१५ वर्ष पुरानो फुसको छाप्रोमा थोत्रो प्लास्टिकले छानो छ।
हावाहुरीले प्लास्टीक नउडाओस् भनेर त्यसमाथि परालको मुठा पनि ओछ्याइएको छ। कमजोर खम्बाले अडिएको उनको घर भत्किनै आँटेको छ।
यो घर हो धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ स्थित मुसहरी टोलका ६० वर्षीय सुरजा सदाको।
वर्षातमा उनको घरभरि पानी जम्छ। दिनमा वर्षाबाट जोगिन उनका परिवार छिमेकीका घरमा पनि पुग्छन् तर रातमा भिजेर बस्नुपर्छ।
कतिपय छिमेकीको अवस्था पनि यस्तै दयनीय छ। सबै गरिब र विपन्न रहेको यो वस्तीमा कसैका ठूला घर पनि छैनन्। मजदुरी गरेर ल्याएको बोइन (अन्नबाली) र लत्ताकपडा भिज्छ। उनका श्रीमतीसँगै दुई छोराछोरी, बुहारी र पाँचजना नाती–नातिनी यो घरमा बस्छन्।
‘वर्षायाममा हामी बुझ्ने मान्छे रातभर जागा बस्छौं, तर बालबच्चा रोइरहन्छन्,’ सुरजा सुनाउँछन्।
खुट्टामा न चप्पल छ न जिउ ढाक्न ज्याकेट छ। पातलो च्यादर ओढेर उनी कठ्याङिग्रँदै जाडो काटिरहेका छन्।
वर्षामा पानी जमिरहने भएकाले उनका घर यसै ओसिलो छ।
मुनि सबैजना पराल ओछ्याउँछन् र माथिबाट पुराना र च्यातिएका तीन वटा कम्बल ओढेर रात कटाउँछन्। १० वर्षअघि पञ्जाब कमाउन जाँदा उनले त्यहाँबाट तीन वटा कम्बल किनेर ल्याएका थिए। तीन वटै कम्बल पुरानो भएर च्यातिसकेका छन् भने केही मुसाले काटिदिएका छन्।
घरभित्र रहेको दुई वटा कोठा छुट्याउने बीचको टाट भत्किसकेकाले ९ जनाको परिवार एउटै कोठामा सुत्न बाध्य छन्। सुरजाका परिवार छिटो शीतलहर अन्त्य होस चाहन्छन्।
५ वर्षदेखि भत्किनै लागेको घरमा वर्षाको पानी र हिँउदको शीतलहर खेपेका उनी अब थाकिसकेका छन्।
‘शरीर कमजोर भएको छ, पहिले जतिको जाडो थेग्ने अवस्था छैन्। कुनै कुनै दिन लाग्छ जाडोले मरिहाल्छु,’ सुरजाले सुनाए, ‘बुढो भइसकेँ कहाँ कमाउन जाउँ? गाउँमा सधैं काम पनि पाइँदैन। गिरहत (खेतका मालिक) मा मजदुरी गरेर ल्याएको बोइन (अन्न) र केही पैसाले परिवार चलाउन मुस्किल छ। घर बनाउने, लत्ताकपडा किन्ने पैसा कहाँबाट ल्याउने?’
छोरो पनि यहाँ काम नपाएपछि मद्रास पुगेको उनले बताए। उनका छोरा विजयले त्यहाँ होटेलमा जुठाभाडा धुने काम गर्छन्। उनले कमाएर ल्याएको पैसा पहिलेको केही ऋण र छोराछोरी पाल्नमै खर्च हुने गरेको सुरजाले बताए।
हावाहुरीबाटै मञ्जु सदाको घर पनि खसेको छ। तर ऋणमा डुबेका कारण घर बनाउने उनको सामर्थ्य छैन। वर्षात भिजेरै काटेकी उनलाई जाडो कसरी काट्ने चिन्ताले सताएको छ। जाडो छल्न न बाक्लो लुगा छ न ओढ्ने।
‘कुनै कुनै दिन जाडो बर्दास्त (खेप्न) गर्न नसकिने खालको हुन्छ। निदाउनै सकिन्न। आगो तापेर जेनतेन रात कट्छ। बिहान पनि आगोकै भर हुन्छ,’ उनले भनिन्, ‘५ वर्षअघि सैकडा ४ रूपैयाँ ब्याजमा दुई लाख ऋण काढेर श्रीमान विदेश जानुभएको थियो। तर काम चलेन। ६ महिनामै कम्पनी टुट्यो र फर्केर आउनुपर्यो। सधैं काम हुँदैन कहिलेकाहीँ काम मिल्छ। कमाएर पेट पाल्ने र त्यो बेलादेखिको ऋणको ब्याज तिर्ने गर्या छौं।’
भुइँमा पराल ओछ्याएर थोत्रो प्लाष्टिक मुनि आमाबुवा, श्रीमान र छोरागरि सातैजना उनीहरू एकै ठाउँ सुत्छन्।
८० मुसहर परिवार रहेको यो टोलमा अधिकांशको अवस्था यस्तै छ। जाडोमा कठयाङ्ग्रिएर बसिरहेका यिनीहरूलाई लत्ता कपडासँगै आगो ताप्ने दाउरासम्म छैन।
स्थानीय भुण्टी सदाका अनुसार गाउँलेले जाडो छल्न अर्कैको खेतबाट चोरेर पराल ल्याउँछन्।
‘ओछ्यान मुनि ओछ्याउन र आगो ताप्न साँझ परेपछि हामी महाजनको खेतबाट चोरेर पराल ल्याउँछौँ। कहीँ पक्रियो भने कुट्छ। जरीवाना गर्छ तर के गर्नु ज्यान त जोगाउनु पर्यो नि,’ उनले भनिन्।
