'तपाईं आजकल के गरिरहनुभएको छ?'
नियात्रा लेखक जय छाङ्छालाई अहिले यो प्रश्न सोध्ने हो भने उनले दुइटा उत्तर दिन सक्छन्।
पहिलो, 'नियात्रा विधा परिचय भन्ने किताबको लेखन।'
अर्को, 'खजुर हुर्काइरहेको छु।'
नियात्रा लेखकले त्यसैबारे किताब लेख्नु के नौलो कुरा भयो? दोस्रो उत्तर पो रोचक छ।
उनको जवाफले 'छक्क' परेका थिए अर्का लेखक नारायण वाग्ले। उनी छक्क मात्र परेनन्, छाङ्छाको दोस्रो उत्तरलाई आँखैले अनुभव गर्न गौशालास्थित नेपाल मानव धर्म सेवा समिति अगाडिको भिरालो पार्क समेत पुगे। त्यहीँ नै त हो छाङ्छाले चारवटा खजुर हुर्काइरहेको।
केही दिनअघि हामीले पनि उनलाई त्यहीँ भेटेका थियौं। उनका दुई छिमेकी साथीहरू पनि उनले रोपेको खजुरको बोट हेर्न आएका थिए।
वरिपरिका झारहरू उखेलेर, फोहोर सफा गरेपछि छाङ्छाले कुनातिर आगो बालेका थिए। त्यसबाट निस्किएको धुँवा अलि परैबाट पनि देखिन्थ्यो।
'यसरी कसले आगो बालेर धुँवा बनाएको भनेको त तपाईं पो हो?'
हाम्रो प्रश्नमा ६७ वर्षीय यी लेखक मुसुक्क हासेँ। हामीलाई पार्कतिरै बोलाए।
अनि भने, 'यो खजुर जहीँत्यहीँ पाइँदैन। साउदी, युएइ, बहराइन, कतार लगायत खाडी मुलुकतिर पाइन्छ। हुर्केला–नहुर्केला भनेर यहाँ परीक्षणका रूपमा रोपेको हुँ। त्यही भएकाले समयसमयमा गोडमेल र सरसफाइ गर्न आइरहन्छु। आफ्नै बच्चाजसरी हुर्काइरहेको छु।'
छाङ्छाको खजुरप्रतिको लगावबारे बुझ्न उनले यसअघि लेखनबाहेक गरेको कामबारे थाहा पाउनुपर्छ।
उनी २०४२ सालदेखि २०६९ सालसम्म परराष्ट्रमा जागिरे थिए। जर्मन भाषा पढेर तीन सेमेस्टर पास गरेका उनले भाषाकै कारण राजा वीरेन्द्रको भ्रमण हुँदा जर्मनी जान पाए।
त्यसअघि जापानी भाषा पनि पढेका उनलाई साथीहरूले 'जापान त एसिया नै त हो, के सिकिरहेको? बरू युरोपेली भाषा पढ' भनेर उक्साएपछि उनले त्यस समयमा कम मान्छेले पढेको जर्मन भाषा पढे। त्यस बेला अरू साथीहरूजसरी नै गाइड बन्छु भन्ने मात्र सोचेका थिए। तर परराष्ट्रमा काम लाग्यो।
जर्मनीपछि उनी अस्ट्रेलिया पुगे। पहिले कथा, निबन्ध अनि कहिलेकाहीँ कविता लेख्ने छाङ्छाको परिचय साथीहरूमाझ साहित्यकारका रूपमा बनिसकेको थियो।
परराष्ट्रबाट विभिन्न देश डुल्न थालेपछि साथीहरूले उनलाई भने, 'तेरो अरू केही कोशेली चाहिन्न। बरू तँ त लेख्ने, हात चलाउने मान्छे, हामी जान नपाएको ठाउँबारे लेखेर ल्याइदे न। हामीलाई पनि त्यो ठाउँबारे थाहा होस् न।'
