सहरको कथा: पनौती
पनौती कथा शृंखला लेख्ने क्रममा आफूले भेटेका र कुराकानी गरेका मान्छेहरूलाई मेरो पहिलो प्रश्न हुन्थ्यो– पनौतीको इतिहास र किम्बदन्ती।
त्यसलगत्तै म अर्को प्रश्न सोध्न आतुर हुन्थेँ, 'पनौती लायकूबारे केही जान्नुहुन्छ? जान्नुहुन्छ भने भन्नुस् न!'
सबभन्दा पहिला कुरा गरौं, लायकू भनेको के?
लायकू भनेको दरबार हो। यसलाई राजकुल वा लालकुल पनि भनिन्छ। लालकुलबाटै लायकू शब्दको व्युत्पत्ति भएको र मल्ल शासनको मध्यकालदेखि यो शब्द चल्तीमा आएको संस्कृतिविद् ज्ञानकाजी मानन्धर बताउँछन्।
'मल्ल राजाहरूका राज्यमा लायकू हुन्थे। त्यसले ठूलो क्षेत्र ओगटेको हुन्थ्यो। त्यहाँ नाटक मञ्चन गर्न र दरबारका काम गर्न-गराउन डबली, पोखरी, ढुंगेधारा, इनार, मानिसहरूको जमघट निम्ति चोकहरू र लक्ष्मी, सरस्वती, गणेश, भगवती, तलेजु, नारायण, महादेव लगायत देवीदेवताका मूर्ति प्रतिस्थापन गरिएका हुन्थे,' मानन्धरले आफ्नो 'बनेपा सातगाउँ' किताबमा लेखेका छन्।
लायकूको यो परिभाषापछि अब हामी चिनौं पनौती लायकूलाई।
चौधौं शताब्दीका मल्लराजा आनन्ददेव (बिक्रम सम्बत् १३३१–१३६७) ले आफ्नो शासनकालमा सातवटा गाउँहरू बनेपा, पनौती, नाला, धुलिखेल, खडपुर, चौकोट र साँगा बनाएको भनाइ छ। तर बनेपा, नाला, पलाञ्चोक, खोपासी, साँगा लगायत ठाउँमा क्रमशः भुजङ्ग, नालाङ्ग, पिराखचो, कुर्पासी, शाङ्गाजस्ता किराँतकालीन नामहरू प्रयोग भएका छन्। साथै, यी ठाउँमा नवपाषाणकालीन हातहतियार र लिच्छविकालका यथेष्ट प्रमाण फेला परेकाले इतिहासकारहरूले यी ठाउँलाई मल्लकालमा मात्र सीमित गर्न चाहेका छैनन्।
यी सातगाउँको बीचमा रहेको बनेपा पहिला राजधानी थियो भनेर पुष्टि गर्ने विभिन्न अभिलेख फेला परेका छन्।
यहाँका राजा विभिन्न कारणले वा मौसमअनुसार विभिन्न समयमा साँगा, श्रीखण्डपुर, पनौती लगायत ठाउँमा गएर बसेको हुनुपर्छ। राजा जहाँ जहाँ गए, त्यहाँ त्यहाँ उनको निम्ति लायकूहरू बनेको हुनसक्ने संस्कृतिविद् मानन्धरको भनाइ छ।
'ती ठाउँमा तलेजु भवानी र लायकूसम्बन्धी सामग्रीहरू भेटिएका छन्। त्यहाँ राजा वा देशनायक र क्वाथनायक बस्ने गरेको हुनुपर्छ,' बनेपाका स्थानीय मानन्धर आफ्नो किताबमा लेख्छन्, 'त्यही भएकाले त्यहाँ अझै दसैंमा विधिवत् पूजा हुने गर्छ।'
पनौतीको लायकूमा अहिले हामी सिंगो दरबार नै त देख्न सक्दैनौं, दरबारका भग्नावशेष भने देखिन्छन्। पुरातत्वविदहरूलाई पुराना भग्नावशेषले रोमाञ्चक बनाएजस्तै म लायकूको भग्नावशेष देखेर रोमाञ्चित भएकी थिएँ। त्यही भएर पनि म त्यसबारे जान्न उत्सुक थिएँ।
