जब जब धनगढी-राजघाट जोड्ने मोहना नदीमाथि बन्न लागेको पुल देख्छिन् कञ्चनपुरको रैकवार बस्ने बिनादेवीको मन पोल्न थाल्छ। ५ वर्षअघि छोरी उनले छोरी गुमाएकी थिइन्।
छोरीलाई व्यथाले च्यापेपछि मोहनापारि धनगढीका अस्पतालमा लैजान राति ११ बजेतिर हतारिँदै उनी मोहना किनारमा पुगेकी थिइन्।
‘राति डुंगा चलाउने मान्छे पाइएन, पुल थिएन, अस्पताल पुग्न सकेनौं,’ उनले भनिन्।
रातभरि छटपटाउँदै बितेपछि भोलिपल्ट डुंगामा छोरीलाई अस्पताल ल्याउन सकिएको उनले बताइन्।
‘बिहान अस्पताल पुगे पनि ढिला भैसकेको थियो, मेरी एउटै छोरीको ज्यान गयो,’ उनले भनिन्। बोल्दा-बोल्दै उनका आँसु थामिएनन्।
मोहना नदीमा पुल बनेको भए छोरीलाई छिट्टै अस्पताल पुर्याउन पाइन्थ्यो अनि ऊ बाँच्थी भन्ने उनलाई लागिरहन्छ।
‘पुल नबनेर समस्या सबैलाई छ। मैले त वारिबाट पारी अस्पताल देख्दा-देख्दै बिमारले च्याप्दै लगेकी छोरी गुमाउनु परेको थियो। ५ वर्षपछि पनि पुल बनिसकेको छैन,’ उनले भनिन्, 'त्यो पुल बनेको भए छोरी जान्नथी भन्ने सोच्दा मन थाम्न सक्दिनँ म।'
स्थानीयहरूका अनुसार कञ्चनपुरका ३ सय बढी विद्यार्थी धनगढी पढ्छन्। यस्तै २ सय बढी मान्छे दूध बेच्छन्। कति त काम गर्न वारपार गर्छन्। धनगढीबाट कन्चनपुर र कन्चनपुरबाट धनगढी काम गर्न आउने जानेहरूको संख्या पनि उल्लेख्य छ।
यसै वर्ष भदौ ११ गते धनगढी–३ का पुरन राना दाजुसँगै पेन्टिङको काम गर्न मोहनापारि कञ्चनपुर गएका थिए।
दिउँसो उनी जानेबेला मोहनामा बाढी थिएन।
वर्षौंदेखि निर्माणाधीन अवस्थामा रहेको राजघाटको पक्की पुलबाटै उनी गएका थिए। यो पुल बनिसकेको त थिएन तर मान्छेहरू भने यसको बार नाघेर वारपार गर्न सक्थे।
कृष्णपुर नगरपालिकाको चपरतल्लामा दिनभरि काम गरेर बेलुका घर फर्कंदा उनी दाजुभन्दा अघि हिँडे। पानी परिरहेकोले मोहना नदीमा बहाव बढेको थियो। केही माथितिर नदीको फलामका डण्डीले बनाइएको अस्थायी पुल बाढीले बगाइदिएको थियो।
उनी पक्की पुलको बाटो आउन खोज्दा सडक पनि भत्केको थियो। उनले नदी पार गर्न खोजे। उनको एउटा हात थिएन। नदी तर्ने क्रममा उनी बगे।
पछि आएका दाजुले उनलाई बगेको देखेर खोलामा हाम फाले। तर भेटाउन सकेनन्। उनी बगेर बेपत्ता भएको केही दिनसम्म प्रहरीले पनि खाजी गर्यो। उनी नभेटिएपछि परिवारले दाह संस्कार गरिसकेको छ।
‘उनको आत्माले खाना माग्न थाल्यो, अनि खाना दियौं, दाहसंस्कार गयौं, श्राद्ध पनि गरिसक्यौं,’ उनकी भाइ-बुहारी मीना रानाले भनिन्।
त्यस दिन पुल बनिसकेको भए सायद पुरन बाँच्थे कि भन्ने उनका परिवारलाई लागिरहन्छ।
‘पुल बनाउन बनाउने मान्छेले धेरै वर्षदेखि सकेको छैन, मैले बिहे गरी आउँदा पनि बन्दै थियो, अझै सकिएको छैन,’ मीनाले भनिन्।
उनको परिवारमा शोक परे पनि नदी तर्दा अरूले ज्यान गुमाउन नपरोस् भन्ने उनी चाहन्छिन्।
रैकवारकै रामदास चौधरीले बताए अनुसार यहाँ पुल बन्छ भन्न थालिएकै धेरै वर्ष भयो। पुन बनाउने काम थालेको पनि वर्षौं भयो।
पुल बनाउन भन्दै केही दिन मान्छेहरू आएर काम गरेजस्तो गर्छन् फेरि हराउँछन्।
‘ठेकेदारले कहिले मेसिन बिग्रियो भन्ने, सामान आएन भन्छ, यस्तै बहाना निकालेर समय बितायो,’ उनले भने,'सरकारले पनि ठेकेदारलाई छोडिदिएको छ। सरकारले नै मनपरि गर्न दिएपछि उसले किन बनाउँछ पुल?'
