सहरको कथा: पनौती
पनौती कथा शृंखलाको पहिलो अंकमा तपाईंहरूलाई मैले पनौती उत्पत्ति र सभ्यता विकासको कथा सुनाएँ। त्यस क्रममा मैले यो ठाउँको इतिहास र किम्बदन्तीलाई आधार बनाएको थिएँ। आज यो अंकमा पनौतीको बाह्रवर्षे मकर मेलासँग जोडिएको कथा सुनाउँदैछु जुन सहर बसोबासको कथा पनि हो।
यो कथा सुरू गर्नुभन्दा पहिला अघिल्लो अंकलाई छोटकरीमा फर्केर हेरौं।
धेरैले चौधौं शताब्दीका मल्लराजा आनन्ददेव (बिक्रम सम्बत् १३३१–१३६७) ले पनौती सहर बसालेको विश्वास गर्छन्। उनैले आफ्नो शासनकालमा सातवटा गाउँहरू बनेपा, पनौती, नाला, धुलिखेल, खडपुर, चौकोट र साँगा बनाएको भनाइ चलिआएको छ। तर यहाँ उत्खनन क्रममा नवपाषाणकालका ढुंगे हातहतियार फेला परेका छन्। लिच्छविकालका त शिलालेख, मूर्ति र मुद्राहरू नै पाइएका छन्। यस आधारमा इतिहासकारहरू यो सहरलाई मल्लकालमा सीमित राख्न चाहँदैनन्। उनीहरू पनौतीमा प्राचीनकालदेखि नै बसोबास सुरू भइसकेको बताउँछन्।
यति मात्र होइन, पनौती र आसपासका ठाउँमा केही किराँती शब्द (भुजङ्ग, नालाङ्ग, पिराखचो, कुर्पासी, शाङ्गा) प्रयोग भइरहेकाले यो ठाउँको इतिहास किराँतकालसम्म तन्किने विश्वास पनि गरिन्छ।
किम्बदन्तीले त पनौतीको उत्पत्ति कथालाई झनै रोचक बनाएको छ। पहिलो किम्बदन्तीअनुसार पनौतीमा धनञ्जय बासुकी नागको बसोबास छ जसले यो सहरमा आफ्नो धन लुकाएर राखेका छन् र सहरको सुरक्षा पनि गरिरहेका छन्।
दोस्रो किम्बदन्तीमा महासत्व नाम गरेका एक जना राजकुमारले जंगलमा भोकाएका बघिनी र डमरूहरू देखेपछि आफ्नै शरीरको मासु खुवाउँछन्। उनकै कंकाल र लुगाहरू पुरेर त्यो स्थलमा एउटा चैत्य निर्माण गरियो जसलाई 'नमोबुद्ध' भनिन्छ। यस आधारमा गौतम बुद्धको पूर्वजन्म मानिने नमोबुद्धको जन्मस्थल नै पनौती हो भन्ने स्थानीयहरूको भनाइ छ।
यहाँसम्मको कथा तपाईंहरूले अघिल्लो अंकमा पढ्नुभयो। अब म पनौतीसँग जोडिएको तेस्रो किम्बदन्ती भन्छु है।
हिन्दु धर्ममा ब्रह्मालाई सृष्टिकर्ता मानिन्छ। उनले सारा संसार सृष्टि गरेपछि मान्छे बनाए। मान्छेका विभिन्न रूप रचना गरे। थरीथरीका पुरूष बनाए, थरीथरीका नारी बनाए। किन्नर बनाए, किन्नरी बनाए। ऋषि बनाए, राक्षस बनाए।
त्यही क्रममा उनले 'अहिल्या' नामकी नारीको रचना गरे।
अहिल्या परम् सुन्दरी थिइन्। गुण र यौवनले भरिपूर्ण थिइन्। बत्तीसै लक्षणले युक्त उनको चर्चा पृथ्वी जगतमा मात्र नभई देवलोकमा पनि फैलियो। आफूले कसरी यस्तो विलक्षण सिर्जना गरेँ भनेर स्वयं ब्रह्मा छक्क परे।
उनलाई आफैंप्रति शंका लाग्यो, 'कतै म आफूले सिर्जना गरेको नारीको सुन्दरतामा अल्झिने त होइन!'
