तपाईं फिल्म हेर्नुहुन्छ नि! फिल्म सुरू भएपछि तपाईंका आँखा कहाँ कहाँ डुल्छन्!
अधिकांश दर्शकका आँखा तिनका मुख्य पात्रको अनुहारमा जान्छ। कथाअनुसार पात्रको अनुहार मिल्ने हुनुपर्छ। कुनै युवतीलाई 'आमा' भूमिकामा अभिनय गराउनु छ भने उनको अनुहारमा आमाकै झल्को दिनुपर्छ। र, यो काम गर्छन् मेकअप आर्टिस्टले।
कलाकारको मुहारमा चमक थप्ने र पात्रलाई तिनको भूमिकाअनुसारको रूपमा ढाल्ने जिम्मेवारी पाएका मेकअप आर्टिस्टहरू पर्दापछाडिका 'नायक–नायिका' मानिन्छन्।
यस्तै पर्दापछाडिका नायकमध्ये एक हुन् सरोज बुढाथोकी।
सरोज कुनै समय हिरो-हिरोइन यस्ता हुन्छन् भनेर हेर्नकै लागि दिलीप रायमाझी, निखिल उप्रेती, रेखा थापा लगायतका फिल्म हेर्थे। पछि यस्तो दिन आयो, सरोजले यिनै कलाकारको मेकअप गर्नुपर्ने भयो। फिल्ममा चर्चित कलाकारलाई उनी सिँगार्न थाले।
उनले २०५६ सालमा एसएलसी पास गरेपछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) बाट इलेक्ट्रोनिक्समा डिप्लोमा कोर्स पूरा गरेका थिए। यसपछि आफ्नो पढाइसँग मिल्दो पसल सुरू गरे। आम्दानी सोचेभन्दा बढी थियो।
पसल चलाएर पैसा कमाइरहेका सरोज एकाएक कसरी मेकअप आर्टिस्ट भए त!
सरोजका मामा अशोक रोका फिल्ममा नाम चलेका मेकअप आर्टिस्ट हुन्। सरोज कहिलेकाहीँ मामाका साथ सुटिङमा जान्थे। मामा फिल्मका मुख्य तथा अन्य कलाकारको मेकअप गर्थे। भूमिकाअनुसार अनुहार र कपाल मिलाउँथे। सरोज यी गतिविधि ध्यान दिएर नियाल्थे।
'मामा मेकअपका सामान किन्न मलाई पनि लिएर जानुहुन्थ्यो। कहिलेकाहीँ मलाई नै पठाउनुहुन्थ्यो,' सरोजले ती दिन सम्झिँदै भने, 'मामासँगको यही संगतले मलाई मेकअप आर्टिस्ट हुने सुर चल्यो।'
उनले आफ्नो इच्छा मामा अशोकलाई सुनाए। अशोकले साथी पनि हुने, काम पनि सिक्ने ठानेर उनलाई सहभागी गराए। अनि सरोज पनि कलाकारमाझ मेकअप आर्टिस्टका रूपमा चिनिन थाले। हौसिएर उनले पसल छाडे।
यसैबीच सरोजलाई 'निखिल दाइ' नामको फिल्ममा मेकअप सबै जिम्मेवारी सम्हाल्ने प्रस्ताव आयो। कुरो भुइँमा खस्दा नखस्दै 'ओके' भने। तर मेकअपका सबै सामान आफैं किन्नुपर्थ्यो। पैसा चाहियो, उनीसँग भएकाले मात्रै पुग्थेन। उनले श्रीमती अप्सरासँग कुरा गरे।
'अप्सराले बिहेमा माइतीबाट पाएका गहना बेचेर पैसा जुटाउन सल्लाह दिइन्,' सरोजले सुनाए, 'अनि त्यसै गरेर मेकअप सामान तयार गरेँ।'
कलाकारको मेकअप जिम्मेवारी पाएर उनको खुसी चुलिएको थियो।
आफूले एक्लै जिम्मेवारी लिएको पहिलो मेकअपको कथा सुनाउँदै उनले भने, 'पहिलो पटक नायक निखिल उप्रेतीलाई आफ्नासामु देख्दा ढुकढुकी बढ्यो। मेकअप राम्रो नहुने पो हो कि! मन नपराउने पो हुन् कि! चाहिएको जस्तो नहुने पो हो कि! मनमा यस्तै बतास चल्न थाल्यो।'
सरोजका अनुसार फिल्ममा कलाकार हिउँवाला गौतम आमाको भूमिकामा थिइन्। उनी पहिलो पटक फिल्ममा अभिनय गर्दै थिइन्। कथाअनुसार उनलाई आमाजस्तै देखाउन सरोजलाई चुनौती थियो।
'निखिल दाइ' मा उनी सन्तोषजनक रूपमा सफल भए। काममा प्रोत्साहन र सहयोग पाए। मेहनत गरे, चाहिने सीप सिके अनि साँच्चै मेकअप आर्टिस्टका रूपमा चिनिए।
'मेरो समयमा मेकअप आर्टिस्टले कलाकार सिँगार्ने सबै काम गर्नुपर्थ्यो। मलाई पैसाको भन्दा बढी चिन्ता आफ्नो काम कसरी राम्रो गर्ने भन्ने हुन्थ्यो,' उनले भने, 'मेरो मेहनत र सबैको सहयोगले दुई दशकदेखि मेकअप आर्टिस्ट भएर टिकिरहेको छु।'
'निखिल दाइ' बाट अघि बढेको मेकअप यात्रामा सरोजले धेरै फिल्ममा कामको अवसर पाए। पारिश्रमिक पनि सन्तोषजनक भएपछि पसलबाट छाडेकोमा पछुतो भएन।
कामकै सिलसिलामा उनी आफैंले मेकअप सम्बन्धी जानकारीहरू खोजी गर्दै गए। इन्टरनेटका माध्यमबाट नयाँ कुरा सिक्दै गए। ज्ञान बढ्दै गयो। काममा हुने सानोतिनो त्रुटि पनि कम हुँदै गयो।
सरोजले नयाँ पुस्ताका युवायुवतीलाई पनि काम सिकाए। आफ्नो सहयोगी बनाए, 'पहिले एक्लै काम गर्थेँ। भाइबहिनीहरूलाई पनि सिकाउन थालेपछि मलाई सहयोग भयो, उनीहरूले पनि काम पाए। अहिले मैले सिकाएकाहरू नौ जना छन्।'
सरोज काममा रमाउँदै थिए, कमाइ पनि राम्रो थियो। चन्द्रमा सधैं किन दाहिना हुन्थे र!
