स्याङ्जा एक नगरपालिकाका वडाध्यक्ष र वडा सदस्यले नागरिकता बनाइदिन्छु भनी एक लाख ३५ हजार रुपैयाँ घुस लिएको फेला परेको छ।
स्याङ्जाको भिरकोट नगरपालिका-९ का वडा अध्यक्ष भीमबहादुर गुरूङ र वडा सदस्य कुलबहादुर गुरूङले सेवाग्राहीसँग नागरिकता बनाइदिन्छु भनेर घुस लिएको पाइएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ।
वडाध्यक्ष भीमबहादुरले आर्थिक प्रलोभनका आधारमा परी दोहोरो नागरिकता बनाउन झूटो विवरणका आधारमा बद्नियत तरिकाले गलत सिफारिस गरेको पाइएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको हो।
आयोगले आज वडाध्यक्ष भीमबहादुरविरूद्ध बिगोअनुसारको कारबाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।
नेपाली नागरिकले जन्मका आधारमा नागरिकता पाउने कानुनी प्रबन्ध छ। नागरिकता पाउने नेपाली नागरिकको जन्मसिद्ध अधिकार हो।