करिब ६ वर्षअघि सहिदनगर नगरपालिका–४ ननुपट्टिकी मनिषा मुखिया र गणेशमान चारनाथ नगरपालिका–१० स्थित डुमरियाका सञ्जित मुखिया वैवाहिक बन्धनमा बाँधिए।
गर्भवती हुँदै पहिलो श्रीमतीको मृत्यु भएपछि सञ्जितले दोस्रो विवाह गरेका थिए। तर विवाह भएको ४ वर्षपछि पनि मनिषाले बच्चा जन्माउन सकिनन्।
गाउँ–गाउँ पुगेर उनले धामी झाँक्रीसँगै अस्पतालसम्म धाइन्। तै पनि बच्चा पाउन नसकेपछि उनलाई पारिवारिक र सामाजिक दबाब बढ्दै गयो। आर्थिक विपन्नताले उनी जिल्ला बाहिर गएर उपचार गराउन सक्ने अवस्थामा थिइनन्।
आमा बन्न नसकेपछि आफ्नै श्रीमान, परिवार र समाजले उनलाई निरन्तर होच्चाइरह्यो। छोराछोरी पाउने आश मरिसकेपछि मानसिक रूपमा उनी निकै कमजोर भइसकेकी थिइन्। अन्ततः मनिषाले करिब डेढ वर्षअघि जेनतेन जनकपुरमा एउटी छोरी भेटाइन्। परिवारले उनको नाम नन्दनी राख्यो।
‘छोरी ल्याइसकेपछि घरमा सबैजना खुशी हुनुभयो। गाईको दुध खुवाएर उहाँले छोरी पाल्नुभयो,’ मनिषाकी नन्द तेतरी मुखियाले भनिन्।
नन्दनी हाल दुई वर्षकी भइसकेकी छिन्। तर कहाँबाट उनले छोरी भेटाएको खुलिसकेको छैन। परिवारमा नन्दनीको आगमनपछि केहीहदसम्म खुशीयाली त छायो तर छोरी भएर मात्र पुगेन। आफन्तका अनुसार वंश अगाडि बढाउन जसरी पनि उनले छोरा जन्माउनैपर्ने वा कतैबाट ल्याउनैपर्ने मनिषालाई दबाब पर्न थाल्यो।
मनिषाका आफन्तका अनुसार छोरा नल्याए डिर्भोस दिएर अर्को विहे गर्ने भन्दै श्रीमानले धम्की दिए।
‘बच्चा नहुँदा मनिषाको श्रीमानले राख्न मानेको थिएन। त्यसैले उनले जनकपुरबाट अर्काकी छोरी लगेकी थिइन्। केही दिनपछि जसरी पनि छोरा ल्याउन उनको श्रीमानले भन्न थाले,’ मनिषाकी ती आफन्तले सेतोपाटीसँग भनिन्, ‘छोरा नल्याउँदा घरमा दिनहुँ झगडा पर्न थाल्यो। श्रीमानले उनलाई कुटपिट गर्थे। घरमा बस्न नदिएपछि मनिषा भाउजुसँग जनकपुर बस्न थालिन्।’
जनकपुरधाम उपमहानगरपालिका–८ स्थित डेरा गरि बस्दै आएकी भाउजु किरण रामसँगै करिब एक महिनादेखि मनिषा बस्दै आएकी थिइन्। त्यहाँ उनले जसरी पनि कसैको बच्चा लिएर घर पुग्ने अठोट गरेकी थिइन्।
‘१० दिनअघि माइली बहिनीको अप्रेशन भएर बच्चा भएपछि हस्पिटलमा किरणलाई पैसा चाहियो। उनले मनिषाबाटै ५-६ हजार रूपैँया पैँचो लिएर दिइन्। त्यसको साटोमा उनले जसरी पनि कसैको बच्चा ल्याइदिन भन्ने गर्थिन,’ किरणकी बहिनी मिना रामले भनिन्, ‘तर किरणले त्यस्तो गर्न मानिनन्। यहाँ छेउछाउमा बस्ने अरू धेरैलाई पनि कसैको छोरा चोरेर ल्याइदिन उनले भन्दै आएकी थिइन्। तर कसैले नमानेपछि उनी आफैं बच्चा चोर्न हिँडिन्।’
धनुषाका एसपी बसन्त रजौरेका अनुसार बच्चा चोरेर ल्याइदिने भन्दै जनकपुधाम उपमहानगरपालिका–७ स्थित भ्रमपुराचोक डेरा गरि बस्ने २२ वर्षीय कृष्ण कुमार यादवले मनिषाबाट १३ हजार रुपैँया लिएको खुलेको छ।
‘उनले छोरा दिने भनेर १३ हजार रूपैँया र केही चीज लिएको प्रारम्भीक अनुसन्धानबाट देखिन्छ,’ एसपी रजौरेले सेतोपाटीसँग भने।
तर कृष्णले बच्चा उपलब्ध गराउन नसकेपछि बुधबार बेलुकातीर मनिषा आफैँ हिँडेकी थिइन्।
काखमा छोरी बोकेर उनी डेराबाट करिब एक किलोमिटर टाढा वडा नम्बर ६ स्थित महराज सागर पुगिन्।
साँझ करिब ६ बजेको थियो। पोखरी छेउमै घर रहेको मोहम्द अमिर राइनका ७ महिने छोरो अख्तर राइनलाई उनकी ६ वर्षीया छोरी एलिजाले खेलाउँदै थिइन्। त्यतिबेलै मनिषाको नजर उनीमाथि पर्यो। उनले एलिजालाई ५० रूपैयाँ दिएर छेउमै रहेको किराना पसलमा कुरकुरे किन्न पठाएर अनि बालक लिएर भागिन्।
‘एलिजाकी आमा घरमै काम गरिरहेकी थिइन्। बुवा बजार गएका थिए। बच्चा लिएर भागेपछि चिच्याउँदै एलिजा केही दूरीसम्म उनको पछाडि लागिन्। तर बच्चा लिएर ती महिला स्पीडमा भागेपछि चिच्याउँदै उनी घर पुगिन् र आमालाई सबैकुरा सुनाइन्,’ एलिजाका काका मोहम्मद शरिफुलले भने, ‘त्यसपछि चारैतीर बच्चा चोरेको हल्ला भयो। फेसबुकमा पनि भाइरल हुन थाल्यो, हामीले प्रहरीलाई खबर गर्यौं।’
घटनाको आधा घण्टापछि एसपी रजौरेसहितका प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान अघि बढाए। ‘त्यहाँ विभिन्न ठाउँमा जडान भएको सिसीटिभी फुटेज प्रहरीले चेक गर्यो। तर कुनै फुटेजमा फेस देखिइनन्।
‘हामीले पनि साथीभाइलाई सबैतीर खोज्न पठायौं, बोर्डर एरियामा पनि खटायौं,’ शरिफुलले अगाडि भने।
एसपी रजौरेका अनुसार मनिषाले आफ्नो छोरी नन्दनीलाई किरणको डेरामै छोडेर उक्त बालक लिएर भागेकी थिइन्। भागेर मनिषा जनकपुरधाम–१९ बेंगा शिवपुर पिपराढीस्थित हाँस तथा भैंसी फारम पुगिन्। तर त्यहाँ काम गर्नेले उनलाई बस्न दिएनन्। रेडिमेड दुध किनेर ती बालकलाई उनले खुवाउँदै थिइन्।
एकाबिहानै मनिषा दुई वटा बच्चा बोकेर बसेको देखेपछि स्थानीयलाई शंका लाग्यो। त्यसपछि भिडियो खिचेर फेसबुकमा हाले अनि प्रहरीलाई जानकारी गराए।
केही बेरमै फेसबुकमा उक्त भिडियो भाइरल बन्यो। बिहान करिब साढे ८ बजे भाग्दै गरेको अवस्थामा बच्चासहित प्रहरीले मनिषालाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढायो।
जिल्ला प्रहरी कार्यालयमा बिहिबार दिउँसो पत्रकार सम्मेलन गरि प्रहरीले घटनाबारे जानकारी गराएको थियो।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा मनिषा, किरण र कृष्ण विरूद्ध अपहरण तथा शरीरबन्धक मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको एसपी रजौरेले जानकारी दिए।
‘मनिषाले बालकलाई अपहरण गरेको र किरण र कृष्ण मतियारको भूमिका खेलेको देखिन्छ,’ एसपी रजौरेले भने।