काठमाडौं शंखरापुर नगरपालिका-३ मा एकतले पक्की घर छ। मध्य माघको ठिहीले चिसिँदै गएको राजधानी।
बौद्धबाट झन्डै ३५ किलोमिटर ढाटा माथि रहेको शंखरापुर ठन्डीले प्रभावित थियो नै।
५२ वर्षीय पदमबहादुर थिङ र उनकी श्रीमती ४५ वर्षीया फूलकुमारी थिङ बुधबार राति खाना खाएर सुतेका थिए।
केही दिनयता काठमाडौं अझ चिसिँदो छ। चिसो भगाउन उनीहरूले कोइलाको सहारा लिन पुगे।
बन्द झ्याल पर्दाले ढाकेको थियो। कोठामा भएको एउटा ढोकाको सानो प्वालमा पनि सनपाटको बोराले ढाकेका थिए।
‘मुसाले प्वाल नपारोस् भनेर ढोकाको मुनि पनि बोरा च्यापेका रहेछन्,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले भने।
घटनास्थल पुगेका प्रहरीका अनुसार राति टिनको चुलोमा कोइला सल्काएर उनीहरू सुतेका रहेछन्।
‘कतिबेला प्राण गयो कसैले पत्तै पाएन,’ महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठ परिवारका सदस्यलाई उद्धृत गर्दै भन्छन्, ‘बिहान ढोका ढकढकाउँदा चालचुल थिएन।’
पदम र फूलकुमारी सधैं बिहानै उठेर पसल खोल्न पुगिसक्थे। दुई छोराहरू उठ्दा उनीहरू पसलमा सरसामान बेच्ने, सरसफाइ गर्ने काममा व्यस्त हुन्थे।
दुई छोरा सूर्यबहादुर र सुनिल थिङ शंखरापुरमै होटल व्यवसाय गर्छन्। बुवाआमा घरकै सटरमा किराना पसल गर्थे।
राति खाना खाएर पदमबहादुर र फूलकुमारी कोठामा छिरेका थिए। छोराहरू अलग-अलग कोठामा सुत्थे।
राति सँगै खाना खाएर सुतेका बुवा-आमा बिहान ७ बजेसम्म उठेनन्। यसपछि ढोका ढकढकाउन कान्छो छोरा सुनिल थिङ पुगेका थिए।
धेरैपटक ढोका ढकढकाउँदा बुवा-आमा उठेनन्। त्यसपछि दाजुभाइ मिलेर ढोका फोडेर हेर्दा पदमबहादुर र फूलकुमारी चटपटाएनन्। छाम्दा शरीर चिसो भइसकेको थियो।
पदमबहादुर बेडमा पल्टिरहेका थिए। फूलकुमारी भुइँको ओछ्यानमा थिइन्।
दुबै मृत अवस्थामा देखेपछि कान्छो छोरा सुनिल आत्तिए।
‘उनले बौद्ध वृत्तमा खबर गरेका थिए,’ मैनालीले भने, ‘प्रहरी पुग्दा १० बजिसकेको थियो।’
बौद्धबाट धेरै टाढा भएका कारण प्रहरी टोली पुग्न समय लागेको थियो।
दुबैको निसास्सिएर मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
‘झ्याल-ढोका सबै बन्द गरेर कोठा तातो पार्न खोजेको देखिन्छ,’ प्रहरी निरीक्षक श्रेष्ठले भने, ‘हावा भित्र-बाहिर हुन नसक्ने अवस्था देखिन्छ, सायद अक्सिजनको कमी भएर उनीहरू निसास्सिएका हुन सक्छन्।’
घटनास्थलमा त्रिवि शिक्षण अस्पतालका डाक्टर पनि गएका थिए। प्रहरी र डाक्टरसहितको टोलीले मुचुल्का उठाएपछि शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ।
‘पोष्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण अझ स्पष्ट हुने छ,’ श्रेष्ठले भने।
जोडो मौसममा नुहाउन बाथरुमभित्र मात्रै होइन, कोठा तताउन बालिएको हिटरको कारणले पनि निसास्सिएर मृत्यु हुने गरेको छ।
फिजिसियन डाक्टर निमेश पौडेल यस्तो मृत्युमा ग्यास गिजर, हिटर वा कोइला बाल्ने चुलोको मात्रै दोष हुन्न, कोठामा रहने भेन्टिलेसन पनि हो। भेन्टिलेसन वा झ्याल बन्द गर्दा बाहिरी हावा भित्र पस्न पाउँदैन र भित्री हावा बाहिर निस्किन पाउँदैन।
यसरी मृत्यु हुनुको मुख्य कारण भनेको अक्सिजन पर्याप्त नहुनु हो।
अक्सिजन कम भएपछि मानिस बेहोस हुन्छन्। तत्कालै थाहा पाएर खुला वा अक्सिजन पर्याप्त भएको ठाउँमा लैजान सके ज्यान जोगिन सक्छ।