गत पुस ११ गते राजश्व अनुसन्धान विभागको टोली काठमाडौं-५ कालोपुल पुगेको थियो। डलर विनिमय (सटही)मा संलग्न व्यक्तिको खोजी सिलसिलामा टोली त्यहाँ गएको थियो।
टोली कालोपुलबाट सानो गौचरणतर्फ जाने बायाँतर्फको एनआइसी एसिया बैंक अगाडि रुँगेर बस्यो।
बैंक अगाडिको बाटोमा बा ३३ प ४५१९ नम्बरको स्कुटरमा एक युवा बसिरहेका थिए। विभागको टोलीले उनैलाई शंका गरेको थियो।
उनी त्यहाँ डलर विनिमयको कारोबार गरिरहेका थिए मोबाइल एपमार्फत्। उनी थिए- कैलाली लम्कीचुहा नगरपालिका-१० का दिनेश खड्का।
प्रारम्भिक रूपमा डलरको गैरकानुनी विनिमय गरेको देखिएपछि कालोपुल गुरुङ टोलमा बस्ने खड्कालाई विभागको टोलीले पक्राउ गरी अनुसन्धान सुरू गर्यो।
पटक-पटक जिल्ला अदालत काठमाडौंबाट अनुमति लिएर खड्कालाई २९ दिन विभागले हिरासतमा राख्यो।
यसक्रममा उनले कारोबार गरेका बैंकलाई विभागले पत्राचार गरेको थियो। यसक्रममा उनीसँग अन्य तीन जना व्यक्ति कारोबारमा जोडिएको देखियो।
उनीहरू हुन्- अनिता धिताल, भगवती खड्का र बरहादुर खड्का। भगवती दिनेशकी दिदी, नरबहादुर बुवा र अनिता केटी साथी हुन्।
खड्का, उनका बुवा, दिदी र अनिताविरूद्ध डलर अपचलनको मुद्दा लागेको छ। यो मुद्दा सोमबार राजश्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा दर्ता गरेको छ।
विभागको अनुसन्धान अनुसार दिनेशको खाता ग्लोबल बैंकमा देखिएको छ। उनले १३ जुलाई २०२१ बाट त्यो खातामा कारोबार गरेको देखिन्छ। यो कारोबार २९ डिसेम्बर २०२१ सम्म चलेको छ।
सञ्चालनमा आएको ६ महिनामै दिनेशको खातामा ९ करोड ७९ लाख ९८ हजार ६८१ रुपैयाँ कारोबार भएको देखिन्छ।
अनिताको नाममा लक्ष्मी, सानिमा, मुक्तिनाथ र ग्लोबल आइएमई बैंकका खाता देखिएका छन्। ती सबैमा गरी ५ करोड ७७ लाख ६ हजार ८२६ रुपैयाँ कारोबार भएको देखिएको छ।
विभागका महानिर्देशक प्रकाश पौडेलका अनुसार दिनेशले सबैभन्दा बढी रकम भगवतीको खातामा राखेको देखिएको छ। भगवतीको नाममा एनआइसी एसिया र ग्लोबल आइएमई बैंकमा गरी २० करोड ४२ लाख ९४ हजार ५२६ रुपैयाँ जम्मा गरेको देखिएको छ।
बुवा नरबहादुर खड्काको ग्लोबल आइएमई बैंकको खातामा १ करोड ६४ लाख ११ हजार १६६ रुपैयाँ राखेको देखिएको छ।
दिनेश पशुपति क्याम्पसमा पढ्ने विद्यार्थी हुन्। कुनै व्यापार व्यवसाय नभएका खड्का मात्र होइन, उनको परिवारले यतिका पैसा एक वर्षमै कमाउन सम्भव हुने कुरा थिएन। विभागको टोलीको मुख्य अनुसन्धान पनि यसैमा केन्द्रित रह्यो।
‘हामीलाई राष्ट्र बैंकमार्फत् डलर विनिमयको काम तीव्र भइरहेको र केही व्यक्तिले नै करोडौं कारोबार गरिरहेको जानकारी आएको थियो, त्यस्ता व्यक्तिहरू खोज्ने सिलसिलामा खड्का फेला परेका थिए,’ पौडेलले भने।
अनुसन्धान गर्दै जाँदा यतिको कारोबार खड्काले मोबाइल एपबाट गरे, भर्चुअल रूपमा। जुन नेपालको कानुनद्वारा प्रतिबन्धित छ। त्यसमाथि व्यक्तिले डलरको कारोबार गर्न नै पाउँदैनन्। संस्थागत रूपमा बैंकले डलर सटही गरेर व्यक्तिलाई दिने हो।
यी चार जनाको बैंक मौज्दातमा देखिएको रकमले उनीहरूले असीमित रूपमा डलर कारोबार गरेको देखिन्छ।
त्यो कारोबारको पृष्ठभूमि खड्का मात्र हुन्। अरू उनका आफन्तकोमा कारोबार भएको पैसा मात्रै राखिएको छ।
विभागका अनुसार खड्काले ६ महिनामा ३१ लाख २७ हजार ८९६ डलर विनिमय गरेको देखिएको छ।
यो डलर उनले प्रयोग गर्ने मोबाइल एप हुन् इ-स्क्रिल र बाइनान्स। यी अन्तर्राष्ट्रिय मोबाइल एप हुन्, जुन डलरको कारोबारमा प्रयोग हुन्छन्।
छिमेकी मुलुक भारतमा समेत यो कारोबार गर्न पाइँदैन। केही अन्तर्राष्ट्रिय मुलुकमा भने यो कारोबार वैध मानिन्छ।
‘नेपालमा व्यक्तिले डलर सोझै वा यसरी एपबाट खरिद-बिक्री गर्न पाइँदैन,’ पौडेलले भने।
यस्ता अन्तर्राष्ट्रिय एप प्रयोग गरेर डलरको सटही गर्ने क्रम काठमाडौंमा तीव्र रूपमा बढेको देखिएको छ।
पौडेलका अनुसार यस्ता एप प्रयोग गरेर साटिने डलर जुवा खेलाउन प्रयोग गरिएको छ। खड्काले डलर सटही र त्यसपछि जुवा खेलाएरै यतिका रकम कारोबार गरेको बयान दिएका छन्।
उनी सटही गरेको पैसा ‘वान एक्स बेट’ र विदेशी मुद्रा विनिमयको गैरकानुनी कारोबारमा संलग्नलाई डलर उपलब्ध गराउने गर्थे। ‘वान एक्स बेट’ भनेको अनलाइन जुवा हो। यसमा दसौं हजार व्यक्ति संलग्न रहेको खड्काको बयानमा उल्लेख छ।
खड्काको बयान अनुसार ‘वान एक्स बेट’ जुवा साथै व्यापारको लागि पनि बनेको एप हो। ‘सोमार्फत् नेपालमा लगभग १० लाख मानिस भर्चुअल रूपमा कारोबार गर्छन्,’ उनले बयानमा भनेका छन्।
पौडेलका अनुसार खड्का र उनका आफन्तका नाममा गएको पैसामाथि कानुनी कारबाही थालिइसकिएको छ। बाँकी रह्यो उनले जुवा खेलाएको विषय।
‘जुवा प्रहरीले गर्ने अनुसन्धान हो, यसको बाँकी अनुसन्धान गर्न विभागले महानगरीय प्रहरी परिसर टेकुलाई लेखेर पठाएको छ,’ पौडेलले भने।
खड्काले एक पटकमा सात/आठ लाख नेपाली रुपैयाँ बराबरको डलर सटही गरेको बयान दिएका छन्।
उनले बयानमा भनेका छन्, ‘मैले एक पटकमा सात-आठ लाख सटही गरेको हुँ, डलर खरिद-बिक्री मेरो आम्दानी हो। आम्दानी आफ्नो, बुवा, दिदी र अनिताको बैंक खातामा राख्थें।’
उनकी दिदी भगवती खड्का यो कारोबारबारे अनभिज्ञ छिन्। उनको बैंक खातामा त्यति रकम कहाँबाट आयो उनैलाई पत्तो छैन। खड्काले आफ्नी दिदीको बैंक खाता आफैं चलाएर सो रकम जम्मा गरेको देखिएको छ।
नरबहादुर खड्कालाई पनि आफ्नो खातामा पैसा कसरी आयो थाहा छैन। उनको खाता पनि दिनेश आफैंले चलाउने गर्दा रहेछन्।
अनिताको खाता पनि खड्का आफैंले चलाउने गरेका थिए। विभागका अनुसार इ-स्क्रिल र बाइनान्समार्फत् रकम लोड तथा अनलोड गरी अमेरिकी डलर कारोबार गर्ने र जुवा खेलाउने संगठित समूहको एउटा सदस्य मात्र हुन् खड्का।
‘उनले अरूबाट सिकेको भनेका छन्, तर को र यसको समूह कहाँ छ भनेर भन्दैनन्,’ पौडेलले भने।
कारोबार हेर्दा उनले हालसम्म ३७ करोड ६४ लाख ११ हजार १०० रुपैयाँ बराबरको ३१ लाख २७ हजार ८९६ रुपैयाँको डलर विनिमय गरेको देखिएको छ। बाँकी उनले कति रकम जुवामा कारोबार गरे त्यो अनुसन्धान हुनै बाँकी छ।
प्रतिवादी खड्कालाई सो बराबरको रकम बिगो जफत गरी सजाय हुन र विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ अनुसार तीन वर्ष सजाय माग गरिएको छ।
बुवा नरबहादुरको खातामा देखिएको रकम, अनिताको खातामा देखिएको रकम र भगवतीको खातामा देखिएको रकम बराबरको बिगो उनीहरूसँग माग गरिएको छ।
दैनिक हाजिरीमा रहेका भगवती र नरबहादुर फरार छन्। अनिताको हकमा पक्राउ पूर्जी जारी भएको छ। तर, पक्राउ परी नआएकाले तीन जना प्रतिवादीको हकमा अदालतबाटै कानुन बमोजिमको म्याद जारी गरी कारबाही गर्न विभागले अभियोग पत्रमा अदालतसँग माग गरेको छ।
यसरी भर्चुअल रूपमा डलर कारोबार बढ्नुमा बैंकहरू जिम्मेवार देखिएका छन्। बैंकहरूले समयमै शंकास्पद कारोबारबारे जानकारी दिएको भए खड्काले यतिको परिमाणमा पैसाको गैरकानुनी कारोबार गर्न सक्दैनथे। न, उनका परिवारका सदस्य डलर कारोबारको फन्दामा पर्थे।
‘हामीलाई एक-दुई लाखको चेक लिएर गयो भने बैंकहरूले आम्दानीको स्रोत खोज्छन्, विभिन्न झमेला दिन्छन्,’ विभागका एक अनुसन्धान अधिकृत भन्छन्, ‘तर, यतिका कारोबार एकै व्यक्तिले गर्दा बैंकहरू अनभिज्ञ हुने कुरा पत्यारिलो छैन।’