जाडो र वर्षातमा झेल्नुपर्ने समस्या यिनीहरूको पुर्ख्यौली समस्या हुन्। यस्ता विपन्न परिवारलाई सरकारले कम्तीमा घर बनाएर लत्ता कपडाको व्यवस्था गरिदिनुपर्ने रानीवती सदा बताउँछिन्।
‘मजदुरीमा पनि हामीलाई कम पैसा दिएर विभेद गर्छन्। सधैं काम पाउँदैनौं। सरकारले कि, रोजगारीको व्यवस्था गरिदिनुपर्यो कि त घर बनाई दिनुपर्यो,’ उनले भनिन्।
पुस्तौंदेखि यी समस्याका सामना प्रदेश २ का विपन्न तथा मुसहर समुदायका लागि अहिलेसम्म न स्थानीय सरकारले केही गरेका छन् न त प्रदेश सरकारले नै।
क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर २ का अध्यक्ष श्याम यादवका अनुसार यस वडामा डेढ सय बढी मुसहर समुदाय छन्। तीमध्ये एकाधबाहेक सबैले मजदुरी गरेर पेट मात्र पाल्न सकेको उनको भनाई छ।
स्थानीय र प्रदेश सरकारको बेवास्ताले उनीहरुको अवस्था झनै कष्टकर बन्दै गएको उनले बताए।
‘सबैका अवस्था कष्टकर छ। मेयर सा’बलाई हामीले उनीहरूको समस्याबारे पटक पटक भनेका छौं। तर उहाँले चासो देखाउनु भएन। जाडोमा उनीहरू लत्ताकपडा र दाउरा अभावमा दिनहुँ विरामी परिरहन्छन्,’ उनले भने, ‘जनता आवास कार्यक्रमबाट घर बनाउन फाइल लिएर धेरै पटक कार्यालयमा पुग्यौं त्यता पनि कुनै सुनुवाइ भएन। मैले मात्र के गर्न सक्छु र?’
गरिबी, बेरोजगारी, अशिक्षा र चेतना अभावले पुस्तैनी विपन्न बनिरहनु उनीहरूको नियती भइसकेको वडाध्यक्ष यादवको भनाई छ।
यस विषयमा कुरा गर्न खोज्दा मेयर योगेन्द्र परियार सम्पर्कमा आउन चाहेनन्।
प्रदेश २ सरकारले विपदका बेला वर्षेनी अन्तिम समयमा आएर झारा टार्ने काम गर्छ। सरकारले उपाय खोज्ने बेलासम्म कयौं व्यक्ति मृत्युको मुखमा पुगिसक्छन्।
४ वर्षको अवधिमा प्रदेश सरकारले दिर्घकालिन समस्या समाधानतर्फ कुनै चासो देखाएको छैन।
प्रदेश २ मा जाडोले कठ्याङिग्रएर तीन वर्षमा २१ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरको तथ्यांक छ। चालु आर्थिक वर्षमा सिरहा र पर्सामा गरि दुई जना महिला /पुरूषको मृत्यु भएको तथ्यांकमा उल्लेख छ।
गत आर्थिक वर्षमा ३ जना महिला र ७ जना पुरूष गरि १० जनाको मृत्यु भएको तथ्यांक रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एसपी तुल बहादुर कार्कीले बताए।
यद्यपी अन्य रोग लागेका तर लत्ताकपडा अभावमा जाडोकै कारणले मृत्यु भएको संख्या यो भन्दा तीन गुणा बढी हुन सक्ने अनुमान पनि कतिपयले लगाउने गरेका छन्।
‘जाडोले मृत्यु भएका केहीमात्र रिर्पोटिङ प्रहरीमा आउँछ। गाउँमा धेरै त प्रहरीलाई भनेरै के हुन्छ भनेर मरिसकेपछि दाहसंस्कार गरिदिने चलन छ,’ एक प्रहरी अधिकृतले भने।
सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री शैलेन्द्र प्रसाद साहले विपन्न तथा मारमा परेका व्यक्तिको तथ्यांक संकलन गरि प्रदेश सरकारले दिर्घकालीन उपाय खोज्ने बताए।
‘हामीकहाँ अहिले त्यस्ता परिवारको डाटा छैन। यस्ता समस्या समाधानका लागि सरकारले दिर्घकालीन उपाय खोज्छ। यसबारे एक चरण छलफल भएको छ। फेरि पनि हामी छलफल गरेर निष्कर्ष निकाल्छौँ,’उनले भने।
अत्यधिक जाडो बढेपछि मात्र प्रदेश सरकारले न्यानो कपडा वितरणका लागि खरिद गरेको छ। लक्षित वर्गका लागि सरकारले १६ लाखको न्यानो कम्बल खरिद गरेको आन्तरिक मामिला तथा संचारमन्त्री भरत साहले जानकारी दिए।
‘मैले मन्त्रालय सम्हालेको तीन महिनासम्म सचिव थिएनन्। त्यसैले हामीले समस्या समाधानका लागि पहिले केही गर्न सकेनौं,’ उनले भने, ‘अब गर्छौं।’
दाउरा वितरणको जिम्मेवारी उद्योग, वन पर्यटन तथा वातावरण मन्त्रालयलाई दिइएको उनले जानकारी दिए। तर अहिलेसम्म दाउरा वितरण कार्य समेत सुरूबह भएको छैन।