इन्द्रजीत साफी र निरजकुमार कामतका बुवा-आमा नेपाली नागरिक हुन्। तर उनीहरू दुबैसँग नेपालको नागरिकता छैन। नेपालको संविधानले २०७२ सालअघि नेपालको नागरिकता लिएका बुबा र आमाका सन्तानले वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यवस्था गरेको छ। उनीहरूलाई कानुन नभएको भन्दै राज्यले अनागरिक बनाएको छ।
इन्द्रजीत सिभिल इन्जिनियर हुन्। उच्च शिक्षा प्राप्त गर्न नागरिकता नभएकाले उनले नेपालमा अध्ययन गर्न पाएनन्। नागरिकता नभएकै कारण इन्जिनियर बनेर पनि उनले काम पाएका छैनन्। उनकी बहिनीले काम त पाइन् तर नागरिकता अभावमा बैंक खाता खोल्न पाइनन्। जसका कारण उनले पाएको रोजगारीसमेत गुमाइन्। उनका दाजुभाइले पढेरसमेत केही गर्न नसकेकाले विरक्तिएका छन्।
'भाइ कुलतमा फसेको छ', इन्द्रजीत भन्छन्, 'सम्झाउन खोज्दा पढेर के हुन्छ? दाइले पढेर के भयो' भनेर जवाफ फर्काउँछ।'
इन्द्रजीतका हजुरवुबाले नागरिकता बनाएका थिएनन्। किनभने जन्मिदारको जमिन जोत्ने उनका हजुरबुवा र उनका पनि वुबाहरूलाई नागरिकता आवश्यकता नै थिएन। २०६३ सालमा उनका हजुरबुवाले जन्मसिद्ध नागरिकता बनाए। उनले इन्द्रजीतको बुवालाई कुनै पनि कागजले वंशज प्रमाणित गर्न सकेनन्। त्यसैले उनको बुवाले पनि जन्मसिद्ध नागरिकता बनाए। बुवाले जन्मसिद्ध नागरिकता बनाएकै कारण इन्द्रजीत अहिले नागरिकताविहीन भएका छन्। जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिने विधेयक अहिलेसम्म संसदले तयार पार्न सकेको छैन। जसका कारण इन्द्रजीत समस्या खेपिरहेका छन्।
'हामी पनि चाहँदैनौं कि बाहिरको व्यक्तिले नागरिकता पाओस्,' इन्द्रजीत भन्छन्, 'हामीलाई पनि देशको माया छ। नागरिकता नभएकाले न मैले इन्जिनियरको लाइसेन्स बनाउन पाएको छु न त बाइकको लाइसेन्स।'
इन्द्रजीत जस्तै निजरकुमार कामतले पनि स्नातकसम्मको अध्ययन पूरा गरेका छन्। तर उनले पनि नागरिकता पाउन सकेका छैनन्। उनको माइला हजुरबुवाको सन्तान वंशज नागरिक छन्। निरजको परिवारले अझै वंशजको नागरिकता पाउन सकेको छैन।
'हामी देशको नागरिक हो भने नागरिकता लिनकै लागि लड्नु पर्ने हो र', निरज भन्छन्, 'वास्तविक नागरिकको समस्या समाधान हुनुपर्छ।'
भिडिओ: