सहरको कथा: पनौती
झन्डै एक दशक भयो उनको निधन भएको। उनको निधनले छाडेको ठाउँ अझै खाली छ। पनौतीले अझै उनको अभाव महशुस गरिरहेको छ।
गणेशमान दुवाल पनौतीवासीले नौ बाजा सम्झँदा सम्झने नाम हुन्।
सायदै कसैले सोचेका थिए, उनको निधनसँगै पनौतीमा चाडपर्वको रौनक हराउनेछ।
भयो त्यस्तै।
हिजोआज पनौतीको हरेक चाडपर्वमा नौ बाजा सुन्न पाइन्न।
हिजोआज पनौतीमा नौ बाजा अर्थात् लाटा खीँ, ढाँ, ढलुक, धिमे, नाखीं, कोखीं, नगरा, पछिंमा र ताताली बजाउने कोही छैनन्।
नौ वर्षअघि गणेशमान दुवालको मृत्युसँगै पनौतीबाट नौ बाजाको विज्ञता पनि मासियो। पनौती कथा शृंखलाको आजको अंकमा म तपाईंहरूलाई उनै गणेशमान दुवाल र उनले बजाउने नौ बाजाबारे बताउँछु।
२०६९ सालमा बितेका दुवाल १९९६ वैशाख १५ गते जन्मिएका हुन्। निधन हुनु एक वर्षअघि २०६८ भदौमा पनौतीबाट प्रकाशन हुने 'सांस्कृतिक धरोहर' पत्रिकामा उनको अन्तर्वार्ता छापिएको छ जसमा उनले आफ्नो नौ बाजा विज्ञताको श्रेय बुवा श्यामलाललाई दिएका छन्।
श्यामलालले उनलाई नौ बाजाअन्तर्गतका दुई बाजा 'खीँ' र 'पछिंमा' बजाउन सिकाएका थिए। यसबाहेक अरू बाजा बजाउन अन्य गुरूहरूबाट सिके।
'सुरूमा मानकाजी प्रजापतिले खीँ मात्र बजाउन सिकाउनुभयो। पछि उहाँभन्दा जान्ने कान्छा प्रजापतिसँग वर्षदिन लगाएर नौ बाजा सिकेँ,' दुवालले अन्तर्वार्तामा भनेका छन्, 'मैले उहाँहरूले बजाएको सुनेको भरमा सिकेको थिएँ। पछि बजाउँदै बोल टिप्न थालेँ। २०६६ सालबाट त आफैं सिकाउन थालेँ।'
दुवालले बाजा बजाउन सिकेको २०१६ सालमा हो। त्यसको चार वर्षमै उनलाई कुष्ठरोग लाग्यो। उनले निकै वर्ष त्यसको औषधि खाए। औषधि खाए पनि हातगोडामा समस्या देखिन थाले। औंलाहरू राम्ररी चल्दैनथे। तर बाजा बजाउन छाडेनन्। सिकाउन पनि पछि हटेनन्।
उनले बनेपाकी गंगा महारानीको पालादेखि दाफा भजन र नौ बाजाको चलन सुरू भएको अन्तर्वार्तामा भनेका छन्।
दाफा भजन र नौ बाजा सुनेर गंगा महारानी खुसी हुन्थिन् रे। एकपटक उनी १२ वटा बोकासहित चण्डेश्वरीमा पूजा गर्न आउँदा एउटा पनि बोका पर्सेनन्। तान्त्रिकले ध्यान गरेर हेर्दा माता चण्डेश्वरी नै पनौतीको भजन सुन्न विराजमान रहिछन्।
बीचमा रोक्न नमिल्ने भएकाले भजन सकिएपछि मात्र बोका पर्सिएको किम्बदन्ती छ।
यसरी पनौती दाफा भजन खलःसँग खुसी भएकी महारानीले सुन्थानको नरेटारमा पचासौं रोपनी जग्गा खल:का नाममा लालमोहर लगाइदिएकी थिइन्। पछि त्यहाँका स्थानीयले नरेटारलाई नारायणटार बनाई मोहीका नाममा जग्गा दर्ता गरिदिए। पचासौं रोपनीको आयस्ता मासियो।
