अमित र उनका भाइ अभिषेक अग्रवालको कारोबार बिग्रेको २०७२ सालदेखि नै थियो। जतिबेला उनीहरूले नवलपरासी जिल्लामा सागर डिस्टिलरी नमको मदिरा उद्योगको इजाजत दिएका थिए।
२०७३ सालमा उद्योग स्थापना गरे तर अर्को वर्ष उद्योगको इजाजत नवीकरण भएन। २०७७ सालदेखि त कोरोना संक्रमणले गर्दा उद्योग चल्ने कुरै थिएन।
बैंकबाट ऋण लिँदै दरबारमार्ग र जमलको ग्रीनलाइन सेन्टर चलाइरहेका थिए। उद्योग सञ्चालन गर्ने मोहले उनले गैरबैंकिङ ऋण लिन थाले।
पहिलो र दोस्रो चरणको कोरोनाका कारण त्यही ग्रीनलाइन पनि आठ महिना बन्द भयो। सरकारले विदेशी मदिरा आयातमा प्रतिबन्ध लगायो।
त्यो आठ महिनाको घाटा, स्वदेशी रक्सी उत्पादन गर्ने उद्योमा गरेको लगानीबाट फाइदा लिने बेलैमा उनलाई गैरबैंकिङ ऋण ‘मिटरब्याज’ले सताउन थाल्यो।
‘बल्लतल्ल ह्विस्की उत्पादन हुन थालेको थियो, कोरोनाले गर्दा प्लान्ट चलाउन पाइएन, सेयर बेचेर तीन जना साथीभाइ उद्योगमा भित्र्याएँ,’ अमितले शुक्रबार भने।
अमितका अनुसार बजारमा गएको सामानको १९ करोड उठ्न बाँकी थियो,अहिले पनि छँदैछ। यहीबेला बैंकहरूले ऋणको किस्ता तिर्न ताकेता गरिरहेका थिए।
बैंकको भन्दा सयौं गुणा ताकेता ‘मिटरब्याजी’हरूले गर्न थाले। ती केही ‘मिटरब्याजी’को नाम अमितले स्वीकारेका छन्।
अमितसँग मिटरब्याज कारोबारमा जोडिएका व्यक्ति आरपी ग्रुपका अध्यक्ष रूपेश पाण्डे, ग्रीनलाइन पसलकै घरबेटी सुनिल श्रेष्ठ, पूर्वएसपी दीपक रञ्जितलगायत हुन्।
‘उहाँहरूसँग मेरो बीसौं वर्षदेखि कारोबार भइरहेको थियो। १८, २० देखि २४ प्रतिशतसम्म ब्याजमा सापटी चलाउँथें,’ अमितले भने, ‘मेरो बुवा (ओमप्रकाश) त्यसलाई मिटरब्याज भन्नुहुँदो रहेछ।’
अमितले उनीहरूसँग के, कति कारोबार हो भन्ने खुलाउन नमाने पनि केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार पाण्डेसँग पाँच करोड र श्रेष्ठसँग ८ करोड मिटरब्याज कारोबार छ। रञ्जितको कारोबार कति हो खुलिसकेको छैन।
‘उनीहरूले पटक-पटक साँवा, ब्याज, स्याजदेखि प्याज उठाएको बुझिन्छ,’ ब्युरो प्रमुख प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहले भने, ‘अन्य व्यक्तिहरू खुल्न बाँकी छ। अमितले जाहेरी दिए हामी कारबाही अघि बढाउँछौं।’
आरपी ग्रुपका पाण्डे वीरगञ्जका हुन्। ‘मसँग कारोबार भएकाहरूले हातपात नै नगरे पनि धाकधम्की दिएर हैरान पारेका थिए,’ अमितले भने, ‘हामी बाबुछोरा तीनै जना एकदमै तनावमा पुगेका थियौं, डिप्रेसनमा गइसकेका थियो।’
