सेतोपाटी फलोअप
खुट्टामा छिरबिरे प्वाल परेका कालो चप्पल। मोबिल लतपतिएका हातमा नटको झुप्पा। खुकुलो जिन्स पाइन्टसँगै नाकबाट बगिरहेका सिँगान उनले माथि ताने।
काठमाडौं, बुद्धनगरमा रहेको वर्कसपमा काम गर्छन् उनी। भक्तपुर, बालकोटबाट करिब बीस मिनेट साइकल चलाएर आइपुग्छन्। वर्कसपमा साहु र उनी मात्रै। पाँच हजार तलबमा खाजासँगै दिनको नौ घन्टा काम गर्न थालेको एक महिना भयो।
पातलो हुडी लगाएका उनका हात चिसोले मेसो नपाइरहेको देखिन्थे। साहुले पछाडिबाट भने, 'गाडीको नट बलियोसँग कस् है!'
मन्द आवाजमा गुन्गुनाउँदै समीर (नाम परिवर्तित) कारका नट कस्न थाले। गाडीका नट त कसिइरहेका देखिन्थे, उनको जीवनको नट भने अझै खुकुलै छ।
पाँच वर्षअघि जीवनमा आँधी नआएको भए सायद आज उनी यहाँ हुन्थेनन्। नटबोल्ट समात्ने यी हातले किताबका पाना पल्टाइरहेका हुन्थे, सायद।
'ममीको सपना थियो मलाई राम्रोसँग पढाएर ठूलो मान्छे बनाउने। सधैं राम्रोसँग पढ्, ठूलो मान्छे बन् भनिरहनु हुन्थ्यो। तर मैले त्यो गर्न सकिनँ,' उनी भक्कानिए, 'केही गर्न थाल्यो, केही न केही समस्याले अल्झाइदिन्छन्।'
समीरको घर काभ्रेपलाञ्चोक हो। साविकको सानो बाङ्थली गाविस। गोदामचौर।
२०७३ मंसिर २० गते यो ठाउँमा एउटा घटना भएको थियो।
त्यस दिन लक्ष्मी परियार र त्यहीँको सूर्योदय माध्यमिक विद्यालयका शिक्षक हिरा लामाबीच भनाभन भयो। लक्ष्मीले हिराकी आमालाई 'परपुरुषसँग सल्केको' र हिरा पनि 'अर्की महिलासँग लागेको' आरोप लगाइन्।
रिसले आगो भएका हिरा र उनकी आमा काइलीमायाले स्कुल चउरको भलिबल पोलमा लक्ष्मीलाई बाँधे। मान्छेको मलमूत्र खुवाए। मुखभरि दले। बोक्सी भने। यति भइसकेपछि बल्ल गाउँलेले छुट्याए। लक्ष्मी फुत्केर घरतिर भागिन्।
यो विवरण सेतोपाटीले पाँच वर्षअघि उक्त घटनाको स्थलगत स्टोरी गर्दा स्थानीयले बताएका थिए।
त्यही साँझ लक्ष्मीले रक्सी खाएर हिराको परिवारलाई गाली गरिन्। खुकुरी लिएर आएकी छु भन्दै स्कुलसँगै घर भएका छेडुप तामाङको गोठतिर गइन्। बिहान हेर्दा भैंसीको घाँटीमा खुकुरीले काटेको देखियो।
छेडुप र काइलीमायाले चौबास प्रहरी चौकीमा लक्ष्मीविरूद्ध निवेदन दिए। प्रहरीले लक्ष्मीलाई विपक्षी बनाइ गालीगलौज र बेइज्जतीको उजुरी दर्ता गर्यो।
लक्ष्मीका श्रीमान मिलन काठमाडौं बस्थे। घटना सुनेर मंसिर २१ गते घर आएका थिए। २२ गते प्रहरी नआएपछि २३ गते उनी काठमाडौं जान भनेर हिँडे।
दिउँसो प्रहरी लक्ष्मी र काइलीमाया-छेडुप पक्षलाई मेलमिलाप गरायो। लक्ष्मी पक्षले आफूहरूमाथि कुटपिट भएको र बोक्सी आरोपमा मलमूत्र खुवाइएको जिकिर गरे। तर यसबारे कसैको ध्यान केन्द्रित भएन। मात्र भैंसीलाई खुकुरीले हानेबापत लक्ष्मीले एक हजार रूपैयाँ तिर्ने शर्तमा दुवै पक्ष मिलापत्र गर्न सहमत भए।
त्यही साँझ लक्ष्मीका श्रीमान गौदामचौर नै फर्किए। उनी काठमाडौं ससुराली पुगेर फर्केका थिए। मिलन त्यो दिन आफ्नो घर नगई आफ्नी आमा विष्णुमायाको घर गए। बिहान आफ्नो घर गएर साना छोरा लिएर फर्किए। लक्ष्मी माइत जान भनेर हिँडेको बताए।
विष्णुमायाले लक्ष्मीका माइलो छोरालाई आमा कता गइन् भनेर हेर्न पठाइन्।
छोराले देखे, करिब पाँच सय मिटर पर स्थानीय रामप्रसाद उप्रेतीको गोठमा आमा ढलेकी थिइन्। आधा शरीर भित्र, आधा शरीर बाहिर।
अनुहार र घाँटीमा निलडाम र टाउकोमा चोट लागेको अवस्थामा ३२ वर्षीया लक्ष्मी मृत भेटिएकी थिइन्।
(पढ्नुहोस्ः 'बोक्सी' भन्दै मलमूत्र खुवाइएकी लक्ष्मीको मृत्यु 'रहस्यमय')
प्रहरीले सोध्दा मिलनले लक्ष्मीलाई आफूले पिटेको बताए। प्रहरीले उनलाई नियन्त्रणमा लियो। पछि हिरा लामा, काइलीमाया लामा, छेडुप तामाङकी श्रीमती निरमाया तामाङ र स्थानीय फूलमाया तामाङलाई पनि पक्रियो। लक्ष्मीलाई मलमूत्र खुवाउने बेला निरमायाले काइलीलाई नाम्लो दिएको र फूलमाया बाँध्न सहयोग गरेको आरोपमा पक्राउ परेका थिए।
उच्च अदालतले फूलमायाबाहेक अरूलाई जेल, जरिवाना तथा क्षतिपूर्ति सजाय तोकिदियो। यो फैसला २०७६ भदौ २९ गते भएको थियो। तर फैसलाको दुई वर्ष पाँच महिना बितिसक्दा पनि उनीहरू कोही पक्राउ परेका छैनन्।
अहिले वर्कसपमा काम गरेर गुजारा गरिरहेका समीर तिनै लक्ष्मी परियारका जेठा छोरा हुन्।
'ममी बितेपछि हाम्रो परिवार लथालिंग भयो,' दुई भाइका दाजु समीरले भने, 'त्यो बेला सानै थिएँ। मेरो ममीलाई म न्याय दिलाएरै छाड्छु। ममीको जसरी हत्या गरेका थिए, तिनीहरू सबलाई सरकारले सजाय दिनैपर्छ।'
समीरलाई आफ्नी आमाको हत्यामा संलग्नहरूले सजाय पाएको देख्न मन छ। तर यो दिन देख्न नपाउँदै उनी आफैं सजाय भोगिरहेका छन्। जिल्ला अदालत काठमाडौंले उनलाई डेढ वर्ष कैद र २५ हजार जरिवाना तोकेको अधिवक्ता नयनकुमार श्रेष्ठ बताउँछन्। श्रेष्ठले समीरको मुद्दा हेरिरहेका छन्।
समीरलाई चोरी मुद्दा लागेको छ।
यो घटना काठमाडौंमा पहिलो लकडाउनको हो।
समीर आफ्ना दुई भाइसहित होस्टलमा बस्थे। काभ्रे जिल्ला अदालतले लक्ष्मीका तीन छोरालाई क्षतिपूर्तिस्वरूप खान, बस्न र पढाइ निःशुल्क हुने फैसला गरेको थियो। तीनै जना सानोठिमी एसओएस बालग्राममा बसेर पढिरहेका थिए।
समीर त्यो बेला कक्षा सातमा पढ्थे। जन्मदर्ताअनुसार उमेर १६ वर्ष।
'तर त्यो जन्मदर्ता हरायो। अनि गाउँ गएर प्रतिलिपि बनाएँ,' समीरले भने, 'जन्मदर्तामा उमेर बढाएर नागरिकता पनि बनाएँ। गाडीको लाइसेन्स बनाउन सहज हुने भएकाले उमेर बढाएर नागरिकता बनाएको थिएँ।'
यसपछि होस्टलमा बसिरहेकै क्रममा उनको एकदिन अन्जान पुरुषसँग भेट भयो।
त्यो भेटले समीरको जीवनमा अर्को ठूलो आँधी ल्याइदियो।
दुई दिनअघि मात्र भेट भएका ती पुरुषसँग समीर एकदिन माछापुच्छ्रे बैंकको एटिएम नजिक पुगे। ती पुरुषले आफू एटिएमबाट पैसा निकालेर आउँछु भनेर समीरलाई बाहिरै पर्खिन भने।
'धेरै समय कुर्दा पनि नआएपछि उहाँलाई बोलाउन म एटिएम भित्रै पसेँ,' उनी भन्छन्, 'उहाँ एटिएम मेसिन हल्लाइरहनु भएको थियो। त्यही बेला कोटेश्वर प्रहरी आएर एटिएम फुटाउन लागेको भनेर हामीलाई पक्रियो।'
दुवै जनाविरूद्ध मुद्दा चलाइयो। जनही डेढ वर्ष कैद र २५ हजार जरिवाना तोकियो।
डेढ लाख धरौटी तिरेर बाहिर निस्किएका हुन् समीर।
'बाबाले ऋण खोजेर तिरिदिनुभयो धरौटी। त्यो ऋण बाबाले अहिलेसम्म तिर्न सक्नुभएको छैन,' समीरले निन्याउरो हुँदै भने।
अधिवक्ता नयनकुमार श्रेष्ठ उमेर नबढाएको भए समीरले सजाय नपाउने बताउँछन्।
'पहिलेको जन्मदर्ताअनुसार समीरको उमेर अहिले १८ वर्ष हो। तर उनले उमेर बढाएर नयाँ जन्मदर्ता बनाएछन् जसअनुसार उनको उमेर २१ वर्ष पूरा भएको छ,' श्रेष्ठ भन्छन्, 'उमेर बढाएकै कारण उनले सजाय पाउनुपरेको हो।'
कानुनअनुसार १८ वर्षभन्दा कम उमेरकालाई तीन वर्षभन्दा कम सजाय भए अभिभावकको संरक्षणमा राख्ने र तीन वर्षभन्दा धेरै सजाय भए बालसुधार गृहमा राखिने व्यवस्था रहेको अधिवक्ता श्रेष्ठ बताउँछन्।
'तर उनको हकमा जन्मदर्ताको उमेरका कारण नाबालक हुँदाहुँदै पनि यो व्यवस्था लागू भएन,' उनले भने।
त्यसैले अभिभावक वा सुधार गृहको संरक्षणमा रहेर आफ्नो जीवनलाई समेट्नुपर्ने बेलामा उनी सवारीका पाटपुर्जा बटुलिरहेका छन्।
समीर सुरूमा होस्टल बसे पनि अहिले बुवा मिलनसँग बालकोट बस्न थालेका छन्।
मिलनलाई पाँच वर्षअघि लक्ष्मीको हत्यामा संलग्न भएको भन्दै उच्च अदालतले दुई वर्ष सजाय फैसला सुनाएको छ।
सुरूमा उनीसहित पाँचै जनालाई काभ्रे जिल्ला अदालतमा मुद्दा चलाइएको थियो। मिलनको पक्षबाट काठमाडौंबाट गएर अधिवक्ता श्याम विश्वकर्मा र मोहन संशांकरले मुद्दा हेरेका थिए। लक्ष्मीको तर्फबाट अधिवक्ता सिताराम घले र प्रकाश नेपालीले हेरे।
काभ्रे जिल्ला अदालतले हिरा लामा, काइलीमाया लामा र निरमाया तामाङलाई ८ महिना कैद र २० हजार जरिवाना तोकेको थियो भने मिलनलाई ८ महिना कैद मात्र थियो। यो फैसला सरकारलाई चित्त नबुझेपछि उच्च अदालतमा पुनरावेदन गरिएको थियो।
जिल्ला अदालतमा मिलनको पक्षबाट मुद्दा हेरेका अधिवक्ता श्याम विश्वकर्माका अनुसार पछि उच्च अदालतले हिरा लामालाई ज्यानसम्बन्धी कसुर, बोक्सीको आरोप र सार्वजनिक पदमा रही काम गर्दै आएको व्यक्ति भएकाले कुल तीन वर्ष तीन महिना कैद फैसला गर्यो। त्यस्तै कुल १२ हजार जरिवाना र पीडित परिवारका लागि १० हजार क्षतिपूर्ति दिनुपर्ने फैसला गर्यो।
हिराकी आमा काइलीमायालाई पनि ज्यानसम्बन्धी कसुर र बोक्सीको आरोप अन्तर्गत गरी तीन वर्ष कैद र पीडित परिवारका लागि १० हजार क्षतिपूर्ति दिनुपर्ने फैसला सुनायो।
निरमाया तामाङलाई बोक्सीको आरोप अन्तर्गत ६ महिना कैद र ५ हजार जरिवाना ठहर्यायो। फूलमाया तामाङको भने जिल्ला अदालतले दिएको सफाइलाई नै उच्च अदालतले सदर गर्यो।
अधिवक्ता मोहन संशांकर कानुनअनुसार प्रतिवादीले पुनरावेदन नगरेको खण्डमा उच्च अदालतको फैसला अन्तिम हुने बताउँछन्। यो मुद्दामा सरकारको तर्फबाट सर्वोच्च अदालत पुनरावेदन परे नपरेकोबारे जानकारी नभएको अधिवक्ता श्याम विश्वकर्माले बताए। उनका अनुसार प्रतिवादी कसैले पनि पुनरावेदन गरेका छैनन्। तर कसैले सजाय पनि पाएका छैनन्।
समीरका बुवा मिलनले यसबारे भने, 'प्रहरीले मेरो नाम नदिएसम्म किटानी जाहेरी नहुने भनेपछि लक्ष्मीका माइतीपक्षले जबरजस्ती मसहित पाँच जनामाथि उजुरी गरेका हुन्। म त लक्ष्मीलाई बोक्सी भन्दै कुटपिट गरेको थाहा पाएपछि गाउँ आएको थिएँ। त्यतिबेलै उनको स्वास्थ्य नाजुक थियो। त्यसैले मैले उनलाई अस्पताल लैजाने सोचेको थिएँ। लैजाने भन्दाभन्दै उनको मृत्यु भयो। मैले कुटपिट गरेकाले उनको मृत्यु भएको भनेर मलाई सजाय दिइयो। जस कारण उनलाई कुटपिट गर्ने ती अपराधीलाई मैले सजाय दिलाउन सकिनँ।'
मिलनले पोहोर दोस्रो बिहे गरे। पाँच हजार भाडा तिर्नुपर्ने कोठामा मिलन, उनकी श्रीमती र समीर बस्छन्। समीरका दुई भाइ होस्टलमै बसेर पढिरहेका छन्। मिलन कोठाभन्दा केही परको पसलमा सिलाइबुनाइ काम गर्छन्। दिनको प्रायः सय/दुई सय कमाउँछन्, कहिलेकाहीँ हजार पनि पुग्छ।
समीरको धरौटी तिर्न लिएको ऋण उनी किस्तामा तिर्दैछन्। समीर पनि यसकै निम्ति किताबकापी कोठामा थन्क्याएर नटबोल्ट समातेको बताउँछन्।
'सात पास गरेको थिएँ। आठको किताब पनि किनिसकेको थिएँ,' समीरले नट कस्दै भने, 'अब पढ्ने रहर त के पूरा होला?'
एकछिन टोलाए उनी।
फेरि भने, 'आमाका हत्यारालाई जेल सजाय भएको देख्न मन थियो, अहिले त आफैं सजाय भोगिरहेको छु।'