एकाएक फिल्ममा संकटकाल नै भने पनि हुने अवस्था आइदियो। बहत्तर सालको भूकम्प र त्यसपछिको नाकाबन्दीले काम बन्द भयो। चल्दै गरेका फिल्म रोकिए। फिल्मकै भरमा घर धान्ने सरोजलाई खर्चको समस्या पर्न थाल्यो।
केही त गर्नै पर्थ्यो। उनले म्युजिक भिडिओ र दोहोरी गीतका निर्देशक शिवकुमार केसीलाई भेटे। शिवसँगै संगीतकार लीलु गुरुङको 'फोटो भिजन नेपाल' मा पुगे जहाँबाट म्युजिक भिडिओ उत्पादन हुन्थ्यो। यसपछि सरोज म्युजिक भिडिओका कलाकारको मेकअपतिर लागे।
सरोजले फिल्म र म्युजिक भिडिओको काममा आनका तान फरक पाए।
'फिल्ममा आराम भन्ने हुँदै नहुने, लगातार कामको काम,' उनी भन्छन्, 'म्युजिक भिडिओमा काम थोरै, आराम र पैसा फिल्ममा भन्दा धेरै।'
केही महिना भिडिओमा काम गरेपछि परिस्थिति सहज भयो। उनी फिल्मतिरै फर्के। तर फेरि कोरोना महामारी आइलाग्यो। मेकअप आर्टिस्टका रूपमा नाम कमाए पनि उनलाई आर्थिकरूपमा सबल हुन नसकेको अनुभूति हुन थाल्यो। पारिवारिक जिम्मेवारी पनि बढ्दै थियो।
त्यसैले कोरोना महामारीपछि मेकअपको कामलाई निरन्तरता दिँदै सरोजले निजी प्रोडक्सन हाउस खोले। यसबाट उनी फिल्म छायांकनका लागि आवश्यक सामग्री उपलब्ध गराउँछन्।
सरोजका अनुसार उनले अहिलेसम्म १७७ वटा फिल्ममा मेकअप आर्टिस्टको काम गरे। यसबीचमा कति कलाकार आए, गए, त्यसको लेखा छैन।
उनले यो काममा तीता-मीठा अनुभव देखे-भोगेका पनि छन्।
उनले सुनाए, 'मेकअपमा बस्नुअघि कलाकारहरू मेकअप बाकसमा टाउको राखेर ढोग्थे, मेकअप राम्रो होओस् भनेर। कोही कोही त पूजा पनि गर्थे। आजकाल कसले ढोग्छ र बाकसलाई!'
त्यस्तै एउटा फिल्मकी नायिका मेकअप बाकसमाथि खुट्टा राखेर खाना खाँदै रहिछन्। सरोजले सम्झाएपछि उनले 'सरी' भनिन्। अनि एक पटक सरोजको सामान नै चोरी भयो। काठमाडौंबाहिर सुटिङमा मेकअप सामान भएको झोला एउटा चिया पसलमा राखेर कलाकारसँग उनी गफिँदै थिए। झिमिकमा सामान गायब!
दुई दशक मेकअप आर्टिस्टका रूपमा काम गरेका सरोज अचेल कलाकार र दर्शकको मनोवृत्ति बदलिँदै गएको बताउँछन्। कलाकारको सौन्दर्यमा ध्यान दिने दर्शकहरू कथा र अभिनयको पारखी बन्दै गएका छन्। कलाकारमा पनि बनावटीपनतिर रूचि घट्दै गएको उनको अनुभव छ।
चुनौती र अप्ठ्यारा भए पनि उनी आफ्नो पेसामा सन्तुष्ट छन्। प्रोडक्सन हाउस खोलेपछि उनको कमाइ बढेको छ। नाम, काम र दाम तीनै कुराको सन्तुलन मिलिरहे पनि उनलाई एउटा पछुतो भने लागिरहन्छ।
'फिल्ममा मेकअप आर्टिस्ट हुन पाएपछि त्यही नै मेरा लागि ठूलो भइदियो, कामकै लागि पढ्न छाडेँ,' सरोज भन्छन्, 'पढाइ छाडेकोमा अहिले पछुतो लाग्छ।'