गत पुसमा मिटरब्याजीहरूले टिक्नै नसक्ने गरी धम्की दिएपछि ओमप्रकाश डिप्रेसनको शिकार बनेका थिए।
‘बुवाले आत्महत्या गर्न खोज्नु भएपछि घरबाट मलाई बोलाए, बुवाको स्थिति नाजुक थियो,’ अमितले भने, ‘यस्तो अवस्थामा परिवार सम्हाल्न नसकेर म भारत हिँडेको हुँ।’
अमितका अनुसार पुस २१ गते परिवारका ९ जना माइक्रो चढेर वीरगञ्ज हुँदै रक्सौल पुगेका थिए। उनीहरू गत बुधबारसम्म रक्सौलमै बसे।
‘पसलमा ताला लगाएर हामी हिँड्यौं, मैले बुवाको उपचार गराएँ, आफ्नो उपचार गरें, रिफ्रेसमेन्टमा थियौं,’ अमितले भने, ‘यहीबेला बैंकहरूले आएर पसलमा ताला लगाएको, हामी भागेको समाचार आएपछि म विक्षिप्त भएँ।’
अमित र उनका भाइ अभिषेक बिहीबार मात्रै रक्सौलबाट गाडी चढेर काठमाडौं आएका छन्। अरू परिवार रक्सौलमै छन्।
‘बीचमा बैंकसँग कुरा भयो। ऋण दिएका साथीभाइसँग कुरा भयो। प्रशासनमा उजुरी दिएको छु शान्ति सुरक्षाका लागि,’ उनले भने, ‘अवस्था सहज हुने वातावरण बनेको छ।’
अमितले प्रशासनमा ‘व्यावसायिक कारोबारमा संलग्न विभिन्न व्यक्तिहरूले कानुनविपरीत मलगायत मेरो परिवारका सदस्यलाई मानसिक तनाव दिने, भौतिक आक्रमणको धम्की दिने, अनाधिकृत तरिकाले मेरो सम्पत्ति कब्जा गर्ने धम्की दिने साथै दु:ख हैरानी दिन अनावश्यक मुद्दा मामिला गरेकाले जिउधनमा गम्भीर खतरा हुने अवस्था भएकोले नेपालको संविधान एवं प्रचलित कानुनले प्रदान गरेको सम्मानपूर्व बाँच्न पाउने हक, स्वतन्त्रताको हक, व्यापार व्यवसाय पाउने हकको सुरक्षार्थ निवेदन दर्ता गरेको’ बताएका छन्।
उनले आफू नभागेको र बाँचे पनि मरे पनि नेपालमै सबथोक हुने बताए।
‘घरमा बैंकले ताला लगाएको छ, भाडामा बसेर भए पनि कारोबार मिलाउँछु, म उक्सिन्छु भन्ने लाग्छ,’ अमितले भने।
अमितले दुई तीन दिनभित्रै ग्रीनलाइन सप खुल्ने बताए। अमितका अनुसार इन्भेष्टमेन्ट बैंकसँग ग्रीनलाइनमा २८ करोड ऋण छ। त्यसको धितोमा ग्रीनलाइनको स्टक मदिरा र ज्ञानेश्वरको घर, झापा चन्द्रगढीको जग्गा धितोमा छ।
यस्तै, एभरेष्ट बैंकले ग्रीनलाइनमा २२ करोड ऋण प्रवाह गरेको छ। त्यसबापत् ज्ञानेश्वरकै घर, सुरज अपार्टमेन्टको फ्ल्याट धितोमा छ।
यस्तै, मेगा बैंकले ग्रीनलाइनमा २३ करोड ऋण दिएको छ। ग्रीनलाइनको स्टक मदिरा र कालिमाटीको २२ आना जग्गा धितो छ।
यसैगरी, ग्लोबल आइएमई बैंकले ग्रीनलाइनमा साढे ७ करोड ऋण दिएको छ। त्यसबापत् ग्रीनलाइनका सञ्चालकले ज्ञानेश्वरको साढे १३ आना जग्गा धितो राखेका छन्।
