सहरको कथा: पनौती
नेपाल भाषामा 'यः' को अर्थ मनपर्ने र 'मरि' को अर्थ रोटी हो। नेवाः समुदायको मनपर्ने रोटी हिजोआज काठमाडौं उपत्यकाकै प्रिय परिकार बनेको छ। त्यसमाथि मास्टरसेफ सन्तोष साहले काठमाडौंको यो रोटीलाई विश्वव्यापी पहिचानसमेत दिलाएका छन्।
पनौती कथा शृंखलाको आजको अंकमा हामी कुरा गर्दैछौं य:मरिको, जुन हिजोआज य:मरि पुन्हीको दिन मात्र होइन, बाह्रै महिना पाक्ने नेवारी 'डिजर्ट' का रूपमा चर्चित छ।
तपाईं नेवारी खाजा खाँदै हुनुहुन्छ र अन्तिममा यःमरि खानुभएन भने केही नपुगेजस्तो खल्लोखल्लो हुन्छ। तर प्रश्न उठ्छ, यो परिकारसँग पनौतीको साइनो के? य:मरिको कथा पनौतीको कथासँग कसरी जोडिन्छ?
पनौतीलाई य:मरिको सुरूआत भएको ठाउँ मानिन्छ। आज म तपाईंहरूलाई यसैसम्बन्धी कथाहरू सुनाउँछु है!
यी कथा मलाई पनौतीका ७८ वर्षीय स्थानीय पूर्णभक्त कोङ्गा र स्थानीय लेखक सूर्यप्रसाद लाकाजूले सुनाएका हुन्। लाकाजूले बालबालिकाका लागि 'यःमरि' नामक किताब पनि लेखेका छन्।
उनीहरूले सुनाएका दुइटा कथा यस प्रकारका छन्ः
पहिलो कथा
पनौतीको एउटा किसान परिवारको घरमा एकदिन उनका ज्वाइँ काठमाडौंदेखि आएछन्। आउँदा आउँदै साँझ परिसकेको थियो।
ज्वाइँ त आए तर उनलाई खुवाउने के? किसान दम्पतीलाई आपत पर्यो।
उनीहरूले भर्खरै धान घरमा भित्र्याएका थिए। त्यसलाई हतारहतार कुटेर मिलमा पिसेर ल्याए। त्यही पिसेर ल्याएको पिठोको खानेकुरा खुवाउने भन्दै त्यसलाई मज्जाले मुछे। घरमा अलिकति चाकु थियो। मुछेको पिठोलाई सोलीजस्तो आकार दिएर उनीहरूले त्यसमा चाकु, तिल, नरिवल लगायत विभिन्न मसला हाले। त्यसलाई मःमजस्तै पकाए र ज्वाइँको अगाडि पेस गरे।
नौलो परिकार देखेपछि ज्वाइँले सोधे, 'यो के हो सासुआमा?'
