केही समयअघि मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा स्नातक तहमा कानुन विषयमा भर्ना हुन प्रवेश परीक्षा खुल्यो। कानुन पढेर भविष्य बनाउने योजना बनाएकी सल्यानकी रीता बिकलाई उक्त प्रवेश परीक्षा खुलेको सूचनाले मन भारी बनायो।
रीताको इच्छा पूरा गर्न उनको घरपरिवारले सक्दैनथ्यो। अरू कुनै उपाय गरी प्रवेश परीक्षा दिइहाल्न उनीसँग १२ पास गरेको प्रमाणपत्र थिएन। उनले पढाई खर्च जुट्ने पक्का नहुँदा परीक्षा बोर्डबाट प्रमाणपत्र नै निकालेकी थिइनन्।
कानुनमा स्नातक अध्ययन गर्न योग्यता बनाईसकेकी उनको ईच्छा यो पटकको आवेदनबाट पूरा भएन। उनले घरमा कुरा पनि राखिन्। रीताका बुवाले ‘आफूले खर्च धान्न नसक्ने’ बताए।
यस पटकलाई आफ्नो इच्छा मारेर उनी घरमै बसिन्। केही समयपछि रिताले आफूलाई ११ कक्षामा कानुन विषय पढाएकी गीता कोईरालालाई फोन गरिन्। उनले आफ्नो सबै समस्या कोईरालालाई सुनाईन्।
‘बाबाआमाले पढाउन नसक्ने हुनुभएछ, नानीले मलाई रूँदै फोन गरेर आफ्नो बारेमा सबै सुनाईन्,’ कोईरालाले सेतोपाटीसँग भनिन्, ‘उनको कुरा सुनेपछि मैले त्यहाँ बसेर इच्छा पूरा हुँदैन, यहाँ आउ केही उपाय निकालौंला भनेर बोलाएकी छु।’
अधिवक्तासमेत रहेकी कोईरालाको सल्लाहअनुसार उनी अहिले सुर्खेतमा आएर बसेकी छिन्। कोईरालाले यसअघि आफूले संरक्षण दिएर राखेकी एक जना युवतीसँगै उनलाई राखेकी छन्।
यो पटक स्नातक भर्ना हुन नसके पनि अर्को पटकलाई आफ्नो ईच्छा पूरा गर्ने योजना रीताले बनाएकी छन्।
‘अहिले घरमै भएको बेला सूचना आएको थाहा पाएँ, भर्ना हुन त मन भए पनि पैसाले साथ दिएन,’ उनले भनिन्, ‘अब यतै बसेर जस्तो काम पाईन्छ, त्यो गरेर भए पनि पढाई त पूरा गर्छु।’
सल्यानको बनगाडकुपिण्डे नगरपालिका–६ की १९ वर्षीया रीता बिकको परिवारमा ६ जना सदस्य छन्। रीतासहित उनका चार भाइबहिनी छन्। रीता भन्दाअघि उनका दाजु छन्। रीतापछि एक भाइ एक बहिनी छन्।
रीताका दाइ पढाई छोडेर भारतमा छन्। भाइ जनकपुरमा बसेर पढ्छन्। उनलाई पनि जनकपुरको एक विद्यालयमा शुल्क नलाग्ने गरी भर्ना गरिएको छ। खाना र बस्ने खर्च भने घरबाट पठाउने गरिएको छ। उनकी बहिनी गाउँकै स्कुलमा कक्षा ११ मा पढ्छिन्।
‘बुवाले १२ कक्षा सम्म पढाईसकेँ, यसपछि त मेरो कमाईले सक्दिनँ भन्नुभयो,’ रीताले भनिन्, ‘घरमा कमाउने बुवा मात्र हुनुहुन्छ, ऋण तिर्नै पुगेको छैन।’
उनका बुवा भीमबहादुर बिकले मिस्त्री काम गर्छन्। त्यहीँ पनि नियमित काम पाइँदैन। कोभिड–१९ सुरू भएपछि भिमबहादुरको आम्दानी झनै कम हुँदै गएको छ।
कोभिड सुरु हुनु अघिसम्म भिमबहादुरको परिवारमा गाउँबाट बाहिर गएर पढ्ने कोही थिएनन्। उनको कमाईले छोराछोरीको पढाई, घर खर्च चलाएर बचेको ऋण तिर्न भईरहेको थियो।
२०७५ मा एसईई पास गरेपछि रीता पढ्न सुर्खेत आईन्। उनी सुर्खेतमा पढ्दा भीमबहादुरले प्रायः ऋण निकालेरै खर्च पठाईदिन्थे।
‘म यता पढ्न आएँ, लकडाउन भईरहेपछि बुवाले काम पाउन पनि सक्नुभएन,’ उनले भनिन्, ‘मलाई पठाउने, घरखर्च धान्ने पैसा ऋण निकाल्दै चलाउनुभयो। झन् ऋण थपियो।’
रीताका दाइले अटो रिक्सा किन्दा उनको परिवारमा ऋणको भारी थपिएको हो। ‘छोराले अटो किनेर चलाउने कुरा गर्यो, किस्तामा अटो निकालिदिएँ,’ भीमबहादुरले भने, ‘तीन महिना नबित्दै साथीलाई चलाउन दिएर अटो पल्टिएछ, पछि शोरूमलाई किस्ता नतिर्नेगरी त्यहीँ अटो फिर्ता गरिदिएँ।’
भीमबहादुरले ६ लाख रूपैयाँमा अटोरिक्सा छोराका लागि किनिदिएका थिए।
हार्भेस्टमुन स्कुलमा ११ र १२ कक्षा पढेको शुल्क तिर्न अझै बाँकी रहेको रीताले बताईन्। उनको १२ कक्षाको नतिजा मंसिरमा आईसकेको थियो।
‘मलाई ब्याच्लर कानुननै पढ्ने ईच्छा हो, कानुनमा मेरो निकै रहर छ,’ उनले भनिन्, ‘घरमा बुवाले १२ भन्दा माथि बढाउन नसक्ने हुनुभयो, मैलेँ गीता म्यामलाई फोन गरेर सबै समस्या भनेपछि उहाँले मलाई यहाँ बोलाउनुभएको छ। अब उहाँले भनेअनुसार पढ्ने रहर पूरा गर्ने हो।’
रीताको बारीमा एक बाली धान मात्र लगाईन्छ। त्यसबाट भएको उब्जनीले घरपरिवारलाई ६ महिना खाना पुग्छ।
उनका बुवा भीमबहादुर आजभोलि काम गर्न काठमाडौं गएका छन्।
सहकारी र गाउँलेसँग गरि ८ देखि ९ लाखको हाराहारी आफूहरूलाई ऋण भएको उनले बताए। ‘ऋणले डुबाएको छ, छोराछोरी पढाईमा धेरै रुची राख्न थाले,’ भीमबहादुरले भने, ‘यो जमानामा नपढेर पनि काम भएन, आफूले खर्च धान्न सकिँदैन। छोरीलाई त आफैं केही गरेर पढ् भनेको छु।’