पछिल्ला दिनमा कोरोना संक्रमण दर बढेसँगै सुदूरपश्चिम प्रदेशमा सीमा नाकाबाट भित्रिने नागरिकको सहज व्यवस्थापन गर्न चुनौती देखिएको छ।
भित्रिने कतिपय व्यक्तिबाट अटेरी स्वभाव देखाउँदै धम्क्याउनेसम्मका व्यवहार भइरहँदा सहज रूपमा व्यवस्थापन गर्ने काममा चुनौती देखिएको सीमामा खटिएका प्रहरी कर्मचारीले बताएका छन्।
गौरीफन्टा सीमा नाका नजिकको डोकेबजारमा खटिएका प्रहरी नायब निरीक्षक दीपेन्द्र थापाले भित्रिने कतिपय व्यक्तिबाट जोरजबर्जस्ती गर्ने र धम्क्याउने व्यवहार भइरहँदा आफूहरूले हैरानी खेप्नुपरेको बताए।
‘नाकामै गरिएको नमूना परीक्षणमा कोरोना पोजिटिभ देखिएपछि महाराष्ट्रबाट आएका एक नेपालीलाई सम्झाइबुझाइ आइसोलेसनमा पठाउने प्रयास गर्यौं,’ उनले भने, ‘तर उनले आफू कुनै हालतमा आइसोलेसनमा बस्न नजाने, बरू आफूमाथि गोली ठोक्न चुनौती दिँदै धम्क्याए।’
खुला सीमाका साथै भित्रिने नागरिकबाट भइरहेको व्यवहारबाट कोरोना संक्रमण रोकथाम निकै चुनौतीपूर्ण बनेकाले यो रोगको रोकथामका लागि नाका नै बन्द गर्न आवश्यक देखिएको सीमामा खटिएका प्रहरी कर्मचारीको सुझाव छ।
एक कर्मचारीले गुनासो गरे, ‘मन्त्री, नेताहरू आएर आफूहरूलाई निर्देशन दिएर जान्छन्, सीमामा खटिएका प्रहरी र अन्य कर्मचारीले भोगेको पीडा बुझ्दैनन्।’
भित्रिने नागरिकलाई धनगढीको कनरीमा स्थापना गरिएको आइसोलेसनमा पठाउने गरिएकामा पछिल्ला दिनमा भित्रिने कतिपयलाई होम आइसोलेसनमा समेत पठाउने थालिएको छ।
भित्रिने धेरै नागरिकलाई सम्बन्धितका अभिभावकको जिम्मा लगाएर सुरक्षित रूपमा होम आइसोलेसनमा पठाउने गरिएको छ।
कोरोनाको जोखिम बढे पनि सीमापारि भारतको गौरीफन्टा नजिकको वनगाउँ, पलिया लगायतका बजारमा किनमेल गर्न जानेहरू घटेका छैनन्।
उनीहरूको नमूना परीक्षणसमेत हुने गरेको छैन। जसका कारण यो रोगको संक्रमण रोकथाममा थप चुनौती देखिएको छ। पछिल्ला दिनमा कोरोना संक्रमणको बढी समस्या देखिएको भारतबाट सीमा नाका हुँदै भित्रिनेको संख्या बढ्दै जाँदा उनीहरूको सहज व्यवस्थापन गर्न चुनौती देखिएको हो।
भित्रिने सबै नागरिकको एन्टिजेन परीक्षण गर्नमा सचेतता अपनाइएको भए पनि कतिपय व्यक्ति नमूना परीक्षण नगरी कर्मचारी र प्रहरीलाई छलेर भित्रिने गरेका पनि छन्।
त्रिनगर सीमा नाका हेल्थ डेस्कका प्रमुख अहेब गणेश साउदले भने, ‘नाका हुँदै भित्रिने कतिपय नागरिकबाट नमूना परीक्षण गराउन बेवास्ता भइरहँदा जोखिम रोकथाम गर्न निकै कठिन भएको छ।’
यो नाकामा सञ्चालित हेल्थ डेस्कमार्फत भइरहेको नमूना परीक्षणमा दैनिक दश प्रतिशतका दरले कोरोना पोजिटिभ बिरामी थपिँदै जाँदा संक्रमण दर पनि उकालो लागेको छ।
साउदले भने, ‘यो नाकामा केही दिनयता नमूना परीक्षण भइरहेकामध्ये दैनिक दश प्रतिशतका दरले संक्रमित थपिने गरेका छन्।’
लुकीछिपी भित्रिनेबाट यो रोगको जोखिम थप बढ्ने देखिएको छ।
यो नाकाबाट भित्रिएका १२ व्यक्तिमा ओमिक्रोन भेरियन्टको कोरोना भाइरसको संक्रमणको आशंकामा थप परीक्षणका लागि संकलित नमूना काठमाडौं पठाइएको छ।
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन तीव्ररूपमा फैलिएको भारतबाट सुदूरपश्चिम प्रदेशको त्रिनगर सीमा नाका (गौरीफन्टा), गड्डाचौकी, बैतडी र दार्चुला जिल्लाका सीमा नाका हुँदै फर्किने व्यक्तिको सङ्ख्या बढ्दै गएको छ।
सदियौंदेखि सुदूरपश्चिम प्रदेशका नागरिकको मुख्य रोजगारी गर्न जाने देश भारत हो।
खुला सीमा भएकै कारण अन्य विभिन्न नाकाबाट भइरहेको मानिसको आवागमनको निगरानी राखेर उनीहरूको नमूना परीक्षण गर्ने कामसमेत चुनौती देखिएको जनाइएको छ।
जोखिम बढे पनि रोकथामका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने गराउने, भीडभाड नगरी सामाजिक दूरी कायम राख्ने काममा नागरिकबाट लापर्बाही भइरहेको छ।
हालसम्म सुदूरपश्चिम प्रदेशमा ५० प्रतिशतभन्दा बढी नागरिकले खोप पाइसकेका छन्। रासस