'आजकाल भजन खलःका नाममा टौखालको जग्गाबाट एक मुरी चिउरा र वर्षमा २१ माना तेल मात्र आउँछ,' दुवालले अन्तर्वार्तामा भनेका छन्, 'भक्तपुरका एक जनाले इन्द्रेश्वर महादेव मन्दिरमा खिर पकाएर नौ बाजा बजाउनेलाई खुवाउन भनेर दुई मुरी धान आउने जग्गाको व्यवस्था गरिदिएका थिए रे। त्यो पनि अहिले छैन।'
नौ बाजा वैशाख शुक्ल पूर्णिमाका दिन चण्डेश्वरी (बनेपा) मा, जेष्ठ पूर्णिमाका दिन पनौती डबलीमा, गाईजात्रा र दसैंको घटस्थापनादेखि टीकासम्म तलेजु घरको प्रांगणमा र संक्रान्ति लगायत विशेष पर्वमा बजाइन्छ।
त्यस्तै, कात्तिक शुक्ल नवमीमा इन्द्रेश्वर महादेवको प्रांगणमा, कात्तिक शुक्ल (वैकुण्ठ) चतुर्दशीमा धनेश्वर र भद्रकाली प्रांगणमा र कात्तिक शुक्ल पूर्णिमामा इन्द्रेश्वर महादेवको प्रांगणमा दिउँसो र बेलुकी दाफा बजाइन्छ।
कात्तिक शुक्ल पूर्णिमाकै दिन वर्षभरिको दाफा भजनको समापन पनि हुन्छ।
नौ बाजा र दाफाबीचको सम्बन्ध अर्थ्याउँदै दुवाल भन्छन्, 'दाफा भजन गाउन सकिएपछि नौ बाजा बजाउन सुरू गरिन्छ। सुरूमा खिं बजाइन्छ। अनि क्रमशः ढाँ, ढलुक, नायखीं, कोखीं गर्दै पछिंमा अनि नगरा बजाइन्छ। अन्तिममा मालीं बजाउनुपर्छ।'
दुवालका अनुसार मालीं नभई नहुने बाजा हो। यसलाई जुगी (बाजा बजाउने एक समुदाय) हरूले बजाउँछन्। जुन तालमा नौ बाजा बजाइन्छ, जुगीहरूले त्यही तालमा मालीं बजाउनुपर्छ।
'जुगीहरू कम छन्। पहिला प्रशस्त हुँदा तलेजुमा फूलपातीदेखि टीकासम्म, इन्द्रेश्वर महादेव प्रांगणमा ज्वारे नवमीदेखि पूर्णिमासम्म नौ बाजासँगै मालीं पनि बजाइन्थ्यो,' दुवालले भनेका छन्, 'इन्द्रेश्वर महादेवमा रूद्री र खिर भोज गरी पूर्णेसम्मै बजाइन्थ्यो। जुगीहरू नभएपछि अहिले त सकिमना पूर्णिमाको एकदिन मात्र मालीं बजाइन्छ। मालीं नभई नौ बाजाको रस पूरा हुन्न।'
नयाँ पुस्ताले नौ बाजा सिक्नुपर्छ भन्नेमा दुवालको चासो थियो। त्यही भएर उनले आफ्ना छोरा सन्तोष र छोरी कवितालाई बाजा बजाउने तालिम दिएका थिए। उनीहरूसँगै सिक्न चाहने अरूलाई पनि तालिम दिए। कतिले सिके, निरन्तरता दिएनन्। कतिलाई सबै बाजा सिक्नै गाह्रो भयो। कति त उनका छोराजसरी नै बिदेसिए। नौ बाजामा कसैले आफ्नो भविष्य देखेनन्।
'आमाबुबाले हौसाएको भए अझै यसको जगेर्ना प्रभावकारी ढंगमा गर्न सकिन्थ्यो। आमाबुवाको बचन राख्न छोराछोरीलाई कर लाग्छ। त्यो करले उनीहरूलाई जसरी पनि सिक्न प्रेरित गर्थ्यो,' दुवालले २०६८ सालको त्यही अन्तर्वार्तामा यस्तो चिन्ता व्यक्त गरेका थिए।
उनले चाहेजसरी प्रभावकारी ढंगले नौ बाजाप्रति चासो बढ्नुअघि नै उनको निधन भयो।
पनौती कथा शृंखला लेख्ने क्रममा एकदिन म त्यहाँका स्थानीय पूर्णभक्त कोङ्गाको पछि लागेर दुवालको घर पुगेको थिएँ। थाहा थियो, त्यो घरमा अब कहिल्यै उनलाई भेट्न पाइन्न। तर आशा थियो, उनले बजाउने वाद्यवाधनहरू त परिवारले सुरक्षित राखेका होलान्!
मलाई निराश बनाउँदै उनकी ७१ वर्षीया श्रीमती अन्तलक्ष्मी दुवालले भनिन्, 'बजाउने मान्छे नै नभएपछि बाजा घरमा राखेर के गर्नु! हामीले सबै अरूलाई दिइसक्यौं। बाजा बजाउने प्रजापति समूह आएर लानुभयो।'
दुवाल परिवारले दुई वर्षयता पुरानो घर भत्काएर नयाँ बनाएको छ जहाँ अन्तलक्ष्मीबाहेक अरू कोही बस्दैनन्।
उनीहरूका छ जना छोरी र एक जना छोरा छन्। छोरीहरूको विवाह भइसक्यो। छोरा परिवारसहित जापानमा बस्छन्।
अन्तलक्ष्मीले पुरानो घर सम्झँदै भनिन्, 'पहिला त घरको छिँढीभरि बाजा हुन्थे। त्यहीँ मेरो बूढाले अरूलाई पनि बजाउन सिकाउँथे। त्यसको रेखदेखदेखि सबै जिम्मा उनकै थियो।'
उनका अनुसार गणेशमान दुवाललाई कुष्ठरोगसँगै क्यान्सर पनि भएको थियो। यसले गर्दा एउटा खुट्टा काट्नुपरेको थियो। तै पनि उनले बाजा बजाउन छाडेनन्।
पनौतीका हरेक विशेष पर्व र देवी नाचहरू आफ्नै घरमा पूजा गरेर, भोज खाएर, बाजा निकालेर सुरू हुने गरेको अन्तलक्ष्मी सम्झन्छिन्। अन्तिमपटक दुवालले देवी नाचमा बाजा बजाएका थिए। त्यसको केही समयपछि असोज ४ गते उनको निधन भइहाल्यो।
त्यसपछि पनौतीमा फाट्टफुट्ट मात्र नौ बाजा बज्छ। उनीहरूकै आफन्त पर्ने मंगलदास दुवाललाई पनि नौ बाजा बजाउन आउँछ। तर जागिरे उनलाई सबै पर्वमा बजाउने फर्सद हुँदैन।
'उहाँ पनि नौ बाजा बजाउने निकै राम्रो कलाकार हो। हरेक दसैंमा उहाँले बजाउनुहुन्छ,' पनौतीका स्थानीय फोटोग्राफर प्रशान्त श्रेष्ठले भने, 'नियमित बजाउने चाहिँ कोही छैनन्। संस्कृति जोगाउनै मुश्किल छ।'
दुवाल परिवारले नौ बाजा जोगाउन र निरन्तरता दिन केही महिनाअघि नगरपालिकालाई प्रस्ताव राखेको थियो। नगरपालिकाले खासै वास्ता नगरेको उनीहरू बताउँछन्।
'यसपालि बाह्रवर्षे मकर मेलामा नौ बाजा बजाउने पहल गर्न नगरपालिकालाई प्रस्ताव राखेका थियौं। उहाँहरूले कुनै प्रतिक्रिया नजनाएपछि चुप लाग्यौं,' दुवालकी छोरी संगीता दुवालले भनिन्।
मकर मेलाको संयोगले दुवालका केही छोरी पनौतीको माइती आएका थिए। छ छोरीमध्ये दुवालकी एक छोरी कविताले मात्र बाजा बजाउन सिकेकी छन्। अरू भने नसिकेकोमा पछुतो लाग्ने बताउँछन्।
छोरा सन्तोषलाई नौ बाजाका सबै बाजा बजाउन आउँछ तर उनी यहाँ छैनन्। छोरी कवितालाई भने नौ बाजामध्ये नगरा, धिमे, धा र खिं मात्र बजाउन आउँछ।
'बुबाले बजाएको देख्दा मलाई पनि चासो लाग्थ्यो। बुबाले पनि सिक्, राम्रो हुन्छ भन्नुहुन्थ्यो,' उनले भनिन्।