२०७१ साल असार ३१ गते सरकारले इलाइट एड्भेन्चर जेभीलाई धनगढी–राजघाट जोड्ने यो पुल बनाउने ठेक्का दिएको थियो।
३ वर्षभित्र निर्माण सक्ने गरी सडक डिभिजन कार्यालय महेन्द्रनगर र उक्त कम्पनीबीच ठेक्का सम्झौता भएको हो।
८ करोड ४२ लाख ९ सय ४६ रुपैयाँमा पुल बनाउने ठेक्का भएको थियो। तीन वर्षमा बनाउने भनेको पुल ७ वर्ष बित्दा पनि बनेको छैन।
पुल बनाउन ठेकेदारलाई सरकारले बर्सेनि म्याद थपिदिन्छ।
२०७४ असारमा बनिसक्नुपर्ने भए पनि सरकारले पटक–पटक म्याद थपेर पुससम्म बनाइसक्न भनेको र त्यो मिति पनि सकिएको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ।
सुरूमा ‘डिजाइन रिभ्यू’ गर्दा डेढ वर्ष बितेकाले काम समयमा हुन सकेन भनेर म्याद थपिएको थियो। रिभ्यू नै ढिलो भए पछि सबै काम ढिलो भयो भन्ने कारण देखाएर दोस्रो र तेस्रो पनि म्याद थपियो।
पुल किन समयमै बन्न सकेन भन्नेमा ठेकेदार कम्पनी र सरकारी कार्यालयले एकअर्कालाई नै दोष देखाउँछन्।
सडक डिभिजन कार्यालयले गत वर्षसम्म काम नसकिए ठेकेदारलाई कानुनबमोजिम कारबाही गर्ने भनेको थियो।
'न पुल बनाएर सकिएको छ न ठेकेदारलाई कारबाही भएको छ,' चौधरीले भने, 'दुवै मिलेर काम नगर्ने कसम खाएका छन् जस्तो छ।'
ठेक्का लिने कम्पनीले भने सरकारले विल पेश गरेअनुसार पैसा समयमै नदिएकाले पुल समयमा नबनेको बताउँछ।
पुलको ९१ प्रतिशत काम सकिएको इलाइट एड्भेन्चर जेभीको दाबी छ। कम्पनीका पूर्वइन्जिनियर दिनेश बटालाले कोरोना महामारीले काम रोकिएकोले पुल निर्धारित मितिमा बनिनसकेको दाबी गरे।
सडक डिभजन कार्यालय महेन्द्रनगरका साइट इन्जिनियर गणेश बुढाले अहिले पनि पुलको निर्माण जारी रहेको बताए।
‘पुलसँग जोडिएको सडक बनाउन बाँकी छ। ठेकेदारले बनाएको सडक अनुगमन गरेपछि हामीले साँघुरो भएको भन्दै फराकिलो बनाउन भनेका छौं,’ उनले भने।
निर्माण कम्पनीले मापदण्डविपरीत पुल जोड्ने सडक बनाएपछि स्थानीय निकाय र सडक डिभिजनले ठेकेदारलाई सचेत पारेका थिए।
‘हामीले पनि चौडाइ तोकिएअनुसार हुनुपर्ने भनेको टेरेको थिएन, अहिले अलिकति माटो हालेको होला,’ बुढाले भने।
अहिले सडक डिभिजनको अनुगमनपछि यसैमाथि माटो थपेर निर्माण कम्पनीले सडकको चौडाइ ११ मिटर पुर्याउने प्रयास गरिरहेको छ।
ठेक्का सम्झौता भएका यी सात वर्षमा पुल बनेन तर नदीले भने आफ्नो बग्ने बाटो फेरेको छ।
त्यसबेलाको नदीको धार हेरेर बनाइएको डिजाइन अहिले हेर्दा अर्कै देखिन्छ। अहिले खोला पुल बीचबाट बग्दैन पुलको एउटा कुनातिरमात्रै बग्छ।
नदीको बहावले पुल जोड्न बनाइएको सडकलाई असर गर्ने खतरा समेत देखिन्छ।
सडक डिभिजन कार्यालयले पनि यस्तो खतरा देखेपछि पुलको सुरक्षाका लागि एक करोड बराबरको गेभिन वाल लगाउने तयारी गरेको छ।
यो वालले पुल जोड्न सडकलाई भत्काउन बाट बचाउन पानीको बहाव पुलमुनि फर्काउने इन्जिनियर बुढाले बताए।