योपटक फेरि साथीहरूको कुराले छाङ्छा उक्सिए। अनि नियात्रा लेखनमा कस्सिए। सुरूमा उनले 'कंगारूको देशमा हराउँदा' शीर्षकमा लेखे जुन गोरखापत्रमा छापियो। २०५२ सालमा उनले नियात्राको पहिलो कृति नै लेखे, 'कंगारूको देशदेखि आइफेल टावरसम्म।'
परराष्ट्रको जागिरक्रममा छाङ्छा जर्मनी र अस्ट्रेलियासँगै अमेरिका, भारत, कतार लगायत विभिन्न देश पुगे। तीन वर्ष कतारमा काम गरेर फर्किएको समयमा उनले कोशेलीका रूपमा खजुर ल्याएका थिए। त्यति बेला खजुरको बिरूवा हुर्काउने होस उनलाई भएन। पछि साथीहरू पनि विदेश भ्रमण गरेर फर्किँदा खजुर कोशेलीका रूपमा उनलाई दिन्थे।
उनले खाएर गमलामा फाल्दा तिनले उम्रिने संकेत देखाए। अनि उनले साथीहरूसँग थप खजुर मगाए। कुनै खाएर त कुनै छोडाएर गमलामा रोपे। उम्रिन खोजेपछि उनले करेसाबारीमा पनि फाले। बारीमा त भरर उम्रियो।
एक-डेढ वर्षमा गमला र करेसाबारीमा केही खजुरका बोट भए। ती हुर्किरहेको देख्दा छाङ्छा रमाउँथे। तर आफ्नो सानो बारीमा हुर्काउनु पर्दा तिनलाई सास्ती दिएजस्तो महसुस गर्न थाले। न चाहिनेजति जमिन थियो, न पुग्दो हावापानी। एकदम दुःख दिएजस्तो महसुस गर्न थालेपछि उनले तिनलाई सार्वजनिक जमिनमा सार्ने योजना बनाए।
अनि हरेक दिन बिहान मर्निङ वाक गर्दै पुग्ने पशुपति क्षेत्रतिर ठाउँ खोज्न थाले। बागमती किनारै किनार हिँडे, उपयुक्त ठाउँ भेटेनन्। छ महिनाअघि मात्र गौशालाको यो ठाउँ फेला पारेका हुन्।
छाङ्छाले त्यहाँका एक पसलेलाई एकदिन आएर सोधे, 'एउटा अनौठो खालको बिरूवा छ, यहाँ रोप्न पाइन्छ होला?'
पसलेले बिरूवाबारे जानकारी लिएपछि उनलाई हिम्मत दिइहाले, 'भइहाल्छ नि सर, मेरो पसलको ठ्याक्कै अगाडि रोप्नुस्। कसैले केही गरेछ भने म बेहोरूँला।'
आफ्नो घरमा ठाउँ नभएर कति बिरूवालाई त्यसै फालेका छाङ्छालाई आड मिलिहाल्यो। एउटा बिरूवा तिनै पसलेले रहर गरेर घरमा उमार्छु भने। चारवटा भने यता सारे। असार मासको समयमा पानी परिरहेको थियो। त्यो बिरूवा सार्ने उपयुक्त समय। उनले सारे, गोडमेल गरे, अलिअलि मल हाले।
वरिपरि झार हप्तादिनमा उम्रिन्थ्यो। त्यही भएकाले बेलाबेलामा आएर उखेल्थे।
छाङ्छालाई यहाँ यो बोट रोप्न पाउनु सान्दर्भिक पनि लाग्छ। धेरैजसो विदेश गएर त्रिभुवन विमानस्थलबाट फर्किँदा कति मान्छेहरू यहाँबाट पनि हिँड्छन्। रूख अलि ठूलो भए उनीहरूले देख्न पाउँछन्। खाडी मुलुकमा पुगेका धेरैले त खजुरको बोट चिनिहाल्छन्। अनि त्यस्तो ठाउँमा पाइने खजुर यहाँ देख्दा उनीहरू पनि 'छक्क' पर्दा हुन्।