आज म तपाईंहरूलाई पनौतीको त्यही लायकू अर्थात् दरबारको कथा सुनाउँदै छु।
यो दरबार कति पुरानो होला? कसले बनायो होला? यी विषयमा चर्चा गर्नुअघि तपाईंरूलाई म पनौती लायकूमा विभिन्न समयमा भएका उत्खननका किस्सा सुनाउँछु। तिनै उत्खननले यहाँ पहिले दरबार थियो भन्ने पक्कापक्की भएको थियो।
२०६० सालसम्म पनि यहाँ दरबार थियो भन्ने कुरा स्थानीयको बोलीचालीमा सीमित थियो। कसैले दरबार देखेका थिएनन्। त्यसको अवशेष पनि देखेका थिएनन्। सबै जना लायकू, लायकू भन्थे र ठाउँको नाउँ नै लायकू भएकाले यहाँ पक्कै दरबार हुनुपर्छ भन्ने स्थानीयको विश्वास थियो।
जुन ठाउँमा दरबारको अवशेष फेला पर्यो, त्यहाँ पहिले खुला चउर थियो। पश्चिम कुनामा एउटा मञ्च थियो जहाँ विभिन्न कार्यक्रम सञ्चालन हुन्थे। सन् १९७६ मा फ्रान्सेली मानवशास्त्री जेरार्ड तोफाँले खिचेको तस्बिरमा लायकू क्षेत्रभरि स्थानीयले धान सुकाएको देख्न सकिन्छ।
२०६० सालमा पनौती नगरपालिकाले यहाँ भवन निर्माण गर्न पुरातत्व विभागसँग स्वीकृति माग्यो।
पुरातत्वले यो क्षेत्रलाई प्राचीन स्मारक ऐन, २०१३ अनुसार संरक्षित स्मारक क्षेत्र घोषणा गरिसकेको थियो। उसले त्यो ठाउँ पुरातात्विक दृष्टिले महत्वपूर्ण हुनसक्ने जानकारी दिँदै नगरपालिकालाई भन्यो, 'त्यहाँ उत्खनन गरेपछि मात्र भवन निर्माणको प्रस्तावतर्फ विचार गरिनेछ।'
त्यसपछि पुरातत्वले २०६१/६२ मा लायकू क्षेत्र उत्खनन गर्न ५० हजार रूपैयाँ विनियोजन गर्यो। यसबाट १५ दिनसम्म गरिएको उत्खनन क्रममा चोक र पर्खालका अवशेष फेला परे। यस आधारमा उत्खनन टोलीले त्यो ठाउँको थप उत्खनन गर्नुपर्ने प्रतिवेदन निकाल्यो।
करिब तीन वर्षपछि पनौती नगरपालिकाले पुरातत्वको टोलीलाई यो ठाउँ फेरि उत्खनन गर्न अनुरोध गर्दै बजेट दियो।
यसपालि ४० दिन उत्खनन गर्दा यहाँ लिच्छवि र शाहकालका मुद्रा, सानो तथा ठूलो चोक, पोखरी लगायत अवशेष फेला परे।
त्यसयता २०७२ सालसम्म यहाँ विभिन्न समयमा उत्खनन हुँदै आएको छ र स्तम्भसहितको चोक, थप लिच्छवि र शाहकालीन मुद्रा, नवपाषाणकालीन प्रस्तर औजार र लिच्छविकालको प्रस्तर संरचनासमेत प्राप्त भएका छन्।
लिच्छविकालको अन्त्यतिरको एउटा मुद्रा त स्थानीय पत्रकार सूर्यप्रसाद लाकोजूले 'खबरचौतारी' पत्रिकामा फोटो खिचेर छापेका थिए। गोलाकार तामाको उक्त मुद्रामा एकातर्फ पशुपति लेखिएको थियो भने अर्कातर्फ साँढेको चित्र अंकित थियो। त्यसरी पत्रिकामा समाचार छाप्नुको कारण बताउँदै लाकोजू भन्छन्, 'राष्ट्रिय अभिलेखालय पुगेपछि त के हो के! यसरी समाचार नै छापेपछि हाम्रै हो भन्ने प्रमाण हुन्छ भन्ने दिमागमा आएको थियो।'
उत्खननअघि लायकूको उत्तर-पूर्वतर्फ चारवटा र उत्तर-पश्चिमतर्फ दुईवटा टहरा थिए। ती सबै भत्काएर २०७१/७२ तिर पर्खाल लगाइयो। हालसम्म लायकूको दुई रोपनी छ आना जग्गामा उत्खनन भइसकेको छ। चार रोपनीभन्दा बढी आकलन गरिएको यो दरबारको केही भागमा निजी घर बनिसकेका छन्, जसले पूरै उत्खनन हुन सकेको छैन।
लायकूकै एउटा भागमा बौद्ध स्तुप छ। यस्तो स्तुप चारैतर्फ हुनुपर्ने उत्खननमा संलग्न पुरातत्वविद् उद्धव आचार्य बताउँछन्।
'विहारका भिक्षुहरूले बाहिरी गतिविधि हेर्न हुँदैन। त्यही किसिमले यस्ता स्तुप विहारको चारैतिर निर्माण गरिएको हुन्छ,' उनले भने।
यहाँ विहार बनेको धेरै भएको छैन। पञ्चायतकालमा मात्र निर्माण भएको विहार स्थानान्तरण गरी रोशी खोलापारि खोपासीमा निर्माण गरिएको छ।
मलाई पनौतीका स्थानीय तथा फोटोग्राफर प्रशान्त श्रेष्ठले लायकू क्षेत्र भ्रमण गराएका थिए। उनले त्यस क्रममा उत्खनन भएका विभिन्न सामग्री देखाए। पनौतीमा बासुकी नागराजको राज भएको र उनी नदीकिनार बसेको विश्वास भएकाले यहाँ ढिकीमा अन्न कुट्न हुन्न भन्ने भनाइ छ। दरबारको एउटा कुनामा भने ढिकीको अवशेष फेला परेको छ जहाँ धान कुटेर अक्षता निकालिने विश्वास गरिन्छ।
प्रशान्तले इँटैइँटाले छोपिएको एउटा कुनातिर लगे र भने, 'यो पुरानो शौचालयको अवशेष हुनसक्छ। यति महत्वपूर्ण कुरा त्यसै छाड्दा हराउन सक्ने भएकाले मैले आफैंले छोपेको हुँ।'
यसैगरी त्यहाँ घोडा बाँध्ने तबेलाका ६–७ वटा अवशेष र दुईवटा चोक पनि उत्खनन क्रममा फेला परेका छन्। दुईवटा इनार र ढुंगेधारा पनि पाइएका छन्। मल्लकालका दरबारमा मूलत नौवटा चोक, इनार, ढुंगेधारा लगायत संरचना हुन्छन्।
लायकू प्रवेश गर्नेबित्तिकै हामी एउटा फल्चा (पाटी) देख्न सक्छौं। त्यो पुरानो फल्चा होइन। सन् २०१८ मा पुरातत्व विभागले नै स्थानीय कामदारलाई तालिम दिन बनाएको प्रशान्त बताउँछन्।
यहाँको दरबारमा नवपाषाण र लिच्छविकालका अवशेष फेला परे पनि दरबार संरचनाको इतिहास भने मल्लकालभन्दा अगाडि जाँदैन।
दरबारको अवशेषमा पाइएका इँटाको गारोको मोटाइ हेर्दा यो तीन तलाको हुनसक्ने पुरातत्वविद् आचार्य बताउँछन्। त्यो समय परम्परागत तेलीय इँटा चलनमा आइसकेका थिए। झ्यालहरू पनि काठमा विभिन्न कलात्मक बुट्टा कुँदेर बनाइएका हुन्थे।
'उत्खननबाट निस्केका अवशेष हेरेर यो दरबारको संरचना कस्तो थियो होला भनेर सजिलै चित्रण गर्न सकिन्छ,' उनले भने।
अब हामी कुरा गरौं, यो दरबार कसको हो?
अहिलेसम्म भएका पुरातात्विक अन्वेषणअनुसार यो दरबार मल्लकालका स्थानीय सामन्त रामवर्द्धनको परिवारको हो।
चौधौं–पन्ध्रौं शताब्दीतिर सामन्त रामवर्द्धनको परिवारले पनौतीमा स्थानीय शासक भएर राज्य गरेको इतिहास छ। उनीहरूले पनौती मात्र नभई नेपाल उपत्यकाको शासन व्यवस्थामै ठूलो भूमिका खेलेका थिए।
लिच्छविहरूको पतन र मल्लहरूको उदय हुने क्रममा पनौतीसहित विभिन्न ठाउँमा सामन्तहरूले केन्द्रको परवाह नगरी सोझै राज्य गरेको देखिन्छ। जब जब केन्द्रमा राजा शक्तिवान हुन्थे, यी सामन्तहरू दबेर बस्थे। केन्द्रमा राजा कमजोर हुनासाथ सामन्तहरूले आफूखुसी राज गर्न थाल्थे। मल्लकालमा पनि पनौतीमा विभिन्न सामन्तहरूको दबदबा थियो।
संशोधन मण्डलले प्रकाशन गर्ने त्रैमासिक पत्रिका 'पूर्णिमा' को एउटा पुरानो अंकमा इतिहासकार धनवज्र बज्राचार्यले 'शक्तिशाली भारदार रामवर्द्धनहरू र तात्कालिक नेपाल' शीर्षकमा एउटा लेख लेखेका छन्।
नेपाल उपत्यकाको शासन व्यवस्थामा रामवर्द्धन परिवारको कसरी उदय भयो भन्नेबारे धनवज्रले उक्त लेखमा विस्तारपूर्वक वर्णन गरेका छन्।
रामवर्द्धनहरू बनेपाली राजकूलका महाथ (महामन्त्री) थिए। विक्रम सम्बत् १३८० मा रामवर्द्धन परिवारका प्रमुख सदस्य महाथ ज्योतिरामले भक्तपुरको राजधानी (तिपुर) र ललितपुरको राजधानी (मनिगल) सँग मिलेर बनेपामा आक्रमण गरेको गोपालराजवंशावलीमा उल्लेख छ।
धनवज्रको वर्णनअनुसार जब १३८३ सालमा ३० वर्षीय रूद्र मल्लको मृत्यु भयो, उनका कुनै छोरा जीवित थिएनन्। उनकी श्रीमती पनि सँगै सती गइन्। त्यसपछि गद्दीमा बसेका अरि मल्लले त्यहाँका भारदारहरूलाई अँठ्याउन सकेनन्। यसले रूद्र मल्लकी नाबालिग छोरी नायकदेवी उत्तराधिकारी बनिन्।
नायकदेवीको हेरचाह उनकी बज्यै पदुमलदेवीले गर्थिन्। पदुमलदेवीलाई राजकाजका काममा देवलदेवीले सघाइन्, जो रूद्र मल्लकी बहिनी हुन्।
त्यो बेला देवलदेवी आफ्नो माइती भक्तपुर आएको धेरै भएको थिएन। उनको विवाह सिम्रौनगढका राजा हरिसिंहदेवसँग भएको थियो। सिम्रौनगढमा बंगाली मुसलमानहरूले आक्रमण गरेपछि राजा हरिसिंहदेव पत्नी देवलदेवी, राजकुमार, मन्त्री र भारदारहरूसहित यता भागेका थिए। दोलखातिरबाट आउँदै गर्दा तीनपाटनमा विक्रम सम्बत् १३८२ माघमा हरिसिंहदेवको मृत्यु भयो।
त्यसपछि देवलदेवीले नै नेतृत्व गर्दै आफूसँग आएका सबैलाई नेपाल उपत्यका ल्याइन्। शरणार्थीका रूपमा उपत्यका पस्दा उनले आफूसँग कुलदेवी तुलजा भवानी पनि ल्याएको मानिन्छ।
किम्बदन्तीअनुसार स्वर्गका राजा इन्द्रले लामो समय तपस्या गरेबापत महादेवबाट हरेक दिन विधिपूर्वक पूजा गर्ने गरी श्रीयन्त्रस्वरूप तुलजा भवानी पाएका थिए। लंकाका राजा रावणका छोरा मेघनादले इन्द्रलाई लडाइँमा हराएपछि स्वर्गबाट उक्त यन्त्र लंका ल्याए। रामले रावण वध गरिसकेपछि तुलजा देवीलाई पनि आफूसँगै अयोध्या ल्याएको भनाइ छ।
त्यही श्रीयन्त्रस्वरूप तुलजा भवानीलाई बंगाली मुसलमानहरूको आक्रमणबाट बचाउन राजा हरिसिंहदेव र देवलदेवीले नेपाल उपत्यका लिएर आएका थिए। उपत्यका ल्याउने क्रममा तुलजा भवानीलाई एक रात पनौतीको लायकूमा बास बसालिएको थियो भन्ने यहाँका बूढापाका विश्वास गर्छन्।
स्थानीय पूर्णभक्त कोङ्गाका अनुसार तुलजा भवानी त्यस्तो ठाउँमा बस्न चाहन्थिन् जहाँ एउटा खाल्डो खन्दा तीनवटा खाल्डो भरियोस्। पनौतीमा भने तीनवटा खाल्डो खन्दा बल्लतल्ल एउटा भरियो।
तुलजा भवानीले खोजेजस्तो अवस्था भक्तपुरमा मात्र सम्भव भयो। त्यही भएर उनी त्यतै बसिन्, कोङ्गाले भने, 'तर एक रात पनौतीको लायकूमा पनि बास बसेकीले अझै पनि दसैंमा यहाँ तुलजा भवानीको जात्रा हुन्छ। तुलजा भवानी निकालेर परिक्रमा र पूजाआजा गरिन्छ। जमरा राखिन्छ, कोतपूजा हुन्छ। यसले पनि पनौती र तुलजा भवानीको सम्बन्ध भएको स्पष्ट हुन्छ।'
उता विक्रम सम्बत् १३८९ मा मल्ल शासनका नाबालिग उत्तराधिकारी नायकदेवीको हेरचाह गर्दै आएकी पदुमलदेवीको निधन भयो।
पदुमलदेवीको निधनपछि नायकदेवीको संरक्षण जिम्मा देवलदेवीले लिइन्। उनकै सक्रियतामा १३८६ सालमा काशी राजवंशका कुमार हरिचन्द्रसँग नायकदेवीको विवाह भयो।
यो विवाहपछि नायकदेवीको हकवालाका रूपमा उनका श्रीमान हरिचन्द्रको प्रभाव बढ्ने कुरा केही भारदारलाई चित्त बुझेको थिएन। त्यही भएर १९९२ मा भारदारहरूले षड्यन्त्र गरेर हरिचन्द्रलाई विष खुवाएर मारे।
एउटै घरमा रहँदाबस्दा नायकदेवी र देवलदेवीका छोरा जगतसिंह एकअर्काका नजिक भए। पछि उनीहरूको विवाहसमेत भएको गोपालवंशावलीकारले उल्लेख गरेका छन्।
'देवलदेवी चतुर महिला थिइन्। कमजोर हुन लागेको भक्तपुरलाई मजबुत बनाउन उनले बलिया भारदार महाथ अनेकराम, अभयराम, थयित लगायतलाई आफ्नो पक्षमा राखिन्। १३९४ पौषमा उनीहरूसँग मिलेर देवलदेवीले केही प्रदेशमा आफ्नो अधिकार जमाइन्,' इतिहासकार धनवज्र बज्राचार्य लेख्छन्।
विक्रम सम्बत् १४०१ आश्विनमा आएको ठूलो भुइँचालोमा परेर राजा अरि मल्लको मृत्यु भयो। त्यसपछि करिब तीन वर्ष उपत्यकाको राजगद्दी खाली भयो।
पछि आनन्ददेवका छोरा राजदेवलाई सबैको सहमतिमा गद्दीमा राखियो, धनवज्र लेख्छन्, 'रूद्र मल्लको मृत्युपछिका ३० वर्षभित्र भएका अनेकन घटनामा महाथ अनेकरामको निकै ठूलो हात छ। ठाउँ-ठाउँमा भारदारहरूले विद्रोह गर्दा अनेकरामले अनेकपटक हतियार पठाई ती विद्रोह दबाएका थिए।'
उनी अगाडि लेख्छन्, 'अनेकरामले देवलदेवीलाई साथ नदिएका भए नेपाल–उपत्यकाले अर्कै रूप लिन सक्थ्यो। उनलाई आफ्नो पक्षमा मिलाउन सक्नु देवलदेवीको ठूलो राजनीतिज्ञता थियो।'
आनन्ददेवका छोरा राजदेव गद्दीमा बसेपछि अनेकराम राजाका विश्वासपात्र मन्त्रीका रूपमा रहन थाले। साथै, अनेकरामका छोरा जयसिंहराम राजदेवका छोरा अर्जुन मल्लका हजुरियाका रूपमा रहन लागे।
यसरी उपत्यकाको शासन व्यवस्थामा रामवर्द्धन परिवारको शक्ति थप बलियो हुँदै गयो।
विक्रम सम्बत् १४१३ असारमा महाथ अनेकरामको मृत्यु भयो। उनीपछि महाथको पद जयसिंहरामले पाए। उनले पहिलो उल्लेखनीय काम १४१७ वैशाखमा पशुपतिनाथको नयाँ मूर्ति स्थापना गरे। बंगालका सुल्तान शमसुद्दीनको टोलीले ११ वर्षअघि उक्त मूर्ति तीन टुक्रा पारेको थियो।
त्यसपछि १४२३ वैशाखमा देवलदेवीको मृत्यु भयो।
चालीस वर्ष नेपाल–उपत्यकाको राजकाज सम्हालेकाले गोपालवंशावलीकारले देवलदेवीलाई 'महादेवी' भनेर विशेषण लगाएका छन्।
यसबीच नायकदेवी र जगतसिंहकी छोरी राजल्लदेवीको विवाह निम्ति देवलदेवीले मधेसबाट एक १६ वर्षीय युवालाई झिकाएकी थिइन्, जसले पछि जयस्थिति मल्लका रूपमा मल्ल शासनलाई बलियो पार्ने काम गरे।
देवलदेवीको मृत्युपछि उनका नातिनी ज्वाईं जयस्थिति मल्ल र महाथ जयसिंहरामबीच टक्कर हुन थाल्यो। उनीहरूबीच एकअर्कालाई खेदो खन्ने क्रम चलिरह्यो।
पछि जब जयस्थिति मल्लले शक्तिशाली र प्रतिष्ठित रामवर्द्धन परिवारसँग टक्कर लिएर शासनमा टिक्न गाह्रो हुने बुझे, उनले जयसिंहराम र उनका भाइ मदनरामलाई सामन्तको दर्जा दिई सम्मान गरे।
'यो कुरा तात्कालिक शिलालेख, हस्तलिखित पुस्तकहरूबाट हामी थाहा पाउन सक्छौं। यिनीहरू कुन कुन ठाउँका सामन्त नियुक्त गरिएका थिए भन्ने खुलस्त विवरण पाइएको छैन,' धनवज्रले लेखेका छन्, 'तै पनि बनेपामा यिनीहरूको सोझै शासन भएको थाहा हुन्छ।'
यति मात्र होइन, १४३९ सालको इतुम्बहालको अभिलेखमा राजा जयस्थिति मल्लको उल्लेख नभई 'जयसिंहरामवर्द्धनस्य प्रतिपालितविजयराज्ये' भनी लेखिएकाले कान्तिपुरको शासनको भार पनि जयसिंहरामले पाएका थिए भन्ने देखिन्छ।
विक्रम सम्बत् १४५० माघ महिनामा प्रतिस्थापन गरिएको सूर्यदेवताको मूर्ति पनि बनेपामा फेला परेको छ। यसमा उल्लिखित अभिलेखमा गद्दीनसिन राजा जयस्थिति मल्लको नाम छैन। यसले बनेपाको शासनभार सोझै जयसिंहराम र उनका भाइ मदनसिंहरामले पाएका थिए भन्ने देखिन्छ।
यसरी राज्यसँग निकट सम्बन्ध बनाउँदै आएका रामवर्द्धन परिवार आफैं स्वतन्त्र शासक बनेको देखिन्छ। चौधौं शताब्दीतिर नेपालको राज्यसत्तामा महत्वपूर्ण भूमिका खेलेको यो परिवारको मूलघर पनौती थियो।
ज्योतिरामका छोरा अनेकरामले पनौतीका महासामन्त भई १३८९ देखि १४१२ सम्म राज्य गरेका थिए। उनको मृत्युपछि छोरा जयसिंहरामले स्वतन्त्र शासक बनेर पनौती लगायत त्यस बेलाका सात गाउँ र वरपर शासन गरे।
जयसिंहराम धर्मात्मा थिए। 'पन्तिया अभिलेख' भन्ने किताबमा पनौतीको इन्द्रेश्वर महादेव मन्दिरको एउटा अभिलेखबारे वर्णन छ। किताबका सम्पादक योगेश राजले उक्त अभिलेखबारे वर्णन गरेअनुसार, जयसिंहरामले बुढेसकालमा महाभारत सुन्ने इच्छा भएपछि उक्त ग्रन्थ सार्न लगाएका थिए। उनले तोलानारायणको विशाल मूर्ति पनौतीमा बनाउन लगाए। सूर्यग्रहणको समय आफ्नो शरीरको तौल बराबर सुन दान गरेका थिए।
त्यस्तै, सुनको घोडा, सुनकै हात्ती, सुनको रथ र सुनकै कल्पवृक्ष बनाई ब्राह्मणहरूलाई दान दिए र पछि इन्द्रेश्वर मन्दिर जिर्णोद्वार गरी चुल्का पनि प्रदान गरे।
विक्रम सम्बत् १४५७ मा जयसिंहरामको मृत्युपछि उनको परिवारले चतुर्मुखी सुनौलो कोष (सुनको मोलम्बा लगाएको चतुर्मुखी शिवलिंगको खोल) चढाएको उल्लेख छ।
जयसिंहराम निःसन्तान भएकाले उनका भतिज शक्तिसिंहराम उत्तराधिकारीका रूपमा देखा परेका छन्।
यसरी करिब सय वर्षसम्म राजकाजमा महत्वपूर्ण भूमिका खेलेका रामवर्द्धन परिवारको वर्चस्व शक्तिसिंहरामपछि घट्दै गएको इतिहासकारहरू बताउँछन्। १४८४ सालसम्म शक्तिसिंहरामले शासन गर्दै थिए भन्ने अभिलेखहरू पाइएका छन्। त्यसपछि भने रामवर्द्धन परिवारबारे बताउने कुनै सामग्री फेला परेका छैनन्।
'पनौतीमा अरू कुनै राजवंशको दरबार रहेको अभिलेखहरूमा पाइन्न। उत्खननबाट प्राप्त पनौती दरबारको समयकाल र रामवर्द्धन परिवारको समयकाल आपसमा मेल खान्छ। त्यसैले यो दरबार रामवर्द्धन परिवारकै कुनै सदस्यले बनाएका थिए भन्ने स्पष्ट हुन्छ,' पुरातत्वविद् उद्धव आचार्यले भने।
सबै भाग उत्खनन एवं संरक्षण हुन सके मध्यकालीन शासनमा महत्वपूर्ण भूमिका खेलेको रामवर्द्धन परिवारको दरबारबारे अझै स्पष्ट तथ्य बाहिर आउनसक्ने उनी बताउँछन्।
उनका अनुसार पुरातत्व विभाग र पनौती नगरपालिकाले संयुक्त रूपमा दरबार उत्खनन एवं संरक्षणलाई पूर्णता दिनुपर्छ। 'यसलाई पूर्णता दिन सके पनौतीलाई विश्व सम्पदा सूचीमा समावेश गर्न अझ बल पुग्नेछ,' उनले भने।
सबभन्दा ठूलो कुरा त, तपाईं-हामीले देख्दै नदेखेको मध्यकालीन दरबारले आकार लिनेछ।
पनौती कथा शृंखलाको अर्को अंकमा हामी फ्रान्सको एउटा यस्तो सहरबारे चर्चा गर्नेछौं जहाँको एउटा सडकलाई पनौती भनिन्छ। यो हाम्रै पनौतीबाट प्रभावित भएर राखिएको हो।
(पनौती कथा शृंखलाको चौथो अंक सोमबार प्रकाशन हुनेछ।)
सबै तस्बिर र भिडिओ: नवीनबाबु गुरूङ/सेतोपाटी