कुनै पनि सर्जक जब आफ्नो पुरानो सिर्जनामा अल्झिन्छ, त्यहाँबाट उसको नयाँ सिर्जनाको बाटो भाँडिन थाल्छ। उसको नयाँ सिर्जनामा चुनौती आउँछ। ऊ पुरानो सिर्जनाको भारले यतिविधि थिचिन्छ, अगाडिको बाटो तय गर्न सक्दैन। ऊ त्यसैमा अलमलिन थाल्छ। त्यसैले सर्जकले आफ्नो सिर्जनालाई माया त गर्नुपर्छ तर सधैंभरि त्यसैमा अल्झिएर बस्नु हुँदैन। झन् सृष्टिकर्ता ब्रह्मालाई त त्यो छुट हुँदै हुँदैन।
ब्रह्मालाई त्यही डर थियो।
सँगसँगै, आफ्नो सुन्दर सिर्जनालाई अन्य पुरूषहरूको कुदृष्टिबाट कसरी जोगाउने भनेर उनलाई हम्मे–हम्मे पर्यो।
उनले लाख कोसिसपछि एउटा जुक्ति फुराए– अहिल्याको सुन्दरता रक्षा गर्न नाम कहलिएका गौतम ऋषिसँग विवाह गरिदिने।
गौतम ऋषि मिथिला क्षेत्रको ब्रह्मपुरी भन्ने ठाउँको नदी किनारमा कुटी बनाएर बसेका थिए। धार्मिक एवं प्राकृतिक रूपले त्यो ठाउँ अत्यन्तै महत्वपूर्ण थियो। गौतम ऋषिसँग अहिल्याको विवाह भए उनीमाथि कसैले कुदृष्टि लगाउन सक्दैनन् भन्ने ब्रह्माको विश्वास थियो।
ब्रह्माले अहिल्यासँग विवाह गर्न गौतम ऋषिसमक्ष प्रस्ताव राखे। आफैंलाई सृष्टि गरेका ब्रह्माको यस्तो प्रस्ताव गौतम ऋषि कसरी नकार्न सक्थे र!
गौतम ऋषि र अहिल्याको विवाह भयो।
अहिल्या परम् सुन्दरी भए पनि उनमा आफ्नो सुन्दरताप्रति एकनिमेष घमण्ड थिएन। पतिको सेवामै रमाउने उनी पतिव्रता नारी थिइन्। रूप र गुण दुवैले युक्त अहिल्याजस्ती श्रीमती पाएर गौतम ऋषि पनि दंग परे। दुवै जना आफ्नो कुटीमा सुखपूर्वक जीवन बिताउन थाले।
गौतम ऋषि हरेक दिन सबेरै उठ्थे र नजिकै खोलामा स्नान गर्न जान्थे। स्नानबाट फर्किएपछि पूजाआजा गर्थे। अहिल्या पनि घरायसी गतिविधिमा व्यस्त हुन्थिन्।
यसरी भगवानको आराधना गर्दै सुखपूर्ण दाम्पत्य जीवन बिताइरहेका यी जोडीमा देवलोकका राजा इन्द्रको कुदृष्टि पर्यो।
देवलोकका अप्सराहरू छानी छानी सुखभोग गर्दा पनि इन्द्रको मनलाई अहिल्याको सौन्दर्यले अनियन्त्रित बनायो। उनमा अहिल्याजस्ती परमसुन्दरी भोग्ने लालसा दिनानुदिन बढ्दै गयो।
यही मनसाय बोकेर एकदिन इन्द्र पृथ्वीलोक झरे। उनले अहिल्यालाई भोग्न सबै तारतम्य मिलाइसकेका थिए। उनलाई थाहा थियो, हरेक बिहान गौतम ऋषि स्नान गर्न नजिकै नदीमा जान्छन्। त्यही भएर इन्द्रले एकरात चन्द्रदेवलाई गौतम ऋषिको कुटीनजिकै आएर बस्न आग्रह गरे।
चन्द्रदेवको चमकले झिसमिसेको आभास भयो।
ऋषि दम्पती निद्राबाट ब्युँझिए। सधैंझैं गौतम ऋषि स्नान गर्न जान हतारिए। अहिल्यालाई भने अरू दिनभन्दा निकै चाँडो बिहान भएजस्तो भान भयो। उनले पतिलाई सोधिन्, 'आज अलि छिट्टै बिहान भएजस्तो लागेन हजुरलाई? मलाई त अझै निद्रा नपुगेजस्तो भइरहेको छ।'
ऋषिले मुसुक्क हाँस्दै भने, 'हेर त कति उज्यालो भइसक्यो। सूर्य उदाउने बेला भइसक्यो। बरू तिमीलाई निद्रा पुगेको छैन भने केही बेर सुत।'
यति भनेर ऋषि स्नान गर्न नदीतर्फ लागे। अहिल्या ओछ्यानमै पल्टिरहिन्।
केही समय नबित्दै गौतम ऋषिकै भेष धारण गरेर देवराज इन्द्र कुटीभित्र पसे र ऋषिकै स्वरमा भने, 'तिमीले भनेको साँचो रहेछ प्रिय। अझै बिहान भइसकेको छैन रहेछ। म भ्रममा परेछु। त्यही भएर बीच बाटोबाटै फर्किएँ।'
त्यसपछि उनी पनि अहिल्यासँगै ओछ्यानमा सुत्न गए।
ऋषि भेषधारी इन्द्रले अहिल्यासँग मीठा कुरा गर्दै सम्भोग गरे र आफ्नो अनियन्त्रित मन शान्त बनाए।
दुवै जना सम्भोगमा लीन भइरहेका बेला गौतम ऋषि आफ्नो कुटीमा फर्किए। फर्किएपछि उनले जे दृश्य देखे, त्यसले उनी रिसले आगो भए।
उता आफ्नै अगाडि दुई-दुई जना गौतम ऋषिलाई देख्दा अहिल्या खङ्ग्रङ्गै परिन्। कुन आफ्नो श्रीमान र कुन नक्कली भनेर छुट्याउनै नसक्ने अवस्थामा पुगिन्।
गौतम ऋषिले भने आफ्नो रूप धरेर आफ्नी पत्नीसँग सम्भोगरत व्यक्ति अरू कोही होइन, स्वयं देवराज इन्द्र हुन् भन्ने ध्यानदृष्टिले चाल पाइहाले।
भेद खुलेपछि देवराज इन्द्र वास्तविक रूपमा आए।
त्यो देखेर अहिल्यालाई आफ्नो पतिव्रता धर्म भंग भएको र आफूले ठूलो पाप गरेँ भनेर ग्लानि भयो।
उनले जे गरिन्, जानाजान गरेकी थिइनन्। इन्द्रलाई आफ्नै श्रीमान भन्ठानेर मात्र उनले तनमन सुम्पेकी थिइन्। तर गौतम ऋषिले यो सत्यबाट मुख मोडे। वास्तविकता स्वीकार्नुको साटो रिसले चुर भएर अहिल्यालाई नै श्राप दिए, 'दुष्ट पापिनी, तँ एक विवेकहिन नारी होस् जसमा कुनै गुण, विवेक र लाज छैन। तँ विवेक नभएकी शिला (ढुंगा) जस्ती रहिछस्। त्यसैले म तँलाई शिलामै परिणत हुने श्राप दिन्छु। त्रेतायुगमा जब भगवान श्रीरामको चरणकमल तँमाथि पर्ला, उहाँको स्पर्शले मात्र तँ पापमुक्त हुनेछस्।'
गौतम ऋषिले यति भन्नासाथ अहिल्या शिलामा परिणत भइन्।
यता देवराज इन्द्रले पनि आफूबाट गल्ती भएको भन्दै क्षमायाचना गर्न थाले। आफ्नै श्रीमतीलाई त माफ नगरेका ऋषिले इन्द्रको कुरा किन सुन्थे? उनले इन्द्रलाई श्राप दिए, 'दुष्ट इन्द्र, स्वर्गका अप्सराहरूबाट पनि नपुगेर तैंले अर्काकी श्रीमतीसँग अनैतिक सम्बन्ध राखिस्। तैंले मेरो इज्जतसँग खेलिस्। यो कदापि क्षमायोग्य होइन। तेरो शरीरभरि हजारौं योनी उत्पन्न होस्।'
ऋषिको श्रापले हजारौं योनी शरीरभरि उत्पन्न भएपछि इन्द्र लाजले कसैलाई मुख देखाउन लायक रहेनन्। उनी त्यो हविगतमा देवलोक फर्किन पनि सकेनन्। पाताललोकमा बस्न उनलाई मुस्किल भयो। त्यही भएर उनी जंगल–जंगल लुक्दै हिँड्न थाले।
इन्द्र लामो समय नफर्किएपछि स्वर्गमा खैलाबैला मच्चियो। उनकी श्रीमती शची (इन्द्रायणी) लाई चिन्ता पर्यो। उनी देवाताहरूका गुरू बृहस्पतिको शरण परिन्।
ध्यानदृष्टिले हेरेपछि बृहस्पतिको अनुहार मलिन भयो। उनले शचीलाई केही भन्नै सकेनन्।
शचीले अनुनयविनय गरेर वास्तविक कुरा फुत्काइछाडिन्।
सबै घटना सुनिसकेपछि शची पनि एकछिन त अहिल्याझैं शिलाजस्तै जड भइन्।
उनले बृहस्पतिलाई आफ्ना श्रीमान इन्द्र भएको ठाउँमा लैजान आग्रह गरिन्। दुवै पृथ्वीलोक झरे।
आफूलाई यसरी खोज्दै आएको देख्दा इन्द्र आत्मग्लानिले लज्जित भए। उनले आफ्नो शिर ठाडो पार्न सकेनन्। शची र गुरू बृहस्पतिलाई देख्नेबित्तिकै उनले क्षमायाचना गरे।
इन्द्रले आफ्नो पापबाट पाउनुसम्मको सजाय पाइसकेका थिए। आफ्ना श्रीमानलाई त्यस्तो अवस्थामा देख्दा शचीलाई पनि माया जागेर आयो। अनि उनैले बृहस्पतिसँग इन्द्रलाई पापमुक्त गर्ने उपाय सोधिन्।
गुरू बृहस्पतिले भने, 'देवराजको पाप र गौतम ऋषिको श्रापबाट मुक्त हुने एउटै उपाय छ, महादेवको तपस्या।'
त्यसपछि इन्द्रले भगवान शिवको र इन्द्र-पत्नी शचीले शिव-पत्नी पार्वतीको बाह्र हजार वर्षसम्म तपस्या गर्नुपर्ने भयो।
बृहस्पतिले तपस्या गर्ने ठाउँ पनि सुझाइदिए, 'पनौतीस्थित दुई नदी पुण्यमती र लीलावतीको किनार गएर तपस्या गर्नुभयो भने तपाईं पापबाट मुक्त हुनुहुनेछ।'
उनीहरूले गुरू बृहस्पतिले भनेबमोजिम नै बाह्र हजार वर्ष तपस्या गरे।
तपस्याबाट प्रसन्न भएर पार्वती रूद्रवती नदीको रूप धारण गरेर पर्वतबाट बग्दै आइन्। रूद्रावती, लीलावती र पुण्यमती मिलेपछि त्यो नदी शची तिर्थ बन्यो जसलाई त्रिवेणीघाट भन्न थालियो।
शचीको तपस्याले बनेको उक्त नदीलाई हरेकपटक पनौती पुग्दा हरेकले देख्न पाउँदैनन्। बत्तीस लक्षणले युक्त भएका मानिसले मात्र त्यो नदी देख्न सक्छ भन्ने धार्मिक विश्वास छ।
इन्द्रले पनि १२ हजार वर्ष तपस्या गरेकाले भगवान शिव उनकासामु आए र भने, 'देवी पार्वती रूद्रावतीको रूपमा प्रकट भई शची तीर्थ सृष्टि भएको छ। त्यहाँ गएर स्नान गरेपछि तिमी पापबाट मुक्त हुनेछौ।'
भगवान शिवको आज्ञाअनुसार इन्द्र शची तीर्थमा स्नान गर्न गए। स्नानपछि उनको शरीरबाट योनीहरू बिलाए।
त्यही बेला आफूले पापबाट मोक्ष पाएको पवित्र स्थानमा बस्ती बसाल्ने परिकल्पना इन्द्रले गरिसकेका थिए।
उनले तीन नदीहरूमध्ये पुण्यमतीको पहिलो अक्षर 'प', लीलावतीको दोस्रो अक्षर 'ला' र रूद्रावतीको अन्तिम अक्षर 'ती' जोडेर यो ठाउँको नाम 'पलाती' राखे। पलातीको अर्थ सबैले एकपटक पाइला राख्नुपर्ने ठाउँ भन्ने बुझिन्छ।
त्यही पलाती कालान्तरमा पनौतीमा परिणत भयो।
यसरी बाह्र हजार वर्ष इन्द्र दम्पतीले तपस्या गरेको र भगवानकै समेत पापमोचन भएको ठाउँका रूपमा यहाँ हरेक बाह्र वर्षमा मकर मेला लाग्छ।
पनौती स्थापना र मकर मेला सुरूआतको कथा सुनाउँदै ७० वर्षीय स्थानीय शिवप्रसाद जंगमले भने, 'भगवानको १२ हजार वर्ष भनेको हाम्रो १२ वर्ष हुन्छ।'
उनले सुनाएको किम्बदन्ती यतिमै सकिँदैन।
आफूले पापबाट मुक्ति पाएको ठाउँमा पलाती भन्ने बस्ती बसालेपछि इन्द्रले त्रिवेणीमा बास बस्ने बासुकी नागलाई नगर सुरक्षाको जिम्मा दिए। बासुकी नागको महिमाबारे त मैले यो श्रृंखलाको अघिल्लो अंकमा बताइसकेको छु।
बासुकीलाई काठमाडौंका तान्त्रिक बन्धुदत्तले जालझेल गरेर आफ्नो कमण्डलुमा कैद गरी पाटन ल्याएका थिए।
उनलाई पाटन ल्याएपछि अगाडि के भयो अब भन्छु है!