'पहिला खानुस् अनि भन्नुस् त कस्तो छ,' सासुले भनिन्।
ज्वाइँले क्वाप्प मुखमा हाले र भने, 'मिठो रहेछ सासुआमा।'
'मनपर्यो नि?' सासुले सोधिन्।
'एकदमै मनपर्यो।'
'हो, तपाईंलाई मनपर्यो भने यसको नाम नै मनपर्ने रोटी हो,' उनले नेपाल भाषामा भनिन्, 'यःमरि।'
यो छोटो कथा यही समाप्त हुन्छ।
अब म यःमरिको अर्को कथा भन्छु जुन योभन्दा अलिकति लामो छ।
दोस्रो कथा
धेरै पहिला 'पाञ्चाल देश' भन्ने एउटा ठाउँ थियो जसलाई अहिले पनौती भनिन्छ। त्यो ठाउँको एउटा कथा मैले पहिलो श्रृंखलामा पनि भनेको थिएँ। त्यसलाई छोटकरीमा फेरि भन्नुपर्दा महासत्व नाम गरेका एक जना राजकुमारले जंगलमा भोकाएका बघिनी र डमरूहरू देखेपछि आफ्नै शरीरको मासु खुवाउँछन्।
उनै राजकुमार महासत्वका कंकाल र लुगाहरू पुरेर त्यो स्थानमा एउटा चैत्य निर्माण गरिन्छ जसलाई 'नमोबुद्ध' भनिन्छ। 'पाञ्चाल देश' अर्थात् पनौतीमै महासत्वको जन्म भएको मान्दै प्रत्येक वर्ष भाद्रकृष्ण त्रयोदशीका दिन यहाँ नमोबुद्धको जात्रा लाग्छ।
महासत्व दया, करूणा, त्याग र बलिदानका प्रतीक हुन्। उनलाई गौतम बुद्धको पूर्वजन्म पनि मानिन्छ।
यो त भयो पुरानो कथाको सारांश। अब भन्न लागेको कथाले चाहिँ यी राजकुमार महासत्व मात्र होइन, यहाँका जनता पनि कति दयालु थिए भन्ने झल्काउँछ।
पाञ्चाल देशमा एक जना सुचन्द्र नाम गरेका महाजन थिए। उनी एकदमै धर्मात्मा थिए। उनकी श्रीमती पनि दयालु र लक्षणकी थिइन्।
धन र सम्पत्तिले पूर्ण यी दम्पती सुखपूर्वक आफ्नो जीवन गुजारा गरिरहेका थिए। उनीहरूलाई एउटै कुराको अभाव खट्कन्थ्यो। त्यो हो, सन्तान सुख। उनीहरूको कुनै सन्तान थिएन।
सुचन्द्र र उनकी पत्नी भगवान विष्णुका भक्त थिए। एकपटक मार्गशुक्ल पूर्णिमाको दिन सुचन्द्र दम्पतीले सरसफाइको काम सकेर शुद्ध तरिकाले यःमरि पकाउन लागे। त्यही बेला भगवान कुबेरलाई उनीहरूको परिक्षा लिन मन लागेछ।
कुबेरले सुचन्द्र दम्पतीको धेरै गुणगान सुनेका थिए। त्यही भएर उनीहरू कत्तिको दयालु रहेछन् भनेर कुबेरलाई जाँच्न मन लागेछ।
उनी भेष बदलेर गरिब ब्राह्मणको रूपमा सुचन्द्र दम्पतीका घर आए र भिक्षा माग्न थाले।
झ्यालबाट सुचन्द्रकी श्रीमतीले हेरिन्। एउटा गरिब बूढो ब्राह्मण पिँढीमा बसेर भिक्षा माग्दै गरेको देखेर उनलाई माया जायो। उनले ती ब्राह्मण रूपधारी कुबेरलाई आफ्नो घरभित्रै बोलाइन्।
