हाँस प्रजातिको सानो र सुन्दर चरा हरिहाँस (कटन पिग्मी गुज) अचेल पोखराको खास्टे तालमा देखिँदैन।
साइबेरियाबाट नेपाल आएपछि यो चरा यतै बस्न थालेको थियो। अहिले हरिहाँस कैलालीको घोडाघोडी तालमा मात्र देखिने पन्छी समाज पोखराका अध्यक्ष मनशान्त घिमिरे बताउँछन्।
कपासको भुवाजस्तो प्वाँख भएको हरिहाँसले शिरमा कालो मुकुट लगाउँछ। कालै आँखा भएको यो चराले पखेटामा पनि कालै पोतेको छ। घाँटीदेखि शरीरका अन्य भाग निख्खर सेतो प्वाँखले ढाकिएको हरिहाँस बढीमा १६० ग्राम मात्र हुन्छ।
सिमसारका सफा पानीमा पौडिँदै आहारा खोज्नु हरिहाँसको दिनचर्या हो। तालनजिकै दलदल परेको भागमा तैरिएका वनस्पति भएका ठाउँ हरिहाँसलाई मन पर्छ।
पोखराका तालमा कमल फूल फुल्दा हरिहाँस रमाउने गरेको पन्छीविज्ञ घिमिरे सम्झन्छन्। तालनजिकै सिमलको रूखमा प्वाल पारेर बासस्थान बनाउने हरिहाँस यस वर्षको गणनामा देखिएनन्।
पन्छी समाज पोखरा र टाइगर माउन्टेन लजले अन्तर्राष्ट्रिय संस्थासँग मिलेर बर्सेनि पोखराका चरा गणना गर्छन्। यस वर्ष जनवरी १०, ११ र १२ गरी तीन दिन गणना गरिएको थियो। चरा विज्ञसहित ५४ जना मिलेर पोखराका सम्पूर्ण तालतलैया र नदी आसपास खोज्दासमेत हरिहाँस नभेटिएको घिमिरे बताउँछन्।
उनका अनुसार पोखरामा हरिहाँस सन् २०१८ बाटै देख्न छाडेको हो।
साइबेरियाबाट पोखरा आएपछि हरिहाँसले खास्टे ताल मन पराएर बसेको थियो। यतै अन्डा पार्थ्यो, चल्ला कोरल्थ्यो। हुलका हुल देखिने हरिहाँस सन् २०१८ मा चारवटा मात्र देखिए। त्यति बेलै पोखराबाट हरिहाँस हराउन थालेको भनेर चराप्रेमीहरू चिन्तित बनेका थिए।
'हामीले देख्दा देख्दै हरिहाँस हरायो,' घिमिरेले भने, 'पोखराका तालहरू हरिहाँस बस्न लायक रहेनन्।'
नेपाल जुलोजिकल सोसाइटी गण्डकीका अध्यक्ष हेमन्त ढकाल खास्टे तालबाट हरिहाँस हराउनुमा मान्छेको अतिक्रमण मुख्य कारक रहेको बताउँछन्।
वन्यजन्तु र वातावरणीय संरक्षणमा काम गर्दै आएका अन्तर्राष्ट्रिय संस्थादेखि नेपालका सरकारी निकाय र सिमसार अतिक्रमणकारी यसका भागीदार भएको उनको भनाइ छ।
विश्व वन्यजन्तु कोषको लगानीमा पोखराका तालहरूमा 'हरियो वन कार्यक्रम' लागू भएको छ। खास्टे ताल संरक्षण गर्ने नाममा स्थानीयको एउटा समूहले ताल सौन्दर्यीकरण गर्न बजेट पाएको थियो। उनीहरूले तालको मुहानतर्फ र किनारामा तैरिएका वनस्पति निकालेर फाल्ने योजना बनाए।
सिमसारका वनस्पति फाल्न लागेको थाहा पाएर ढकालसहितको टोलीले त्यसो नगर्न सुझाव दिएका थिए। तर कसैले उनीहरूको कुरा सुनेनन्।
परिणाम, तालबाट हरिहाँस हरायो।
खास्टे ताल अतिक्रमण यतिमै रोकिएन। ताल वरिपरि पदमार्ग बनाउन पोखरा महानगर र सरकारका अन्य निकाय संलग्न भए। ताल वरिपरि डोजर चलाइयो। त्यतिले नपुगेर रिङरोड बनाउने भन्दै खास्टे तालको चारैतिर डोजर कुदाइयो। डोजरले तालको बीचबाटै बाटो लगेको छ। बाटोकै लागि सिमसारमा अन्यत्रबाट ढुंगामाटो लगेर पुरिएको छ।
'अब खास्टे तालमा हरिहाँस कहिल्यै आउँदैनन् होला,' ढकालले चिन्ता पोखे, 'मान्छेले गरेका सबै अतिक्रमण रोकेर पुरानै स्वरूपमा सिमसार ब्युँताउन अब गाह्रो छ।'
खास्टे तालकै हालत छ, दिपाङ तालको।
साइबेरियाबाट होस् वा चीन, ताइवान लगायत देशबाट- जाडो छल्न धेरै चरा दिपाङ ताल पुग्थे। जाडो याम सुरू हुनासाथ दिपाङ तालमा चराहरूकै साम्राज्य देखिन्थ्यो। यही तालमा धेरै चराले अन्डा पार्थे र चल्ला कोरल्थे। त्यति बेला स्थानीयले चराहरू हनिमुन मनाउन आएको भन्थे।
अब पोखरामा चराहरू हनिमुन मनाउन आउँदैनन्। चराले हनिमुन मनाउने ठाउँ मान्छेका 'डेटिङ डेस्टिनेसन' मा परिणत भएका छन्।
दिपाङ तालको क्षेत्रफल बढाउन पहिला पानी बग्ने ठाउँतर्फ बाँध लगाइएको छ। तालको छेउबाट रिङरोड बनाउन डोजर कुदाइएको छ। पिकनिक खाने ठाउँ बनाइएको छ। यतिले नपुगेर सिमसारमा तैरिएका वनस्पति सोहोरेर फालिएका छन्। यसले दिपाङ ताल चराका लागि उपयुक्त रहेन, मान्छे मात्रैको गन्तव्य बनेको छ।
फेवातालको हालत उस्तै छ। पोखराका मैदी, न्युरिनी, गुँदे र रूपा ताल पनि तीव्र गतिमा फेवातालको हालतमा जाँदैछन्।
त्यस्तै, बेगनास तालको मुहान पोखरा– ३१ स्याङ्खुदीमा रहेको सिमसारमा केही दिनअघि मात्र डोजर चलेको छ। त्यहाँ बाँध बाँधेर तालको क्षेत्रफल बढाउन ४० वर्षअघि सरकारले मुआब्जा दिएर स्थानीयको ५ सय रोपनी खेत अधिग्रहण गरेको थियो। बाँधले तालको क्षेत्रफल बढायो, सिमसार क्षेत्र पनि फराकिलो बन्यो।
खेत अधिग्रहण गरेर सिमसार बनेको ठाउँमा कोट देउराली बहुउद्देश्यीय सहकारीका नाममा माछापालन गर्न डोजर चलाइएको स्थानीयले बताएका छन्।
डोजर लगाएको ठाउँमा पानीले डुबेको दलदले छ। यहाँ पानीमा तैरिएका विभिन्न प्रजातिका वनस्पति छन्। उक्त ठाउँ खोलाबाट ढुंगा, गिटी, बालुवा लगेर पुरिएका छन्। सिमसारको बीचबीचै डोजर कुद्ने बाटो बनेका छन्।
यसरी सिमसार पुर्न पोखरा महानगर र वडा कार्यालयले नै अनुमति दिएको सहकारीका सदस्य माधव तिवारीले जानकारी दिए।
सहकारीबाट डोजर चलाउने जिम्मा पाएका उमानाथ तिवारी ३० रोपनी सिमसारमा माछापालन गर्न डोजर लगाएको बताउँछन्। उनका अनुसार सिमसारमा २६ दिनसम्म डोजर लगाउँदा ३० लाख खर्च भइसकेको छ।
सरकारले सिमसार बनाउने भनेर अधिग्रहण गरेको जमिन अरू कसैलाई माछापालन गर्न दिन मिल्दैन। जग्गा प्राप्तिसम्बन्धी ऐनले जुन प्रयोजनका लागि अधिग्रहण गरिएको हो, त्योबाहेक अरू काममा लगाउन मिल्दैन भन्छ।