पाटनमा ल्याएपछि बन्धुदत्तले बासुकी नागसँग क्षमा मागे र भने, 'भारतको आसामदेखि ल्याएका रातो मच्छिन्द्रनाथलाई सधैं उपत्यकाभित्र राख्न सहयोग चाहिएकाले तपाईंलाई यहाँ ल्याएको हुँ। तपाईं मच्छिन्द्रनाथको चरणमा सधैंका लागि बसिदिनुपर्यो।'
सुरूमा त आफूलाई त्यसरी झुक्याएर ल्याएकोमा बासुकी नाग रिसाए। पछि उनी बन्धुदत्तको आग्रह मान्न तयार भए।
उनले दुइटा सर्त राखे, 'म यहाँ बस्न तयार छु तर मलाई पनौतीका विशेष जात्राहरूमा जान दिनुपर्छ। पनौतीवासीले मलाई भेट्न चाहे कुनै रोकतोक नहोस्।'
त्यसैले पनौतीका जोकोहीले पाटन आएर बासुकी नागलाई भेट्न चाहे रोकतोक गरिन्न। जेठ पूर्णिमामा पनौतीमा हुने ठूलो जात्रामा बासुकी नाग त्यहाँ आउँछन् भन्ने मान्यता पनि छ।
मकर मेलाको समयमा पनि एक महिनाभरि पनौतीकै नदी किनारमा बासुकी नागको बास हुन्छ भन्ने जनविश्वास छ।
पनौतीका स्थानीय तथा लेखक कन्हैया नासननीले पनौतीको बाह्रवर्षे मकर मेलाको प्रसंग जोड्दै एउटा लेखमा लेखेका छन्, 'कहिलेकाहीँ मात्र मुख देखाउन टुपुल्किने परदेशी पतिको आगमन हुँदा हर्षले पुलकित भएर शृंगारमा सजिने भार्याजस्तै देखिन्छ मकर मेलाभरि पनौती।'
हुन पनि यो मेलामा जस्तो तामझाम र भिड अरू बेला पनौतीमा विरलै हुन्छ। यहाँको मेला भर्न नेपालका विभिन्न ठाउँबाट मान्छे आउँछन्। भारतदेखि आएका जोगीहरू देखिन्छन्। बाह्र वर्षसम्म गुफामा ध्यान गरेर बसेका जोगीहरू पनि यहाँ मेला भर्न आउँछन्। मेला सुरू हुने केही महिनाअगाडिबाटै यहाँका घरहरूमा भाडामा बस्नेको भिड लाग्ने ७८ वर्षीय स्थानीय पूर्णभक्त कोङ्गा बताउँछन्।
यो वर्ष कोरोना महामारीका कारण मकर मेलामा त्यति धेरै भिड लागेको छैन। नभए कोङ्गाको सम्झनामा अझै छ, 'भिडले बाटोछेउ किसानहरूले रोपेको आलु र धान सबै मेलामा पुरिएको थियो।'
उनले सानैदेखि देख्दै आएको त्रिवेणीघाट पनि अब उस्तै छैन।
'पहिला खोला निकै ठूलो थियो, माछाहरू धेरै थिए। अहिले त न खोला ठूलो छ न खोलामा माछा छन्। बरू खोलाको बालुवा र ढुंगा निकालेर निकै गहिरो भएको छ। पहिलाजस्तो सफा पानी पनि बग्न छाडिसक्यो,' उनले भने।
शची तीर्थ पनि भनिने त्रिवेणीघाटमा मकर मेलाभरि नुहाउँदा आफूले जानेर वा अन्जानमा गरिएका पापमोचन हुने विश्वास गरिन्छ। त्रिवेणीघाट भनिए पनि यहाँ पुण्यमती र रोशी नदी मात्र देखिन्छ। तेस्रो नदी चाहिँ कहाँ होला त?