ती ब्राह्मणले शरीरमा पुरानो झुत्रो लुगा लगाएका थिए। सुचन्द्रकी पत्नीले उनलाई नयाँ कपडा फेरिदिए।
विष्णुका भक्त यी दम्पतीले सोचे, 'यसै पनि ब्राह्मणको हृदयमा भगवान विष्णुको बास हुन्छ। त्यसमाथि अतिथि भनेका साक्षात् भगवान नै हुन्।'
उनीहरूले अन्त ठाउँ जान हतारिएका ब्राह्मणलाई एकछिन आफ्नै घरमा बस्न अनुरोध गर्दै भने, 'एकछिन पर्खनुस् न। हामीले भर्खरै तातोतातो यःमरि पकाएका छौं। त्यसलाई चाखेर जानुस्।'
यति भनेर सुचन्द्रकी पत्नी भित्र पसिन् र बफाइरहेको यःमरि लिएर आइन्।
श्रद्धापूर्वक आफूलाई भोजन गराएकाले ब्राह्मणको भेषमा आएका कुबेर प्रसन्न भए। उनी आफ्नो असली रूपमा फर्किए।
साक्षात् भगवान कुबेरको दर्शन पाएर सुचन्द्र दम्पतीको खुसीको सीमा रहेन।
कुबेरले आफ्नो परिचय दिइसकेपछि धानको भकारीमा लक्ष्मी, कुमार, गणेश र आफ्नै प्रतिरूप राखी यःमरिका साथ विधिपूर्वक पूजा गर्न भने। उनले आफूसँग ल्याएको बिमिरो पनि उनीहरूका हातमा थमाइदिए र भने, 'यसलाई ढुकुटीमा चार दिन राख्नू।'
त्यसपछि कुबेर अन्तर्ध्यान भए।
सुचन्द्र दम्पतीले चार दिनपछि ढुकुटी हेर्दा त्यो बिमिरो सुनमा परिणत भइसकेको थियो। त्यसपछि ती महाजन दम्पतीले पहिलेभन्दा धेरै दानधर्म गर्न थाले।
कुबेर उनीहरूको घर आएको दिन मंसिर शुक्ल पूर्णिमा थियो। उनीहरूको यो कथा अरूले थाहा पाएपछि हरेक वर्ष मंसिर शुक्ल पूर्णिमाको दिन घरघरमा यःमरि पकाउने चलन सुरू भयो।
यो कथामा उल्लिखित पात्र सुचन्द्र महाजनको प्रसंग लिच्छविकालीन ग्रन्थमा पाइन्छ। अंशुवर्मा पालाको बौद्ध ग्रन्थ 'रत्नबदाने बुद्ध वचन' मा पनौतीमा सुचन्द्र महाजन दम्पती बसोबास गर्छन् भनेर लेखिएको छ।
...
यी दुवै कथाको घटनाक्रम फरक भए पनि दुवैमा पनौतीको नाम आउँछ। त्यही भएर य:मरिको सुरूआत पनौतीबाटै भएको हो भन्ने विश्वास गरिन्छ।
तर के यत्तिको भरमा यःमरिलाई पनौतीसँग जोड्न मिल्ला र?
मेरो यो प्रश्नमा स्थानीय पूर्णभक्त कोङ्गाले भने, 'किन नमिल्नु? हाम्रोजस्तो कथा अरू ठाउँमा अहिलेसम्म छैन। त्यसैले यःमरि पनौतीबाटै उत्पत्ति भएको हो। पहिलाका मान्छेले त्यसै कथा भनेका हुँदैनन्। त्यसमा कतै न कतै वास्तविकता लुकेको हुन्छ।'
पनौतीसँग यःमरि जोडिनुको कारण किम्बदन्तीमा मात्र सीमित छैन। वैज्ञानिक हिसाबले पनि पनौती र य:मरि एकअर्कासँग जोडिने संस्कृतिविद् ओम धौभडेल बताउँछन्।
