ग्रीनलाइन सेन्टर प्रालिका सञ्चालकका आफन्त फेरि प्रहरीमा पुगेका छन्। सञ्चालक अमित अग्रवाल, अभिषेक अग्रवाल, बुवा ओमप्रकाश अग्रवाल पसल बन्द गरेर एक महिनादेखि फरार छन्।
यसअघि उनीहरू हराएको भन्दै निवेदन दिएकी ओमप्रकाशकी छोरी रजनी अग्रवाल बुधबार प्रहरीमा पुगेकी हुन्।
उनी महानगरीय प्रहरी वृत्त कमलपोखरीमा पुगेकी थिइन्, जहाँ ओमप्रकाशका परिवारका ९ सदस्य हराएको ठाडो निवेदन रजनीले दिएकी हुन्।
प्रहरीमा पुगेर रजनीले ओमप्रकाशसहित परिवारका सबै सदस्य काठमाडौं फर्किन चाहेको बताएकी थिइन्।
‘मेरो दाइ अमितसँग कुराकानी भएको छ, उहाँहरू कुशल हुनुहुन्छ, फर्किन चाहेको बताउनु भएको छ,’ कमलपोखरी वृत्तका डिएसपी मीनबहादुर कुँवर क्षेत्रीसँगको भेटमा उनले भनेकी छन्।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीका अनुसार रजनीले त्यसो भनेपछि कमलपोखरीका डिएसपी कुँवरले फोन गरेका थिए।
‘डिएसपी साबले गरेको त्यही फोनमा रजनीसँग मेरो कुराकानी भयो,’ गिरीले भने, ‘अग्रवाल परिवार आउन कुरा गरेको उहाँले बताउनुभएको छ।’
अग्रवाल परिवार वीरगञ्ज नाका हुँदै भारत गएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
मिटरब्याजले टाट पल्टिएपछि जमल र दरबारमार्गस्थित ग्रीनलाइन रिटेल सप बन्द गरेर उनीहरू सुटुक्क भागेका थिए।
‘छ मिनेट फोन सम्पर्क भएछ। उहाँले आर्थिक कारोबार बिग्रिएपछि भारत आएको बताउनुभएछ, लगत्तै नेपाल आउँछौं कारोबार मिलाउँछौं भन्नुभएको रहेछ,’ डिएसपी कुँवरले भने।
ग्रीनलाइन काठमाडौंका पाँच तारे होटलका बार, सपिङ मलका रक्सी पसल तथा उच्च घरानामा ब्रान्डेड मदिरा बेचबिखन गर्ने कम्पनी हो।
बीसौं वर्षदेखि ग्रीनलाइनले राजधानीमा एकछत्र विदेशी ब्रान्डेड मदिराको बिक्री वितरण गर्दै आएको थियो।
तर, अनौपचारिक कारोबार ‘मिटरब्याज’मा फसेपछि अग्रवाल परिवार फरार भएको थियो। ज्ञानेश्वरस्थित घरमा ओमप्रकाशले एउटा ‘नोट’ छोड्दै मिटरब्याज कारोबारले आफूहरू तनावमा परेको उल्लेख गरेका छन्।
यसरी अग्रवाल परिवारै भागेपछि स्टक मदिरा धितोमा राखेर ऋण प्रवाह गरेका चार वटा बैंकले ग्रीनलाइनमा ताला लगाएर लिलामको प्रक्रिया थालिरहेका छन्।
केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार इन्भेष्टमेन्ट, एभरेष्ट, ग्लोबल आइएमई र मेगा बैंकले ग्रीनलाइनमा तालासँगै सञ्चालकका घर-जग्गामा सूचना टाँसेका छन्।
इन्भेष्टमेन्ट बैंकले ग्रीनलाइनमा २८ करोड ऋण प्रवाह गरेको देखिएको छ। त्यसको धितोमा ग्रीनलाइनको स्टक मदिरा र ज्ञानेश्वरको घर धितोमा राखेको भेटिएको छ।
यस्तै, एभरेष्ट बैंकले ग्रीनलाइनमा २२ करोड ऋण प्रवाह गरेको देखिएको छ। त्यसबापत् ज्ञानेश्वरकै घर, सुरज अपार्टमेन्टको फ्ल्याट धितोमा राखेको छ।
यस्तै, मेगा बैंकले ग्रीनलाइनमा २३ करोड ऋण दिएको भेटिएको छ। त्यसको धितो ग्रीनलाइनको स्टक मदिरा र कालिमाटीको २२ आना जग्गा धितो राखिएको छ।
यसैगरी, ग्लोबल आइएमई बैंकले ग्रीनलाइनमा साढे ७ करोड ऋण दिएको छ। त्यसबापत् ग्रीनलाइनका सञ्चालकले ज्ञानेश्वरको साढे १३ आना जग्गा धितो राखेका थिए।
ब्युरोका एक अधिकृतका अनुसार अग्रवाल बाबुछोराले अनौपचारिक (मिटरब्याज) रूपमा २० करोड ऋण चलाएको बुझिएको छ। त्यो ऋणको साँवा, ब्याज, ब्याजको स्याजदेखि प्याजसम्म तिर्दा पनि ताकेता र धम्की नरोकिएपछि उनीहरूको उठिबास लागेको थाहा भएको छ।
बैंकहरूको ऋण यकिन गर्न, ग्रीनलाइनका सञ्चालकको सम्पत्ति यकिन गर्न, बैंक ठगी हो/होइन वा ऋण दिँदा मिलेमतो हुनसक्ने आशंकामा ब्युरोले अनुसन्धान गरिरहेको छ।
यो पनि:
काठमाडौंमा ब्रान्डेड रक्सी बेच्ने परिवार सुटुक्क भागेपछिको तरंग