मोरङ पथरी शनिश्चरे नगरपालिका-२ की ९० वर्षीया जगमाया श्रेष्ठ गएको मंगलबार (माघ ११ गते) अपराह्नसम्म घर वरिपरि नै डुलिरहेकी थिइन्।
सधैं बिहानै उठेर गाउँ छिमेकमा पुग्थिन्। उमेर वृद्ध भए पनि उनी फुर्तिली र जाँगरिली थिइन्।
त्यसदिन अपराह्न उनी आफ्नो घरबाट बीस मिटर पूर्व रहेको माइला छोराको घरमा पुगेकी थिइन्।
माइली बुहारी गीता र नातिनी बुहारी सरू बारीमा काम गरिरहेका थिए।
माइली बुहारी गीता भन्छिन्, ‘बुहारी सरूलाई कपालमा मेहन्दी लगाइदेऊ भन्नुभयो। बारीमा काम गरिरहेकी सरूले मेहन्दी लगाइदिइन्।’
मंगलबार साँझसम्म वरिपरि घुमिरहेकी जगमायाको घरमा एकाएक सन्नाटा छायो। जगमायाको गतिविधि बुधबार बिहानबाट शून्य भयो।
उनी कता गइन् भन्नेबारे छिमेका खोजी भए पनि सँगै बसेका कान्छो छोरा कमल श्रेष्ठ वास्ता गर्दैनथे।
‘कतै जानुभयो कि भन्ने लाग्यो, फर्किनुहुन्छ होला भन्ने भयो,’ गीता भन्छिन्, ‘बाहिर हिँडे पनि घर फर्किनुहुन्थ्यो, बाटो कुर्यौं आउनु भएन।’
बिहीबार बिहान जगमायाको फेरि खोजी भयो। उर्लाबारी नगरपालिकास्थित मंगलबारे बजारमा बस्ने उनका दाजु नरबहादुर श्रेष्ठको देहान्त भएको खबर जगमायाको घरसम्म आइपुग्यो।
दिदीबहिनीमध्ये जीवित जगमाया आएपछि मात्रै शव व्यवस्थापन गर्ने निधोमा परिवार थियो। जयमायालाई परिवारका सदस्यहरूले खोजी गरे, भेटेनन्।
उनको मोबाइलमा फोन गरे। सम्पर्क हुन सकेन।
‘बिहान ११ बजेसम्म बहिनी आउँछिन् भनेर माइतीमा दाजुको लास हिँडाएनन्,’ जगमायाकी बुहारी गीता भन्छिन्, ‘घाटमा पुगेपछि पनि आउनुहुन्छ कि भनेर कुरेछन् तर उहाँको अत्तोपत्तो देखिएन।’
बिहीबार नरबहादुरको मृत्युपछि खोजी भएकी जगमाया फेला पर्नेवाला छैनन्। आफन्त, छिमेकी र प्रहरीका अनुसार उनी जीवित छैनन्।
उनीसँगै बसिरहेका ४८ वर्षीय कान्छा छोरा कमलले ९० वर्षीया जगमायाको हत्या गरिसकेका छन्। उनलाई इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको छ।
गीताका अनुसार बुधबार बिहान राति कमल हस्याङफस्याङ गर्दै जयचोकस्थित बौद्ध मार्गीहरूको शव जलाउने ठाउँबाट निस्केका थिए।
मर्निङ वाकमा हिँडेकाहरूले त्यहाँ आगो बलेको देखेका रहेछन्। कमल त्यही आगो बलेको ठाउँबाट हातमा जुत्ता बोकेर साइकल डोर्याउँदै निस्केका थिए।
‘मट्टितेलले शरीर गन्हाउँदै निस्किनु भएको रहेछ, आमाको खोजी हुँदा कमललाई देखेका मान्छेहरूले त्यसै भने,’ माइली बुहारी गीताले भनिन्।
यसरी जगमाया हराएको र आफ्नै कान्छो छोरा कमल ‘शंकास्पद’ तरिकाले फेला परेपछि कुरा इलाका प्रहरी कार्यालय पथरीसम्म पुगेको थियो।
जगमायाको हत्या भएको प्रारम्भमा देखिएपछि प्रहरी जलाएको ठाउँमा पुग्यो।
‘त्यहाँ पुग्दा केही हड्डी र करङ बाँकी रहेछन्,’ इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक कृष्ण खड्काले भने, ‘हातमा लगाएको चुरा फेला परेको छ। अहिले अनुसन्धान चलिरहेको छ।’
खड्काका अनुसार जलाएको ठाउँमा भेटिएका हड्डी र करङ संकलन गरी डिएनए परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला पठाइएको छ।
कमललाई कर्तव्य ज्यानमुद्दामा जिल्ला अदालत मोरङबाट १० दिन थुनामा राख्ने अनुमति लिइएको छ।
सामान्य खेतीपाती गर्दै बस्ने जगमायाका श्रीमानको पहिले नै मृत्यु भइसकेको थियो। उनका चार जना छोरा छन्।
