प्रदेश २ मा कोरोनाभाइरसो संक्रमण दर दिनानुदिन बढ्दो छ। पछिल्लो ५ दिनयता मात्र साढे तीन सय बढी व्यक्तिमा संक्रमण पुष्टि भएको छ। प्रदेशमा हाल साढे चार सय सक्रिय संक्रमित रहेको स्वास्थ्य निर्देशनालयको तथ्यांक छ।
निर्देशनालयका प्रवक्ता विजय झाका अनुसार स्वाब परीक्षण गरिएका झन्डै ४० प्रतिशत व्यक्तिमा संक्रमण पुष्टि भएको छ। उनका अनुसार खुला सीमाका कारण प्रदेशमा संक्रमण विष्फोट हुने जोखिम छ। भारतमा महामारीको तेस्रो लहरले पछिल्लो समय दिनहुँ दुई लाख बढी संक्रमित देखिए पनि सीमामा भने हेल्चक्रयाइँ देखिएको छ।
प्रदेशका सबै नाकाबाट भारतबाट ओहोर-दोहोर गर्नेको लर्को छ। तर उनीहरूले प्रायः न मास्क लगाउँछन् न त स्वस्थ्य परीक्षण हुन्छ। प्रदेशका धेरैजसो नाकामा हेल्थ डेस्क नभएकाले भारतबाट निष्फिक्री मानिसहरूको आवत-जावत भइरहेको छ। प्रदेश २ का सशस्त्र प्रहरीका डिआइजी गणेश ठाडा मगरका अनुसार प्रदेशका ३५ वटा नाकामा हेल्थ डेस्क राखिएको छ। त्यहाँ सामान्य तापक्रम जाँच र मास्क लगाएर मात्र प्रवेश गर्न दिइने गरिएको छ।
धनुषा र महोत्तरीका अधिकांश नाकामा भने हेल्थ डेस्क छैन। धनुषाको मुख्य नाका जटहीमा सशस्त्र प्रहरीले हेल्थ डेस्कका लागि टेबल कुर्सी मिलाएर राखदिएको छ। तर नगरपालिकाले स्वास्थ्य कर्मचारीलाई पठाएको छैन।
‘हामीसँग स्वास्थ्यका प्राविधिक जनशक्ति र उपकरण छैनन्। अघिल्लो पटक संक्रमणका बेला ५२ वटा नाकामा हेल्थ डेस्क राखिएको थियो। ती सबै ठाउँमा डेस्क राख्न हामी प्रदेश र स्थानीय तहसँग समन्वय गर्ने कोशिश गरिरहेका छौँ,’ डिआइजी मगरले भने, ‘स्थानीय र प्रदेश सरकारले सहयोग गरे मात्र बोर्डरमा रोकथाम सम्भव छ।’
अघिल्लो लहरभन्दा यसपालि दुबै सरकारबीच समन्वयको कमी भएको देखिएको छ।
‘सहयोग नगरेको भन्न मिलेन। तर जुनखालका अपेक्षा छ त्यो खालको सहयोग छैन्,’ उनले भने।
पछिल्लो समय सशस्त्र प्रहरीसमेत संक्रमित हुन थालेको डिआइजी मगरले बताए। शुक्रबारसम्म ११ जना सशस्त्र प्रहरी संक्रमित भई आइसोलेसनमा बसेका छन्।
‘सिके राउतको आन्दोलन होस् वा अरू सबैतिर फ्रन्ट लाइनमा खटिने भएर अलिअलि संक्रमण हाम्रोमा पनि देखा पर्न थालेको छ। भ्याक्सिन लगाइसकेकाले उनीहरूको अवस्था ठिकै छ। हामीले सतर्कता पनि अपनाएका छौं,’ मगरले भने।
स्वास्थ्य निर्देशनालयका प्रवक्ता झाका अनुसार पर्साको वीरगञ्ज, रौतहटको गौर, महोत्तरीको भिठामोड र सिरहाको माडर नाकामा मात्र एन्टिजेन टेष्टको व्यवस्था गरिएको छ। भारतबाट आउनेमध्ये कति जनामा संक्रमण पुष्टि भएको तथ्यांक नरहेको झाले बताए।
