गत बुधबार मोरङ, धनपालथान गाउँपालिकाको उखुबारीमा एउटा अप्रत्यासित घटना भयो।
उखु काट्ने क्रममा किसानले एउटा खाल्डो देखे। उनीहरूले तुरून्तै प्रहरीलाई खबर गरे।
प्रहरीले उक्त खाल्डोमा पुरिएको अवस्थामा एउटा शव फेला पार्यो। हत्या गरेर गाडिएको अवस्थामा फेला परेको उक्त शव कसको हो भन्ने पहिचान चाहिँ खुल्न सकेन।
घटनाले अर्को दिन बिहीबार नयाँ मोड लियो, जब त्यही खाल्डोभन्दा करिब ३० मिटर दुरीमा प्रहरीले अर्को खाल्डो फेला पार्यो र त्यहाँ पनि उसैगरी पुरिएको अवस्थामा अर्को शव भेटियो।
दोस्रो दिन भेटिएको शवको पहिचान तत्कालै खुल्यो। शवका साथमा रहेको कागजातका आधारमा प्रहरीले उनी राजेन्द्रकुमार श्रेष्ठ भएको पत्ता लगायो।
धरान उपमहानगर–३ घर भएका राजेन्द्र भक्तपुर बस्दै आएका थिए। पोस्टमार्टमपछि आफन्तले शुक्रबार नै उनको अन्त्येष्टि गरिसकेका छन्।
पहिलो दिन भेटिएको शवको पहिचान भने आइतबार मात्र खुलेको छ। उनी शम्भुकुमार चौधरी भएको प्रहरीले जनाएको छ। सप्तरीको शम्भुनाथ नगरपालिका–४ घर भएका शम्भु काठमाडौं बस्दै आएका थिए।
शम्भुको पहिचान खुलेपछि प्रहरीले यो घटनासँग जोडिएका केही गुत्थी सुल्झाएको छ भने केही गुत्थी अनुसन्धानकै क्रममा छ।
अहिलेसम्मको अनुसन्धानबाट प्रहरीले के थाहा पाएको छ भने, राजेन्द्र र शम्भु दुवै साथी थिए। सँगसँगै व्यवसायसमेत गर्दै आएका उनीहरू पुस ४ गतेसम्म परिवारको सम्पर्कमा थिए। त्यसपछि दुवै एकैचोटि सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।
यसबाहेक अर्को एउटा तथ्य प्रहरीले पत्ता लगाएको छ। त्यो हो, उनीहरू दुवै 'व्यवहार मिलाउन' भन्दै घरबाट हिँडेका थिए।
यसरी दुवैको शव एकैठाउँ उस्तै प्रकृतिको खाल्डोमा भेटिनु र दुवै जना पुस ४ देखि परिवारको सम्पर्कबाट टाढिनुले एकैदिन हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ।
परिवारसँग अन्तिमपटकको सम्पर्कमा उनीहरूले दिएको सूचना पनि मिलेको छ। दुवैले 'यता लफडा भयो, मिलाएर फर्किन्छु' भनेका थिए।
प्रहरीका अनुसार चौधरी काठमाडौंमा निर्माण व्यवसायमा संलग्न थिए। उनले काठमाडौं–१७ मा रहेको स्वस्तिक कान्तिपुर कन्स्ट्रक्सनमार्फत् ठेक्कापट्टा गर्दै आएका थिए। उनले काठमाडौंसहित पश्चिम दाङ, लुम्बिनी लगायत सहरमा ठेक्का लिएर निर्माणको काम गर्ने गरेको खुलेको छ।
श्रेष्ठ भने जग्गाको कारोबार गर्थे। उनी मंसिर २८ गते 'व्यवहार मिलाउने' भन्दै काठमाडौंबाट पूर्व आएको खुलेको छ। पूर्व आएको एक साता नबित्दै 'लफडा भयो, पछि कल गर्छु' भनेर उनले श्रीमतीलाई मेसेज पठाएका थिए।
चौधरीले चाहिँ पूर्व आएपछि पैसा चाहियो भन्दै परिवारसँग दुईपटक गरी २ लाख ८० हजार रूपैयाँ मगाएको उनकी पत्नी अम्बिका चौधरीले जानकारी दिइन्।
'पुस २ गते उहाँले पैसा चाहियो भन्नुभयो। मैले ८० हजार पठाइदिएँ। यसअघि पनि २ लाख पठाइसकेको थिएँ। पुस ४ गते अन्तिमपटक सम्पर्क भयो। व्यवहार मिलाएर फर्किन्छु भन्नुभएको थियो,' उनले भनिन्।
उनीहरू दुवैको सिमकार्ड पुस २८ सम्म चालू रहेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए।
'लेनदेनमा कुरा नमिलेपछि दुवैको हत्या भएको हुनसक्छ,' उनले भने, 'हामीले सबै कोणबाट अनुसन्धान गरिरहेका छौं।'
प्रहरीले उनीहरूसँगै आएका विराटनगर, झापा र काठमाडौंका केही व्यक्तिसँग सोधपुछ गरिरहेको छ।
मोरङ प्रहरी प्रमुख एसपी जर्नादन जिसीका अनुसार दोस्रो शव सनाखतपछि त्यसै आधारमा प्रहरी शम्भुको परिवारसम्म पुगेको थियो। 'दुवै जना सँगसँगै रहेको देखिन्छ,' एसपी जिसीले भने, 'व्यावसायिक साझेदार हुन् या होइनन् भन्ने खुलेको छैन।'