यो बिरूवालाई घाम पर्ने ठाउँ चाहिन्छ। यसले ४०–४५ डिग्री तापक्रम पनि सहन सक्छ। विशेषगरी मरूभूमिमा उम्रिने भएकाले पानी पनि चाहिँदैन। झन् गौशालामा त भिरालो ठाउँ पाएको छ। चाहिएको पानी सोसिहाल्छ, नचाहिएको जमेर बस्दैन।
छाङ्छाले बिरूवामा सेतो चुना पनि छर्किएका छन्। यसले कीराबाट त जोगाउँछ नै, परैबाट बिरूवा चिन्न सहयोग पनि गरेको छ।
'यसले बिरूवालाई केन्द्रित पनि गरेको छ,' उनले भने, 'खजुरबारे साथीभाइले सोध्यो भने त्यही रेखा लगाएको ठाउँमै त हो भन्न पनि भयो।'
उनले अगाडि भने, 'यस्तो खालको रूख मैले यता देखेको छैन। यो ठूलो भयो भने एउटा ऐतिहासिक जस्तो पनि हुन्छ। भोलि कसले रोप्यो भनेर सोध्न पनि सक्छ। खजुरको बोट देखेको छैनस् भने मानव सेवा आश्रमको ठीकअगाडि हेर्न जा न भन्ने पनि होलान्। फल्यो भने झन् राम्रो। सबैले खान पाउँछन्।'
खजुर रोप्दा रमाइलो अनि सन्तुष्टिसँगै समाज र प्रकृतिलाई पनि केही गरेजस्तो अनुभव गरिरहेका छन् छाङ्छा। अनुभवसँगै उनले यसका विशेषताबारे जानकारी संकलन गरेका छन्।
उनका अनुसार खजुरमा प्रोटिन धेरै हुन्छ। अरबी मुलुकतिर ब्रत सुरू गर्दा वा तोड्दा खाइन्छ। यसले आफ्नो शरीरको शक्ति कायम राख्न मद्दत गर्छ भन्ने धारणा छ। करिब ७५ फिटसम्म अग्लो हुनसक्ने यसका दसवटा रूखलाई कतारको मरूभूमिमा काँडेतार लगाएर 'काटेमा सजाय गरिने' सूचनासमेत राखिएको छाङ्छा बताउँछन्।
जसरी सल्लाको रूख भएको ठाउँमा पानी हुँदैन, मरूभूमिमा बढी उम्रने खजुर भएको ठाउँमा पनि पानी हुँदैन। कतिपयले यस्तो बिरूवा यहाँ रोप्दा पर्यावरण र यहाँका अन्य बोटबिरूवालाई असर पुर्याउने हो कि भन्ने शंका पनि गरेका छन्।
तर उनी भन्छन्, 'यो मरूभूमिमा फल्ने हो तर यसले मरूभूमि नै बोकेर ल्याउने होइन। अलि टाढाको पानी लग्ला तर पानी धेरै नचाहिने भएकाले आवश्यक मात्र लिन्छ।'
यी खजुर हुर्किएर राम्रा भए भने भविष्यमा थप बिरूवा घरमा उमारेर नर्सरी खोल्ने उनको सोच छ।
खजुर हुर्काउनुबाहेक हामीले सुरूमा भनेजस्तै उनी 'नियात्रा विधा परिचय' भनेर नियात्रा साहित्यको छुटै विधा हो भनेर किताब लेखिरहेका छन्।
जागिरक्रममा भारत बस्दा उनी घुम्न पाकिस्तान र भुटान गएका थिए। भुटानलाई सांग्रिलाको देश पनि भनिन्छ। त्यही देशको यात्रा सन्दर्भमा उनले 'सांग्रिलाको किनारतिर' भन्ने किताबको पनि तयारी गरिरहेका छन्।