पोखरा महानगरले सिमसार जोगाउनभन्दा अतिक्रमणलाई सहयोग गरेको संरक्षणकर्मीहरूको भनाइ छ।
चरा बस्ने ठाउँ वातावरणीय रूपमा सुरक्षित मानिन्छ। चराले पिउने पानी स्वच्छ र खाने आहार शुद्ध ठानिन्छ। ताल आसपास खेती गर्दा प्रयोग गरिएका रासायनिक मल र विषादीले पनि चरालाई अन्यत्र सर्न दबाब दिएको छ। पोखराबाट चरा हराउनुको अर्थ तालहरूमा प्रदूषण बढ्नु हो भनेर विज्ञहरू बताउँछन्।
'चरा बस्न नसक्ने ठाउँ अन्य जीवका लागि पनि उपयुक्त हुँदैन,' ढकालले भने, 'सिमसार जोगाउनु भनेको अरूका लागि होइन, हाम्रै लागि हो भनेर सरकारले बुझिदिएन।'
मान्छेका लागि चरामा गुणैगुण भएको पन्छी समाजका अध्यक्ष घिमिरे बताउँछन्।
प्रकृतिबाट चराको विनाश हुनु भनेको मान्छेका लागि खतरा भएको उनको भनाइ छ। चराले बोटबिरूवा, फलफूल र अन्नको परागसेचन गराउँछ। फलफूल र अन्नबाली खाने कीरा, फट्याङ्ग्रा खाइदिएर किसानलाई सहयोग गर्छ। वनस्पतिका बीउ अन्यत्र छर्छ। प्रकृतिलाई सन्तुलनमा राख्छ।
'चराबिनाको प्रकृतिमा मान्छे कसरी बाँच्न सक्ला?' घिमिरेले भने, 'सिमसार विनाशको पहिलो असर चरामा देखिएको छ, तर मान्छेका लागि सबभन्दा खतरा देख्छु।'
नेपालमा ८८९ प्रजातिका चरा पाइन्छन्। पोखरामा यस वर्षको चरा गणनामा ४८४ प्रजाति रेकर्ड भएको घिमिरेले बताए। नेपाल र विश्वव्यापी रूपमै लोपोन्मुख र संवेदनशील अवस्थामा रहेका चरा भने पोखराबाट बर्सेनि घट्दै गइरहेको चरा विज्ञहरूले निष्कर्ष निकालेका छन्।
पोखराका ताल संरक्षण गर्न सरकारी र गैरसरकारी क्षेत्रले मनग्गे लगानी गरिरहेका छन्। स्थानीय समुदायले पनि सहकारीमार्फत् माछापालन गरिरहेका छन्। माछापालन गर्नु चराका लागि उपयुक्त भए पनि कतिपय ठाउँमा चरा मार्ने, गुँड भत्काइदिने र भगाउने प्रवृत्ति बढेको घिमिरेले बताए। ठाउँ-ठाउँमा सिमसार मासेर व्यवसाय विस्तार गरिएका छन्।
अहिले सरकारी र गैरसरकारी क्षेत्रबाट सिमसारमा भएका लगानीले सिमसारकै विनाश गरेको उनको ठम्याइ छ।
तालमा पानीको मात्रा बढाउन बाँध बाँध्नुसम्म घिमिरे सहमत छन्। तर उनलाई पानीले ढाकेको क्षेत्रमा चारैतर्फ सिमेन्टको बाँध लगाएको मन परेको छैन। अझ पर्खालभित्र पानीमा तैरिएका वनस्पति सोहोरेर फाल्नु आपत्तिजनक भएको उनले बताए।
'ताल संरक्षणका नाममा सिमसार मासिएको छ,' घिमिरेले भने, 'सिमसार भनेको पोखरी होइन, त्यस वरिपरिका दलदले हिलो, त्यहाँ रहेका वनस्पति र जीवजन्तु हुन्, यसको पो संरक्षण हुनुपर्छ।'
पोखराका तालमा बढेको प्रदूषणमा पनि कसैको चिन्ता छैन। सबैजसो तालमा मदिराका बोतल, प्लास्टिकजन्य पदार्थ लगायत नकुहिने फोहोर थुप्रिएका छन्। यसले सिमसार र तालको पानी प्रदूषित बनाएको छ। फोहोर पानी शुद्धीकरण गर्ने सिमसारलाई नै मान्छेले फोहोर फाल्ने 'डम्पिङ साइट' बनाएको घिमिरे बताउँछन्।