बुबासँगै बजाउँदै गुँला पर्वको समय एक महिना पनौती घुम्नुदेखि हिँड्दै नमोबुद्धसम्म पुगेको उनलाई याद छ। समूहमा उनी कहिले एक्लै त कहिले दुई जना केटी साथीहरूसँग जान्थिन्। ती दुई जना साथीलाई पनि दुवालले नै धा बजाउन सिकाएका थिए।
केटीहरूले बाजा बजाएर हिँडेको देख्दा त्यो बेला मान्छेले भन्थे, 'यी केटीहरू बिग्रिए।'
यस्तो कुराले कविताको मनोबल घटेन। त्यसमाथि उनको बुबाले सिक्न हौसला दिइरहन्थे।
दुवालको नौ बाजाको दक्षताले प्रभावित भएरै सन् २००९ मा कुटुम्ब ब्यान्डले उनलाई पनौतीसम्म खोज्दै आएको थियो। त्यो बेला कुटुम्बले उनीसँग नौ बाजामध्ये केही बाजा सिकेर गयो। उनीहरूले पनौतीमा 'कुटुम्ब हातेमालो' अभियानमार्फत् कन्सर्ट पनि गरे। कुटुम्बको उद्देश्य स्थानीय वाद्यवाधकसँग संगीत सिक्नु र सहकार्य गर्नु थियो।
पनौतीमा भएको उक्त कार्यक्रममा गणेशमानले नगरा बजाए, उनकी छोरी कविताले भुस्या बजाइन्।
पछि कुटुम्बले त्रिपुरेश्वरमा कार्यक्रम गर्दा पनि बुबासँगै गएको उनी सम्झन्छिन् र भन्छिन्, 'बुबाले तीन-चारवटा गीत कम्पोज गरेर त्यसमा बाजा बजाउनुभएको थियो।'
विवाहअघि बुबासँगै बजाउदै हिँड्ने कविता अहिले विवाहपछि बुढानिलकण्ठ बस्छिन्। बाजासँगको उनको नाता भने टुटेको छैन। दुई वर्षयता उनले बाँसुरी बजाउन सिकेकी छन्। बुढानिलकण्ठमा बुद्ध जयन्तीको जात्रा लाग्दा उनी बाँसुरी बजाउँदै जान्छिन्।
'बुबाले सिकाउनुभएका ताल अझै सम्झिरहेको छु,' उनले भनिन्, 'मलाई बाजा सिकेकोमा निकै गर्व लाग्छ। बुबासँग सबै बाजा सिक्न नपाएकोमा भने थकथकी लाग्छ।'
स्थानीय मच्छेनारायण दुवालका अनुसार पनौतीमा पहिले कुसुले र नौ बाजाको प्रतियोगिता नै हुन्थ्यो। प्रतियोगिताबाट वादकको प्रतिभा जाँचिन्थ्यो। कुसुले समुदायले बजाउने कुसुले बाजा पनि अहिले नौ बाजाझैं लोप हुने क्रममा छ।
'बिहान–बेलुकी नियमित हुनुपर्ने भजन पनि कहिलेकाहीँ मात्र हुन्छ। बजाउने मान्छे नै छैनन्,' उनले भने, 'सिकेकाले पनि छाडे। आफ्नो ठाउँमा चलिआएको परम्परा मासिँदा दुःख लाग्छ। अब बाहिरबाट ल्याएर भए पनि जगेर्ना गर्नुपर्ने अवस्था आइसक्यो।'
नौ बाजा लोप हुनुमा वादकले पूजाआराधना गर्ने नारायणको मूर्ति चोरी हुनु एउटा कारण हो भन्ने मच्छेनारायणलाई लाग्छ। उक्त मूर्ति पाँच–छ वर्षअघि चोरी भएको थियो। उनका अनुसार 'धिमे' बाजामा भने नयाँ पुस्ताको आकर्षण बढ्दै गएको छ।