एन्टिजेन परीक्षणमा पोजेटिभ देखिएकाहरूलाई स्वाब परीक्षणका लागि नजिकको पिसिआर प्रयोगशालामा पठाइने गरिएको छ। भारतीय व्यक्तिमा एन्टिजेन पोजेटिभ देखिएमा भारतीय एसएसबीसँग समन्वय गरी उतैतिर फर्काइने गरिएको डिआइजी मगरले बताए।
भारतमा महामारी फैलिने दर उच्च रहेकाले सरकारले नाकामा व्यापक कडाइ एवं सतर्कता अपनाउनु पर्ने प्रदेश अस्पतालबाट हालै अवकाश भएका डाक्टर रामनरेश पण्डित बताउँछन्।
‘पहिले संक्रमण प्रतिशत डबल डिजिटमा जान महिना दिन लाग्थ्यो। अहिले तुरून्तै १५ प्रतिशतसम्म पोजेटिभ आउन थाल्यो। त्यसैले बोर्डरमा स्वास्थ्य मापदण्ड अपनाउने सरकारको मुख्य काम हो,’ उनले भने, ‘राजनीतिक दल, नागरिक समाज, तीनै तहका सरकारले रोकथामका लागि काम गर्नुपर्छ।’
नाकामा उच्च सतर्कता नअपनाइए नेपालमा भारतजस्तै संक्रमण दर बढ्ने खतरा रहेको उनको भनाइ छ।
केही दिनअघि बसेको पिसिसीएमसीको बैठकमा मुख्यमन्त्री लालबाबु राउतले सुरक्षा निकायसँगै सबै संयन्त्रलाई महामारी रोकथामका लागि निर्देशन दिए पनि नाकामा कार्यान्वयनको अवस्था निकै फितलो देखिएको छ।
‘पालिकाहरूले संक्रमितको सम्पर्कमा आउने व्यक्तिको निगरानी र जाँच गर्नुपर्यो। अहिले त्यो गरेको देखिएन। जति परीक्षण हुनुपर्ने हो त्यो पनि भइरहेको छैन। प्रयोगशाला कर्मचारी प्रयोग गरी बढी लक्षण भएकाहरूलाई जनस्वास्थ्य मापदण्ड अपनाउन हामीले भनेका छौं तर कार्यान्वयन भएको छैन,’ स्वास्थ्य निर्देशनालयका प्रवक्ता झाले भने।
उनका अनुसार सप्तरीको कुनौली, धनुषाको जटही, महोत्तरीको मटिहानी र सर्लाहीको मंलगवा नाकामा एन्टिजेन परीक्षणसहितको हेल्थ डेस्क राख्ने तयारी भइरहेको छ। अहिलेसम्म सरकारले उपचारका लागि आवश्यक व्यवस्थापन गरिसकेकाले संक्रमण दर केही बढे पनि खासै प्रभाव नपर्ने झाले बताए।
उनका अनुसार प्रदेश २ का आठ वटै जिल्लामा १२ वटा पिसिआर मेसिन र ५ जिल्लामा अक्सिजन प्लान्ट जडान भइसकेको छ। बारा, रौतहट र सर्लाहीमा अक्सिजन प्लान्ट जडान गर्ने तयारी भइरहेको छ।
‘सरकारी अस्पतालमा सय वटा भेन्टिलेटर, ७ सयभन्दा बढी आइसियु बेड तयार अवस्थामा छ। अहिले उपचारका लागि खासै समस्या हुँदैन। तैपनि भ्याक्सिन हाम्रो प्रदेशमा निकै कम लागेको छ। ४३ प्रतिशतले मात्र दोस्रो डोज लगाएका छन्। त्यसैले जोखिम बढी छ,’ झाले थपे।