अहिले हामी तेस्रो लहरको मध्यतिर अर्थात् लगभग 'पिक'मा छौं। यो धेरै बढ्न थालेको दुई साता भएको छ। जुन रफ्तारमा मान्छेहरू संक्रमित भइरहेका छन्, त्यसलाई आधार मान्दा पिकमा आएको जस्तो देखिन्छ।
काठमाडौंमा विगत दुई हप्तामा देखिएको संक्रमण दरलाई आधार मान्न सकिन्छ। चिकित्सकहाँ धेरै मान्छे आउँछन्। जसलाई कोभिडको लक्षण देखिन्छ तर परीक्षण गरेको हुँदैन त्यस्ता व्यक्ति पनि धेरै आउँछन्। अस्पतलमा समेत चिकित्सक, नर्स, सफाइकर्मी र कर्मचारी लगायतलाई समेत ८० प्रतिशतलाई ओमिक्रोन भएकोजस्तो लाग्छ।
यी सबै तथ्यलाई आधार मान्ने हो भने काठमाडौं, ललितपुर र भक्तपुरको कोर सिटीमा बस्नेमध्ये लगभग ८० प्रतिशतलाई ओमिक्रोन भएको भनेर भन्न सकिन्छ। अब यो गाउँतिर जाने क्रममा छ। केही दिनयताको जिल्लाको तथ्यांक हेर्ने हो भने अर्को दुई हप्ता काठमाडौंबाहिर बढ्न सक्ने देखिन्छ। काठमाडौंमा भने ५/७ दिनपछि ओह्रालो लाग्छ। काठमाडौंमा चेनब्रेक हुन्छ भन्ने मेरो अनुमान छ।
यसको एउटा आधार संक्रमणको दर नै हो। योसँग डेल्टाभन्दा चार गुना बढी संक्रमण गराउने क्षमता छ। जसले गर्दा परिवारमा एउटालाई भयो भने अरूलाई नहुने सम्भावना धेरै कम छ। जुन संक्रमण छिटो फैलिन्छ त्यसले ठूलो संख्यामा मान्छेलाई संक्रमण गराउँछ। ठूलो संख्यामा संक्रमण भइसकेपछि यसले सर्ने ठाउँ पाउँदैन। सार्ने व्यक्ति नपाएपछि चेन ब्रेक हुन्छ। त्यसपछि घट्न थाल्छ।
हामी कुरा गरिरहेको समयसम्म १ सय २२ ओमिक्रोनका बिरामी यो अस्पताल भर्ना भएका छन्। यसको संख्या १ सय २२ भने पनि धेरैजसो मान्छेलाई अरू रोगको परीक्षण गर्न आउँदा ओमिक्रोन देखिएको छ। कोभिडको कारणले गर्दा बिरामी छैनन्। आइसियु र अक्सिजनको समस्या परेको छैन। पिकमा पुग्दा पनि समस्या नपरेकाले यसकै कारण जटिलता हुन्छजस्तो लाग्दैन।
जब भाइरसले स्वरूप बदल्छ कि त बलियो भएर जान्छ, कि त कमजोर भएर जान्छ। यसपछि आउने भेरियन्टहरू कमजोर भएर जान्छ या अझै बलियो हुन्छ अहिले नै भन्न सकिँदैन। दुई वर्ष भइसकेको र अहिले हामी तेस्रो वर्षमा चलिरहेकाले धेरै नै खतरा भएर आउने सम्भावना कम हुन्छ।
काठमाडौंमा यसले धेरै असर गरेको देखिएन। जति बिरामी आएका छन् ती सबैलाई सजिलै व्यवस्थापन गर्न सकिएको छ। काठमाडौंबाहिर यहाँजस्तो सुविधा छैन। त्यसैले काठमाडौं बाहिर पनि यसरी नै फैलियो भने काठमाडौंको भन्दा धेरै क्षति पुर्याउन सक्छ।
अहिले लगाइएको खोप बुस्टर या अतिरिक्त डोज जे भने पनि अहिलेसम्मको अध्ययनअनुसार उस्तै-उस्तै प्रकृतिका लगाउँदा राम्रै हुन्छ भन्ने छ। उस्तै प्रकृतिबाट बनाएका खोप लिन सकिन्छ। अर्को प्रकृतिको खोप पनि लगाइएको छ तर यो अध्ययनकै चरणमा छ। सरकारको नीति उस्तै प्रकृतिको लगाउने भन्ने छ र मेरो सुझाव पनि त्यही छ।
तीन वटा लहर हामीले अनुभव गर्यौं। पहिलो लहरमा मुख्य त्रास रह्यो। हामीकहाँ त्यो बेला धेरै डर त्रास देखियो। ज्वरो आएका बिरामीसमेत छुन डराउने अवस्था थियो।
दोस्रो लहरमा आउँदा ती समस्या समाधान भए। कोभिडको बिरामी उपचार गर्न डराउन पर्ने अवस्था थिएन। तर दोस्रो लहरमा आइसियु र अक्सिजनको समस्या भयो। तेस्रो लहरमा भने फरक समस्या भयो। पहिलो र दोस्रोमा भएजस्तो कुनै समस्या भएन तर अस्पताल चलाउन गाह्रो भयो। अस्पतालमा चिकित्सक, नर्स, सफाइकर्मी ठूलो संख्यामा संक्रमित भएर काममा अप्ठेरो भयो। अहिले संक्रमित फर्किने क्रम जारी छ र सहज पनि भएको छ।
अहिले सचेत काठमाडौंमा पनि हुनैपर्छ। सचेत भएन भने त नयाँ समस्या आउनसक्छ। किनकी नयाँ भेरियन्ट कतिबेला आउँछ, पत्तै हुँदैन। जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्छ। काठमाडौंमा धेरै क्षति भएन। यता पनि हुँदैन भनेर काठमाडौं बाहिरकाले हेलचक्र्याइँ नगर्नुहोला। जनस्वास्थ्यका मापदण्ड सही तरिकाले प्रयोग गरौं।
ओमिक्रोन संक्रमणको अहिलेको अवस्था कस्तो छ र संक्रमण दर कहिलेदेखि घट्न सक्छ भन्ने विषयमा केन्द्रित रहेर त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ एवं उपनिर्देशक सहप्राध्यापक डाक्टर सन्तकुमार दाससँग सेतोपाटीका सन्जिब बगालेले भिडिओ कुराकानी गरेका छन्।
हेर्नुस् भिडिओ: