धेरै मानिस उत्तम जागिर, मध्यम व्यापार ठान्छन्। व्यापारभन्दा जागिर रोज्ने मानिस धेरै छन्।
जागिरले नै शान, मान र दाम तीन वटै चिज पाइने हुँदा अन्य पेशा व्यवसायमा त्यति धेरैको मन जाँदैन।
तर, अहिले पहिलेको जस्तो छैन। जागिरभन्दा व्यवसायप्रति युवाहरूको आकर्षण बढ्दो छ। सरकारी तथा गैरसरकारी जागिर छोडेर आफ्नै लगानीमा व्यवसाय गर्नेको लर्को नै लागेको छ। यतिमात्र होइन, वैदेशिक रोजगारबाट फर्किनेले कि व्यापार कि व्यवसाय सुरू गर्न थालेका छन्।
झापाको शिवसताक्षी-७ का २७ वर्षीय विवेक आचार्य शिक्षण पेशामा थिए। ५ वर्ष गाँउकै संस्थागत विद्यालयमा विज्ञान विषय पढाउँथे। विद्यार्थीले मात्र होइन, तिनका अभिभावकले पनि सर भनेर बोलाउँदा आफूलाई सम्मानित ठान्थे।
तर, जागिरको पैसा कति नै हुन्थ्यो र। बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म पढाएको पैसाले घर खर्च नधानेपछि उनी जागिर छोडेर व्यवसायतिर लागे। उनको पहिलो योजना नै स्थानीय जातका कुखुरा पालन गर्ने बन्यो।
सुरूमा एक हजार कुखुराका चल्ला किनेर आफैंले बनाएको खोरमा हाले। पाँच महिनामै कुखुरा मासुका लागि बेच्न योग्य भए। छोटो समयमा आफूले पालेका कुखुरा बजारमा पुग्न थालेर रुपैयाँ भित्रन थालेपछि व्यवसायको प्रचार उनले आफ्नै फेसबुक पेजबाट गरेका थिए। पूर्वका झापा, इलाम, धनकुटा, मोरङ, सोलुखुम्बु हुँदै मध्यपहाडी सुर्खेतसम्म उनका कुखुराले बजार पायो।
अपेक्षा गरेभन्दा राम्रो बजार पाउन थालेपछि उनले सुरूको संख्यालाई थपेर तेब्बर कुखुराका चल्ला हाले। उनी भन्छन्, ‘महिनाको एक लाख रुपैयाँ त सजिलै बच्छ।’ सुरूमा उनले खोर बनाउन एक लाख र चल्ला किनेर हाल्न दुई लाख मात्र खर्च गरेका थिए।
जागिर गरेर कमाएको जति पैसा राम्ररी व्यवसाय गर्ने हो भने एक महिनामै कमाउन सकिने उनले अनुभव गरेका छन्। बिएस्सी गरेका आचार्य शिक्षण पेशा छाडेर २०७३ सालदेखि कुखुरा पालन व्यवसायमा रमाउन थालेपछि उनलाई गाँउका स्थानीयले पनि अब्बल किसानको रुपमा चिन्छन्।
शिक्षण पेसाले दिन नसकेको सन्तुष्टि कुखुरा पालन व्यवसायले दिएको उनले बताएका छन्। ‘सबैभन्दा ठूलो कुरा आत्मसन्तुष्टि हो,’ आचार्यले भने, ‘यो व्यवसायबाट कमाई पनि भएको छ र आत्मसन्तुष्टि पनि।’
कुखुरा पालनसँगै यतिबेला प्रत्येक घर र मानिसलाई आववश्यक पर्ने हारपिक र फिनेल पनि उनले उत्पादन गर्न थालेका छन्। घर, आँगन, भान्सा कोठा, शौचालय आदिमा प्रयोग हुने फिनेल र हारपिक उत्पादन गर्न थालेर आफ्नो कमाइलाई उनले दोब्बर बनाउन थालेका हुन्।
ट्वाइलेट क्लिनर, बहुप्रकारका फिनेल, कारवास, क्लिनिङ सोप, हेण्ड वास, घरको फ्लोर क्लिनर, ग्लास क्लिनका आइटम पनि उनले आफ्नै घरबाट सुरू गरेका छन्। आवश्यक कच्चा पदार्थ बाहिरबाट ल्याएर घरैमा उनले हारपिक र फिनेल बनाउँछन्। थोरै लगानीमा मनग्ये आम्दानी हुने देखेपछि जाल्पादेवी केमिकल प्रालि नामको उद्योग नै सञ्चालन गरेर आम्दानी सुरू गरेका छन्।
सानै उमेरमा उद्योग सञ्चालन गरेर गाउँमै राम्रो आय आर्जन सुरू गरेपछि शिवसताक्षी नगरपालिका वडा नम्बर ७ का अध्यक्ष नवीन इजम पनि आचार्यको पौरख देखेर औधी खुसी भएका छन्। उनले भने, ‘पढाइ नसक्दै रोगगारका लागि विदेसिन बल गर्ने युवालाई विवेकको व्यवसाय शिवसताक्षी नगरमा राम्रो उदाहरण बन्यो।’ यस्ता उद्यमीलाई स्थानीय सरकारले पनि प्रोत्साहन दिन उत्पादनमूलक कार्यक्रम दिने उनले बताए।
आचार्यको व्यवसायमा उनका बुवा गेहनाथ, आमा राधिका र भाइ विशाल नै कामदारका रूपमा छन्। एकाघरका सदस्य मिलेर काम गर्दा पैसा पनि नबाहिरिने उनले सेतोपाटीलाई बताए। थोरै लगानीले थालेको व्यवसायले उच्च आम्दानी दिन थालेपछि उनको परिवारमा यतिबेला निक्कै सन्तोष मिलेको परिवारलाई अनुभूति भएको छ।