डेढ वर्षअघि बेलौरीपारि लालझाडीका ६० वर्षीय सादुराम राना दोदा नदी तर्ने क्रममा बगेर बेपत्ता भए।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयबासीले खोजी गरे तर सादुराम पनि फेला परेनन् ।
गत वर्षातमा मजदुरी गरेर फर्किंदै गरेका एकजना स्थानीयवासी दोदा तर्दै गर्दा उनको साइकल नदीले बगायो। आफू जसोतसो जोगिए।
लालझाडीबाट बेलौरीका स्कुल जाने विद्यार्थीहरू पुल नहुँदा घुमाउरो बाटो हिँडन बाध्य छन्। लालझाडीबाट बेलौरी आउजाउ गर्ने सबैलाई दोदा नदी समस्याका रूपमा रहेको छ ।
बेलौरी नगरपालिका–५ भकुन्डाकी स्थानीय शिक्षिका जानमती राना भन्छिन्, ‘पुल नहुँदा नदी तर्न र सामान ओसारपसार गर्न समस्या छ, खेतीका लागि वारिपारि गर्नुपर्नेहरूलाई बर्खामा ठूलो समस्या हुन्छ।’
आफू सानो छँदा पनि भकुन्डामा दोदा नदी तर्ने क्रममा बगेर एक जनाको मृत्यु भएको सुनेको बताइन्।
नदीमा स्थानीयबासी रामअवतार रानाले काठको पुल लगाएका छन्। रामअवतारले विगत पाँच वर्षदेखि हरेक वर्ष निजी खर्चमा काठको पुल बनाउँदै आएका छन्। पुलबाट मोटरसाइकल तारेको ३० रुपैयाँ र साइकलको १० रुपैयाँ तिर्नुपर्छ।
जानमती भन्छिन्, ‘वर्षामा त पानीमै पसेर तर्नुपर्छ। तर्न नसक्नेले पौडिनेहरूसँग सहयोग माग्नुपर्छ।’
लालझाडी गाउँपालिका रानाथारूको आरक्षण क्षेत्रका रूपमा मानिन्छ। यहाँका ९८ प्रतिशत वासिन्दा रानाथारू रहेको गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकको भनाइ छ ।
बेलौरी र लालझाडी जोड्ने मुख्य नाका भकुन्डा हुँदै जाने बाटो हो। लालझाडीबाट कञ्चनपुरको महेन्द्रनगर जान र बेलौरीबाट कैलालीको धनगढी पुग्न पनि पुल नभएर समस्या छ।
बेलौरी–५ का बासिन्दा तथा नेपाली कांग्रेसका क्षेत्रीय सचिव बिसराम राना दोदा नदीमाथि पुल नहुँदा आफ्नो समुदायको धार्मिक, सांस्कृतिक र आर्थिक क्षेत्रमा असर परेको बताउँछन्।
बेलौरीमा रानाथारू संग्रहालय छ। संग्रहालय ५ करोड ३६ लाख रुपैयाँको लागतमा बनेको हो। बेलौरीको कालेश्वर महादेव मन्दिरमा माघी, दसहरा, शिवरात्रि र रानाथारुको होलीमा मेला लाग्छ। नदीमा पुल नहुँदा यी उत्सवहरूमा सहभागी हुन समस्या पर्ने गरेको छ।
भकुन्डाका किसानको ३५ बिघाभन्दा बढी उखुखेती लालझाडीमा पर्छ । पुल नहुँदा यी किसान पनि समस्यामा पर्ने गरेका छन्।
बिसाराम भन्छन्, ‘उखु बोक्न ट्याक्टर हिँड्ने बाटो छैन। अहिले पनि पानी तरेरै ढुवानी गर्नुपरेको छ।’
बेलौरी र लालझाडी जोड्ने पुलभन्दा पछि ठेक्का भएको अर्को पुल बनिसकेको छ।
लालझाडी गाउँपालिकाको वडा नम्बर २ र बेलौरी नगरपालिकाको वडा नम्बर ५ जोड्ने पुल बनाउने ठेक्का २०७२ सालमै भएको हो तर काम सकिएको छैन।
ठेकेदारको लापरबाहीले निर्माणमा ढिलाइ भएको बासिन्दाहरूको आरोप छ। ठेकेदार कम्पनीले समयमा सामान जुटाउन नसकेको उनीहरूको भनाइ छ।
निर्माणको काम गर्ने एक जना मिस्त्रीका अनुसार सबै सामान फटाफट जुट्ने हो भने तीन महिनामा काम सकिन्छ तर यस्तै अवस्थामा जति समय पनि लाग्न सक्छ।
सुदूरपश्चिममा तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरका विकट बस्तीमा पुल नहुँदा त्यहाँका बासिन्दाहरूको सास्ती भौग्नु परेको छ।
सरकारले वर्षौं पहिले बजेट छुट्याएर ठेक्का सम्झौता गरेका पुल पनि बनेका छैनन्। यस्ता धेरै पुल निर्माणको म्याद सकिएको छ तर काम सकिएको छैन।
भकुन्डामा दोदा नदीमाथि पुल बनाउन २०७२ साल पुस २६ गते २६ करोड रुपैयाँ बजेटमा ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार २०७५ पुसमा पुल तयार भइसक्नु पर्ने थियो ।
ठेक्का सम्झौता भएको ६ वर्ष पूरा भएको छ। पछिल्लो पटक थपिएको म्याद आगामी चैत मसान्तमा सकिँदै छ तर काम सकिने छाँट छैन। पुलको लम्बाइ २५५ मिटर छ।
निर्माणको ठेक्का शर्मा थेगिम नागार्जुन जेभीले पाएको छ। पुलको डिजाइन ‘रिभ्यू’ गर्नु परेकोले निर्माणमा ढिलाइ भएको ठेकेकार कम्पनीका अधिकारीको भनाइ छ।
कम्पनीका साइट इन्जिनियर दिनेश बटालाले सुरूमा ३ वर्षको योजना भए पनि छेउका दुइटा र बीचका पिलरको उचाइ फरक परेपछि डिजाइन रिभ्यू गर्नु परेको बताए। रिभ्यूका कारण २०७४ सलामा मात्रै काम सुरू भयो।
उनका अनुसार डिजाइन रिभ्यूमा बीचका पिलरको उचाइ बढाएपछि काम भइरहेको छ।
अहिले पुलको पाँचौं स्पानको काम भइरहेको छ। चौथो स्पान ढलानको तयारी भएको बटालाले बताए। हालसम्म ठेकेदार कम्पनीले १६ करोड रुपैयाँ भुक्तानी लिएको छ।
बटालाका अनुसार आउने चैत मसान्तसम्ममा मुख्य काम सकिनेछ र असारसम्ममा पुल तयार हुनेछ।
सडक डिभिजन कार्यालय कञ्चनपुरका इन्जिनियर पियुस चटौत भने डिजाइन रिभ्यूले ढिलो भएको भन्ने कुरा मान्न तयार छैनन्। निर्माण कम्पनीका कारणले पनि ढिलो भएको उनको भनाइ छ।
उनले कोरोनाको संक्रमणका कारण केही ढिलो भएको हुन सक्ने बताए। अहिले धमाधम काम भइरहेकाले आगामी असारभित्रै सकिने उनको विश्वास छ।