यो तेस्रो नदीको पनि छुट्टै कथा छ।
नदीसामुन्ने कृष्ण मन्दिर छ जुन बनेको धेरै वर्ष भएको छैन। त्यसको पारि ब्रह्मायणी मन्दिर छ। मन्दिरभित्र चारैतिर भित्तामा अष्टमातृका कुँदिएका भित्तेचित्र छन्। भुइँमा दुईवटा खाल्डा छन्। त्यही खाल्डो हुँदै नदीमा दूध बग्ने र बत्तीस लक्षणयुक्त मान्छेले मात्र त्यो खोला देख्ने जनविश्वास छ। कहिलेकाहीँ मात्र देखिने भएकाले त्यो नदीलाई स्थानीयहरू गुप्तवती पनि भन्छन्।
यो त्रिवेणीघाट भएकाले यहाँ मान्छेको दाहसंस्कार पनि गरिन्छ। मकरको समय पिण्डदान पनि हुन्छ।
ज्योतिषशास्त्रअनुसार माघ महिना लाग्नेबित्तिकै सूर्य कुम्भ राशिबाट मकर राशिमा प्रवेश गर्छ। त्यसपछि सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धबाट शुभ दिशा मानिने उत्तरतर्फ अर्थात् अत्तरायणमा रहन्छ। मंकर संक्रान्तिदेखि दिन लम्बिने भएकाले माघ महिनालाई पवित्र मानिन्छ।
पनौतीको बासुकी नागको प्रतीकका रूपमा नदीमा एउटा कालो ढुंगा पनि छ। मकर मेलाको समय उक्त ढुंगालाई पितलको मुकुट लगाइन्छ जुन अरू बेला नजिकै इन्द्रेश्वर मन्दिरमा राखिएको हुन्छ। इन्द्रेश्वर मन्दिर पनौतीको सबभन्दा महत्वपूर्ण हो।
यो मन्दिर तीनतले छाने शैलीको छ। प्रत्येक तलाको निर्माण बेग्लै समयमा भएकाले कति वर्ष पुरानो हो भन्ने अझै निष्कर्ष आउन बाँकी रहेको यहीँका पुजारीसमेत रहेका शिवप्रसाद जंगम बताउँछन्।
गोपाल राजवंशावलीमा भने विक्रम सम्बत् १३५१ को वैशाख महिनामा युवराज्ञी विरमदेवीले इन्द्रकुट बनाएकी थिइन् भन्ने उल्लेख छ। अरू बेला यही मन्दिरमा राखिने पितलको मुकुट मकर मेलामा नदीको नागलाई लगाइदिएपछि भक्तजनहरू पूजाआजा गर्छन्। त्यस क्रममा जे-जति सामग्री चढाइन्छ, ती सबै पोडे समुदायले लग्ने गरेको फ्रान्सेली मानवशास्त्री जेरार्ड टोफीन बताउँछन्।
जेरार्डले स्थानीय फोटोग्राफर प्रशान्त श्रेष्ठसँग मिलेर पनौतीको विगत र वर्तमान समेटिएको किताब हालै प्रकाशनमा ल्याएका छन्। लामो समय पनौतीमा रहेर काम गरेका टोफीनले उक्त किताबमा लेखेका छन्, 'पोडेहरूलाई नागराजका आधिकारिक संरक्षक मानिन्छन्। उनीहरू दिनभर उक्त ढुंगाछेउ बसिरहन्छन्। ज्यापुन्हि र मकर मेलाको समयमा उक्त ढुंगालाई तिनै पोडेहरूले धातुको मुकुट लगाइदिन्छन्। यसो गर्नुले चाडपर्वमा बासुकी नागको अस्तित्व रहेको विश्वास झनै मजबुत हुन्छ।'
पनौतीमा राजाहरूले पाइला टेक्न हुन्न भन्ने मान्यता पनि छ। यहाँ बासुकी नागराजकै राज चलेकाले दुइटा राजा एकैठाउँ आउँदा शुभ हुँदैन भन्ने विश्वास गरिन्छ।
