कैलालीको गौरीगंगाका अरुण चौधरी (नाम परिवर्तन)लाई केही महिनाअघि ह्वाट्स एपमा नचिनेको नम्बरबाट मेसेज आयो।
उनलाई भारतीय टेलिभिजन च्यानलको ‘कौन बनेगा करोडपति’ शोमा चिट्ठा विजेता बनेर २५ लाख जितेको भनेर भिडिओ मेसेज आएको थियो।
उनले त्यो कुरा पत्याएनन्। फेरि टिभी शोका प्रस्तोताले बधाई दिएको, उनको नाम पनि लेखिएको र टिभी च्यानलको लोगोसहितको भिडिओ आयो।
उनले यसपछि आफूले चिट्ठामा नगद पुरस्कार जितेको हुनसक्ने ठाने।
उनले मेसेजको रिप्लाई गरेर त्यो पैसा कसरी पाउन सकिन्छ भन्नेतर्फ लागे। भारतीय नम्बरबाट उनलाई हिन्दीमा बोल्ने २ जना मान्छेले भिडिओ र अडिओ कल समेत गरेर उनका कागजपत्र, प्रमाण पत्रहरू मागे। उनले दिए।
कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीका अनुसार उनले कागजपत्र सँगै कर तिर्नुपर्ने भनिएको २ लाख रुपैयाँ पनि भारतीय नागरिकले भनेअनुसार पठाएका रहेछन्।
यसपछि फेरि उनलाई पैसा पठाउनुपर्ने भनेर मेसेज आयो।
उनले विश्वास नगरेपछि नेपालका एक जना अधिकारीको फोटोसहित प्रहरीले २५ लाख रुपैयाँ नेपाल पठाउन अनुमति दिएको भनेर फर्जी प्रमाणपत्र उनको ह्वाट्स एपमा आयो।
उनले २५ लाख रुपैयाँ पाउने आशमा पटक-पटक गरेर ९ लाख रुपैयाँ पठाए।
उनले इ-सेवाबाट पैसा पठाउने र आफ्नो मोबाइल नम्बरमा आउने ओटिपी कोड समेत उनीहरूलाई दिएका थिए।
यसपछि केही दिनअघि उनको खाताबाट थप ५० हजारका दरले पटक-पटक गरी ३ लाख पैसा झिकिएको मेसेज बैंकबाट आयो। आफैंले पठाएको ९ र बैंकबाट ३ लाख गरी उनको खातामा रहेको १२ लाख रकम भारत गइसकेको थियो। कोसँग पैसाको कुरा गरिरहेको छ भनेर उनका बुवाले चासो लिएपछि आफू ठगिएको अरुणले थाहा पाए।
पछि पनि अरुणलाई ती व्यक्तिहरूले पैसा पठाउँदैछौं अझै विवरण पूरा गर्न थप पैसा पठाउनुपर्छ होला भनेर आश्वासन दिइरहेका थिए।
मंगलबार अरुणको परिवार जिल्ला प्रहरी कार्यालयमा ठगिएको भन्दै निवेदन लिएर पुगेको थियो।
बुधबार बिहान यस्तै अर्को केस प्रहरीकहाँ आयो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढीका एक जना विद्यार्थीलाई इमोमा यस्तै मेसेज आएको थियो।
ती विद्यार्थीले चिट्ठा परेको रकम पठाउन बैंकको खाता नम्बर पठाउनुपर्ने भयो। उनले बझाङबाट जग्गा किन्न धनगढी आएका एक जना शिक्षकको खाता नम्बर मागेर इमोमै पठाइदिए।
‘ती शिक्षकको खाताबाट एक रातमै १६ पटक पैसा झिकिएको देखिन्छ, चार लाख रुपैयाँ झिकिएपछि उहाँहरू हामीकहाँ आउनुभयो, हामीले बैंकमा फोन गरेर रोक्का गर्न भनेपछि बाँकी रकम रोकियो,’ डिएसपी जोशीले भने।
बैंकको स्टेटमेन्ट हेर्दा इ-सेवा, खल्ती, आइएमई लगायतका सेवा प्रयोग गरी खाताबाट रकम झिकिएको देखिएको प्रहरीको भनाइ छ।
पछिल्लो हप्ता नै कैलालीका एक जना प्रहरी पनि यसैगरी ठगिएका थिए।
उनको खाताबाट पनि ६ लाख रुपैयाँ अनधिकृत कसैले चोरी गरेको प्रहरीले जनाएको छ।
कैलालीका प्रहरी प्रवक्ता डिएसपी जोशीका अनुसार पछिल्ला ६ महिनामा जिल्ला प्रहरी कार्यालयमा १७ वटा यस प्रकारका अनलाइनबाटै ठगी चोरी भएका निवेदन दर्ता भएका छन्।
‘जम्माजम्मी करिब ५० लाख बढी रकम उनीहरूबाट ठगी भएको देखिन्छ,’ जोशीले भने।
उनका अनुसार जिल्लामा १० हजारदेखि १२ लाखसम्म ठगी भएको देखिन्छ।
मेसेन्जर, इमो, भाइबर, ह्वाट्स एपबाट ठगी भएर प्रहरीकहाँ पुगेकाहरूको उजुरीका आधारमा केही नम्बरहरूको खोजी भइरहेको उनले बताए।
‘संसारका कुनै ठाउँबाट पनि यस्ता मान्छेले ठगी गरिरहेका हुनसक्ने भएकाले अनुसन्धान गर्न लामो समय लाग्नसक्छ,’ उनले भने।
ठगी हुनेहरूमा स्कुल, कलेज पढ्ने विद्यार्थी, जागिरे शिक्षित मान्छेहरू रहेका छन्।
‘सुरूमा नपत्याए पनि विश्वास लाग्नेखालका भिडिओ, प्रमाणपत्रले पैसा पठाउने राजी भएको देखिन्छ, यसकारण ठगिने गरेका छन्’, डिएसपी जोशीले भने।
जिल्ला प्रहरी कार्यालय कैलालीले एक सूचना जारी गर्दै पछिल्ला दिनहरूमा सामाजिक सञ्जालहरूको प्रयोग गरी अपरिचित स्वदेशी तथा विदेशी नम्बरहरूबाट मेसेज पठाई ठगी गर्ने गिरोह सक्रिय भएको जनाएको छ।
रकम तथा चिट्ठा परेको, सो रकम तथा चिट्ठा प्राप्त गर्नको लागि कर बापतको रकम पठाउन लगाउन, व्यक्तिगत बैंक खाता, नागरिकता तथा पासवर्डहरू माग गरी बैंकमा रहेको रकम विभिन्न विद्युतीय माध्यमबाट चोरी गरेको देखिन आएको प्रहरीको भनाइ छ।
‘पछिल्लो समय यस प्रकारको ठगी गर्ने समूह सक्रिय छ, आम सर्वसाधारण नागरिकहरूलाई त्यसतर्फ सचेत रहन प्रहरीको तर्फबाट अनुरोध छ’, डिएसपी जोशीले भने।