भुटानको गेलेपुमा आयोजित फुटबल प्रतियोगितामा भाग लिन जाँदा पशुपति खनाल र जयनारायण हुमागाईंले मित लगाएका थिए।
त्यसयता उनीहरूको मित्रता अटुट छ - चाहे त्यो देशबाट निकाला हुँदा होस् वा तेस्रो देश पुनर्वास क्रममा अमेरिका पुग्दा।
खनाल अहिले ७३ वर्षका भए। उनी अमेरिकाको पेन्सिलभेनिया बस्छन्। ७० वर्ष लागेका हुमागाईं भने मिनिसोटा बस्छन्। एकअर्कासँग भेट्नुपरे गाडीमा १२ घन्टा र हवाईजहाजमा डेढ घन्टा यात्रा गर्नुपर्छ।
तर दुरी लामो भए पनि उनीहरू पाँच-छ महिनाको एकचोटि भेटघाट गर्छन् र सँगै बसेर फुटबल हेर्छन्।
नेपालमा शरणार्थी जीवन बिताउँदा पनि उनीहरूको दोस्ती यस्तै थियो।
हुमागाईं झापाको बेलडाँगी शिविरमा बस्थे भने खनाल गोलढाप शिविरमा। छुट्टाछुट्टै बसे पनि भेटघाट र हिँडडुल एउटै शिविरमा बस्नेहरूको भन्दा बढी थियो।
उनीहरूको त्यो बेलादेखिको फुटबल मोह अहिले छोराहरूमा सल्किएको छ।
भुटानी शरणार्थीका रूपमा अमेरिका पुनर्वासमा पुगेका हुमागाईंका छोरा शिव अहिले 'भुटानिज युथ स्पोर्ट्स क्लब' गठन गरेर त्यसको अध्यक्ष बनेका छन् भने खनालका छोरी-ज्वाइँ गोविन्द ढुंगाना क्लबका सल्लाहकार छन्।
उनीहरू क्लबलाई चाहिने रकम जुटाउनेदेखि फुटबल टिम बनाएर विभिन्न प्रतियोगितामा पठाउने काम गर्छन्। त्यही क्रममा पोखराको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा भाग लिन उनीहरूको टिम पोखरा आइपुगेको छ।
क्लबका अध्यक्ष ३१ वर्षीय शिव फुटबल खेल्दैनन्। तर उनको फुटबलप्रति लगाव यति धेरै छ, थला परेका वृद्ध बुवालाई अस्पताल भर्ना गरेर भए पनि उनी आफ्नो क्लबलाई आहा रारा गोल्डकपमा सहभागी गराउन नेपाल आए।
शिव नेपालमै हुँदा फुटबलका फ्यान थिए। वर्ल्डकप फुटबल हुँदा साथी-समूहमा टिभी हेर्ने गर्थे, उनले भने 'नेपालमा फुटबलको फेस्टिभल नै छ नि, यहीँबाट फुटबलको फ्यान भएर अमेरिका पुगेको थिएँ।'
शिव सन् २००९ मा अमेरिका गएका थिए। एसइई दिएर रिजल्ट नआउँदै १८ वर्ष उमेरमा अमेरिका पुगेका उनले २१ वर्ष उमेरसम्म नि:शुल्क पढ्न पाए।
अमेरिकाको स्कुलमा उनी फुटबल, ब्याडमिन्टन लगायत खेल हेर्थे। नेपाली युवाहरू फुटबलमा झुमेको देखेर उनी चकित भए। अझ आफूजस्तै भुटानी शरणार्थीका रूपमा अमेरिका पुगेका किशोरहरूको खेल देखेर फुरूंगै परे।
स्कुलमा मात्र होइन, बस्तीनजिकै खेल मैदान थियो। त्यहाँ पनि नेपालीभाषीहरू फुटबल र भलिबलमा झुमेका हुन्थे। सामुदायिक मैदानमा फुटबल खेल्ने शरणार्थी युवाहरूलाई बटुलेर शिवले क्लब जन्माए र नाम दिए– 'भुटानिज युथ स्पोर्ट्स क्लब।'
उनले नजिकैको सरकारी अड्डामा आफ्नो क्लब दर्ता गरे। अमेरिकाभरि २० वटाभन्दा बढी नेपाली फुटबल क्लब दर्ता रहेको उनले बताए।
भुटानिज युथ स्पोर्टस् क्लबले सन् २०१३ देखि विभिन्न प्रतियोगितामा भाग लिन थाल्यो। अमेरिकामा बर्सेनि अन्तरराज्य प्रतियोगिताहरू हुन्छन्। खेल्न पाएका प्रतियोगितामा उनीहरू सहभागी हुन्छन्। तर क्लब जन्माएर फुटबललाई अघि बढाउन उनीहरूसँग पर्याप्त पैसा थिएन। खेल मैदानदेखि खेलाडीलाई जर्सी र बुट किन्न र प्रतियोगितामा भाग लिन उनीहरूले खर्च जुटाउनुपर्थ्यो।
'हामीले अमेरिकामा रहेका भुटानी र नेपालीहरूसँग ५, १०, २० डलर माग्न थाल्यौं, धेरैले हामीलाई सहयोग गर्नुभएको थियो,' शिवले भने, 'तिहारमा देउसी-भैलो खेलेर पनि क्लबलाई चाहिने सहयोग जुटाउँछौं।'
यसरी चन्दा उठाएर नपुगेको रकम शिव आफैं हाल्छन्। क्लबको वार्षिक खर्च ३ लाख डलर छ। हरेक साता दुई दिन चल्ने मेक्सिकन लिग फुटबलमा भाग लिन दुई सय डलर तिर्नुपर्छ।
सुरूआतमा अमेरिकामा रहेका नेपाली फुटबल क्लबहरूसँग खेल्दै २०१६ देखि उनीहरू अमेरिकी क्लबसँग भिड्न थाले। क्यालिफोर्नियामा बर्सेनि हुने 'हिमालयन कप' फुटबल प्रतियोगिता उनीहरूले दुई वर्षयता लगातार जितेका छन्।
यो क्लबले वर्षको एउटा प्रतियोगिता आयोजना गर्ने निर्णय पनि गरेको छ। हरेक वर्ष जुन दोस्रो साता उनीहरूले प्रतियोगिता आयोजना गर्छन् जसमा प्रथम पुरस्कार १० हजार र दोस्रो पुरस्कार ७ हजार डलर छ। यसरी प्रतियोगिता आयोजना गरेको तीन वर्ष भइसकेको छ। यो वर्ष चौथो प्रतियोगिताको तयारी भइरहेको छ।
उनीहरूले क्लब गठन गर्ने बेला प्रतियोगितामा भाग लिने र पुरस्कार जित्ने उद्देश्य राखेका थिएनन्। आफैं प्रतियोगिता आयोजना गर्ने त सोच पनि थिएन। क्लब गठनको उद्देश्य भुटानबाट नेपाल हुँदै अमेरिका पुनर्वासमा गएका युवाहरूलाई गलत प्रवृत्तिमा लाग्नबाट रोक्नु थियो। युवाहरूलाई अनुशासन सिकाउनु थियो। स्वस्थ राख्नु थियो।
'हामी अर्को देश आएर बिग्रनु हुँदैन, लागुऔषध र मदिरामा फस्न हुँदैन भनेर खेलकुदमा लाग्ने सोच आएको थियो,' शिवले भने, 'खेल्दै जाँदा भोलिका दिनमा भाइहरूले ठूलै क्लबमा चान्स पाउँछन् कि!'
यति मात्र होइन, अमेरिका पुगेका सम्पूर्ण भुटानी शरणार्थी एकताबद्ध हुनुपर्नेमा पनि उनको जोड थियो। उनी खेलकुदका माध्यमबाट युवाहरूलाई एकताबद्ध बनाउन चाहन्थे।
यसरी गठन भएको भुटानिज युथ स्पोर्टस् क्लबले पोखरामा चाहिँ कस्तो प्रदर्शन गर्यो त?
पोखराको आहा रारा गोल्डकप फुटबलमा सशस्त्र प्रहरी बल (एपिएफ) सँग सिधै क्वाटरफाइनल खेलेको भुटानिज युथ क्लब पहिलो खेलमै हार्न पुग्यो। शिवका अनुसार उनको टिमका सात जना खेलाडी नेपाल आउनै पाएनन्। कहिल्यै नदेखेको र नचिनेका चार जना विदेशी खेलाडी ल्याउनुपरेको उनले बताए।
'कोभिडका कारण हामीले आफ्ना सात जना खेलाडी ल्याउन पाएनौं, चार जना विदेशी खेलाडीलाई भिडिओमा गेम हेरेका भरमा ल्याएका थियौं,' उनले भने, 'हाम्रो टिम सेटअप आउन पाएको भए जित्न सक्थ्यौं।'
नेपालमा प्रतियोगिता जित्ने मात्र आफ्नो उद्देश्य नभएको उनले बताए।
'नेपाली खेलाडीसँग फुटबलको अनुभव लिने र क्लबहरूसँग सम्बन्ध बनाउने उद्देश्यले हामी यहाँ आएका हौं,' उनले भने।
भुटानी शरणार्थीका रूपमा अमेरिका पुगेका शिव त्यहाँ अहिले घरजग्गा कारोबार, नेपाली कपडा पसल, टेस्ट अफ नेपाल नामक रेस्टुरेन्ट, नमस्ते ज्वेलरी लगायत व्यवसाय सञ्चालन गर्छन्। जीवन बिमा एजेन्टसमेत छन्।
यतिका व्यवसाय छाडेर फुटबल भनेपछि जहाँ जान पनि तयार हुने आफ्नो बानी रहेको उनले बताए।
'कसैलाई माउन्टेन क्लाइम्बिङ, कसैलाई पढ्ने, कसैलाई मुभी हेर्ने बानी हुन्छ नि,' उनले भने, 'म सकर (फुटबल) भनेपछि सबै काम छाडेर हिँड्न सक्छु।'
अमेरिकाबाट फुटबल खेल्न आएको उनको टोलीले आयोजक सहारा क्लबले चलाएको सहारा एकेडेमीलाई १ लाख ५१ हजार र केही थान फुटबल दिएको छ। उनीहरूले झापादेखि विभिन्न जिल्लाका दर्जन क्लबलाई फुटबल, बुट, जर्सी लगायत खेल सामग्री र आर्थिक सहायता पनि गरेका छन्।
भुटानदेखि नेपाल हुँदै अमेरिका यात्रा
सन् १९९२ मा भुटानबाट भागेर नेपाल आउँदा शिव जम्मा १५ महिनाका थिए। आमाबुवाले दिदी र उनलाई लिएर आएका थिए। अहिले ती सबै अमेरिकामा छन्।
नेपालको शरणार्थी शिविरमा झन्डै १७ वर्ष बिताउँदा भोगेका पीडा सम्झेर अहिले पनि उनीहरू भक्कानिन्छन्।
त्यति बेला उनीहरूलाई अरू कसैले खाना दिनुपर्थ्यो। नपाउँदा भोकै सुत्नुपर्थ्यो। शिविरका शरणार्थीलाई नेपाल सरकारले १५ दिनमा ५ किलो चामल दिन्थ्यो। कहिले बन्द, कहिले हड्ताल र आन्दोलनले समयमै चामल आउँथेन। सरकारी ढिलासुस्तीले पनि समयमै चामल नपाएको उनीहरू बताउँछन्।
सरकारले दिएको चामल पकाएर पानीसँग खाएको उनलाई अझै याद छ। पानी पर्दा र हावाहुरी चल्दा शिविर नै उडाउँथ्यो। फुटबल खेल्न नेपाल आएका बेला सबै टिमलाई झापा लगेर शिविर घुमेको शिवले बताए।
भुटानी शरणार्थी तेस्रो मुलुकमा पुनर्वास हुनुअघि नेपालका विभिन्न ठाउँमा सातवटा शरणार्थी शिविर थिए। अहिले बेलडाँगी र पथरीमा गरी दुईवटा शिविर छन्। यी दुई शिविरमा गरी अहिले पनि नेपालमा झन्डै ८ हजार शरणार्थी छन्।
तेस्रो देशमा पुनर्वास गएका शरणार्थी एक लाखभन्दा बढी थिए। अहिले उनीहरूको संख्या बढेर डेढ लाख पुगेको छ।
भुटानिज युथ स्पोर्ट्स क्लबका सल्लाहकार गोविन्द ढुंगानाले भुटानबाट भागेर नेपाल बस्दा र अमेरिका पुगेपछिको अनुभव विस्तृतमा सुनाए।
उनी भुटानबाट नेपाल आउँदा १५ वर्षका थिए। भुटानको चिरानमा उनीहरू नेपाली भाषामा पढ्थे। नेपाली पोसाक लगाएर हिँड्थे। एकदिन सरकारका मान्छे आएर नेपाली भाषाका किताब खोसेर जलाइदिए। भुटान सरकारले यो बर्बरता सन् १९९० देखि थालेको थियो।
भुटानी सरकारले नेपाली भाषा, भेषभुषा र संस्कृति छाडेर भुटानी भाषा, पोसाक र संस्कृति अंगाल्न आदेश दियो।
नेपालीभाषीले सरकारी उर्दी मानेनन्। उनीहरू सरकारी रवैयाविरूद्ध आन्दोलनमा ओर्लिन थाले।
यसअघिसम्म भुटानी र नेपालीभाषीबीच देखिने द्वन्द्व थिएन। भुटानीले नेपालीभाषीलाई होच्याउने व्यवहार भने गरिराखेको गोविन्द सम्झन्छन्। 'हामीलाई नेपालका मान्छे भनेर 'नेपोलिया' भन्थे,' उनले भने, 'सरकारले दबाउन थालेपछि आन्दोलन झन् झन् चर्कियो।'
नेपालीभाषीले आन्दोलन छेडेपछि भुटानी राजाले सैनिक शासन लागू गर्यो। नेपाली पोसाक लगाएका नेपालीभाषी देख्नेबित्तिकै सेनाले गोली हान्न थाल्यो। गोविन्दको घरनजिकै सडकको बीचमा १० वर्षका एक नेपालीभाषी बालकलाई सेनाले गोली हानेको उनले बताए।
त्यति बेला भुटानको सैनिक शासन नेपालमा माओवादी युद्धमा लगाइएको संकटकालभन्दा डरलाग्दो भएको गोविन्द बताउँछन्।
'त्यति बेला नेपालीभाषीको घरमा राति राति सेना आउँथ्यो, १५ वर्षमाथिका सबैलाई समातेर लैजान्थ्यो,' उनले भने, 'म, बुबा र दाजु साँझ परेपछि जंगलको ओढारमा गएर बास बस्थ्यौं।'
सेनाले बूढाबूढीलाई पनि लैजाने, कुट्ने, यातना दिने र आन्दोलनमा नलाग्ने कसम खुवाएर छाड्ने गरेको उनले बताए।
यत्तिकैमा सरकारले नेपालीभाषीलाई देश छाड्न आदेश दियो।
गोविन्दको परिवारका तीन दाजुभाइ, तीन दिदीबहिनी, आमा र बुबा गरी आठ जना थिए। सन् १९९१ को एउटा रात उनीहरूले देश छाड्ने निर्णय गरे।
त्यति बेला गोविन्द १५ वर्षका थिए। उनका कान्छी बहिनी जम्मा १५ महिनाकी। लगातार दुई दिन जंगलै जंगल हिँडेर भारतको सीमा आइपुगे। सीमाबाट ट्रकको पछाडि बसे। त्यही ट्रकले उनीहरूलाई झापाको माईधारमा छाडिदियो। उक्त ठाउँ माईखोलाको बगरमा थियो। बगरमा भुटानबाट उनीहरूभन्दा अगाडि पनि केही परिवार आइसकेका रहेछन्।
भुटानको पहाडबाट चैतमास नेपालको तराई आइपुग्दा खपिनसक्नु गर्मी थियो। उनीहरूका लागि त्यहाँ बस्ने ठाउँ थिएन। जाने कुनै गन्तव्य थिएन। देश छाडेर आएकाले उनीहरू नेपालमा शरणार्थी बनेका थिए।
माईखोलाको बगरमा उनीहरूले प्लास्टिक बारेर झुपडी बनाए। हावाहुरीले दिनहुँ झुपडी उडाउँथ्यो। हावाको झोक्काबाट झुपडी बारेको प्लास्टिक समाउनै उनलाई हैरानी थियो। त्यसमाथि भुटानबाट भाग्दा ल्याएको खानेकुरा तीन दिनमै सकियो। उनीहरूले पैसाको जोहो गर्न थाले।
माईखोलामा नेपालीले पैसा चढाउँथे। गोविन्दका दाजु पुलमाथि बस्थे भने उनी बगरमा बसेर अरूले चढाएको पैसा टिप्ने गर्थे।
बगरमा कहिलेकाहीँ लास जलाइन्थ्यो। लासमा चढाएको पैसा टिप्न गोविन्द पुगिहाल्थे। यसरी आठ जनाको परिवारको पेट पालिएको थियो।
माईधारमा छ महिना बसेपछि नेपाल सरकारले शिविरमा लगेर राख्यो। बगरबाट शिविर पुग्दा बल्ल गोविन्दले राहत पाए।
'शिविरमा गएर बस्न पाएपछि बल्ल बाँचिन्छ भनेर आशा जागेको थियो,' उनले भने, 'नत्र त्यति बेला कुनै दिन खान नपाएरै मर्छौंजस्तो लागेको थियो।'
शरणार्थी शिविरमा गोविन्दले १८ वर्ष बिताए। एकदिन उनले चिनेका एक जना भाइलाई भुटानी सीमानजिकै रहेको आफ्नो घर हेर्न मन लाग्यो। उनीहरू झापाबाट गाडीमा चार घन्टामै पुगिने सीमामा गए।
त्यही बेला भुटानी सेनाले उसलाई पक्राउ गर्यो। गोविन्दका अनुसार ती व्यक्ति अहिले पनि भुटानको जेलमा छन्।
'ती भाइ सन् २००० तिर घर हेरेर फर्कन्छु भनेर गएको थियो, समातेर जेलमा हाले,' उनले भने, 'उसका बुबाआमा अहिले क्यानडामा छ, उसलाई अझै छाडेको छैन।'
तीन दाजुभाइ र तीन दिदीबहिनीमा गोविन्द माइला हुन्। उनका आमाको माइती झापा नै हो। भुटानबाट भागेर झापा आएको तीन वर्षमै आमाको निधन भयो। त्यसपछि गोविन्दको परिवारमा बज्रपात सुरू भयो।
आमाको निधनपछि उनका बुबाले दोस्रो विवाह गरे। शिविरमा तीन छोरा र तीन छोरी छाडेर कान्छी श्रीमतीसँग शिविर बाहिर बस्न थाले। त्यति बेला गोविन्दकी कान्छी बहिनी तीन वर्षकी थिइन् भने कान्छो भाइ १० वर्षका थिए।
'भाइबहिनी मसिना थिए, हामी पनि सानै थियौं, परिवारको सबै जिम्मा हाम्रै हातमा आयो,' गहमा भरिएका आँशु पुछेर गोविन्दले भने, 'हामी चार जना कसले खान देला, कति बेला देला भनेर पर्खनुपर्थ्यो।'
त्यति बेला शिविरमा खुलेका स्कुल जाँदा कहिले ढिलो हुने त कहिले स्कुल नै नजाने गरेको उनले बताए। परिवारको अवस्था स्कुलका प्रिन्सिपलले बुझेकाले यसो गर्दा पनि कुनै सजाय भोग्नु नपरेको उनको भनाइ छ।
भुटानी शरणार्थीलाई नेपालबाट तेस्रो देशमा पुनर्वास गर्ने योजना सरकारले सुनायो। अमेरिका, बेलायत, अस्ट्रेलिया, क्यानडा लगायत युरोेपेली देशहरूमा शरणार्थी जान पाउने भए। गोविन्द दाजुभाइ र दिदीबहिनीसँगै सन् २००९ मा अमेरिका गए। झन्डै एक लाख शरणार्थी त्यति बेला अमेरिका पुगेका थिए।
अमेरिका पुगेपछि पनि गोविन्दको दु:ख कम भएन। विमानस्थलबाट उनीहरूलाई एउटा अपार्टमेन्टमा लगेर राखियो। खानेकुरा पनि राखिदिए। ती खानेकुरामा उनीहरू अभ्यस्त थिएनन्।
अपार्टमेन्टमा बसेको दुई दिनपछि अमेरिकी अधिकारीले 'वेलकम मनी' भनेर १२ सय डलर दियो। त्यसैबाट अपार्टमेन्टको एक महिनाको भाडा तिरेपछि हातमा दुई सय डलर बच्यो।
अपार्टमेन्टबाट पसल खोज्न जाँदा नेपाली अनुहारजस्ता लाग्ने मान्छेहरू भेटिए। बोल्नलाई उनीहरूले पछ्याए। तर उनीहरू नेपाली थिएनन्, मेक्सिकन थिए।
सरकारले उनीहरूलाई बस चढ्न नि:शुल्क पास दिएका थिए। महिनाभरि जति घुमे पनि बसमा पैसा लाग्दैन थियो। उनीहरू त्यही सुविधा उपभोग गर्दै घुमिरहे।
अमेरिकामा गाडी पुरिने गरी हिउँ पर्ने समय थियो त्यो। बाक्लो कपडा अमेरिकी अधिकारीले नै दिएका थिए। उनीहरू पैदल हिँड्दै काम खोज्न थाले। ४५ दिन यत्तिकै बित्यो, उनीहरूले केही काम पाएनन्।
गोविन्दले एउटा कम्पनीमा सामान मिलाउने काम पाए। काम गर्न थालेको ११ दिन भएको थियो। कम्पनीका एक अधिकारीले एउटा काम लगाउने, अर्कोले त्यो काम नगर अर्को गर भन्ने। दिनहुँ यस्तै भएपछि कुनै पनि काम पूरा भएन। उनलाई हैरानी भयो।
काम गर्न थालेको ११ दिनमै गोविन्दले जागिर छाडे।
त्यसपछि अमेरिका बसाइ निकै निरसिलो भएको उनले सम्झिए। 'त्यति बेला म डिप्रेसनमा पुगेथेँ,' उनले भने, 'मागेर खाने पनि छैन, गरेर खाने पनि छैन, नेपालमै भएको भए त तरकारी रोपौंला, केही गरौंला भन्ने त हुन्थ्यो।'
हिमपातको परवाह नगरी अर्को दिन गोविन्द बाहिर निस्किए। नजिकै ग्रोसरी स्टोरबाहिर बसेर टोलाए।
एक जना अमेरिकी नागरिक त्यही बाटो भएर ग्रोसरी आए। फर्केर आउँदा पनि गोविन्द त्यही ठाउँमा हिमपात सहेर बसेको देखे।
ती अमेरिकी नागरिकले गोविन्दलाई त्यसरी बस्दा चिसो लाग्ने भन्दै ख्याल गर्न सुझाए। गोविन्दका बारेमा बुझ्न खोजे।
उनले आफ्नो व्यथा बताए।
ती अमेरिकी नागरिक नजिकै बिजुलीको कार्यालयमा काम गर्ने रहेछन्। उनले त्यही कार्यालय लगेर काम दिए।
अमेरिका गएपछि सज्जन मान्छे भेटेको त्यो क्षण सम्झँदै गोविन्दले भने, 'अमेरिकामा यति मायालु मान्छे पनि रैछ, एकदम राम्रो व्यवहार पाएँ।'
गोविन्दले नेपाल बस्दै अंग्रेजी माध्यममा पढेका थिए। यसले उनलाई भाषाको समस्या हुन दिएन। कम्प्युटर पनि चलाउन जानेकाले थप सजिलो भयो।
संयोगवश त्यही कार्यालयमा उनका भेना काम खोज्न गएछन्। भेनाको अन्तर्वार्ता आफूले लिन पाएको गोविन्दले सुनाए।
