गत बुधबारदेखि काठमाडौंमा पटक-पटक झ्यापझ्याप बत्ती गयो। कतिपय ठाउँमा बुधबार दिनभरि नै बत्ती आएन। झरी परेसँगै बढेको चिसोले काठमाडौंमा एक्कासी बिजुलीको माग बढेको थियो तर मान्छेले चाहिएको बेला बिजुली बाल्न पाएनन्। विद्युत आपूर्तिमा समस्या देखिएपछि सामाजिक सञ्जालमा नेपाल विद्युत प्राधिकरण र प्रमुख कार्यकारी प्रमुख कुलमान घिसिङको आलोचना भयो। आलोचना बढेपछि कुलमानले शुक्रबार पत्रकार सम्मेलन गरे।
पत्रकार सम्मेलनमा भएको कुलमानसँगको सवाल-जवाफ:
प्रश्न: काठमाडौंमा पछिल्लो हप्ता किन बिजुली झ्यापझ्याप गयो?
काठमाडौंमा जाडो बढ्दा लोड बढ्छ। गत वर्षभन्दा ८० देखि १०० मेगावाट लोड बढेको छ। यो अचानक आएको होइन। तर बुधबार पानी पर्नुअघि अचानक लोड पनि बढ्यो। काठमाडौंमा धेरै वटा सबस्टेशन छन्, जसले बिजुली सप्लाई गर्छन्। त्यसबाट गएको बिजुली फिडर हुँदै ट्रान्सफर्मरमा पुग्छ। काठमाडौं उपत्यकामा ३८ सय जति ट्रान्सफर्मर छन्। ती ट्रान्सफर्मरबाट उपभोक्तालाई बिजुली दिइन्छ। एउटा फिडरमा समस्या आउँदा १० देखि २० वटा ट्रान्सफर्मरमा समस्या आउँछ। एउटा ट्रान्सफर्मरमा समस्या हुदाँ त्यहाँबाट विद्युत जाने २० देखि ३० घर प्रभावित हुन्छ। काठमाडौंमा पानी परेका बेला ट्रान्सफर्मरमा समस्या भयो। २०० केभिएको ट्रान्सफर्मरले सामान्यत: १८० किलोवाट विद्युत सप्लाई हुन्छ। त्योभन्दा बढी लोड भयो। कुनै घरले एसी राखे। कुनै घरले हिटर राखे। त्यसले ट्रान्सफर्मरमा लोड बढ्यो। धान्न नसकेर केही ट्रान्सफर्मर जले। कुनै ट्रान्सफर्मरमा एसमसिबी ट्रिपिङ भयो। धेरै ठाउँमा ट्रान्सफर्मरमा समस्या आउँदा हामीलाई परिवर्तन गर्न समय लाग्यो।
सिंहदरबार भित्रको फिडरम आगलागी भयो। मर्मत गर्न एकदिन लाग्यो। अनामनगरदेखि डिल्लीबजार एरियामा समस्या आयो। ट्रान्सफर्मरपछि घरमा जाने तारहरूमा आगलागी भएकाले फेर्न पनि समय लाग्यो।
हामीले २ देखि ३ महिनामा डेढ सय ट्रान्सफर्मर थप्यौं। हामी ट्रान्सफर्मर फेरिरहेका छौं। ट्रान्सफर्मर फेर्दा फिडरको लाइन काट्नु पर्दा ४ देखि ५ घन्टा समस्या भयो। बितेका दुई-तीन दिनमा काठमाडौंमा ५० देखि ६० वटा ट्रान्सफर्मर जल्यो। इमाडोल क्षेत्रमा मात्र २० देखि ३० ठाउँमा समस्या आयो। महाराजगञ्ज एरियामा पनि समस्या भयो। एकदिन रातभर दिनभर पानी पर्दा हाम्रो टोलीले रूझेर काम गर्यो। तर समयमा काम सकिएन। आज बेलुकासम्म प्राय: सबैजसो ठाउँमा ट्रान्सफर्मर फेरिसक्छौं।
प्रश्न: विद्युत उत्पादन बढेसँगै नेपालले भारतमा निर्यातमा जोड दियो। तर सबैभन्दा ठूलो समस्या काठमाडौंमा पछिल्ला दिनहरूमा देखिए। बिजुली नहुँदा मान्छेहरूले घरमा पानीसमेत तान्न पाएनन्। निर्यात भए पनि हाम्रो आन्तरिक खपतमा लागि पूर्वाधारमा तयारी पुगेन। तयारी नगरी आन्तरिक खपत गर भनेकाले हिटर किने। एसी जोडे। यो अवस्थाले खपत बढाऊ भन्न हतार भयो भन्ने लाग्दैन?
लाग्दैन। उदाहरणका लागि एउटा एरियामा सय केभिएको ट्रान्सफर्मर राख्दा त्यहाँ लोड बढ्छ भन्ने अपेक्षा गरिएको हुन्छ। तर कसले एसी वा इन्डक्सन किन्यो थाहा हुन्न। त्यो अपर्झट आउने नै हो। सयको ठाउँमा दुई सय थप्ने हो। तीन सय थप्ने हो। पुगेन भने १० वटा ट्रान्सफर्मर राख्ने हो। त्यो ठूलो कुरा भएन। एउटा तहमा पुगेपछि गएपछि माग स्थिर हुन्छ। हामीले अपेक्षा गरेर राखेका हुन्छौं। तर त्योभन्दा बढी लोड आइदिन्छ। त्यो आउनु हाम्रो लागि राम्रो हो। रत्नपार्क एरियामा ३ सय केभिएको लोड आउँछ भन्ने थियो। तर अचानक ५ सय केभिएको आयो। राम्रो भयो। आज एक दिन सप्लाइ कम भयो। अर्को दिन म ३ सयको ३ वटा ट्रान्सफर्मर थपिदिन्छु। अहिले काठमाडौं उपत्यकाको लोड साढे ४ सयदेखि ५ सय मेगावाट छ। यो लोड राम्रै बढेको हो। बेलुका एक घन्टा र बिहान एक घन्टा ५ सय पुग्ने हो। राति सय मेगावाट मात्र पुग्छ। ३ सय केभिएको ट्रान्सफर्मर धेरैजसो अन्डर लोडमा चल्छ। एक घन्टा मात्र उच्च माग हुने हो। यसरी उतारचढाव भएको लोडलाई एकीकृत गर्नुपर्छ। अहिले आएको लोडको माग राम्रो हो। केही दिन पानी पर्यो। हामीलाई म्यानेज गर्न एकदमै गाह्रो भयो। मर्मतका लागि धेरै टिम पठाउँदा पनि अलिक म्यानेज गर्न गाह्रो भयो। यो ठूलो समस्या होइन। यस्तो समस्या आउनु हाम्रो लागि राम्रो हो।
हामी दीर्घकालका लागि पनि काम गरिरहेका छौं। अर्को वर्ष ३/४ वटा सबस्टेशन निर्माण काठमाडौं भित्रै सम्पन्न हुन्छ। त्यसले गर्दा हामीलाई २ देखि ३ सय मेगावाटको लोड धान्न सजिलो हुन्छ। खपत बढाउन हामी देशभर काम गरिरहेका छौं। अघिल्लो वर्ष देशभरको माग १३ सय मेगावाट थियो। अहिले १७ सय पुगेको छ। उद्योगहरूमा पनि लोड बढिरहेको छ। काठमाडौंमा दुई- तीन दिनमा केही समस्या आएको हो। यसलाई हामीले अवसरको रूपमा लिएका छौं। अब हामीलाई थाहा भयो कुन-कुन ठाउँमा ट्रान्सफर्मर थप्नुपर्छ।
प्रश्न : विद्युतको गुणस्तर पनि छैन। मानिसहरूले घरमा भएका इलेक्ट्रिक सामानका लागि आवश्यक २२० भोल्ट करेन्ट आउँदैन भनेका छन्। सामाजिक सञ्जालमा विद्युतीय उपकरण चल्दै चल्दैन भनेर लेखिराखेका छन्। तपाईंले कति ट्रान्सफर्मर अपग्रेड गर्नुभयो?