छाङ्छाका अनुसार कतिपय मान्छेमा नियात्रा र निबन्ध एउटै हो भन्ने गलत धारणा छ। तर उनी तिनमा आनकातान फरक भएको बताउँछन्, 'निबन्ध भनेको एउटा कोठामा बसेर कल्पना गरेर पनि लेख्न सकिन्छ। नियात्रामा भने गति चाहिन्छ। नहिँडीकन लेख्न सकिन्न। यही नै मूल भेद हो।'
यात्रा गर्नुलाई उनी आविष्कार पनि मान्छन्। यसले ज्ञान ढाउनुका साथै नयाँ समाजबारे बताउँछ जुन एक प्रकारको खुसी पनि हो। र यो खुसी किनेर पनि पाउँन नसकिने उनी बताउँछन्।
'तपाईं जति तल बस्नुहुन्छ, त्यति तलको मात्र थाहा हुन्छ। जति माथि उक्लिनुहुन्छ, त्यति नै टाढाको देख्नुहुन्छ। जस्तो शिवपुरीमा चढ्यो भने नुवाकोट सबै देख्नुहुन्छ। यताबाट त नुवाकोट त के पशुपति पनि देख्नुहुन्न,' उनले भने, 'यात्राले मानिसलाई स्वस्थ र सक्रिय बनाउँछ।'
छाङ्छाले नियात्राकै संग्रहहरू 'कंगारूको देशदेखि आइफेल टावरसम्म' बाहेक 'चाँप फुल्ने पहाड मुन्तिर', 'बादल रूँदाको जुरिच', 'बिँब्लेटो आकाशको धरातलतिर', 'दोहाको सिधा उडान' र 'पैदलै काठमाडौंका चुलीहरू' किताब लेखेका छन्। यसमध्ये दोहाको सिधा उडान मदन पुरस्कारको छोटो सूचीमा परेको थियो भने साझा पुरस्कार जित्न सफल भएको थियो।
जागिर क्रममा विदेशका धेरै ठाउँ पुगे पनि नेपालका धेरै स्थान पुग्न नपाएजस्तो छाङ्छालाई लाग्छ। काठमाडौं उपत्यकाका धेरै ठाउँ भने खुट्टैले हिँडेर भ्याएका छन्। पैदलै काठमाडौंका चुलीहरू किताब त्यसैको परिणाम हो। आफ्नो घर पुरानो बानेश्वरदेखि लगनखेल, न्युरोड लगायत ठाउँ जानपरे सवारीसाधन भन्दा हिँड्नै सहज र रमाइलो मान्छन् छाङ्छा।
'हतार नभए बस चढ्दिनँ। समय छ भने हिँड्नै रूचाउँछु। यसले स्वास्थ्यलाई पनि राम्रो गर्छ। नहिँडेको भए त म भुँडे पनि हुन्थेँ होला है,' यसो भन्दै उनी हाँस्न थाले।
यसबाहेक हरेक बिहान ७ बजेतिर घरबाट हिँड्दै पशुपतितिर पुग्नु त छँदैछ। फर्किँदा खजुरका बोट कस्ता भए भनेर हेर्ने बहाना पनि हुन्छ। यी बोट संरक्षण गर्न र नभाँच्न वरिपरिका मान्छेलाई सम्झाएका छन्। कसैले बिगार्न खोज्यो भने 'हप्काउन' पनि भनेका छन्।
'यहाँ खजुर रोपेको छु भनेर सबैलाई भनेको छैन। उखेलेर लग्लान् भनेर पनि केहीलाई मात्र जानकारी दिएको हुँ,' उनले भने।
'अब सेतोपाटीमा यसबारे स्टोरी नै आएपछि त धेरैलाई थाहा हुन्छ, लगे भने?'
हाम्रो प्रश्नमा उत्तर दिँदै उनले भने, 'लाँदैनन् होला। तर लगी नै हाले भने पनि के लाग्छ र! लगे पनि पानी पर्ने मोसममा लग्नुपर्यो। अहिले लगेर त बचाउनै गाह्रो हुन्छ। तर यहीँ राम्रो भयो भने फल दिन्छ। सबैले चाख्न पाउँछन् नि!'