काठमाडौं उपत्यकाका पाँचतारे होटलका रेष्टुरेन्ट, सपिङ मलदेखि हाइप्रोफाइल घरानामा मदिरा बिक्री गर्ने जमल र दरबारमार्गको ग्रीनलाइन रिटेल सपमा तीन सातायता चार वटा बैंकले ताला लगाएका छन्।
अर्बभन्दा बढीको विदेशी ब्रान्डेड मदिरा स्टक रहेको ग्रीनलाइन सपका सञ्चालकहरू फरार भएपछि बैंकहरूले ताला लगाएका हुन्। स्टक सामग्रीको मूल्यांकनको आधारमा कर्जा लगानी गरेका बैंकहरूलाई सञ्चालक भागेपछि ऋण उठाउन समस्या परिरहेको छ।
इन्भेष्टमेन्ट, एभरेष्ट, ग्लोबल आइएमई र मेगा बैंकले ग्रीनलाइनमा तालासँगै सञ्चालकका घर-जग्गामा सूचना टाँसेका छन्।
ग्रीनलाइनका सञ्चालक बाबुछोरा अमित, अभिषेक अग्रवाल र बुवा ओमप्रकाश परिवारसहित भारत पुगेको प्रहरीको अनुसन्धानमा खुलेको छ।
उनीहरू भारतको कुन ठाउँ छन् भन्ने प्रहरीले मेसो पाउन सकेको छैन। ऋण धितो जोखिममा परेपछि चार वटा बैंकले ताला लगाएसँगै ग्रीनलाइनको अर्बभन्दा बढीको स्टक मदिरा अलपत्र छ।
ताला लगाएकाले त्यहाँ कति परिमाणको मदिरा छ भन्ने यकिन छैन। कानुनी रूपमा लिलामको प्रक्रिया नचलेसम्म परिमाणबारे थाहा नलाग्ने अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन्।
सर्वसाधारणको निक्षेपबाट ग्रीनलाइनमा बैंकहरूले गरेको लगानी जोखिममा परेपछि यो प्रकरणको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गरिरहेको छ। सञ्चालक फरार भएको विषयमा भने महानगरीय प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ।
ब्युरो र परिसरका अनुसार अग्रवाल बाबुछोरा भाग्नुमा अनौपचारिक ऋण ‘मिटरब्याज’ हो। अग्रवाल बाबुछोरालाई मिटरब्याजीहरूले धम्क्याउन थालेपछि उनीहरू पसल बन्द गरेर भागेको बुझिएको छ।
काठमाडौंमा मिटरब्याजमा लगानी गर्नेहरूको आतंक नै चलिरहेको छ। मिटरब्याज कारोबार गर्नेहरूको साम्राज्य तोड्न प्रहरी पनि सफल हुन सकिरहेको छैन।
ब्युरोका एक अधिकृतका अनुसार अग्रवाल बाबुछोराले अनौपचारिक (मिटरब्याज) रूपमा २० करोड ऋण चलाएको बुझिएको छ। त्यो ऋणको साँवा, ब्याज, ब्याजको स्याजदेखि प्याजसम्म तिर्दा पनि ताकेता र धम्की नरोकिएपछि उनीहरूको उठिबास लागेको थाहा भएको छ।
ग्रीनलाइन बीसौं वर्षदेखि काठमाडौंमा विदेशी ब्रान्डेड रक्सीको कारोबार गर्ने सप हो। अमित र अभिषेकका बुवा ओमप्रकाश अग्रवालले उनीहरूलाई काठमाडौंमा मदिराको व्यापारमा टेकाएका थिए।
प्रहरीका अनुसार ओमप्रकाश, अमित, अभिषेकसहित परिवारका ९ सदस्य एक महिनादेखि फरार छन्। उनीहरू वीरगञ्ज हुँदै भारत पुगेको देखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले बताए।
‘उहाँका ९ जना परिवार एकैसाथ काठमाडौं छोडेर वीरगञ्ज हुँदै भारतसम्म गएको देखिएको छ,’ गिरीले भने, ‘उहाँहरूलाई ल्याउने प्रयास भइरहेको छ, निकटहरूबाट बुझ्दा फर्किने सम्भावना बुझिन्छ।’
ज्ञानेश्वरमा बस्दै आएका ओमप्रकाश, अमित, अभिषेकसहित परिवारले नेपाल छोडेपछि छोरी रजनीले परिसरमा निवेदन दिएकी थिइन्। निवेदन दिएपछि प्रहरी ज्ञानेश्वरको घरमा पुगेको थियो।
