चिकित्सा शिक्षा आयोगले दिएको गाइडलाइन अनुसार विद्यार्थी भर्ना लिएर पठनपाठनमा सहभागी गराउन काठमाडौं विश्वविद्यालयले गरेको आग्रह नोवेल मेडिकल कलेजले लत्याएको छ।
विराटनगरस्थित नोवेल काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल कलेज हो। नोवेललाई काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सले विद्यार्थी भर्ना गरि पठन–पाठन गराउन भन्दै माघ ११ मा पत्राचार गरेको थियो।
काठमाडौं युनिभर्सिटीले काठमाडौं मेडिकल कलेजलाई समेत पत्राचार गर्दै एमबिबिएस, बिडिएस र बिएनएस कार्यक्रम अन्तर्गतका विद्यार्थीहरुको अध्ययन अध्यापनलाई निरन्तरता दिन आग्रह गरेको थियो। काठमाडौं विश्वविद्यालयले एमबिबिएस तहमा अध्ययनरत विदार्थीका लागि होस्टल सुविधा ऐच्छिक हुने भई आएको भन्दै चिकित्सा शिक्षा आयोगलाई पत्र समेत दिएको थियो।
काठमाडौं विश्वविद्यालयको पत्र सार्वजनिक भएपछि राजनीतिक दल निकटका विद्यार्थी संगठनले आन्दोलनको कार्यक्रम स्थगित गरेका थिए। तर, मेडिकल कलेजका विद्यार्थीहरुले भर्ना हुन पाउनु पर्ने र पढ्न पाउनुपर्ने माग भने अझै पुरा नभएको बताएका छन्।
‘हामीले त आन्दोलन अझै जारी राखेका छौं, हामीलाई अझै कलेज प्रशासनले भर्ना हुन दिएको छैन,’ चिकित्सा शिक्षा संघर्ष अभियानका महासचिव सौगात पाण्डेले भने, ‘काठमाडौं विश्वविद्यालयको पत्र अनुसार पनि कलेजले विद्यार्थीलाई भर्ना हुन दिनुपर्ने हो, तर दिएको छैन।’
हाल ७० जना विद्यार्थीमध्ये ३० जनालाई नोबेल मेडिकल कलेजले भर्ना नलिएको उनको भनाइ छ। ‘पढ्नका लागि त हामीलाई भर्ना गर्नुपर्यो नि,’ उनले भने, ‘भर्ना नै लिएको छैन, बाहिर संचार माध्यममा हामी काठमाडौं विश्वविद्यालयको भनाइ मान्छौं भन्छन्, त्यही आधारमा विद्यार्थी भर्ना लिन जान्छन् तर कलेजले भर्ना लिनै मान्दैन।’
उनले आफूहरुको आन्दोलन अझै नरोकिने बताए। ‘हामी आन्दोलन रोक्दैनौं, जे हुन्छ आन्दोलन निरन्तर गर्ने भन्ने छ,’ पाण्डेले भने, ‘सहमति भयो भन्ने अन्य विद्यार्थी संगठनलाई पनि लागेको थियो, काठमाडौं विश्वविद्यालयले पनि आदेश दिएपछि सबै कलेजले मान्छन् भन्ने थियो, तर त्यसको यहाँ पालना भएन। नोवेलले झुक्यायो।’
विद्यार्थीलाई भर्ना हुन दिनका लागि जिल्ला प्रशासन कार्यालय मोरङले पनि पहल गरिरहेको छ। तर, कलेज प्रशासनले जिल्ला प्रशासन कार्यालयको पत्राचार र पहललाई नटेरेको पाण्डेको भनाइ छ।
कलेज प्रशासनले चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी चार लाख ८२ हजार अतिरिक्त शुल्क बुझाउन दबाब दिएपछि अभिभावक तथा विद्यार्थीले मंसिर १९ गतेदेखि संघर्ष गर्दै आएका छन्।
तोकेको शुल्क बाहेकको काठमाडौं विश्वविद्यालयको रजिष्ट्रेशन शुल्क २५ हजार, एफिलेसन शुल्क ९८ हजार ५७९, परीक्षा शुल्क ११ हजार र नेपाल मेडिकल काउन्सिल रजिष्ट्रेशन शुल्क वापत ५ हजार र एक वर्षको होस्टेल शुल्क १ लाख २३ हजार कलेजले असुलिरहेको पीडित विद्यार्थीले बताए। यो शुल्क विद्यार्थीहरूलाई आफैं विश्वविद्यालयको नेपाल बैंक लिमिटेल र इन्भेष्टमेन्ट बैंक र काउन्सिलको एसबीआई बैंकको खातामा र होस्टेल शुल्क कलेजको बैंक खातामा जम्मा गर्न लगाउँदै आएको छ।
आन्दोलनरत विद्यार्थीहरुले भने तोकेभन्दा एक रुपैयाँ पनि बढी विद्यार्थीसँग असुल्न नपाउने र छात्रावास ऐच्छिक हुनुपर्ने माग गर्दै आएका थिए। चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययनका लागि कुल ४४ लाख ३६ हजार २५ रुपैयाँ शुल्क निर्धारण गरेको छ।