नौ बाजाको सुरूआत छैठौं शताब्दीमा भएको मानिन्छ। भक्तपुरका संस्कृतिविद् ओम धौभडेलका अनुसार नौ बाजाबाट विशेषगरी देवीदेवताको आराधना गरिन्छ।
दाफा खलः को विशिष्ट बाजामध्ये नौ बाजा पर्छ। दाफा खलः भनेको परम्परागत नेवार समूह हो जुन लिच्छविकालको अन्त्यतिर उत्पत्ति भएको र मल्लकालमा फस्टाएको मानिन्छ। यो खल:ले मठमन्दिर तथा गुठीमा भजन–कीर्तनका साथै चाडपर्वमा बाजा बजाउँछन्।
नौ बाजा हात र मुखले बजाइन्छ। सधैं बजाउन कठिन हुनाले विशेष अवसरमा मात्र बजाइने धौभडेल बताउँछन्। यसका गीत, राग र ताल चाडपर्व र ऋतुअनुसार फरक हुन्छन्।
'असारतिर रोपाइँको गीत सिन्हाज्या गाइन्छ। गाईजात्रामा सापारू, येँया पुन्हीमा तुकाज्याँ, दसैंमा मालश्री, तिहारमा धनश्री लगायत पर्छन्,' धौभडेलले भने।
पहिले यी सबै बाजा क्रमबद्ध रूपमा एकै व्यक्तिले बजाउँथे। तर यस्तो खुबी कमै व्यक्तिमा हुन्छ, उनले भने, 'अहिले सजिलोका लागि नौ जनाले बजाउन थालेका छन्। सबै बजाउन जान्ने त प्रतिभाशाली हुन्।'
गणेशमान दुवाल तिनै प्रतिभाशालीमध्ये हुन् जसलाई यी सबै बाजा बजाउन आउँथ्यो।
संस्कृतिविद् धौभडेलका अनुसार भक्तपुरमा पनि नौ बाजा बज्ने ठाउँ कम हुँदैछ। दत्तात्रेय, तौमडीको भैरवनाथ मन्दिर, घट्खाको भद्रकाली मन्दिर र तलेजुमा नौ बाजा बज्थ्यो। यी चार ठाउँमध्ये तलेजुमा बज्न छाडिसक्यो। केही ठाउँमा भने नयाँ पुस्ताले चासो देखाइरहेका छन्।
नौ बाजामध्ये एक–दुई बाजा ठाउँअनुसार फरक हुन सक्छन्। नेवार सभ्यता र भाषा ठाउँअनुसार फरक भएजस्तै। केही बाजा मानिसका थरअनुसार पनि बनेका छन्। ती बाजा तिनै थरका मानिसले बजाउने गरेको उनले बताए। जस्तो- मालीं, कुसुले, ताताली।
ताताली लोप भइसकेको छ। कुसुले पनि पनौतीमा गणेशमान दुवाल जीवित हुँदै लोप भइसकेको थियो। उनलाई सधैं त्यसको अभाव खट्कन्थ्यो। उनी भन्थे, 'कुसुले बाजाबिनाको नौ बाजा तरकारीमा नुन नभए बराबर हो।'
नौ बाजामा मिठास भर्न सहायक बाजाहरू मुवाली, पोङा, ता लगायत पनि बजाउने चलन छ।
पनौती सभ्यता भक्तपुरबाट प्रेरित छ। यालाछें, जेँला लगायत ठाउँ भक्तपुरसँग मिल्छ। यहाँका बाजा र चाडपर्व पनि मिल्छ। जेनतेन भक्तपुरले बचाइरहेको नौ बाजा पनौतीमा लोप हुनु दुर्भाग्यपूर्ण भएको धौभडेल बताउँछन्।
'जब ढिला भइसक्छ, तब मात्र मानिसको बुद्धि पलाउँछ,' उनले भने, 'पहिले संरक्षण गर्न कसैको ध्यान गएन। ढिलै भए पनि बाजा संरक्षणमा ध्यान जानु राम्रो हो।'
(पनौती कथा शृंखला जारी छ। अर्को अंक अर्को साता।)