कैलालीको लम्कीका जिद्दे वड गएको पुस ७ गते दुई छोरा लिएर कमाउन भारत गएका थिए। उनी नेपालबाट जाने बेलामा कोरोनाको नयाँ लहर आउने चर्चा थियो। त्यसैले उनले यहीँबाट कोभिड विरूद्धको खोप लगाएर गएका थिए।
खोप लगाएपछि काम गर्न पाइने आसामा त्यहाँ पुगेका उनले २१ दिनपछि घर फर्किनुपर्यो।
महाराष्ट्रमा पुगेर उनले आफू र छोराका लागि काम खोजे। होटल, अपार्टमेन्ट र केही कम्पनीमा कामका लागि उनीहरू पुगे तर पाएनन्।
‘काम गर्न गएका हौं, जब राम्रो मिलेन, लकडाउन हुनेजस्तो भएपछि फर्केको,’ उनले भने।
भारतमा कोरोनाको संक्रमण बढ्न थालेपछि काम पाउन समस्या हुन थालेको उनले बताए।
पटक–पटक कोरोनाकै कारणले आउनु–जानु मात्रै भएपछि कमाइभन्दा खर्च बढी भएको उनको भनाइ छ।
जिद्दे भारतमै काम गरेर घरखर्च चलाउने गर्छन्। कोरोनाको संक्रमण फैलिएदेखि भने उनले कहिले नेपाल, कहिले भारत दौडिन परेको छ।
सुरूको वर्ष ज्यान जोगाउन भन्दै कयौँ दु:ख गरेर उनले नाकासम्म पुग्नु परेको थियो। त्यो बेला उनले स्थानीय तहले बनाएका क्वारेन्टिनमा बस्नुपर्याे। महिनौ क्वारेन्टिनमा बसेपछि उनले त्यो बेला बल्ल घरसम्म पुगेको सम्झिए।
केही महिना घर पुगेपछि उनी फेरि कमाउन अघिल्लो वर्ष पनि भारत गएका थिए। गत वर्ष सुरूको भन्दा महामारी झन् खतरा फैलिएपछि मन खल्लो बनाएर घर फर्केको उनी सुनाउँछन्।
दुई वर्षसम्म कमाइ गर्ने वातावरण नभएपछि घरमा अनेक अभाव सिर्जना हुन थाल्यो। यसपालि उनी छोरासहित कमाउन गए ।
‘यसपालि त कोरोना गइहाल्यो कि भनेर कमाउन गयौं, फेरि उस्तै भयो’, उनले भने।
उनी र उनका दुई छोरा हेल्थ डेस्कमा कोरोना परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएपछि घर गए।
उनीसँगै आएका कतिपय भने कोरोना पोजेटिभ भएपछि नाकामै एम्बुलेन्सको पर्खाइमा बसे।
गत शुक्रबार नै कैलालीको हसुलियाकी सीता चौधरी श्रीमानसँगै पुनाबाट नाकामा पुगेकी थिइन्।
उनका श्रीमान पुनाको एक कम्पनीमा काम गर्छन्।
उनी श्रीमानसँगै त्यहाँ बस्ने गर्छिन्। छोराछोरीसहित पुना पुगेको उनको परिवार पनि कोरोनाको प्रभावका कारण घर फर्केको हो।
‘हाम्रोमा धेरै कडा त थिएन यदि भोलि गाह्रो भइहाले के गर्ने भनेर बेलैमा फर्किहाल्यो,’ उनले भनिन्।
उनी कोरोनाले भारतमा काम गरेर खानेहरूलाई धेरै समस्यामा पारेको सुनाउँछिन्।
‘कहिले घर, कहिले परदेश, कमाइधमाइ केही भएको छैन, फेरि कोरोना कम भए, यही नाका हुँदै भारत फर्किनुपर्छ,’ उनले भनिन्।
मसुरीयाकी टीका मैनाली पनि नाकामा एक हातमा छोराछोरी च्याप्दै कोरोना परीक्षण गर्ने लाइनमा उभिएकी थिइन्।
उनी साह्रै दुखी देखिन्थिन्। उनको स्वाब लिने पालो आएपछि हातमा च्यापेका दुई सन्तानलाई त्यहीँनेर छोडेर गइन्।
नाकामा अभिभावकको मात्रै कोरोना परीक्षण हुने भएकोले छोराछोरीलाई त्यहीँनेर छोडेर उनी स्वाब दिन गइन्।
वर्षाैदेखि भारतमै कमाइ गरेर चल्ने उनको परिवार बेलाबेला कोरोनाका कारण दुखी बन्छ।
‘कोरोना भए हामीले भौंतारिनु पर्छ, कति पटक समस्या भयो भन्ने त्याँ हामीलाई मात्र थाहा छ तपाईंहरूसँग कति भन्ने, तीन वर्षदेखि लगातार हाम्रो हालत यस्तै छ,’ उनले भनिन्।
कोरोनाको तेस्रो लहरको संक्रमण बढ्दै गएपछि सुदूरपश्चिमको भारतसँग सीमा जोडिएका त्रिनगर भन्सार र गड्डाचौकी नाकामा भारतबाट फर्किनेहरूको भिड लाग्न थालेको छ।
यी नाकामा लगातार तीन वर्षदेखि कोरोनाको प्रभावले कहिले भारत त कहिले घर फर्किनेहरूको भिड देखिने गरेको छ।
केही महिनाअघि कमाउन जानेहरूको नाकामा भिड देख्न सकिन्थ्यो भने पुसको दोस्रो सातायता भने फर्किनेहरूको ठूलै लाइन छ।
भारतका विभिन्न राज्यमा कोरोनाको संक्रमण तीव्र रूपमा फैलिन थालेपछि केही राज्यमा लकडाउन समेत भएको छ। त्योसँगै केही ठाउँ लकडाउन हुने तयारी भइरहेका बेला कमाउन गएकाहरू अहिले धमाधम घर फर्किन थालेका छन्।
नाकामा घर फर्किनेहरूको संख्या बढ्दै गएपछि त्यही अनुसार संक्रमण देखिने गरेको जनाइएको छ।
पुसको दोस्रो साताबाट दैनिक १ सय ५० भन्दा बढीमा कोरोना संक्रमण देखिने गरेको त्रिनगर भन्सार नाकाको हेल्थ डेस्कका इन्चार्ज गणेश साउँदले जानकारी दिए।
‘अहिले दैनिक ३ हजार बढी घर फर्किन थालेका छन्, परीक्षण गराएकामध्ये पोजेटिभ देखिनेहरू पनि बढी नै छन्,’ उनले भने।
नाकामा घर फर्किनेहरूको भिड बढेसँगै त्यही अनुसार कोरोना परीक्षण गर्न खटिएका कर्मचारीलाई व्यवस्थापन गर्न गाह्रो हुन थालेको साउँदले बताए।
अहिले नाकामा २० जना जति कर्मचारीहरु खटिएका छन्। नाकामा कोरोना पोजेटिभ देखिएकाहरूलाई धनगढी उपमहानगरपालिका–१५ कनरीमा बनाइएको आइसोलेसनमा राखिने गरेको छ।
एम्बुलेन्समार्फत् संक्रमितहरूलाई आइसोलेसनमा लैजाने गरिएको छ।
एउटा मात्रै एम्बुलेन्स भएकोले ठूलो संख्यामा पोजेटिभ देखिएकाहरूलाई आइसोलेसनसम्म पुर्याउन समय लाग्ने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन्।
‘एउटा एम्बुलेन्समा कोचाकेच गरेर राखे १५ जना जति अटाउँछन्, सयौंलाई आइसोलेसन पुर्याउन धेरै ट्रिप गर्नुपर्छ,’ एक स्वास्थ्यकर्मीले भने।
कतिपय पोजेटिभ देखिएका आफन्तहरू घर लैजान नाकामै पुग्ने गरेका छन्।
‘कतिपय पोजेटिभ देखिए सोझै आफन्तहरूले घर लैजान डेस्क नजिकै अटो लिएर पुग्ने गर्छन्, थाम्न नसक्ने भिडले कोरोनाको जोखिम पहिलाका जस्तै उस्तै छ,’ स्वास्थ्यकर्मीले भने।
सुरूको वर्षको भन्दा यसपालि नाकामा केही संरचना र कर्मचारी थप गरेको प्रदेश सरकारका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले जानकारी दिए।
यद्यपि अहिलेसम्म निर्माण गरिसक्ने भनिएको एक हजार क्षमताको होल्डिङ सेन्टर निर्माणको काम भने सम्पन्न नभएको उनले बताए।
‘उक्त सेन्टरमा केही वेडहरू र कोठा निर्माण हुँदैछन्, केही निर्माण क्रममा छन्, यही जोखिममा काम लागोस् भन्न निमित्त हामीले होल्डिङ सेन्टर निर्माणको कामलाई अगाडि बढाउने भनेका छौं,’ उनले भने।
भारतबाट फर्किनेमध्ये खोप नलगाएकाहरूलाई नाकाको हेल्थ डेस्कमा खोप लगाउने व्यवस्था पनि गरिएको छ।