धनगढी उपमहानगरपालिकामा पर्ने शिवगंगा नदीमा पुल बनाउन ठेक्का स्वीकृत गरेको साढे चार वर्षभन्दा बढी भयो।
तीन वर्षमा काम पूरा गर्ने कबोल गरेको ठेकेदारले कुल लागतको २२ प्रतिशत रकम लगिसक्यो तर अझै काम सुरू भएको छैन।
सरकारले २०७४ साल असार ३ गते पप्पु एड्भेन्चर जेभीलाई धनगढी उपमहानगर–१६ को पथरी र वडा नम्बर १७ को रामपुर जोड्ने पुल निर्माणको ठेक्का दिएको थियो।
कुल १४ करोड २६ लाख रुपैयाँमा तीन वर्षभित्र काम सक्ने गरी सडक डिभिजन कार्यालय, महेन्द्रनगर र उक्त कम्पनीबीच ठेक्का सम्झौता भएको थियो।
सडक डिभिजन कार्यालय, कञ्चनपुरका इन्जिनियर पियूष चटौतका अनुसार ठेक्का सम्झौता भएको साढे चार वर्ष पुगे पनि निर्माणको काम सुरू भएको छैन।
उनले भने, ‘जगको डिजाइनमा समस्या देखिएका कारण निर्माणको काम सुरू नभएको भन्ने फाइलमा देखिएको छ, ठेकेदारलाई तुरून्त सच्याउन पनि भनिएको थियो तर सच्याएको छैन।’
सडक डिभिजन कार्यालयका अनुसार ठेकेदारले फाइलिङको काम २५ प्रतिशत सकिएको भनेर कुल लागतको २२ प्रतिशत अर्थात ३ कारोड १३ लाख ७२ हजार रुपैयाँ लगिसकेको छ।
ठेक्का सम्झौताअनुसार २०७७ असार २५ भित्र निर्माणको काम सक्नुपर्ने थियो। म्याद सकिएको साढे एक वर्षभन्दा बढी भएको छ।
ठेक्काको म्याद थपका विषयमा कुनै छलफल नभएको इन्जिनियर चटौतले बताए। ठेकेदारमाथि कुनै कारबाही पनि भएको छैन।
पुल नहुँदा धनगढी नगरका बासिन्दा पानीमै पसेर नदी तर्छन्। हिउँदमा भाटाको पुल बनाउने गरेको भए पनि वर्षातमा बाढीले बगाउँछ। मानिसहरू मोटरसाइकल, अटोरिक्सा र गाडी पनि पानीबाटै वारपार गराउँछन्।
धनगढी उपमहानगर–१७ का लालबहादुर चौधरी भेडा चराउन दैनिक शिवगंगा नदी किनारमा पुग्छन्। उनी दिनभरिमा कयौं मानिसले नदी वारपार गरेको र तिनका सवारीसाधन फसेको देख्छन्।
उनी भन्छन्, ‘अहिले त हिउँद छ, धकेलेर पनि मोटरसाइकल र अटो तार्न सकिन्छ, बर्खामा सकिँदैन।’
वर्षातमा बाढीले भाटेपुल बगाउँदान आवातजावत ठप्प हुने गरेको उनले बताए। पेशेवरहरूले शुल्क लिएर नदी तार्ने काम गर्छ।
पुल नहुँदा वडा नम्बर १६ का बासिन्दालाई बढी समस्या छ। शिवगंगापारिका बासिन्दाहरू रोजागरी, पढाइ, व्यवसाय, अन्य काम लगायतका लागि धनगढी बजारमा पुग्नु पर्छ। वर्षातमा उनीहरू समस्यामा पर्छन्।
पथरीका छोटेलाल चौधरीका अनुसार शिवगंगा नदीमा बन्ने भनिएको पुलसँगै ठेक्का सम्झौता भएका अरू पुल बनिसकेको बताए।
उनले भने, ‘धनगढी जोड्ने खुटियाको पुल चार वर्षमै बन्यो, शिवगंगाको काम कहिले सुरू हुन्छ थाहा छैन।’
पुल नहुँदा धनगढीका अस्पतालमा बिरामी पुर्याउन पनि समस्या हुने गरेको उनले बताए।
यस्तो समस्या रामपुर, चौमाला, आमबगिया लगायतका बस्तीका नागरिकलाई बढी छ।
धनगढीको पर्यटकीय स्थल बेहडाबाबा जाने पर्यटकहरू पनि समस्यामा पर्ने गरेका छन्। भारतको पलियाबाट बेहडाबाबा दर्शन गर्न भारतीयहरू आउने गरेका छन्।