राउ परेका प्रहरीले जनाएको छ।
प्रहरी नायब उपरीक्षक शाहीले प्रारम्भिक अनुसन्धानबाट घटना भएको बुझिएको बताए।
‘गाउँका मान्छेले आमा र अन्य आफन्तलाई दबाब दिएर उपचार, हल्ला गर्नुहुन्न भनेर गुपचुप गरेको भन्ने पनि खुलेको छ,’ उनले भने।
पक्राउ परेकाहरूमाथि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको र केही फरार रहेकाहरूको खोजी भइरहेको उनले बताए।