त्यहाँ पुगेर सर्च गर्दा एउटा ‘नोट’ फेला परेको गिरीले बताए। उक्त नोटमा ओमप्रकाश, अमित, अभिषेकसहित परिवारका पाँच जनाको हस्ताक्षर छ।
‘म ओमप्रकाश अग्रवाल, श्रीमती उषा अग्रवाल, छोराहरू अमित अग्रवाल र अभिषेक अग्रवाल तथा परिवारका अन्य सदस्यहरूले विगत २५ वर्षदेखि मदिराको व्यापार गरिरहेका थियौं। मार्केटमा राम्रोसँग सफलताका साथ व्यापार गरिरहेका थियौं। विगत वर्षहरूमा कोभिड-१९ ले गर्दा बैंक ब्याज तिर्न तथा अन्य व्यक्तिहरूलाई ब्याज तिर्न मेरो छोरा अमित अग्रवाल मिटरब्याजीहरूको फन्दामा परी आफ्नो सम्पत्ति सिध्याइसकेका छौं,’ नोटमा भनिएको छ,‘धेरैजसो मिटरब्याजीहरूलाई साँवाको दोब्बर-तेब्बर पैसा तिरिसकेका छौं। अब हामीसँग मिटरब्याजी तथा बैंकहरूलाई तिर्न कुनै पनि साधन छैन।’
नोटमा थप भनिएको छ, ‘र, हामी कहाँ जान्छौं, बाँचिन्छ वा मरिन्छ भन्ने कुनै ठेगान छैन। बाँचे भने फेरि आउँला। र, हामीले आफ्नो नाममा रहेका घरजग्गा, व्यापार व्यवसाय त्यत्तिकै छोडेर जाँदैछौं। हाम्रो नाममा रहेका श्रीसम्पत्तिबाट बैंक तथा वित्तीय संस्था तथा साहुले रकम असुलउपर गर्नुहोला।’
आफ्नो संस्थानका हिसाबकिताब सबै यहीँ छोडेर गएको उनीहरूले नोटमा लेखेका छन्। त्यसमा साहुहरू, मिटरब्याजीहरूले धम्की दिएर गराएका कागजपत्र तथा तिनीहरूको नामावली रहेको उनीहरूले नोटमा लेखेका छन्।
‘एउटा प्रतिष्ठित परिवारलाई आत्महत्या गर्ने अवस्थामा पुर्याउन लगाएका मानिसहरूलाई दण्ड सजाय दिई मेरो परिवारको आत्मालाई शान्ति प्रदान गर्न सरकारसँग माग गर्दछौं। र, कुनै व्यक्तिलाई ऋण तिर्न नसकिएकाले क्षमाप्रार्थी छु। बाँचेको खण्डमा मेरो सन्तानले ऋण तिर्ने कोसिस गर्नेछ,’ नोटमा ओमप्रकाशले लेखेका छन्।
ओमप्रकाश, अमित र अभिषेक सबै भारतीय मूलका नेपाली नागरिक हुन्। उनीहरूका तीन पुस्ताको नागरिकता धनुषा जिल्लाबाट लिएको देखिन्छ। सन् १९९० को दशकमा ओमप्रकाश भारतको हरियाणाबाट नेपाल छिरेका थिए।
काठमाडौंमा आएर उनी ड्युटी फ्री मदिराको कारोबारमा लागेका थिए। लाखौंबाट करोडमा पुग्न थालेपछि उनले कम्पनी नै स्थापना गरी कारोबार थालेका थिए। विस्तारै कारोबार छोरा अमित र नाति अभिषेकको हातमा पुगेपछि उनीहरू अर्बमा खेल्न थालेका थिए।
प्रहरीका अनुसार महत्वाकांक्षाले फन्दामा परेका हुन्। पैसा कमाउने लालच बढ्दै जाँदा उनीहरू मिटरब्याजीसम्म पुगेको हुनसक्ने आशंका प्रहरीको छ।
मिटरब्याजसँगै केन्द्रीय अनुसन्धान ब्युरोले सम्बन्धित बैंकहरूसँग सोधीखोजी गरिरहेको छ। प्रारम्भिक सोधीखोजीमा बैंकहरूबाट विवरण प्राप्त भएको छ।
ब्युरो स्रोतका अनुसार इन्भेष्टमेन्ट बैंकले ग्रीनलाइनमा २८ करोड ऋण प्रवाह गरेको देखिएको छ। त्यसको धितोमा ग्रीनलाइनको स्टक मदिरा र ज्ञानेश्वरको घर धितोमा राखेको भेटिएको छ।
यस्तै, एभरेष्ट बैंकले ग्रीनलाइनमा २२ करोड ऋण प्रवाह गरेको देखिएको छ। त्यसबापत् ज्ञानेश्वरकै घर, सुरज अपार्टमेन्टको फ्ल्याट धितोमा राखेको छ।
यस्तै, मेगा बैंकले ग्रीनलाइनमा २३ करोड ऋण दिएको भेटिएको छ। त्यसको धितो ग्रीनलाइनको स्टक मदिरा र कालिमाटीको २२ आना जग्गा धितो राखिएको छ।
यसैगरी, ग्लोबल आइएमई बैंकले ग्रीनलाइनमा साढे ७ करोड ऋण दिएको छ। त्यसबापत् ग्रीनलाइनका सञ्चालकले ज्ञानेश्वरको साढे १३ आना जग्गा धितो राखेका थिए।
‘बैंकका मानिसहरू बोलाएर सोध्दा धितो तथा ऋणको विवरण यस्तो पाइएको छ,’ ब्युरोका ती अधिकृतले भने, ‘अनौपचारिक लगानीबारे पनि अनुसन्धान गरिरहेका छौं। सँगसँगै बैंकिङ कसुर आकर्षित हुन्छ कि भनेर हामीले हेरिरहेका हौं।’
ती अधिकृतका अनुसार अहिले ब्युरोले विभिन्न कोणबाट ग्रीनलाइनमाथि अनुसन्धान गरिरहेको छ।
बैंकहरूको ऋण यकिन गर्न, ग्रीनलाइनका सञ्चालकको सम्पत्ति यकिन गर्न, बैंक ठगी हो/होइन वा ऋण दिँदा मिलेमतो हुनसक्ने आशंकामा अनुसन्धान भइरहेको हो।
‘बैंकमा सर्वसाधारणको निक्षेप रहने हुनाले त्यो निक्षेप ऋणको रूपमा गएर नउठ्ने अवस्थामा जनता ठगिन सक्ने भए, त्यसैले बैंकिङ कसुर हुन सक्नेतर्फ अनुसन्धान केन्द्रित छ,’ ती अधिकृतले भने।
प्रहरीले अनौपचारिक रूपमा लगानी गर्ने व्यक्तिहरू को हुन् तिनीहरूको खोजी गरिरहेको ती अधिकृतले बताए।
‘अहिले अनुसन्धानकै क्रममा रहेकाले सबै कुरा आइसकेको छैन,’ ब्युरोका सहायक प्रवक्ता प्रहरी नायब उपरीक्षक सुकदेव खनालले बताए।
ब्युरोका अनुसार ग्रीनलाइनको सात/आठ करोड बजारबाट उठ्न बाँकी रहेको देखिएको छ। यस्तै, भन्सार नाकामा आठ वटा मदिराका कन्टेनर जाँचपास हुन बाँकी रहेको देखिएको छ।
‘अनौपचारिक व्यक्ति, संस्था, लिगल सम्पत्ति खोज्ने काम भइरहेको छ,’ खनालले भने।
प्रारम्भिक अनुसन्धानमा अग्रवाल परिवार भाग्ने सुइँकोसम्म कसैले पाएन।
‘आर्थिक रूपमा टाट पल्टेर भाग्ने योजना बनाएको कतैबाट नचुहिँदै उनीहरू भारत पुगे, खोजी गर्न उजुरी परेपछि र बैंकहरूले स्टक लिलाम गर्न ताला लगाएपछि मात्रै अनुसन्धान अघि बढ्यो,’ ब्युरोका ती अधिकृतले भने।
अग्रवाल परिवारले केही साझेदारका साथमा २०७३ सालमा नवलपरासीमा सागर डिस्टिलरी नामको मदिरा उद्योग स्थापना गरेका थिए। त्यसको प्लान्ट भने चलेको देखिँदैन। सेयर किनबेच भएको छ। अग्रवाल परिवारको एकदमै कम सेयर देखिन्छ।
परिवारले सुरूमा ‘ड्रिम प्रोजेक्ट’ को रूपमा स्थापना गरेको डिस्टिलरीको प्लान्ट नचल्नु र बीचमै सेयर किनबेच हुनुमा अग्रवाल परिवार आर्थिक संकट झेलिरहेको थियो भन्ने देखिएको ब्युरोका अधिकृत बताउँछन्।
‘पछिल्लो प्रोजेक्टमा केही असफलताहरू देखिन्छन्,’ उनले भने।
पुर्ख्यौली घर भारत भए पनि अग्रवाल परिवार खासै जाने गर्दैनथे, उता गएर लामो समय बसेको पनि देखिँदैन।
‘बैंकबाट थ्रेट नभइकन वा अनौपचारिक लगानी गर्नेबाट असुरक्षा नभइकन उनीहरू यतिको कारोबार छोडेर हिँड्दैनथे,’ ती अधिकृत भन्छन्, ‘उनीहरू किन भागे भन्ने प्रश्न निकै जटिल छ।’