'रोशी खोला र पुण्यमतीको बीचमा बसेको पनौतीको हावापानी राम्रो छ। त्यहाँको धानको चामल पनि एकदमै मिठो हुन्छ,' उनले भने, 'पहिले त काठमाडौंका राजाले समेत पनौतीको अन्न खाने गरेका थिए।'
यःमरि उत्पत्तिको कथापछि तपाईंहरूलाई म यःमरि पकाउने परम्परागत तरिका भन्छु है।
हिजोआज यःमरि मःम पकाउने भाँडामा पकाइन्छ। तर परम्परागत तरिका यो होइन।
केही वर्षअघि यःमरि पुन्हि नजिकिरहेको बेला हामीले पाटनस्थित 'रैथाने खाजाघर' मा परम्परागत शैलीमा यःमरि पकाएका थियौं। काठमाडौं नरदेवीकी शोभिता महर्जनले हामीलाई यःमरि बनाएर देखाएकी थिइन्।
उनले आफूसँग तीनवटा भाँडा ल्याएकी थिइन्– फोसी (कसौंडी आकारको तामाको भाँडा), पटासी (स–साना प्वाल भएको माटाको भाँडा) र भेगाः (माटाको छोप्ने भाँडा)।
रैथाने बाहिर चुह्लो बनाई यःमरि पकाउने कार्यक्रम सुरू भयो।
यःमरि चामलको पिठोबाट बन्छ। पानीमा पिठो मुछेपछि लाम्चो कागतीजस्तै चुच्चो परेको आकारमा ढालिन्छ। त्यसको मुख बन्द गर्नुअघि भित्र स्वादअनुसार तताएको चाकु, खुवा हाल्न सकिन्छ र आकार दिएर बन्द गरिन्छ। पूर्वतिर थारूहरूले बगिया भनेर आलु, दाल लगायत खानेकुरा यःमरिजस्तै आकारमा पकाउँछन्।
यसरी यःमरि भरेर आकार दिएपछि अब पाक्न तयार हुन्छ।
यसको आकार किन यस्तो हुन्छ भन्ने पनि कारण छ, कोङ्गाले भने, 'मंसिरमा नयाँ धान आउँछ। चामलको पिठो पिनेर ल्याएर त्यसबाट बनेको पहिलो खानेकुरा भगवानलाई चढाउनुपर्छ। जुन आकारमा भगवानलाई यःमरि चढाइन्छ, त्यो धानको थुप्रोजस्तै देखियोस् भनेर यस्तो आकार बनाइएको हो। यो भनेको सृष्टिकर्तालाई धन्यवाद र सम्मान दर्शाउने माध्यम पनि हो।'
यःमरि पकाउन सबभन्दा पहिले फोसीमा पानी राख्नुपर्छ। फोसीमाथि पटासी अनि पटासीमा पराल। त्यसमाथि यःमरि। यसलाई माथिबाट भेगाःले छोप्नुपर्छ।
करिब २० मिनेटपछि यःमरि पाक्छ।
शोभिताका अनुसार यःमरि पुन्हि दिन र रातको लम्बाइसँग पनि जोडिएको छ। यःमरि बनाउने रात वर्षकै लामो रात हो।
'यःमरि बनाउँदा दिइने आकारले पनि रातको संकेत गर्छ। यसको माथिल्लो चुच्चो जति लामो भयो त्यति नै रात लम्बिन्छ भन्ने विश्वास छ,' शोभिताले भनिन्, 'धानबाट चामल कुट्ने, त्यसलाई पिनेर पिठो बनाउने अनि यःमरि पकाएर खाएको रात कति लामो थियो होला सोच्नुस् त!'