‘मेरो साँवा ब्याज सबै गरेर बैंकसँग ८० करोडजति ऋण छ,’ अमितले भने, ‘अरू २५ करोडजति साथीभाइको ऋण छ।’
उनका अनुसार यो बीचमा वीरगञ्ज भन्सार नाकामा सात वटा मदिराका कन्टेनर आएर बसेका छन्, तिनीहरूको भन्सार जाँचपास भएको छैन। मदिराका अरू तीन वटा कन्टेनर कलकत्तामा छन्।
‘त्यो बिक्रीवापत् पनि आउँछ, बैंकसँग विस्तारै कारोबार मिलाउँदै जाने भनेको छु,’ अमितले भने।
आफूहरूसँग एक अर्ब पाँच करोडजति सम्पत्ति र घरजग्गा रहेको उनले बताए।
‘म घरजग्गा बिक्री गर्दै ऋण तिर्दै जान्छु,’ उनले भने।
ग्रीनलाइन बीसौं वर्षदेखि काठमाडौंमा विदेशी ब्रान्डेड रक्सीको कारोबार गर्ने सप हो। अमित र अभिषेकका बुवा ओमप्रकाश अग्रवालले उनीहरूलाई काठमाडौंमा मदिराको व्यापारमा टेकाएका थिए।
ज्ञानेश्वरमा बस्दै आएका ओमप्रकाश, अमित, अभिषेकसहित परिवारले नेपाल छोडेपछि छोरी रजनीले परिसरमा निवेदन दिएकी थिइन्। निवेदन दिएपछि प्रहरी ज्ञानेश्वरको घरमा पुगेको थियो।
त्यहाँ पुगेर सर्च गर्दा एउटा ‘नोट’ फेला परेको थियो, जहाँ ओमप्रकाशले मिटरब्याजीका कारण ज्यान नै जोखिममा परेको उल्लेख गरेका थिए।
‘बुवाले एकदमै भावनामा आएर, विक्षिप्त भएर लेख्नुभएको रहेछ, हामी त्यो छोडेर गयौं, बहिनीलाई पनि थाहा नदिइकन गयौं,’ अमितले भने।
ग्रीनलाइन काठमाडौं उपत्यकाका पाँचतारे होटलका रेष्टुरेन्ट, सपिङ मलदेखि हाइप्रोफाइल घरानामा मदिरा बिक्री गर्ने पसल हो।
ओमप्रकाश, अमित र अभिषेक सबै भारतीय मूलका नेपाली नागरिक हुन्। उनीहरूका तीन पुस्ताको नागरिकता धनुषा जिल्लाबाट लिएको देखिन्छ। सन् १९९० को दशकमा ओमप्रकाश भारतको हरियाणाबाट नेपाल छिरेका थिए।
काठमाडौंमा आएर उनी ड्युटी फ्री मदिराको कारोबारमा लागेका थिए। लाखौंबाट करोडमा पुग्न थालेपछि उनले कम्पनी नै स्थापना गरी कारोबार थालेका थिए। विस्तारै कारोबार छोरा अमित र नाति अभिषेकको हातमा पुगेपछि उनीहरू अर्बमा खेल्न थालेका थिए।
अमितले नेपालमै गुणस्तरको स्वदेशी मदिरा उत्पादन गरेर सबैको पहुँचमा पुर्याउने चाहनाले नवलपरासीमा उद्योग खोलेको बताए।
‘अहिले ह्विस्की उत्पादन सुरू भएको छ, केही समयपछि वाइन उत्पादन सुरू गर्छु,’ उनले भने, ‘पाँचदेखि आठ हजार तिरेर रेडलेबल, ब्ल्याकलेबल पिउने सबैले सक्दैनन्, त्यस्तो गुणस्तरको मदिरा उत्पादन गरेर सुलभ मूल्यमा बिक्री गर्ने मेरो योजना छ।’
सम्बन्धित समाचार :