तीन महिना बिजुली कार्यालयमा काम गरेपछि त्यही अमेरिकी अधिकारीले गोविन्दलाई काम खोज्न सिकाए। नजिकै अस्पतालमा एक जना नेपाली भाषा अंग्रेजीमा अनुवाद गर्ने मान्छे खोजेका रहेछन्। गोविन्दले अनुवाद गर्ने जागिर पाए।
भुटानी शरणार्थी धेरै भएकै कारण अस्पतालले अनुवादक खोजेका रहेछन्। अस्पताल जाने शरणार्थी सबैले अंग्रेजी बुझ्थेनन्। यही अस्पतालमा जागिर गर्दा गर्दै गोविन्दले घरजग्गा कारोबारमा लगानी गर्न थालेको बताए।
अमेरिकामा अहिले गोविन्द र शिवको व्यवसायले छलाङ मारेको छ। तर उनीहरू अहिले पनि आफूलाई नेपाली भन्न मन पराउँछन्।
'हामीलाई अमेरिकामा तिमीहरूको देश कुन हो भनेर सोध्छन्, हामी नेपाल भन्छौं,' गोविन्दले भने।
उनले अगाडि भने, 'मेरो हजुरबुबाले हाम्रो पुर्ख्यौली घर तेह्रथुमको कोयाखोला हो भन्नुहुन्थ्यो। आमाको माइती पनि झापा भएकाले मलाई सधैं आफू नेपाली नै हुँ भन्ने लाग्छ।'
नेपालमा शरणार्थी जीवन बिताएर अमेरिका पुगेका कतिपयका आफन्त अहिले पनि भुटानमै छन्। उनीहरूसँग सम्पर्क भइरहे पनि भेटघाटको अवसर पाएका छैनन्। अमेरिका पुगेपछि उनीहरूले त्यहीँको नागरिकता लिएका छन्। तर पनि भुटान सरकारले आफूहरूलाई पर्यटक भिसा नदिएको उनीहरू बताउँछन्।
गोविन्दले पनि अमेरिकाबाट भुटान घुम्न जान नौपटक प्रयास गरिसके। तर भुटानले भिसा दिएको छैन।
'आफू जन्मेको ठाउँ कस्तो रहेछ भनेर हेर्न त मन छ नि,' उनले भने, 'पासपोर्टमा जन्मस्थान भुटान र नेसनालिटी नेपाल लेखिएको छ, त्यही भएर हामीलाई भिसा नै दिँदैनन्।' अरू अमेरिकीलाई भने भुटानले सजिलै भिसा दिन्छ।
अमेरिका पुगेका भुटानी शरणार्थीले आफ्ना छोराछोरीलाई नेपाली भाषा र नेपालबारे जानकारी दिइराखेका छन्। उनीहरूले नेपालबाट नेपाली किताब लगेर पढाउने गरेको गोविन्द बताउँछन्। नेपालमा भन्दा अमेरिकामा उनीहरू एकजुट भएर बसेको उनको दाबी छ।
नेपालबाट तेस्रो देश पुनर्वासमा गएका भुटानी अब शरणार्थी होइनन्। उनीहरू जुन देश पुगे, त्यही देशका नागरिक बनिसकेका छन्। कोही बन्ने प्रक्रियामा छन्।
गोविन्द र शिव अमेरिकामा व्यवसाय गरेर कमाएको पैसा नेपालमा लगानी गर्न पाए हुन्थ्यो भन्ने चाहना राख्छन्।
गत वर्ष अमेरिकाबाट एउटा प्रतिनिधिमण्डल नेपाल आएर सरकारसँग माग राखे पनि सुनुवाइ नभएको उनीहरूको गुनासो छ। अमेरिकामा रहँदा धनी बाबुको घरमा बसेको नोकरजस्तो अनुभूति हुन थालेको गोविन्दले बताए।
'धनी बाबुको घरमा बसेको गरिब नोकर ठूलो कि गरिबै भए पनि आफ्नै झुपडीमा बसेको व्यक्ति ठूलो,' उनले भने, 'बाहिर हुँदा त्यस्तो अनुभूति आउँछ।'