यसरी विकास र व्यवसायका नाममा भइरहेका अतिक्रमणले पोखराका ताल अन्तर्राष्ट्रिय प्राकृतिक सम्पदा सूचीबाट हट्न सक्नेतर्फ विज्ञहरूले सचेत गराउँदै आएका छन्।
पोखरामा रहेका ९ वटा ताल अन्तर्राष्ट्रिय रामसार सूचीमा पर्छन्। यो सूचीबाट जुनसुकै बेला हट्न सक्ने घिमिरेले बताए।
इरानको रामसार सहरमा सन् १९७१ मा जलपन्छी संरक्षणमा लागेका विश्वभरका वैज्ञानिकको सम्मेलन भएको थियो। सम्मेलनले सिमसार संरक्षणका लागि पारित गरेको सन्धिलाई नै रामसार महासन्धि भनियो। यही सन्धिका आधारमा अन्तर्राष्ट्रिय महत्व बोकेका सिमसार क्षेत्र सूचीकृत गरेर रामसार क्षेत्र घोषणा गरिएको थियो।
नेपालले रामसार महासन्धि सन् १९८७ मा अनुमोदन गरेको थियो। दुर्लभ, संकटमा परेका, लोप हुने अवस्थाका पन्छी र महत्वपूर्ण वनस्पति सिमसार क्षेत्र मात्रै रामसार सूचीमा पर्न सक्ने वातावरणविद् राजु आचार्य बताउँछन्।
नेपालले सुरूआतमा पोखराका फेवाताललाई मात्र रामसार सूचीमा राख्न सिफारिस गरेको थियो। रामसार मापदण्डअनुसार फेवातालमा आश्रित वनस्पति र जीवजन्तुले मात्र रामसार क्षेत्रको मापदण्ड पूरा भएन। त्यसपछि फेवा, बेगनास, रूपा, दिपाङ, मैदी, खास्टे, गुँदे, न्युरेनी र कमलपोखरीलाई एउटै समूहमा राखेर रामसार क्षेत्र घोषणा गरिएको थियो।
रामसार मापदण्डअनुसार पोखराका तालमा झैं डोजर लगाउन, विकासका नाममा पानीको छेउछाउमा सिमेन्टको पर्खाल लगाउन, बाटो बनाउन, सिमसारका वनस्पति विनाश गर्न पाइँदैन। मापदण्डविपरीत गतिविधि तीव्र भएको र महासन्धिमा उल्लिखित जीव र वनस्पति देखिन छाडेकाले पोखराका ताल जुनसुकै बेला सूचीबाट हट्न सक्ने आचार्यले बताए।
विश्वका १६९ भन्दा बढी देशका २ हजार २२ भन्दा बढी सिमसार क्षेत्र रामसार सूचीमा सूचीकृत छन्।
रामसार महासन्धिका अनुसार विश्वका ६० प्रतिशतभन्दा बढी मानिस सिमसार क्षेत्रमा बसोबास गर्छन्। सिमसार उपयोग गरेर जीविकोपार्जन गर्छन्। पोखराका तालको विनाशले यहाँका रैथानेदेखि व्यवसायीलाई असर पार्ने उनको निचोड छ।
रामसार सूचीबाट पोखराका ताल बाहिरिँदा नेपालले प्रकृति संरक्षण गर्न नसकेको सन्देश अन्तर्राष्ट्रिय स्तरमै जाने पन्छी समाजका अध्यक्ष घिमिरेको चेतावनी छ।
'रामसार सूचीबाट हट्दा नेपालले प्रकृति संरक्षण गर्न सकेन भन्ने सन्देश जान्छ,' घिमिरेले भने, 'नेपालले प्रकृति संरक्षण गर्दा पाउने अन्तर्राष्ट्रिय सहयोग र सद्भाव पनि कटौती हुन्छ।'
पोखराका विभिन्न तालमा देखिएका चराहरू (तलका तस्बिर)। सौजन्य: मनशान्त घिमिरे