प्राय: स्कुलमा शिक्षकहरूले एउटै तरिकाले पढाउने गर्छन्। त्यो हो - लेक्चर मेथोड। शिक्षकले बोल्ने र विद्यार्थीले सुन्ने।
यो विधि एकतर्फी हुने भएकाले हरेक विद्यार्थीले पाठबाट पाउने ज्ञान प्रभावकारी नहुन सक्छ। जो अलि चाँडै बुझ्छन् उनीहरूले त बुझ्छन्। अरू भने त्यसै अलमलमा पर्छन्। शिक्षकले 'बुझ्यौं?' भनेर प्रश्न गर्दा नबुझेका विद्यार्थीहरूले पनि जान्ने साथीहरूले हात उठाएको देखेर बुझे भन्छन्। तर पछि उनीहरूलाई त्यसबारे सोध्ने हो भने उनीहरूसँग उत्तर हुँदैन।
यसमा शिक्षकको सबैभन्दा ठूलो कमजोरी छ। एउटै तरिकाले सबै विद्यार्थीलाई पढाउन सकिन्न। सैद्धान्तिक मात्र नभई व्यवहारिक तरिकाले पढाउने हो भने लगभग सबै विद्यार्थीले बुझ्न सक्छन्। शिक्षक आफैंले ति कुरा नबुझ्दा वा नजान्दा विद्यार्थीहरूलाई मर्का परिरहेको हुन्छ।
शिक्षक भन्दा बढी त स्कुलको प्रसासनको जिम्मेवारी हो यस कमजोरीप्रति। आफ्ना शिक्षकको तालिममा लगानी नगरेकाले त्यस्तो हुन गएको हो। स्वयम् शिक्षकले पनि आफ्नो सिकाइको विकासका लागि मिहिनेत नगर्दा पनि हुन सक्छ। विद्यार्थी फेल हुँदा शिक्षकले पनि आफ्नो मूल्यांकन गर्नुपर्छ। हामी शिक्षकले पनि आफ्नो पढाउने तरिकाको बारेमा खोज-अनुसन्धान गर्ने, विभिन्न तालिम लिने काममा लगानी गर्नुपर्छ।
म आफैं एक शिक्षक भएको नाताले कक्षाकोठामा कसरी प्रभावकारी तरिकाले पढाउन सकिन्छ भनेर अभ्यास गरिरहेको हुन्छु। विद्यार्थीलाई राम्रो तरिकाले पढाउने उपायहरू यी हुन सक्छन्:
१. रन टु द बोर्ड (Run to the board)
यदिआज विद्यार्थीहरूलाई हिज्जे (स्पेलिङ) सोध्नुछ भने बोर्डमा अथवा चार्ट पेपरमा सोध्नुपर्ने शब्दहरू लेख्ने। शब्द लेख्दा सही शब्द र गलत शब्द लेख्ने। त्यसपछि विद्यार्थीहरूकाे ग्रुप बनाउने। जस्तो: A र B। विद्यार्थी विभाजन गरिसकेपछि हरेक ग्रुपको १-१ जना विद्यार्थीलाई बोलाउने। अनि ति विद्यार्थीहरूलाई रेस गर्न लगाउने।
उद्धाहरण: शिक्षकले कालिज भनेर भन्यो भने, दुवैजना बोर्ड तर्फ अथवा चार्ट पेपर तर्फ दौडिन्छन्। जुन ग्रुपले सही उत्तर पहिला थाहा पाउँछन् उनीहरूको टिमले अंक पाउँछ।
यो गमेमा शिक्षक आफैंले प्रश्न बनाएर, आफ्नो विषयअनुसार प्रयोग गर्न सक्छन्।
२. वर्ल्ड टूर (World Tour)
मानौं अंग्रेजी, गणित, नेपाली र सामाजिक विषयको १-१ जना विज्ञ छन्। ति विज्ञहरूलाई चारवटा कुनामा बस्न लगाइन्छ। बाँकी विद्यार्थीहरू ४-५ जनाको ग्रुपमा त्यहाँ जान्छन्। मानौं चारवटा ग्रुप बनायौं भने, पहिलो ग्रुप अंग्रेजीतिर जान्छन्, दोस्रो ग्रुप गणिततिर, तेस्रो नेपाली र चौथौं सामाजिकतिर। त्यहाँ गएका विद्यार्थीहरूले ति विषयका बारेमा सोध्छन् ति विज्ञलाई। केही समयपछि शिक्षकले संकेत दिएपछि ति ग्रुप अर्कोमा जान्छन्। यसरी आलोपालो गरेर सबै ग्रुपमा विद्यार्थीहरू जान्छन् र छोटो समयमा नै सबै विषयका ज्ञान हासिल गर्न सक्छन्। यसो गरेमा विज्ञ बन्ने विद्यार्थी पढेर तयारीका साथ आउँछन् र ग्रुपमा रहेका विद्यार्थीले आफूले नजानेका कुराहरू पनि सजिलै सिक्न सक्छन्।
विषय शिक्षकले आफू अनुकूल वर्ल्ड टूरलाई आयोजना गर्न सक्छन् कक्षाकोठामा। मानौं नेपाली विषयको काल पढाउनुछ भने १ जनाले वर्तमान कालको, अर्कोलाई भूतकालको, तेस्रोलाई भविष्यकालको र चौथोंलाई कालको प्रकारबारे विज्ञ बनाएर पनि गर्न सकिन्छ।
