सुर्खेतको भेरीगंगा नगरपालिका-६ र ७ मा विद्युत सेवा सुरू भएको छ।
सामुदायिक विद्युतीकरण विभाग र भेरीगंगा नगरपालिकाको संयुक्त लगानीमा यी वडामा पुस २२ गतेदेखि राष्ट्रिय प्रसारण लाइनमार्फत् विद्युत पुगेको हो।
उक्त वडाका लेखझिङ्नी, ठूलाखाली, कैनपानी, सामाखोरीया, सृजनाटोलका घरहरूमा राष्ट्रिय प्रसारण लाइन पुर्याइएको हो। यी गाउँहरू सल्यानसँग सिमाना जोडिएका गाउँहरू हुन्।
हाल कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा राष्ट्रिय प्रसारण लाइन पुग्नुअघि नै भेरीगंगामा सुचारु भएको भए पनि नजिकका गाउँहरूमा विद्युत सेवा पुगेको थिएन। पछिल्लो समय संघीय संरचना अनुसारको अधिकार र केन्द्र सरकारको सहयोगमा विकट गाउँहरूमा पनि विद्युतीकरण गर्न सकिएको भेरीगंगा नगरपालिकाका उपमेयर रेणु ढकालले बताइन्।
गाउँमा विद्युत पुगेपछि स्थानीयले खुसी व्यक्त गरेका छन्।
‘सडक पनि ग्राभेल भइसकेको छ, अब बिजुली पनि आइसकेको छ,’ लेखझिङ्नीका मानबहादुर बरालले भने, ‘कुट्न–पिस्न निकै समस्या हुन्थ्यो, अब बिजुली आएपछि हाम्रो गाउँमा मिल पनि जडान गरिसकेका छौं।’
उनले गाउँमा महत्वपूर्ण सेवा सुचारू भएकोमा खुसी व्यक्त गरे।
वडा नम्बर ६ का अध्यक्ष बलबहादुर खड्काले स्थानीयद्वारा लगातार गरिएको ध्यानाकर्षणका कारण गाउँमा राष्ट्रिय प्रसारण लाइन पुगेको बताए।
स्थानीय र नगरपालिकाको पहलमा गाउँमा पुगेको विद्युतलाई नियमितता दिन र दीगोपना कायम गर्न स्थानीयले भूमिका खेल्ने उनले बताए।
‘हामी यहाँबाट देखिने तलका गाउँमा बिजुली बलेको देख्दा हामी पनि कहिले यसरी बाल्न पाउँला भनेर सोच्थ्यौं, अब हाम्रो सपना साकार भएको छ,’ वडा अध्यक्ष खड्काले भने।
नगरपालिकाका उपमेयर ढकालका अनुसार विद्युतको सेवा नपुगेका नगरभित्रका १, २, ३ ५ र ७ का बस्तीहरूमा सामुदायिक विद्युतीकरण विभागसँग समन्वय गरी विद्युत सेवा पुर्याउने काम भइरहेको छ।
हालसम्म अधिकांशमा विद्युत सेवा पुगिसकेको र बाँकी रहेको ठाउँमा पनि आधारभूत संरचनाहरू बनिसकेकोले यो वर्षभित्रै सेवा पुग्ने ढकालले बताइन्।