त्यही भएर नेवार समुदायमा एउटा भनाइ छ– जेष्ठ शुक्ल पूर्णिमा (वर्षको लामो दिन) मा काम गरेर नपुग्ने र मंसिर शुक्ल पूर्णिमाको अघिल्लो रात सुतेर पनि नपुग्ने मान्छे जिन्दगीमा कहिल्यै सुखी हुँदैन।
यःमरि पुन्हिपछि चिसो पनि बढ्छ। यःमरि खाएपछि बाँकी तीन महिनाको ठन्डीमा न्यानो अनुभव हुने विश्वास गरिन्छ। यःमरिले शरीरलाई न्यानोपना दिन्छ। यसभित्र रहेको चाकु र तिलले शरीरको तापक्रप सन्तुलित बनाइराख्न सहयोग पुर्याउँछ। पौष्टिक तत्वले भरिपूर्ण, स्वस्थकर, चिल्लोरहित र चपाउन निकै सजिलो यो परिकार जुनसुकै उमेर समूहले सजिलै खान सक्छन्।
त्यस्तै राति पकाएको यःमरिले ठन्डी कति छ भन्ने संकेत पनि दिन्छ। राति पकाइएको यःमरि बिहानसम्म जति फुट्छ, त्यसकै आधारमा जाडो नाप्ने चलन छ।
काठमाडौं उपत्यकाको जनजीवनमा यःमरिको ठूलो भूमिका रहेको लेखक सूर्यप्रसाद लाकाजू बताउँछन्।
उनका अनुसार दुई वर्षदेखि १२ वर्षसम्मका बालबालिकाको जोर जन्मदिन (२, ४, ६, ८, १०, १२) मा यःमरिको माला गलामा पहिर्याएर खुसियाली मनाउने चलन छ।
'उमेर बढ्दै जाँदा चाकुसहितको यःमरि भारी हुन्छ। माला गाँस्दा फुट्छ पनि। त्यसैले खाली पिठोको डल्लालाई यःमरी आकार दिएर माला लगाइन्छ,' उनले भने, '१२ वर्ष नाघेपछि भने जन्मदिनमा यःमरिको माला लगाइदिने चलन छैन।'
त्यस्तै, अन्य सांस्कृतिक गतिविधिमा पनि यःमरिको विशेष महत्व छ। गर्भवती महिलालाई बच्चा जन्माउनुअघि माइतीबाट यःमरिसहित विभिन्न परिकारको भोज खुवाइन्छ। नेवार समुदायमा पाका उमेरका मान्छेको जङ्क्व (भीमरथारोहण) गर्दा यःमरि चाहिन्छ। उपत्यकामा मनाइने रातो मच्छिन्द्रनाथ र सेतो मच्छिन्द्रनाथको रथ तान्नुअघि यःमरि छर्ने चलन पनि रहेको लाकाजू बताउँछन्।
विवाह गरेकी छोरीले तिहारमा कोसेलीको भारी पठायो भने माइती पक्षले पनि छोरीलाई भारी पठाउनुपर्ने नियम रहेको पूर्णभक्त कोङ्गा बताउँछन्। 'छोरीलाई एक सय आठवटा यःमरि बनाएर भारी पठाउनुपर्छ। यःमरि पुन्हिमा छोरीहरू आएनन् भने पनि उनीहरूको निम्ति भाग पठाउने चलन छ,' उनले भने।
उपत्यकाभरि मंसिर शुक्ल पूर्णिमामा मनाइने भए पनि भक्तपुरमा भने दुई महिनाअघि नै यःमरि पकाउने परम्परा छ। संस्कृतिविद् धौभडेलका अनुसार कात्तिक शुक्ल पूर्णिमामा 'कट्ही पुन्हि' भनेर एक मुरी चामलको पिठोको दुइटा ठूला यःमरि बनाइन्छ। यी यःमरिलाई आमा र बुबाको प्रतीकका रूपमा 'मायः र बायः' भनिन्छ।
'त्यो यःमरिभित्र माटोको घैंटो राखिन्छ। रञ्जितकार समूहले घैंटामा रातो, निलो, पहेँलो लगायत रङ राख्छन्। गोलमाडीको एक चैत्यमा य:मरि प्रदर्शन गरिन्छ,' धौभडेलले भने, 'त्यति बेला यःमरि भन्न नआएर स्थानीयले 'गोःमारी' भन्दा टोलकै नाम गोःमारी भएछ। पछि नाम अपभ्रंश हुँदै गोलमाडी भएको हो।'