३. ग्यालरी वाल्क (Gallery Walk)
यो गराउने तरिका सजीलो छ। मानौं विद्यार्थीलाई विज्ञान विषयको विरूवा, घाम र पानीको बारेमा सोध्नुछ भने कक्षाको भित्तामा विरूवाको बारेमा चार्ट पेपरमा लेखेर, त्यसैगरी घाम र पानीको पनि लेखेर भित्तामा टास्ने। पछि सबै विद्यार्थीलाई ग्यालरी वाल्कमा हिँड्न र पढ्न लगाउने। पछि उनीहरूले घुमिसकेपछि शिक्षकले विद्यार्थीहरूलाई प्रश्न सोध्ने। यो गर्दा विद्यार्थीहरूले मनोरञ्जन लिनुको साथै घुमिफिरी रमाइलो तरिकाले पढ्न पाउँछन्। कक्षा बोरिङ हुँदैन र साथमा उनीहरूले रमाइलो तरिकाले सिक्छन्।
४. गिभ वान, गेट मेंनी (Give one, Get many)
हरेक विद्यार्थीले १-१ ओटा प्रश्न त्यसको उत्तरसहित तयार पार्छन् । मानौं, यो गमेमा १० जना छन्। हरेक विद्यार्थीले आफूसँग भएका प्रश्न अरूलाई दिन्छन् र बाँकी ९ जनासँग उनीहरूको प्रश्न र जवाफ लेख्छन्। त्यसो गर्दा हरेक विद्यार्थीले धेरै ज्ञान पाउन सक्छन्।
५. प्रेस कन्फरेन्स (Press Conference)
यसमा १ जना या भनौं तीन, चारजना विज्ञ हुन्छन्। मानौं, ति विज्ञहरूलाई अंग्रेजी विषयको टेन्सको बारेमा आउँछ भनें तिनीहरूलाई रिपोर्टरहरूले प्रश्न गर्छन्। अहिलेको लागि रिपोर्टर, विद्यार्थीहरू हुन्छन्। ति विद्यार्थीहरूले कक्षाकोठामा त्यो विषयको लागि चुनिएका विज्ञहरूलाई ति विषयसँग सम्बन्धित प्रश्नहरू सोध्छन् र विज्ञले जवाफ दिन्छन्।
६. भित्री - बाहिर (Inside - out)
यसमा दुई ओटा समूह हुन्छन्। हरेकसँग प्रश्नहरू हुन्छ। पहिलो ग्रुप भित्री गोला भित्र हुन्छन् र अर्को बाहिर। भित्री गोला भित्र रहेकाले बाहिरी गोलामा रहेकाको 'फेस टू फेस भएर' बस्छन्। शिक्षकले म्युजिक बजाउँदा बाहिर गोलामा भएकाहरू घुम्छन् र म्युजिक बन्द हुना साथ आफू जहाँ पर्छन् त्यहाँको भित्री व्यक्तिसँग आफ्नो प्रश्न र अरूको प्रश्नलाई साटासाट गर्छन्। यसरी हरेक विद्यार्थीले रमाइलो तरिकाले एकअर्काबाट सिक्ने र जान्ने मौका पाउँछन्।
७. एरोप्लेन (Aeroplane)
कहिलेकाहीँ विद्यार्थीहरूलाई अल्छी लागिरहेको हुन्छ र बाहिर गएर पढ्ने भनिरहेका हुन्छन्। यस्तो बेलामा एरोप्लेन मेथोडबाट पढाउन सकिन्छ। यसमा के गरिन्छ भन्दा शिक्षकले विद्यार्थीहरूलाई प्रश्नहरू पेपरमा लेख्न लगाउँछन् र लेखिसकेपछि एकैचोटी सबैलाई उडाउन लगाउँछन्। हरेकले आफ्नो एरोप्लेनबाहेक कुनै अरूको उठाउँछन् र त्यसमा लेखिएको प्रश्नको जवाफ दिनुपर्ने हुन्छ।
यी मेथोडको बारेमा जान्न मेरो युट्युब च्यानल 'Moin Uddin Show' मा हेर्न सक्नुहुन्छ।
टिचर ट्रेनिङ : https://youtu.be/WnCdwGDFjC8
रन टू द बोर्ड : https://youtu.be/vext6lNBzGk
एरोप्लेन मेथोड : https://youtu.be/WXV-b0dkU1g
यी केही तरिकाहरू हुन् जुन अपनाएमा हरेक विद्यार्थीले एकअर्काबाट सजिलै खेलको माध्यमबाट मनोरञ्जनात्मक तरिकाले पढ्न सक्छन्। हामी शिक्षकले आफ्नो ज्ञानको क्षितिजलाई फराकिलो बनाउनुपर्छ र सिकेका कुरालाई तुरून्तै प्रयोगमा ल्याउन सकेमा मात्र प्रभावकारी हुन्छ। सिक्ने र प्रयोगमा ल्याउने कुरामा कन्जुस्याइँ हामी शिक्षकले कहिल्यै नगरौं।
(मोइन उद्दिन शिक्षक एवं शैक्षिक अभियन्ता हुन्।)