जेठो पथरी बजारमा बस्छन्। माइलो घरदेखि २० मिटर पूर्वमा बस्छन्।
साइँला छोरा शारीरिक रूपमा अपांगता भएका छन्। उनको श्रव्य शक्ति छैन। बोल्न सक्दैनन्।
छिमेकी तथा आफन्तका अनुसार कमल र जगमायाबीच जग्गासम्बन्धी विवाद थियो। जगमायाको जिउनीबापतको पाँच कठ्ठा जग्गामा ‘किचलो’ चलिरहेको थियो।
‘दुई वर्ष पहिले आमाको नामको जिउनीको जग्गा कमलले आफ्नो छोराको नाममा पास गरिसकेका रहेछन्, पछि आमाले यो कुरा थाहा पाएपछि विवाद निस्कियो,’ बुहारी गीताले भनिन्।
वृद्ध आमाको नामको जग्गा कमलले आफ्नो बनाएको थाहा पाएपछि जेठा र माइला छोराको कानसम्म पुग्यो। त्यो कुरा थाहा पाएपछि उनीहरूले जगमायालाई मुद्दा मामिलामा जान सुझाव दिए।
‘अदालतले आमाको जिउनीको जग्गा उहाँकै नाममा फिर्ता गर्ने फैसला गर्यो,’ उनले भनिन्।
अदालतको आदेश लिएर मालपोत कार्यालयबाट अमिनहरू आइतबार आएर जग्गाको नापजाँचको काम सुरू गरेका थिए।
‘उनीहरू आइतबार आए, मंगलबार राति नै आमालाई कमलले मारेर जलाएको कुरा थाहा भएको छ,’ उनले भनिन्, ‘प्रहरीमा पुगेर हामीले कि आमा चाहियो कि कहाँ जानुभएको छ भन्दिन परो भन्दा उनी भन्दैनन्।’
प्रहरीका अनुसार त्यही पाँच कठ्ठा जग्गाको विवादमा कमलले आमा जगमायाको हत्या गरेकोतर्फ अनुसन्धान भइरहेको छ।
‘डिएनए परीक्षण आएपछि हामी यो घटनाको तथ्यमा पुग्छौं,’ जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले भने।
जगमाया आफैं मोबाइल बोक्थिन्। त्यो मोबाइलको डिस्प्ले जलाएको ठाउँमा भेटिएको छ।
जगमायाको हत्यामा कमलको संलग्नता यकिन भइसकेको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए।
‘अहिले हामी प्रमाण संकलन गरिरहेका छौं, कमलको बयान लिइरहेका छौं,’ उनले भने, ‘कमलले हत्या गरेको स्वीकार गरिसकेको अवस्था छ।’
प्रारम्भिक बयानमा हत्या स्वीकार गरेपछि उनीमाथि कर्तव्य ज्यानमुद्दामा अनुसन्धान थालिएको खड्काले बताए। कमललाई मंगलबार प्रहरीले सार्वजनिक पनि गरिसकेको छ।
‘घाँटी थिचेर हत्यापछि चोकरको बोरामा लगेर जलाएँ’ प्रहरीका अनुसार बयानमा कमलले बुधबार बिहान ३ बजे आमालाई घाँटी थिचेर हत्या गरेको बताएका छन्।
जगमाया बिहान ३ बजे लिस्नोबाट झर्दै गर्दा कमलले मौका छोपेका थिए।
‘तल झर्दैगर्दा समातेर घाँटी थिचेर हत्या गरेको उनले बयान दिएका छन्,’ डिएसपी खड्काले भने, ‘त्यसपछि चोकरको बोरामा पोको पारेर जलाउन लगेको बताएका छन्। सँगै मट्टितेल बोकेर गएको बताएका छन्।’
चोकरको बोरामा राखेर कमलले शव घरदेखि करिब दुई किलोमिटर उत्तर लगेका थिए। साइकलमा राखेर लगेर बौद्ध धर्मावलम्बीहरूले शव जलाउने ठाउँमा राखेका थिए।
बाटोबाट वारिपट्टी साइकल राखेका थिए। उनले त्यहीँ वरिपरिबाट टायर भेला पारेका थिए।
‘शव जलाउने ठाउँमा रहेका काठका मुढा र टायर राखेर जलाएको बताएका छन्,’ डिएसपी खड्काले भने।
हत्या गर्नुको कारण जग्गा नै रहेको कमलले बताएका छन्। ‘कहिलेकाहीँ घरबाट निस्केर जासम्म भनेपछि आफू आवेगमा आएको कमलले बताएका छन्,’ खड्काले भने।
जगमायाको हत्याका लागि कमलले केही दिनदेखि मौका छोपेको पनि बताएका छन्।
शव जलाएर हस्याङफस्याङ गर्दै जंगलबाट निस्केका कमललाई मर्निङ वाक गर्नेहरूले देखेपछि रहस्य खुलेको डिएसपी खड्काले बताए।
‘देख्ने मानिसहरूसँग हामीले कुरा गरेका छौं, तिनै मानिसहरूले बताएपछि जाहेरी पर्यो,’ खड्काले भने।