त्यहाँको चैत्यमा य:मरि राखेपछि भजनकीर्तन सुरू हुन्छ। अनि त्यही यःमरि लुछाचुँडी हुन्छ।
'लुछाचुँडी हुँदा घैंटोभित्रको रङ सबैलाई लाग्छ,' उनले भने, 'सबैले ताली बजाउँछन्।'
यसैगरी यःमरि पुन्हिमा पनि मायः र बायःको प्रतीक बनाइन्छ। पनौतीमा पनि यस्तो प्रतीक बनाउने चलन छ। यिनलाई ढुकुटीमा राखिन्छ। ती दुइटा यःमरि पूरै एक मुरीको त हुँदैन तर खाने यःमरिभन्दा केही ठूलो वा फरक आकारको हुन्छ। त्योसँगै पिठोको कुबेर, लक्ष्मी, ख्याक, सिँचा, व्याञ्चा लगायत बनाएर पूजा गरिन्छ।
'ढुकुटीमा राखेर पूजा गर्यो भने अथाह सम्पत्ति बढ्ने विश्वास छ,' धौभडेलले भने।
यःमरिसँग जोडिएका धेरै गीतहरू पनि छन्। समय र ठाउँअनुसार यी गीत परिमार्जित हुँदै आएका छन्। पनौतीको गीत भने यसप्रकार छः
'यःमरि चुई चुई, छुचुँ मरि आईं,
ब्युसाः ल्यासे मब्युसा बुरिकुति'
यो गीतमा भएको शब्द 'ब्युसाः ल्यासे मब्युसा बुरिकुति' ले भन्छ– य:मरि दियो भने तरूनी, नत्र बूढी।
नेवार समुदायमा यी गीतले प्रेमको सुरूआत पनि हुने धौभडेल बताउँछन्।
'एक अपरिचित युवक यःमरि माग्न जान्छ। त्यो बेला युवतीसँग चिनजान हुन्छ। पछि फागुसँग पनि यो प्रसंग जोडिन्छ। त्यही लम्बिँदै विजया दशमीमा कसैको विवाह पनि हुन्छ,' उनले भने।
यःमरि पुन्हिमा देउसी-भैलीमा जस्तै घरघरमा यःमरि माग्दै हिँड्ने पुरानो चलन हो जुन अहिले हराउँदै गएको छ।
यसरी गीत गाउँदै यःमरि माग्दा कसैको प्रेम भएर विवाह भएको त यहाँका स्थानीय कोङ्गालाई याद छैन। तर साना केटाकेटीलाई झ्यालबाट यःमरि तल खसालिदिएको भने उनी अझै सम्झन्छन्।
'पहिला पहिला साँझसम्म पनि केटाकेटी यःमरि माग्दै हिँड्थे, हामी उनीहरूलाई झ्यालबाटै दिन्थ्यौं। उनीहरू गन्जीमा थापेर लग्थे,' उनले भने।
पनौतीमा पकाएको यःमरि पहिला यहाँको खोलालाई चढाउने चलन छ। त्यसपछि ढुकुटीमा आफ्नो परिवारलाई चाहिने यःमरि राखेर पूजा गरिन्छ र भोज खाइन्छ।
पनौतीमा यःमरि पुन्हिकै दिन क्वाठ गणेशको पनि जात्रा लाग्छ। यी गणेश दक्षा/दिक्पाल टोलमा बस्छन् जसलाई आजु टोल पनि भनिन्छ। यस दिन खटमा भगवानको यात्रासँगै राँगाको भोग दिएर देशबासीलाई भोज खुवाइन्छ।
'क्वाठ' शब्द संस्कृतको 'कोट' बाट आएको हो जसको अर्थ किल्ला वा सरक्षित ठाउँ हो। राज्यको सुरक्षा गर्न ठाउँठाउँमा क्वाठहरू बनाइएको हुन्छ।
त्यसैअनुसार यी गणेशले पनि नगरको सुरक्षा गर्ने स्थानीयहरू विश्वास गर्छन्।
पनौती कथा शृंखलाको अर्को अंकमा हामी नौ बाजा बजाउने मान्छेबारे चर्चा गर्नछौं। उनी बितेपछि पनौतीमा यो बाजा बज्नै छाडेको छ।
(पनौती कथा शृंखलाको सातौं अंक सोमबार प्रकाशन हुनेछ।)