गुणस्तरको कुरा गर्दा हाम्रो सिस्टममा १३२ केभिए, ६६ केभिएलगायतका लाइनबाट बिजुली सबस्टेशनमा जान्छ। सबस्टेशनबाट फिडरमा गएको भोल्टेज र ट्रान्सफर्मरबाट गएको भोल्टेज मेन्टेन गर्न खोज्छौं। तर धेरैजसो ठाउँमा घना बस्ती र हाउजिङ भएको ठाउँमा एक ठाउँमा ट्रान्सफर्मर राखेर लामो-लामो तार तानिएको छ। ६ एमएमको सर्भिस केबल तान्नुपर्ने ठाउँमा २ एमएमको तानिएको छ। २० मिटर तान्नुपर्ने ठाउँमा २ सय मिटर तानिएको छ। त्यो सर्भिस केबलमा ड्रप भएर भोल्टेज डाउन भएको छ। उहाँहरूको केही पनि चल्दैन। ट्रान्सफर्मरपछि अब हामी केबल पनि चेञ्ज गर्छौं। कतिपय ठाउँमा जलेको पनि छ। हामी ट्रान्सफर्मर पनि थप्दैछौं। यो माग बढेसँगै आएको समस्या हो। इन्डक्टिभ लोडले भोल्टेज डाउन गर्छ। एसीहरूले भोल्टेज डाउन गर्छ। हामीले भोल्टेज बढाउन सबस्टेशनहरूमा हामीले क्षमता बढाएका छौं। तर सिस्टममा कति भोल्टेज डाउन हुन्छ भनेर हामी योजनाअनुसार काम गर्छौं।
प्रश्न : विद्युत प्राधिकरणमा यसअघि मुकेश काफ्ले हुनुहुन्थ्यो। हितेन्द्रदेव शाक्य हुनुहुन्थ्यो। तर कुलमान आएपछि मान्छेहरूको अपेक्षा बढेको छ। साँझमा कामबाट घर गएको व्यक्तिले खाना पकाउन पाएका छैनन्। तपाईंले समस्या बताउनुभयो। समाधान कहिलेसम्म हुन्छ? उच्च माग भएको समयमा पनि तपाईंले समाधान दिन सक्नुपर्यो नि!
अहिले पनि सबै ठाउँमा समस्या होइन। ५० देखि ६० ट्रान्सफर्मरले समस्या पारेको हो। आपूर्तिको समस्या होइन। केही ठाउँमा फिडर ओभरलोड भएको हो। समाधान एकैचोटी हुँदैन। अपग्रेड गर्न जमिनमूनि तार बिछ्याउने काम भइराखेको छ। कहीँ फिडर ओभरलोड भयो भने अन्डरग्राउन्डबाट सप्लाई दिन्छौं। अहिले फिडर थप्ने, ट्रान्सफर्मर थप्ने काम भइराखेको छ। अहिलेको समस्या समाधान हुन्छ। दीर्घकालमा पनि शतप्रतिशत समाधान कतै पनि हुन्न। अमेरिकामा १५ दिन पावर बन्द भएको केस छ। जापानमा बन्द भएको छ। टेक्निकल समस्या जहाँ पनि आउँछ।
विद्युतीय वितरण विश्वासनीय बनाउन ९९ प्रतिशत बनाउन हामी काठमाडौंभित्र ९ देखि १० वटा सबस्टेशन बनाइरहेका छौं। १३२ केभिएको लाइनको रिङ बनाउन काम गरिराखेका छौं। त्यसले गर्दा नजिक-नजिक सबस्टेशन र ट्रान्सफर्मर भएपछि भोल्टेज सुध्रिन्छ र गुणस्तर पनि राम्रो हुन्छ। कुनै एरियामा माग भयो, २/३ सय माग भयो भने त्यस्तो अवस्थामा दिन सकिन्छ। हाम्रो लोड अझै बढ्ने हो फिक्स भएको छैन। पहिला बत्तीमात्रैबालेका थियौं, अहिले सबैले एसी राख्न थाले। अपग्रेड हुँदैछ। इन्डक्सन प्रयोग गर्दैछौं। अब सबैलाई बत्ती पुग्यो भनेपछि बल्ल माग फिक्स हुन्छ। माग फिक्स होउन्जेलसम्म संरचना पनि स्टेबल हुन्छ।
प्रश्न: उपत्यकामा विश्वासनीय रूपमा बिजुली आउन सबस्टेशन निर्माण हुनुपर्यो। भूमिगत तार बिच्छ्याउनु पर्यो भनेपछि अब २ वर्ष लाग्छ?
डेढदेखि २ वर्षमा धेरै सुधार हुन्छ। सबै सबस्टेशन बन्छ। लाइन पनि बन्छ। खिम्तीदेखि बाह्रबिसे र लप्सीफेदीको ४ सय केभिएको लाइन बन्दैछ। लप्सीफेदीमा समस्या छ। त्यहाँबाट चाँगुनारायण ल्याउन समस्या छ। जबकी त्यहाँ सबस्टेशनको बन्न लागिसक्यो। हामी २४ घन्टा लागेका छौं। सकिएन भने राज्य पनि लाग्नुपर्यो। काठमाडौंको मुटुमा १३२ केभिए र २२० केभिएको लाइन ल्याउन सकिएन भने दीर्घकालमा समस्या हुन्छ। कार्यक्रम छ तर स्थानीय समस्या छन्। राज्यले सबैले सहयोग गर्नुपर्छ।