पनौतीको त्रिवेणीघाटलाई पवित्र तीर्थ मानिने भएकाले काठमाडौंका राजा प्रताप मल्लले विक्रम सम्बत् १७२७ मा रानीपोखरी बनाउँदा यहाँको जल लगेर पोखरीमा मिसाएको इतिहास छ। त्यस्तै, 'पटन' भनिने संस्कृत भाषाको थ्यासफू (हस्तलिखित ग्रन्थ) मा ने मुनिले पापमोचन गर्न विरूपाक्षलाई पनौतीमा गई स्नान गर्नू भनेको उल्लेख छ। यसबाट पनि धेरै अघिदेखि पनौती एक पवित्र तीर्थस्थलका रूपमा रहेको प्रस्ट हुन्छ।
त्रिवेणीघाटमा विभिन्न देवीदेवताका मूर्ति छन्। त्रिवेणीघाट एक खुला संग्रहालय भएको संस्कृतिविद् ज्ञानकाजी मानन्धर बताउँछन्।
खुला संग्रहालयको उचित संरक्षण नहुँदा धेरै महत्वपूर्ण देवदेवीका मूर्ति चोरी भइसके। लौनसिंह बाङ्देलको किताब 'स्टोलन इमेजेज अफ नेपाल' का अनुसार सन् १९८० मा माधवनारायण मन्दिरको बायाँपट्टि रहेको अर्द्धगोलाकार ढुंगामा कुँदिएको कलात्मक मूर्ति चोरी भयो। चौधौं शताब्दीको उक्त मूर्तिमा आफ्ना दुई संगिनी र अन्य देवीहरूका साथ अरूणलाई सारथि बनाएको बुट्टा कुँदिएको थियो।
सन् १९८० मै नवग्रहसहितको सूर्यमूर्ति चोरी भयो। शिव र विष्णुसँगै रहेको अर्को सूर्यमूर्ति १९८१ मा चोरी भयो। दायाँपट्टि लक्ष्मी र बायाँपट्टि गरूड भएको मूर्ति १९८३ मा चोरी भयो। यी सबै मूर्ति चौधौं शताब्दीका हुन्।
त्यस्तै, तेह्रौं शताब्दीको शिवमूर्ति सन् १९८६ मा र अठारौं शताब्दीको विष्णुको मूर्ति १९८० मा चोरी भएको बाङ्देलले आफ्नो किताबमा उल्लेख गरेका छन्।
संस्कृतिविद् मानन्धर यस्ता महत्वपूर्ण कलाकृति गुम्नुलाई पनौतीको दुर्भाग्य मान्छन्। अझै पनि त्रिवेणीघाट वरिपरि अन्य त्यस्ता महत्वपूर्ण मूर्तिहरू छन् जसको उचित संरक्षण गरिनुपर्ने उनी बताउँछन्।
'यहाँका मानिसमा देवताप्रति असीम श्रद्धा र भक्ति छ। उनीहरूले यी अमूल्य मूर्ति र सम्पदा जोगाउन सके यो ठाउँको महत्व अझै बढ्नेछ,' उनले भने।
यसपालि चाहिँ बाह्रवर्षे मकर मेलामा पनि मान्छेको चहलपहल नभएकाले पनौतीको त्रिवेणीघाट आफ्ना भक्तजनलाई पर्खिरहेझैं लाग्छ– जसरी इन्द्रको छलकपटमा परेर शिलामा परिणत भएकी निर्दोष अहिल्याले आफ्नो उद्धारको क्षण पर्खेकी थिइन्।
पनौती कथा शृंखलाको अर्को अंकमा हामी लायकू दरबार क्षेत्रबारे चर्चा गर्नेछौं। करिब डेढ दशकदेखि उत्खनन गरिँदै आएको यो पनौतीको प्राचीन दरबारको अवशेष हो भन्ने विश्वास गरिन्छ।
(पनौती कथा शृंखलाको तेस्रो अंक शुक्रबार प्रकाशन हुनेछ।)
सबै तस्बिर: प्रशान्त श्रेष्ठ
भिडिओ: नवीनबाबु गुरूङ/सेतोपाटी